19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एक्लो पहाड

कविता नारायण श्रेष्ठ December 31, 2008, 12:37 pm

गोरु गाढा र ट्रयाक्टरको आवाज पछ्याउंदै पुग्ने गाउंलाई

वालुवाको सानो ढिस्कोले छेक्छ केहीवेर

सांझको पातलो घामको छायांमा विलाउन खोज्छ

पीपलको पात र सल्लाको आवाज

ओराली परेको गोरेटो वाटोमा पाहुना हुनेछन–चाड मनाउन आएका

दोहोरी लत्तै फर्कने छन्,

लेउ लागेको चिप्लेटीमा पाईलाहरु पर्नेछैनन

वाटोभरि विछ्याउंदै, देउरालीको भीमसेन पातीले

सम्झना गर्नेछन काट्न वांकी वाटोको यादलाई

केटाकेटीहरु अतालिनेछन वाटोको लम्वाई नापेर

खोल्सा खोल्सीमा वगेको पानीको आवाज

निकै पुरानो नोष्टाल्जियामा वांच्दै गरेको उउटा आधुनिक गाउं

पुरानु दोहोरी गीतको धुन

आधुनकि टेलीभिजनले छरेको रंग

यो राजनीतिको भाकाले कोरेको नयाँ सीमारेखा

सास फेर्न पनि गाह्रो छ

उधारो छ पाखाभरि पहिरो र पसिनाको

फेर्न मिल्ने भाकाहरु छैनन

रित्तो काईंयोको पोथ्रा र वांसघारी

सुनसान चीया पसल र पानी पंधेरो

केटाकेटी र वुढावुढीको लहरे खोकी मात्रै छ गाउंमा!

मसिना शीतको थोपा आकाश चीर्छ

शरदको जून पोखिन्छ र मानिसहरु मायालु वन्छन

वाक्लो लवजमा कोही आउने छ

विद्रोह जस्तो पदचाप लिएर

अपहरण गरेर वस्नु पर्छ पानी तीर्खालाई

वालुवाको कविता लेखिएको क्षण पनि

सम्झाउन खोज्नु पर्ने छ

सुल्पा तानीरहेको वुढालाई,

तखतामा सजाईएको छोपको अचारलाई र आमालई

तर्पायं परेको ढुङ्गेलो वाटोभरी

यादले सताउने छ!

उ गयो यो अंध्यारो जस्तो वाटो चिरेर

त्यसभन्दा पर अर्को भूगोल पनि हुनु पर्छ

एउटा सम्झना लिएर

जून पोखिएको वाटो हाँदै

सलाम गाउंलाई –

लाहुरेको कथाजस्तो

कतिखेर ओईलाउने र कत्तिखेर वौराउने वावरी फूलको लहर

सुकेर, ओईलिएका थांक्राभरिका तरकारी

वजार हुने छैन

सारन तारनमा अडिउन्जेल चल्नेछ

यो सम्वन्धको डोरी

गाईगोठ जस्तो अल्मलाई

ढुङ्गा, गीटी र वालुवा भरिएको यात्रा

आफै उठेको विस्तारै

आफै झरेको विस्तारै

विपर्यास गति लिएर

न अघि न पछि

वढ्नु छ केवल प्रतयेक दिन मनिदरको घण्टीसम्म

कहांनेर भेटुं होला

यो निस्चल पानीको वहाव र प्रेमको संगमलाई

गाउंभरि कुकुर मात्रै भुक्ने छन– सांझभरि

खुकुरी वज्ने छ – छापामारको मार्चपास जस्तो

हिनहिनाएर वाटो काट्ने त्यो मात्र हुने छ

त्रास भरिएको अर्को दीनले छोप्छ फेरि

हामी समेटीन सक्दैनौं

मसिना स्वरहरुको अर्थ केही हुन्नन् –

कि हावाले उडाउंछ

कि पर्खालले छेकीदिन्छ!

भाग्नुपर्छ यहांवाट पनि भने–

नीलो खोलाको पानी हुनेछु कि नीलो तलाउ

धुपी र लहरे सल्लाको कुमारी गन्धमा हराउने छु

पाईला नै नपरेको भर्जिन पहाडहरुमा

नाउरको प्रेमालाप हेर्दै रमाउन हुनेछ

या चौंरीको खुरवाट उडेको धुलोले अनुहार छोपीदिन्छ

यो पहाडको खोचवाट हिउं झरेको छ

हिउंको थुप्रोमा छायाहरु कोरिन्नन्

ती पग्लिएर झर्ने पानीका आकारहरु हुन

नीलो आकाश र सेतो वादल लुकामारी हुन्छ

तर यो नाङ्गो पहाडले घाम छोपीदिन्छ

पानी परेको वखत ओत लाग्न वलेसीहरु छैनन

त्यो सानो खोलाको धारो, पानी घट्ट र उकालोको घुमाउने चौतारी

उस्तै छैनन्,

फेरिएको छ वादलको रंग,

एउटा छोर्तेन आईपुग्नुपर्छ–

तर हामीहरु हिडीरहेका हुनेछौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।