19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कथाको स्वाद

कथा बिजु सुवेदी विजय October 29, 2026, 2:59 pm
बिजु सुवेदी विजय
बिजु सुवेदी विजय

एउटा पाठकको गुनासो, एउटा कथाकारको आत्मबोध र साहित्यको वास्तविक परीक्षा

साँझ पर्दै थियो । पश्चिमतिरको आकाशमा घामको अन्तिम किरण पहाडको काँधमा अड्किएको थियो । दिनभरि हल्ला गरेको बजार बिस्तारै शान्त हुँदै थियो । सडकका बत्तीहरू बल्न थालेका थिए, चियापसलमा बसेका मानिसहरू दिनभरिका समाचारमाथि बहस गर्दै थिए, र एउटा पुरानो घरको दोस्रो तलामा कथाकार प्रभु आफ्नो लेखन टेबुलअगाडि बसेर नयाँ कथाको अन्तिम अनुच्छेद मिलाउँदै थिए ।

उनको टेबुलमा किताबहरूको थुप्रो थियो । केही किताबका पानामा रातो कलमले धर्सा तानिएका थिए । एउटा डायरी खुलै थियो, जसको पहिलो पानामा उनले वर्षौँअघि लेखेका थिए—

‘कथा लेख्नु भनेको शब्दहरू मिलाउनु होइन, मानिसको मनभित्र लुकेको संसारलाई बाहिर ल्याउनु हो ।’

प्रभुले त्यो वाक्य धेरैपटक पढेका थिए । हरेकपटक पढ्दा उनलाई लाग्थ्यो, उनी साहित्यको कुनै अग्लो शिखरतिर उक्लिरहेका छन् ।

उनका कथाहरू सामाजिक सञ्जालमा प्रकाशित हुन्थे । कतिपय पाठकले प्रशंसा गर्थे । कसैले उनलाई गम्भीर कथाकार भन्थे, कसैले सम्भावनाशील लेखक । कहिलेकाहीँ त कुनै पाठकले उनको कथा पढेर आँसु आएको टिप्पणीसमेत लेख्थ्यो ।

त्यस्ता टिप्पणीले प्रभुको आत्मविश्वास बढाउँथे ।

उनी आफैँलाई सम्झाउँथे, ‘लेखनमा निरन्तरता छ, विषयमा गम्भीरता छ, विचारमा गहिराइ छ । अब त कथाले आफ्नो बाटो आफैँ बनाउँदै छ ।’

त्यही साँझ उनको मोबाइलमा एउटा सन्देश आयो ।

पठाउने व्यक्ति थिए—एक साधारण पाठक ।

न उनी साहित्यका प्राध्यापक थिए, न कुनै साहित्यिक संस्थाका पदाधिकारी, न त आलोचनाको ठूलो मञ्चमा बसेर लेखकहरूको मूल्याङ्कन गर्ने व्यक्ति । उनी सामान्य जीवन बिताउने, काम गरेर घर फर्कने, थकित शरीरलाई केही समय किताबको साथमा विश्राम दिने मानिस थिए ।

सन्देश लामो थियो ।

प्रभुले पढ्न थाले ।

‘कथाकार प्रभु, तपाईंले लेखनमा अलिकति अझ राम्रो ध्यान दिनुपर्छ । म कुनै ठूलो ज्ञानी वा दिग्गज मानिस होइन । तर एउटा साधारण कुरा दाबी गर्न सक्छु ।

हामी कुनै परिकार खान जाँदा बाहिरबाट हेर्दा त्यो निकै राम्रो देखिन्छ । सजावट उत्कृष्ट हुन्छ । भान्साबाट आएको सुगन्धले भोक बढाउँछ । हामीलाई लाग्छ, आज केही विशेष स्वाद चाख्न पाइने भयो ।

तर जब पहिलो गाँस मुखमा पुग्छ, तब थाहा हुन्छ—प्रस्तुतिमा कुनै कमी थिएन, तर पकाउने प्रक्रियामै कतै गडबडी रहेछ । जुन स्वादको अपेक्षा थियो, त्यो आएन । त्यसपछि भोक मात्रै होइन, मनसमेत खिन्न हुन्छ ।

कथामा पनि यस्तै हुन्छ ।

कथाकारको नाम सुनेपछि, उसको अघिल्लो लेखन सम्झिएपछि वा नयाँ विषय देखेपछि पाठकको मनमा एउटा अपेक्षा जन्मिन्छ । उसले सोच्छ—यसपटक केही नयाँ पढ्न पाइनेछ, मनभित्र कतै गहिरो चोट लाग्नेछ, कुनै पात्र आफ्नै जीवनको मान्छेझैँ लाग्नेछ । कुनै सोचेभन्दा अर्कै चाहिने कुरा उजागर हुने कन्टेन्ट हुनेछ ।

कहिलेकाहीँ त कथा पढ्नुअघि नै पाठकको कल्पनामा सगरमाथाजस्तो उचाइको दृश्य बनिसकेको हुन्छ ।

तर जब कथा पढ्न थालिन्छ, र अन्त्यसम्म पुग्दा पनि त्यो अनुभूति प्राप्त हुँदैन, तब दुःख लाग्छ ।

म तपाईंको मेहनतमाथि प्रश्न उठाउन चाहन्नँ । मेहनत अवश्य भएको हुन्छ । तर मेहनत गर्नु र मेहनतलाई सही दिशामा प्रयोग गर्नु फरक कुरा हुन् ।

लेखकले एउटा कुरा बुझ्न आवश्यक छ—पाठकले कथाकारको प्रयास पढ्दैन, उसले प्रयासबाट जन्मिएको कथा पढ्छ । भान्सामा कति घण्टा पसिना बग्यो भन्नेभन्दा थालमा आएको परिकार कस्तो छ भन्ने कुरा उसको अनुभव बन्छ ।

मलाई लाग्छ, तपाईंले कथाको सम्पूर्ण अनुभवलाई अझ राम्रो बनाउन सक्नुहुन्छ । पात्र, घटना, संवाद, गति, भावनाको स्वाभाविकता र अन्त्य—यी सबैमा अलिकति थप ध्यान दिनुभयो भने पाठकको विश्वास अझ बलियो बन्न सक्छ ।

