युगमा युगको वृक्ष मुटुभित्रै अटाउँछु
युगमा युगको श्वास युगबाटै पठाउँछु ।
पातै -पात पलाएर मौनतामा रमाउँछु
जरा-जरा धराभित्रै ओस आफै समाउँछु ।।
हाँगा -हाँगै समाएर पात-पातै डुलेँ म त
युगमा युगको धर्सा युगभित्रै फुलेँ म त ।
हात-हात समाएर युग बोल्छु युगैभरि
ओठ-ओठ जुधाएको जस्तै हुँ कोइली चरी ।।
लाही, औंसा किरा मार्दै ग्रीष्ममा पनि फुल्दछु
बादलमा हँसाएर तप्केनी पनि भुल्दछु ।
हुन्डरीका हुरी लाखौं ज्वारबाट चले पनि
मोहमा झुल्लरी खेल्दै डग्नु छैन कतै रति ।।
आँधी, बादलका झड्का युगभित्रै उठे पनि
झुक्दैन शिरको खम्बा युग प्वाट्टै फुटे पनि ।
सुन-सागरका थुम्का शिरबाटै झरे पनि
भत्कन्न युगको बोली स्वर-गंगा मरे पनि ।।
युगमा युगको वृक्ष युगवेत्ता अटाउँने
मै हुँ मानवका निम्ति कर्म क्षेत्र खटाउने ।
स्वादकै बासकै निम्ति बाज गिद्द चहार्दछन्
तर सागरका ढुङ्गा कोल्टे फेर्दै लगार्दछन् ।।
घाटमा रोगको श्वास फेरिँदैन घरीघरी
निरोगी फुलका गुच्छा बास बस्छन् सयौँथरी ।
नसोच युगको बोली युगबाटै बिलाउला ।।
( छन्दः अनुष्टुप)