कथाकारप्रतिको विश्वास एकपटक निर्माण हुन वर्षौँ लाग्छ । तर अपेक्षा र अनुभूतिबीच बारम्बार ठूलो दूरी रह्यो भने त्यो विश्वास कमजोर हुन पनि बेर लाग्दैन ।

यो गुनासो होइन, एउटा पाठकको आशा हो ।

किनकि म तपाईंको कथा पढ्न आउँछु भने मभित्र केही पाउने अपेक्षा लिएर आउँछु ।

त्यो अपेक्षाको सम्मान गरिदिनुहोस् ।’

सन्देश त्यहीँ समाप्त भएको थियो ।

प्रभु केही बेर मोबाइलको स्क्रिन हेरिरहे ।

बाहिर सडकमा गाडीहरू गुडिरहेका थिए । छिमेकीको घरबाट टेलिभिजनको आवाज आइरहेको थियो । भित्तामा झुन्डिएको घडीको सुई निरन्तर अगाडि बढिरहेको थियो ।

तर प्रभुको मनभित्र समय रोकिएझैँ भयो ।

उनले सन्देश फेरि पढे ।

एकपटक ।

दुईपटक ।

तेस्रोपटक पढ्दा उनको अनुहारमा असन्तुष्टि देखियो ।

‘यो पनि एउटा कुरा भयो !’

उनले मोबाइल टेबुलमा राखे ।

‘कथा लेख्न कति मेहनत गर्नुपर्छ भन्ने थाहा छ उसलाई ? एउटा पात्र निर्माण गर्न कति सोच्नुपर्छ ? समाज, राजनीति, दर्शन, मनोविज्ञान—कति कुरा जोड्नुपर्छ ! बाहिर बसेर टिप्पणी गर्न सजिलो छ ।’

उनले आफ्नो बचाउमा धेरै तर्कहरू तयार पारे ।

तर ती तर्कहरू कसैलाई सुनाउनुपर्ने थिएन । त्यसैले केही बेरमै तिनको आवाज आफैँ कमजोर हुँदै गयो ।

उनको दृष्टि टेबुलमा खुला रहेको आफ्नै कथाको पाण्डुलिपितिर गयो ।

शीर्षक थियो—‘अन्तिम उज्यालो’ ।

कथा एउटा गरिब वृद्ध बाबुको बारेमा थियो, जसले आफ्नो छोरालाई विदेश पठाउन खेत बेचेको थियो । छोरा विदेशमा स्थापित भएपछि बाबुलाई बिर्सन्छ । अन्त्यमा बाबु बिरामी भएर अस्पताल पुग्छ र छोराको प्रतीक्षामा संसार छोड्छ ।

प्रभुले त्यो कथा लेख्दा धेरैपटक भावुक भएको सम्झिए । अन्तिम अनुच्छेद लेख्दा त उनका आँखासमेत रसाएका थिए ।

तर अचानक उनको मनमा एउटा प्रश्न उठ्यो—

‘म लेख्दा रोएँ भन्दैमा पाठक पनि रुनैपर्छ भन्ने के ग्यारेन्टी छ ?’

प्रश्न सानो थियो, तर त्यसले उनको आत्मविश्वासको जगमा पहिलोपटक हल्का कम्पन ल्यायो ।

उनले कथा फेरि पल्टाए ।

वृद्ध बाबुको नाम रामप्रसाद थियो । उनको उमेर सत्तरी वर्ष थियो । उनी गाउँमा बस्थे । उनको छोरा विदेशमा थियो । बाबु बिरामी थिए । छोरा आएन ।

सबै कुरा स्पष्ट थियो ।

तर अचानक प्रभुले महसुस गरे—रामप्रसादको जीवन कहाँ थियो ?

उसले खेत बेच्ने निर्णय कसरी गरेको थियो ? खेतको अन्तिम डिलमा उभिँदा उसको मनमा के चलेको थियो ? छोराले पहिलोपटक विदेशबाट पैसा पठाउँदा उसले के किनेको थियो ? बिरामी हुँदा उसले कसलाई बोलाउन खोजेको थियो ? अस्पतालको झ्यालबाट बाहिर हेर्दा उसले कुन दृश्य सम्झिएको थियो ?

पाण्डुलिपिमा यी प्रश्नहरूको उत्तर थिएन ।

त्यहाँ दुःखको घोषणा थियो, तर दुःखको जीवन थिएन ।

त्यहाँ आँसुको वर्णन थियो, तर आँसु झर्नुअघिको लामो मौनता थिएन ।

त्यहाँ छोराको बेवास्ता थियो, तर बाबुले छोरालाई अझै किन माया गरिरह्यो भन्ने मनोवैज्ञानिक सत्य थिएन ।

प्रभुले आफ्नो कथाको अन्तिम पङ्क्ति पढे—

‘रामप्रसादले छोराको नाम लिँदै अन्तिम सास फेर्‍यो ।’

उनले कलम उठाए । त्यो वाक्य काट्न खोजे । तर हात रोकियो । किनकि त्यस वाक्यलाई काट्नुअघि उनले आफ्नै मनभित्र अर्को प्रश्नको सामना गर्नुपर्ने थियो—

‘मैले पाठकलाई रामप्रसादको मृत्यु देखाएँ । तर के मैले उसलाई रामप्रसादसँग बाँच्न दिएँ ?’

त्यस रात प्रभुले कथा संशोधन गरेनन् ।

उनले पहिलोपटक आफ्नै लेखनलाई लेखकको आँखाले होइन, पाठकको आँखाले हेर्ने निर्णय गरे ।

भोलिपल्ट बिहान प्रभु चियापसल पुगे । त्यहाँ उनका पुराना साथी रमेश भेटिए । रमेश विद्यालयमा पढाउँथे र फुर्सदमा साहित्य पढ्थे । उनी प्रभुका कथाका नियमित पाठक पनि थिए ।

प्रभुले चिया मगाएपछि अघिल्लो साँझ आएको सन्देशको कुरा सुनाए ।

रमेशले ध्यान दिएर सुने ।

‘तिमीलाई नराम्रो लाग्यो ?’ उनले सोधे ।

‘नराम्रो लाग्ने कुरा होइन । तर मेहनतलाई पनि त मूल्य दिनुपर्छ नि !’

रमेश मुस्कुराए ।

‘मेहनतको मूल्य अवश्य हुन्छ । तर त्यो मूल्य लेखकको निजी जीवनमा हुन्छ कि पाठकले पढ्ने कृतिमा ?’

प्रभु चुप लागे ।

रमेशले चियाको कप टेबुलमा राखे ।

‘एउटा उदाहरण दिऊँ ?’

‘देऊ ।’

‘तिमी कुनै रेस्टुरेन्टमा गयौ । त्यहाँको भान्से बिहान पाँच बजेदेखि काम गरिरहेको छ । उसको निधारबाट पसिना बगिरहेको छ । उसले तरकारी काटेको छ, मसला पिसेको छ, आगोको ताप सहेको छ । तिमीले यो सबै देख्यौ भने उसको मेहनतको सम्मान गर्छौ । तर जब उसले तिमीलाई खाना दिन्छ, त्यो काँचो छ भने के तिमी मेहनतको सम्मान गर्नकै लागि काँचो खाना खान्छौ ?’

‘खाँदिनँ ।’

‘किन ?’

‘किनकि मेहनत भए पनि परिकार ठीक भएन ।’

‘त्यसो भए लेखकका लागि यो नियम किन फरक हुनुपर्ने ?’

प्रभुले उत्तर दिएनन् ।

रमेशले कुरा अघि बढाए ।

‘तर एउटा कुरा पनि छ, प्रभु । परिकार स्वादिलो बनाउन मसला धेरै हाल्नु मात्रै पर्याप्त हुँदैन । कुन सामग्री कति चाहिन्छ, कहिले हाल्नुपर्छ, आगो कति हुनुपर्छ र पकाउने समय कति हो—सबैको सन्तुलन चाहिन्छ । कथामा पनि त्यही हो ।’

‘तिम्रो मतलब ?’

‘तिमी कहिलेकाहीँ पात्रको दुःख बताउन धेरै शब्द खर्च गर्छौ । पात्र किन दुःखी छ भन्ने कुरा पाठकलाई थाहा हुन्छ । तर उसले त्यो दुःख कसरी बाँच्छ भन्ने देखाउन कम समय दिन्छौ ।’

प्रभुले साथीको अनुहार हेरे ।

‘अलि स्पष्ट भन ।’

‘मानौँ, तिमी लेख्छौ—आमाले छोरालाई सम्झेर धेरै रोइन् । यो सूचना भयो । तर आमाले छोराले छोडेर गएको पुरानो जुत्ता अझै किन फ्याँक्न सकेकी छैनन् ? प्रत्येक साँझ ढोकाको आवाज सुन्दा किन एकछिन टाउको उठाउँछिन् ? छोराको मनपर्ने तरकारी किन अझै पकाउँछिन्, जबकि खाने अर्को कोही छैन ? यी कुरा देखायौ भने पाठकले आमाको दुःख बुझ्दैन मात्रै, महसुस पनि गर्छ ।’

प्रभु ध्यानपूर्वक सुनिरहेका थिए ।

‘अर्थात् भावनालाई व्याख्या गर्नुभन्दा त्यसलाई बाँच्न दिनुपर्छ ?’

‘ठ्याक्कै ।’

रमेशले मुस्कुराउँदै थपे, ‘र अर्को कुरा—हरेक कथा दर्शन सुनाउन जन्मिएको हुँदैन । कहिलेकाहीँ एउटा पात्रको सानो व्यवहारले ठूलो दर्शन बोकेको हुन्छ । पाठकलाई निष्कर्ष थमाइदिनुभन्दा उसलाई आफैँ निष्कर्षमा पुग्ने ठाउँ देऊ ।’

प्रभुको मनमा अघिल्लो रात पढेको सन्देश फेरि आयो ।

‘पाठकले प्रयास पढ्दैन, प्रयासबाट जन्मिएको कथा पढ्छ ।’

उनले चियाको अन्तिम घुट्को पिए ।

‘तर एउटा कुरा भन, रमेश । पाठकले कथामा सधैँ आँसु, चरमोत्कर्ष र ठूलो सन्देश नै खोज्छ त ?’

‘खोज्दैन । कसैले हाँसो खोज्छ, कसैले शान्ति, कसैले प्रश्न, कसैले आफ्नै जीवनको ऐना । उत्कृष्ट कथा भनेको सबै पाठकलाई एउटै अनुभूति दिने कथा होइन । आफ्नो विषय र पात्रप्रति इमानदार भएर पाठकलाई एउटा सजीव अनुभव दिने कथा हो ।’

‘त्यसो भए कथाको उत्कृष्टता केमा हुन्छ ?’

रमेश केही बेर मौन बसे ।

‘कथा पढिसकेपछि पाठकले किताब बन्द गर्न सक्छ । तर कथाभित्रको कुनै पात्रलाई मनबाट तुरुन्तै निकाल्न सक्दैन भने, त्यहाँ केही विशेष भएको हुन सक्छ ।’

प्रभुले त्यो वाक्य मनमनै दोहोर्‍याए ।

किताब बन्द गर्न सकिन्छ, पात्रलाई मनबाट निकाल्न सकिँदैन । त्यही क्षण उनलाई आफ्ना पुराना कथाका पात्रहरू सम्झना आए । कति पात्रहरू कथाको अन्त्यसँगै हराएका थिए ! उनीहरूको नामसमेत प्रभुलाई अहिले राम्ररी याद थिएन ।

के ती पात्रहरू साँच्चै बाँचिरहेका थिए ?

कि ती केवल आफ्नो विचार बोकेर हिँड्ने कठपुतली थिए ?

उनले पहिलोपटक आफ्नो लेखनको असफलताबारे सोच्न थाले । र त्यो सोचाइले उनलाई अपमानित होइन, अलि बढी सचेत बनाइरहेको थियो ।

तीन दिनपछि प्रभुले एउटा सानो प्रयोग गर्ने निर्णय गरे ।

उनले आफ्नो नयाँ कथा सामाजिक सञ्जालमा प्रकाशित गर्नुअघि केही पाठकलाई पढ्न दिने विचार गरे । प्रशंसा गर्न बाध्य नहुने, आलोचना गर्न डराउन नपर्ने मानिसहरू ।

त्यही क्रममा उनले पहिले सन्देश पठाउने पाठकलाई फोन गरे ।

‘नमस्कार,’ प्रभुले भने, ‘तपाईंले मलाई पठाउनुभएको सन्देश पढेँ । म तपाईंलाई भेट्न चाहन्छु, यदि तपाईंलाई असहज हुँदैन भने। ’

फोनको अर्को छेउबाट केही क्षण मौनता आयो ।

‘किन र ?’

‘तपाईंको विचार बुझ्न ।’

‘मैले त सामान्य कुरा भनेको हुँ ।’

‘त्यही सामान्य कुराभित्र मैले बुझ्नुपर्ने केही विशेष कुरा भेटेँ ।’

उनीहरू भोलिपल्ट भेट्ने भए ।

पाठकको नाम थियो—हरि । उनी एउटा सहकारीमा लेखा हेर्थे । बिहान घरबाट निस्कन्थे, दिनभरि हिसाबकिताब गर्थे र साँझ फर्केर परिवारसँग समय बिताउँथे । साहित्य उनको पेसा थिएन । तर उनी हरेक रात सुत्नुअघि केही न केही पढ्थे ।

भोलिपल्ट प्रभु एउटा सामान्य चियापसलमा पुगे । हरि पहिले नै आइपुगेका थिए । उनको पहिरन साधारण थियो । हातमा पुरानो झोला थियो । झोलाभित्र एउटा डायरी र दुईवटा किताब देखिन्थे ।

‘तपाईंको कथा मैले धेरै पढेको छु,’ हरिले भने, ‘त्यसैले सन्देश पठाएको हुँ । तपाईंलाई होच्याउन होइन ।’

‘मैले अहिले त्यो बुझ्न थालेको छु,’ प्रभुले जवाफ दिए ।

हरिले चिया मगाए ।

‘म एउटा कुरा सोधुँ ?’

‘सोध्नुस् ।’

‘तपाईं कथा लेख्दा पात्रको भविष्य पहिल्यै तय गर्नुहुन्छ ?’

प्रभु केही सोचेर बोले, ‘धेरैजसो गर्छु । कथा कहाँ पुग्ने भन्ने थाहा हुन्छ ।’

‘त्यसैले कहिलेकाहीँ पात्रभन्दा कथाकार ठूलो देखिन्छ कि ?’

प्रभु चकित भए ।

‘त्यो कसरी ?’

‘कहिलेकाहीँ तपाईंको पात्रले जे गर्नुपर्ने हो, त्यही गर्छ । उसले जे बोल्नुपर्ने हो, त्यही बोल्छ । कथाको सन्देश प्रमाणित गर्न ऊ जन्मिएको जस्तो लाग्छ । तर वास्तविक जीवनमा मानिसहरू सधैँ आफ्नो परिस्थितिअनुसार तर्कसङ्गत व्यवहार गर्दैनन् । दुःखमा परेको मानिस पनि कहिलेकाहीँ हाँस्छ । अन्यायमा परेको मानिस पनि अन्याय गर्नेलाई माया गर्छ । गल्ती गरेको मानिस आफूलाई निर्दोष ठान्छ । मान्छेभित्र विरोधाभास हुन्छ ।’

हरिले आफ्नो डायरी खोले ।

‘मैले तपाईंको एउटा कथा पढ्दा यस्तो लेखेको थिएँ—“पात्रले लेखकको कुरा मान्न छोडेर आफ्नै जीवन बाँच्न थालेपछि कथा जन्मिन्छ ।”’

प्रभुले त्यो वाक्य ध्यानपूर्वक सुने ।

‘तपाईंले कथा पढ्दा के खोज्नुहुन्छ ?’ उनले सोधे ।

हरिले तुरुन्त उत्तर दिएनन् ।

बाहिर सडकमा एउटा बालक बेलुन बेच्दै थियो । ऊ एक हातले बेलुन समातिरहेको थियो र अर्को हातले बाटो हिँड्ने मानिसलाई बोलाइरहेको थियो । केही मानिसले उसलाई हेरेर बाटो काटे । एक महिलाले आफ्नो छोराका लागि एउटा बेलुन किनिन् । बालकको अनुहारमा क्षणभर उज्यालो फैलियो ।

हरिले त्यो दृश्यतिर हेरे ।

‘म कथामा आफूले नभेटेको संसार खोज्छु,’ उनले भने, ‘तर कहिलेकाहीँ आफूले देखेको संसारलाई नयाँ आँखाले हेर्न पनि खोज्छु ।’

‘कस्तो संसार ?’

‘जस्तो—हामी दिनभरि एउटा वृद्धलाई सडक किनारमा बसेको देख्छौँ । हामी उसलाई भिखारी भन्छौँ । तर ऊ त्यहाँ किन बस्छ, उसको घर कहाँ छ, ऊ कसैको बुबा हो कि होइन, उसको जीवनमा कुन दिन यस्तो आयो—यी प्रश्न हामी गर्दैनौँ । कथा पढ्दा म त्यही प्रश्न गर्न थाल्छु ।’

प्रभु मौन रहे ।

हरिले फेरि भने, ‘कथाकारले संसारलाई असाधारण बनाउनुपर्दैन । संसारभित्र लुकेको असाधारण कुरा देखाइदिए पुग्छ ।’

त्यो वाक्य प्रभुको मनमा गहिरो गरी बस्यो ।

उनले जीवनभरि ठूला विषय खोजेका थिए । समाज परिवर्तन, भ्रष्टाचार, गरिबी, अन्याय, देशको भविष्य, मानवताको संकट । ती विषय महत्त्वपूर्ण थिए । तर तिनलाई जीवन्त बनाउने मानिसहरूको साना अनुभवतिर उनले पर्याप्त ध्यान दिएका थिए कि थिएनन् ?

उनी सोच्न थाले ।

हरिले झोलाबाट एउटा सानो कागज निकाले ।

‘तपाईंको एउटा कथाको अन्त्य मलाई मन परेको थियो,’ उनले भने, ‘तर त्यहाँ पुग्नुअघि तपाईंले धेरै ठाउँमा पात्रलाई रोएको, दुःखी भएको र पीडित भएको बताउनुभएको थियो । तीमध्ये आधा हटाउनुभएको भए पनि अन्त्य अझ शक्तिशाली हुन्थ्यो होला ।’

प्रभुले कागज लिए ।

त्यसमा हरिले कथाका केही वाक्य टिपेका थिए । छेउमा रातो कलमले टिप्पणी गरेका थिए—

‘यहाँ पाठकले बुझिसकेको कुरा फेरि भनिएको छ ।’

अर्को ठाउँमा लेखिएको थियो—

‘यहाँ घटना घट्नुपर्ने होइन, पात्रले केही निर्णय गर्नुपर्ने हो ।’

र अन्तिम पानामा—

‘यहाँ कथाकार बोलिरहेका छन् । पात्रलाई बोल्न दिनुहोस् ।’

प्रभुले कागज हातमा समाते ।

उनलाई कुनै पुरस्कार प्राप्त भएको थिएन । कुनै साहित्यिक समारोहमा सम्मान गरिएको थिएन । कसैले उनको नाममा ताली बजाएको पनि थिएन । तर त्यो सानो चियापसलमा बसेर उनले आफ्नो लेखनको सबैभन्दा उपयोगी पाठ सिकिरहेका थिए ।

किनकि पहिलोपटक कसैले उनको कथाको प्रशंसा वा निन्दा मात्र गरिरहेको थिएन । कसैले उनलाई आफ्नो कथाभित्र प्रवेश गर्ने ढोका देखाइरहेको थियो ।

त्यस रात प्रभुले आफ्नो कार्यकक्षको ढोका बन्द गरे । टेबुलमा बत्ती बलिरहेको थियो । बाहिरको संसार बिस्तारै निदाउँदै थियो । उनले पुराना पाण्डुलिपिहरू झिके ।

एउटा कथा पढे । अर्को पढे । फेरि अर्को ।

जहाँ अनावश्यक व्याख्या थियो, उनले चिनो लगाए । जहाँ पात्रले कथाकारको विचार दोहोर्‍याएको थियो, त्यहाँ प्रश्नचिह्न राखे । जहाँ भावनालाई नाम दिइएको थियो तर त्यसको कारण देखाइएको थिएन, त्यहाँ उनले खाली ठाउँ छोडे ।

कहिलेकाहीँ उनलाई आफ्नै वाक्य निकै सुन्दर लाग्थ्यो । तर हरिको टिप्पणी सम्झेर उनी सोध्थे—‘यो वाक्य सुन्दर छ, तर के यसले कथालाई अगाडि बढाउँछ ?’

यदि उत्तर थिएन भने उनी वाक्य काट्थे । कहिलेकाहीँ उनले पूरा अनुच्छेद हटाए । कहिलेकाहीँ त पूरै पाना । पहिले उनलाई आफ्ना शब्द काट्दा दुःख लाग्थ्यो । मैले त्यत्रो लेखिसकेँ, म त्यत्रो अनुभवि, मबाट त गल्ती हुनै सक्दैन तर उनको यो इगो पग्लिँदै थियो । अब उनले बुझ्न थाले—हरेक लेखिएको शब्द कृतिको सम्पत्ति हुँदैन । केही शब्द लेखकको अहंकारका अवशेष पनि हुन सक्छन् ।

उनले ‘अन्तिम उज्यालो’ फेरि खोले ।

रामप्रसाद अस्पतालको शय्यामा थियो । पुरानो कथामा प्रभुले उसलाई छोराको नाम लिँदै मारेका थिए । यसपटक उनले त्यो दृश्य फेरि लेख्न थाले । रामप्रसादले आँखा खोलेको थियो । अस्पतालको झ्यालबाहिर पानी परिरहेको थियो । नर्सले औषधि दिएर बाहिर निस्केकी थिई । शय्याको छेउमा एउटा सानो प्लास्टिकको झोला थियो, जसमा घरबाट ल्याइएको पुरानो गम्छा र एउटा स्टिलको गिलास राखिएको थियो ।

रामप्रसादले गिलास समात्न खोज्यो । हात काँप्यो । उसलाई अचानक छोराको बाल्यकाल सम्झना आयो । छोरा विद्यालय जाँदा पानीको बोतल बिर्सन्थ्यो । ऊ खेतको डिलबाट दौडेर बाटोमा पुग्थ्यो र बोतल हातमा थमाइदिन्थ्यो ।

एकपटक छोरो रिसाएको थियो ।

‘बाबा, सबै साथीका बोतल राम्रा छन् । मेरो किन यस्तो पुरानो ?’

रामप्रसादले हाँस्दै भनेको थियो, ‘अर्को वर्ष किनिदिन्छु ।’

अर्को वर्ष उसले नयाँ बोतल किनिदियो । त्यसपछि छोरो ठूलो भयो । शहर गयो । विदेश गयो । अस्पतालको शय्यामा पल्टिएको रामप्रसादले आँखा चिम्लियो ।

उसले छोरालाई दोष दिन खोज्यो, तर सकिरहेको थिएन । उसलाई अझै पनि छोरो भोकै होला कि भन्ने चिन्ता थियो । चिसोमा न्यानो लुगा लगाएको छ कि छैन भन्ने चिन्ता थियो ।

उसले छेउमा राखिएको मोबाइल माग्यो । नर्सले मोबाइल हातमा दिई । उसले छोराको नम्बर खोल्यो । फोन गर्ने बटन थिच्न खोज्यो । औँला स्क्रिनमाथि रोकियो ।

उसले सोच्यो—छोरो अफिसमा होला । अहिले फोन गर्दा बाधा पुग्ला ।

उसले मोबाइल फेरि सिरानीमुनि राखिदियो ।

त्यसैबेला नर्सले सोधी, ‘बुबा, घरबाट कोही आउँदै हुनुहुन्छ ?’

रामप्रसादले झ्यालबाहिर हेरेर भन्यो, ‘आउँछ नि, नानी । काम सकेपछि आउँछ ।’

नर्स केही बोलिन । उसले सिरानी मिलाइदिई । रामप्रसादले फेरि आँखा चिम्लियो ।

‘नानी,’ उसले बिस्तारै भन्यो, ‘मेरो छोरालाई फोन गरिदेऊ न । उसलाई भनिदेऊ—बाबाले केही भन्नु छैन । बस्, एकपटक आवाज सुन्न मन लागेको छ ।’

प्रभुको हात रोकियो । उनी आफैँले लेखेको दृश्य पढिरहेका थिए । उनको घाँटीमा केही अड्किएजस्तो भयो । तर यसपटक उनले वाक्यलाई भावुक बनाउन थप विशेषण खोजेनन् । उनले रामप्रसादलाई फेरि रुवाएनन् । अस्पताललाई अँध्यारो बनाएनन् । नर्सलाई करुणाको लामो भाषण बोलाएनन् ।

उनी केही बेर मौन बसे ।

त्यसपछि कथा अघि बढाए ।

फोन लाग्यो ।

उता छोराले व्यस्त स्वरमा भन्यो, ‘हेलो, को बोल्नुभएको ?’

नर्सले भनिन्, ‘तपाईंको बुबा अस्पतालमा हुनुहुन्छ । उहाँले तपाईंको आवाज सुन्न चाहनुभएको छ ।’

केही क्षण मौनता रह्यो ।

‘म अहिले मिटिङमा छु । आधा घण्टापछि फोन गर्छु ।’

नर्सले रामप्रसादतिर हेरिन् ।

‘बुबा ! उहाँले पछि फोन गर्छु भन्नुभएको छ ।’

रामप्रसादको अनुहारमा हल्का मुस्कान आयो ।

‘काम त गर्नैपर्‍यो नि, नानी ।’

उसले मोबाइल आफ्नो छातीमा राख्यो ।

आधा घण्टापछि फोन आएन ।

एक घण्टापछि पनि आएन ।

रात गहिरिँदै गयो ।

रामप्रसादले छोराको नम्बर भएको स्क्रिनतिर हेर्दै आँखा चिम्लियो ।

भोलिपल्ट बिहान नर्स ड्युटीमा आउँदा उसको सिरानीमुनि मोबाइल थियो । स्क्रिनमा एउटा सन्देश चम्किरहेको थियो—

‘बाबा, हिजो फोन गर्न पाइनँ । आज साँझ कुरा गरौँला ।’

सन्देश आएको समय राति एघार बजेर सैंतीस मिनेट थियो । तर रामप्रसादले त्यो पढ्न पाएको थिएन ।

प्रभु धेरै बेर स्क्रिनतिर हेरिरहे ।

उनले कथाको अन्त्यमा कुनै उपदेश लेखेनन् । छोरालाई पापी भनेनन् । समाजलाई दोष दिएनन् । वृद्धावस्थाको पीडामाथि दार्शनिक अनुच्छेद थपेनन् ।

उनले केवल मोबाइलको स्क्रिन निभिएको दृश्य राखे ।

र कथा त्यहीँ समाप्त गरे ।

त्यस रात उनले पहिलोपटक महसुस गरे—कहिलेकाहीँ कथा समाप्त हुन्छ, तर पाठकभित्र त्यसको वास्तविक जीवन त्यहीँबाट सुरु हुन्छ ।

एक सातापछि प्रभुले संशोधित कथा हरिलाई पठाए ।

साथमा एउटा छोटो सन्देश थियो—

‘यो कथा फेरि पढिदिनुहोस् । राम्रो लागेको कुरा मात्रै होइन, जहाँ कमजोरी देख्नुहुन्छ, त्यही पनि भन्नुहोला ।’

हरिले दुई दिनपछि जवाफ पठाए ।

‘यसपटक रामप्रसाद मेरो आँखाअगाडि उभियो । कथा पढिसकेपछि मैले आफ्ना बुबालाई फोन गरेँ ।’

प्रभुले सन्देश पढे ।

त्यो एउटा वाक्य थियो ।

न कुनै ठूलो प्रशंसा । न कुनै विशेषणको वर्षा । न कथाकारलाई महान् घोषणा गरिएको थियो ।

तर प्रभुलाई त्यो वाक्यले दिएको अनुभूति उनले पहिलेका दर्जनौँ प्रशंसात्मक टिप्पणीबाट पाएका थिएनन् ।

उनले तुरुन्त फोन गरे ।

‘कथा कस्तो लाग्यो ?’

हरि हाँसे ।

‘एउटा कुरा भनुँ ? अन्त्य पढेपछि मलाई आफ्नै बुबाको याद आयो । उहाँ गाउँमा हुनुहुन्छ । म शहरमा छु । म पनि धेरैपटक कामको व्यस्ततामा फोन गर्न भ्याउँदिनँ ।’

केही क्षण मौनता रह्यो ।

‘तपाईंलाई थाहा छ,’ हरिले थपे, ‘कथा पढ्दा म रामप्रसादलाई मात्रै सम्झिरहेको थिइनँ । म आफैँलाई पनि हेरिरहेको थिएँ । बाबालाई पनि सम्झन पुगेँ ।’

प्रभु चुप लागे ।

उनीभित्र एउटा अनौठो अनुभूति जन्मिरहेको थियो । पाठकलाई रुवाउनु कथाको उद्देश्य थिएन भन्ने कुरा उनले बुझ्दै थिए । पाठकले आफूलाई हेर्न थाल्नु, आफ्ना निर्णयमाथि प्रश्न गर्नु, कसैलाई फोन गर्न मन लाग्नु, कसैसँग माफी माग्न मन लाग्नु—कहिलेकाहीँ कथा त्यहीँ सफल हुन्छ ।

उनले हरिलाई धन्यवाद दिए ।

फोन राखेपछि प्रभु आफ्नो टेबुलअगाडि बसे ।

उनले डायरी खोले र लेखे—

‘आज एउटा पाठकले मेरो कथाको अन्त्यमा आफ्ना बुबालाई फोन गरे । मैले लेखेको कथा कति राम्रो थियो भन्ने निर्णय म गर्न सक्दिनँ । तर त्यसले कसैलाई आफ्नै जीवनतिर फर्केर हेर्न लगायो भने, त्यो लेखनको सानो उपलब्धि हो ।’

उनी केही बेर रोकिए ।

फेरि लेखे—

‘कथाकारको प्रतिष्ठा उसको नामको अग्लाइमा मात्र हुँदैन । पाठकको मनमा उसले छोडेको अनुभूतिको गहिराइमा पनि हुन्छ ।’

त्यसपछि उनले कलम राखे ।

साँझ पर्दै थियो ।

सडकमा मानिसहरू घर फर्किरहेका थिए । एउटा वृद्ध मानिस सडक पार गर्न खोज्दै थियो । उसको हातमा तरकारीको झोला थियो । गाडीहरू रोकिएनन् । ऊ केही बेर सडकको छेउमा उभिरह्यो ।

प्रभुले झ्यालबाट त्यो दृश्य देखे ।

पहिले भए उनले त्यस दृश्यलाई एउटा कथाको प्रतीक बनाउनेबारे सोच्थे—समाजको असंवेदनशीलता, आधुनिकताको क्रूरता, मानिसको पतन ।

तर यसपटक उनी उठे । ढोका खोलेर तल झरे । सडक पार गर्न नसकिरहेका वृद्धको नजिक पुगे ।

‘बुबा, आउनुस् । म पार गराइदिन्छु ।’

वृद्धले उनको हात समात्यो ।

सडक पार गरेपछि वृद्धले भने, ‘धन्यवाद, बाबु ।’

प्रभुले मुस्कुराएर टाउको हल्लाए ।

उनी फर्किए ।

त्यो घटनामा कुनै असाधारण नाटकीयता थिएन । कसैले ताली बजाएको थिएन । कुनै पाठकले प्रशंसा गरेको थिएन । उनले गरेको कामलाई कसैले सामाजिक सञ्जालमा राख्ने सम्भावना पनि थिएन ।

तर त्यो साँझ प्रभुले एउटा महत्त्वपूर्ण कुरा बुझे—

जीवनलाई नजिकबाट नहेरी लेखिएको कथा शब्दहरूको प्रदर्शन हुन सक्छ; जीवनसँग छोएर लेखिएको कथा भने मानिसको अनुभव बन्न सक्छ ।

उनले आफ्ना पुराना कथाहरू फेरि सम्झिए ।

कति ठाउँमा उनले पात्रको पीडालाई सुन्दर वाक्यमा सजाएका थिए । कति ठाउँमा घटनाको गहिराइमा पुग्नुअघि नै दर्शन सुनाएका थिए । कति ठाउँमा पाठकले आफैँ बुझ्न सक्ने कुरा पनि व्याख्या गरिदिएका थिए ।

अब उनले आफ्नो लेखनको उद्देश्य बदल्नुपर्ने महसुस गरे । अझ धेरै लेख्नु मात्रै पर्याप्त थिएन । अझ धेरै पढ्नु थियो । मानिसहरूलाई सुन्नु थियो । आफूभन्दा फरक जीवन बाँचेका मानिसहरूसँग बस्नु थियो । आफ्ना पात्रलाई प्रेम गर्नु थियो, तर उनीहरूलाई आफ्नो विचारको दास बनाउनबाट जोगिनु थियो ।

र सबैभन्दा महत्त्वपूर्ण—आलोचनाबाट भाग्नु थिएन ।

किनकि प्रशंसाले लेखकलाई उड्न सिकाउन सक्छ, तर आलोचनाले उसको उडानमा रहेका अदृश्य कमजोरी देखाउन सक्छ ।

त्यो रात उनले नयाँ कथा सुरु गरे । यसपटक उनले पहिले शीर्षक लेखेनन् । पहिले दर्शन लेखेनन् । पहिले चरमोत्कर्ष पनि तय गरेनन् । उनले एउटा खाली पाना खोले र त्यसको माथि एउटा प्रश्न लेखे—

‘यो पात्र साँच्चै बाँचेको भए, आज राति उसलाई के कुराले निदाउन दिँदैनथ्यो ?’

त्यसपछि उनले लेख्न थाले ।

शब्दहरू बिस्तारै आउँदै थिए । केही वाक्य राम्रा थिए, केही कमजोर । केही अनुच्छेद लेखेपछि उनले आफैँलाई प्रश्न गर्थे—यो कुरा पात्रको जीवनबाट आएको हो कि मेरो विचारबाट ?

जहाँ उत्तर सन्तोषजनक हुँदैनथ्यो, उनी फेरि लेख्थे ।

रात बित्दै गयो । कथाको पाना भरिँदै गयो । तर त्यो रात प्रभुलाई कथा पूरा गर्ने हतार थिएन । उनी अब शब्दहरूको सगरमाथा बनाउने प्रयासमा मात्रै थिएनन् । उनी त्यहाँ पुग्ने बाटोमा भेटिने मानिसहरूलाई चिन्न खोजिरहेका थिए ।

किनकि उनले बुझिसकेका थिए—उचाइको दाबी गरेर पहाड अग्लो हुँदैन । पहाडको उचाइ नाप्ने आधार त्यसको वास्तविक उचाइ नै हो ।

त्यसैगरी कथाकारको नामले पाठकको अपेक्षा ठूलो बनाउन सक्छ, तर त्यो अपेक्षालाई पूरा गर्ने सामर्थ्य कथाभित्रै हुनुपर्छ ।

वर्षौँपछि कुनै साहित्यिक कार्यक्रममा प्रभुलाई एउटा प्रश्न सोधियो—

‘तपाईंको विचारमा राम्रो कथा के हो ?’

प्रभुले तुरुन्त उत्तर दिएनन् ।

उनले सभाहलमा बसेका मानिसहरूलाई हेरे । अगाडिको पङ्क्तिमा साहित्यका प्राध्यापकहरू थिए । पछाडि विद्यार्थीहरू थिए । बीचमा एउटा साधारण पहिरनमा आएको मानिस पनि थियो, जसको हातमा पुरानो झोला थियो ।

त्यो मानिसलाई हेर्दा प्रभुलाई हरिको सम्झना आयो ।

उनले मुस्कुराउँदै भने—

‘पहिले म राम्रो कथा भनेको गम्भीर विषय भएको, गहिरा विचार भएको, सुन्दर भाषा भएको र अन्त्यमा ठूलो सन्देश दिने रचना हो भन्ने ठान्थेँ । अहिले पनि यी कुराको महत्त्व छ भन्ने मान्छु । तर यति मात्रै पर्याप्त छैन ।

कथा पढ्दा पाठकले लेखकको ज्ञानको प्रदर्शन मात्रै देख्यो भने ऊ प्रभावित हुन सक्छ । तर पात्रको जीवनमा आफ्नै जीवनको कुनै अंश भेट्यो भने ऊ जोडिन्छ ।

भाषा सुन्दर हुनुपर्छ, तर सुन्दरताले सत्यलाई छोप्नु हुँदैन । दर्शन हुनुपर्छ, तर पात्रको जीवनभन्दा माथि बसेर उपदेश दिनु हुँदैन । चरमोत्कर्ष हुनुपर्छ, तर त्यसका लागि घटनालाई जबर्जस्ती मोड्नु हुँदैन । अन्त्य शक्तिशाली हुनुपर्छ, तर शक्तिशाली देखिनका लागि पात्रमाथि अनावश्यक दुर्घटना थोपर्नु हुँदैन ।

सबैभन्दा महत्त्वपूर्ण कुरा—कथाकारले पाठकको समय र विश्वासलाई सम्मान गर्नुपर्छ ।’

उनले एकछिन रोकिएर थपे—

‘एउटा पाठकले मलाई कहिल्यै नबिर्सने कुरा सिकाएको थियो । उसले भन्यो—कुनै परिकार बाहिरबाट उत्कृष्ट देखिन सक्छ, तर वास्तविक स्वाद चाखेपछि मात्र थाहा हुन्छ ।

मैले त्यसलाई लेखनमा पनि लागू हुने सत्यका रूपमा बुझेँ ।

कथाको शीर्षकले पाठकलाई बोलाउँछ । कथाकारको नामले अपेक्षा जगाउँछ । पहिलो अनुच्छेदले उसलाई भित्र पस्न प्रेरित गर्छ । तर अन्त्यसम्म उसलाई साथमा राख्ने काम कथाको जीवन्तताले गर्छ ।

लेखकले कति मेहनत गर्‍यो भन्ने कुरा महत्त्वपूर्ण छ । तर त्यो मेहनतले पाठकलाई कस्तो अनुभव दियो भन्ने प्रश्नबाट लेखक उम्कन मिल्दैन ।

आलोचना सुन्दा आफ्नो अपमान भएको ठान्ने लेखकले आफ्नो कमजोरी सुधार्ने अवसर गुमाउन सक्छ । हरेक प्रशंसालाई सत्य र हरेक आलोचनालाई शत्रुता ठान्ने लेखकले आफ्नै वरिपरि अदृश्य पर्खाल बनाउँछ ।

त्यसैले म अहिले पाठकको आलोचनालाई आफ्नो लेखनमाथिको फैसला होइन, लेखनलाई अझ राम्रो बनाउने सम्भावना ठान्छु ।’

सभाहल शान्त थियो ।

प्रभुले अन्तिम वाक्य बोले—

‘कथाकारको सफलता पाठकले उसको नाम कति ठूलो स्वरमा लिन्छ भन्नेमा मात्रै हुँदैन । कहिलेकाहीँ एउटा कथा पढेपछि पाठकले चुपचाप कसैलाई फोन गर्छ, कसैसँग माफी माग्छ, कुनै अन्याय देखेर मौन बस्न सक्दैन, वा आफ्नो जीवनको एउटा निर्णयमाथि पुनर्विचार गर्छ । त्यस्तो क्षणमा कथाले आफ्नो पानाको सीमा पार गरेको हुन्छ ।

तर यस्तो प्रभाव पार्ने दाबी गरेर मात्रै हुँदैन । त्यसका लागि पात्रको सत्य, घटनाको स्वाभाविकता, भाषाको अनुशासन र लेखकको इमानदारी आवश्यक हुन्छ ।

अन्ततः कथा लेख्नु भनेको पाठकलाई आफू कति जान्दछु भनेर देखाउनु होइन; पाठकलाई आफूले नदेखेको जीवन देखाउनु हो ।’

ताली बज्न थाले ।

प्रभुले शिर झुकाए ।

तर उनको मनमा त्यो दिनको सबैभन्दा ठूलो उपलब्धि ताली थिएन । उनी आफ्नो पहिलो कथाको संशोधित अन्त्य सम्झिरहेका थिए—एउटा निभेको मोबाइलको स्क्रिन, एउटा अधुरो फोन र एउटा बाबु, जसले छोरालाई अन्तिम क्षणसम्म पनि दोष दिन सकेन ।

त्यहाँ कुनै ठूलो भाषण थिएन । तर त्यहाँ एउटा जीवन थियो । र त्यो जीवनभित्र पाठकले आफूलाई भेट्न सक्ने सम्भावना थियो ।

कार्यक्रम सकिएपछि प्रभु घर फर्किए । टेबुलमा नयाँ कथाको पाण्डुलिपि उनको प्रतीक्षामा थियो । उनले त्यसलाई फेरि पढे । एउटा अनुच्छेद अनावश्यक लाग्यो । उनले काटे । अर्को संवाद बनावटी लाग्यो । फेरि लेखे । अन्तिम दृश्यमा एउटा वाक्यले पाठकलाई के सोच्न बाध्य पार्छ भन्ने प्रश्न गरे ।

त्यसपछि मात्रै उनले पाण्डुलिपि बन्द गरे ।

रातको आकाश फैलिएको थियो । टाढाको पहाड अँध्यारोमा हराएको थियो, तर प्रभुलाई थाहा थियो—त्यसको उचाइ अँध्यारोले घटाएको थिएन, उज्यालोले बढाएको पनि थिएन ।

पहाड जे थियो, त्यही थियो । अब उनले कथालाई पनि त्यस्तै सत्य बनाउन चाहन्थे । किनकि पाठकको मनमा सगरमाथा बनाउने कुरा कथाकारको दाबी होइन, कथाको वास्तविक उचाइ हो । र त्यो उचाइ नाप्ने अन्तिम अधिकार लेखकको अहंकारसँग होइन—कथा पढेर आफ्नो जीवनतिर फर्किने पाठकको अनुभवसँग हुन्छ ।

कथाकारले लेखेको पाण्डुलिपि उसको टेबुलमा समाप्त हुन सक्छ, तर कथाको वास्तविक परीक्षा त्यहाँबाट सुरु हुन्छ—जहाँ पाठकले किताब बन्द गर्छ, केही क्षण मौन बस्छ, र आफ्नै मनभित्र एउटा प्रश्न सुन्छ अनि मनमुटुको समिप महसुस गर्छ ।

त्यो प्रश्नको आवाज यदि कथाको अन्तिम पङ्क्तिभन्दा लामो समयसम्म गुञ्जिरह्यो भने, सायद कथा साँच्चै बाँचेको हुन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।