19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नाग-द्यौता

कथा हिमाल लिम्बु October 29, 2026, 3:02 pm
हिमाल लिम्बु
हिमाल लिम्बु

मैले थाहा पाएँदेखि हाम्रो घरको मास्तिर खहरे खोला थियो । त्यसको डिलमा एउटा बेलको वृक्ष कैयौँ वर्षदेखि उभिएको थियो । त्यो बेल वृक्षको फेदमा एउटा निख्खर कालो रङको ढुङ्‍गा त्यस वृक्षको जरासँगै जेलिएर वर्षौँदेखि थियो त्यहाँ । त्यो ढुङ्‍गालाई शिवलिङ्‍ग मानेर गाउँकी छिमेकी बज्यै नित्य पुज्ने गर्दथिन् । म दशवर्षे ठिटो त्यसबेला घोर्ली बाख्राको चङ्‍खे पाठा झैँ चुलबुले थिएँ । मेरो नित्यकर्म गर्ने ठाउँ त्यही बेल पछाडिको झाडी थियो । मेरी आमाले बेलको फेदमा शिव नारायणको बास हुन्छ, फोहर गर्न हुँदैन सफा चोखो राखेर फूलपाती चढाउनु पर्छ भनेर सम्झाउनुहुन्थ्यो । म भने कानले सुन्थेँ र आँखा चिम्लिन्थेँ ।

आस्तिक बज्यै आफ्नो परम्परा धर्मसंस्कृतिमा कट्टर थिइन् । भूतप्रेत लगायत धामीझाँक्री, बोक्सीडाइनीदेखि देवीदेउता, सिमेभुमेमा विश्वास गर्ने र मानमनितो गर्ने पुरातन अवधारणाले जकडिएकी थिइन् । पुस महिनाको सुरूका दिनहरूमा बढ्दै गएको जाडोलाई छिचोलेर न्यानो घामको लोभ लाग्दो वर्षा भइरहेको थियो । ती बज्यै हाम्रो घरको पिँढीमा बसेर मेरी आमासँग गफ गर्दै हुनुहुन्थ्यो । उनले यो कलियुगमा पनि शिवलीलाको बखान सुनाउँदै थिइन्, "सुन न साहिँली, मैले त्यो बेलको फेदमा भको ढुङ्‍गामा जल चढाउन थालेपछि सुखशान्ति भको छ हउ हाम्रो परिवारमा ।"

"हो र, हाउ दिदी !" मेरी आमाले सही थप्नुभयो ।

"त्यो ज्योतिषी कम्मरनाथले भनेको ठिकै छ ब्यारे ।" बज्यैले कुरा जोड्दै जानुभयो, " त्यो बेलको फेदमा शिव भगवान् नै आउने गर्छन् रे । हो रैछ, ब्यारे । यता सुनन, आज झन् मैले स्वयम् शम्भो शिव शङ्‍करको दर्शन पाएँ ।"

"ओहो, के भयो त्यस्तो दिदी ? छिटो भनुम् न हउ ।"

"सुन न साहिँली, बेलको शिलामा जल फूलपाती चढाएँ । धुपबात्ती बाले । घन्टी बजाउँदै निस्ध्यान गर्न थालेँ । अचानक स्वाँ-स्वाँक्‍क गरेको सुनेँ । यसो आँखा खोलेर हेर्छु त ब्यारे; त्यो शिलढुङ्‍गामाथि यत्रो दुई अन्जुलीको गोमन साँप पो थ्यो ब्यारे । यति ठुलो फण फुलाएर ढुङ्‍गामाथि हल्लिँदै थियो ।" हातले सर्पको आकार देखाउँदै बज्यै बोल्दै थिइन् । उनको बोली थर्थराउँदै थियो र उनी गम्भीर देखिन्थिन् । "म त डरले काँप्न थालेँ । अनि हरे शिव हरे शिव भन्दै पुकार गर्न थालेँ ।"

"अभुई दिदी गोमनले केही गरेन ?" मेरी आमाले सहानुभूति व्यक्त गर्नुभयो ।

"झन्डै सातो गयो नि साहिँली तर साक्षात् शम्भोले दर्शन देको ठानेर मैले पूजा गरेँ । जल चढाएँ । शिव भगवान् सललल घिस्रिँदै बेलको पछाडि अलप हुनुभो, साहिँली । अचम्मै भयो ब्यारे ।"

"हउ दिदी यो पुसको जाडोमा पनि असेःक् साम्माङ (नाग-द्यौता)को दर्शन पाउनुभएछ । लु हउ आबो सुब्बेफाब्बे होला दिदीको ।" मेरी आमाले हौसला बढाउँदै भन्नुभयो ।

"हो, साहिँली, त्यो बेलढुङ्‍गोमा नाग-देव छ्यातछ्याती छन् रे ब्यारे ।"

बज्यैको मीठो गफले मेरी आमा एकोहोरो भएर सुनिरहनुभएको थियो । म चाहिँ घरको ढोकामा टाँसिएका नागका पोष्टरहरूमा रङ पोतिरहेको थिएँ । सावनको नागपञ्‍चमीमा त्यै बजैले टाँसेका नागका चित्रहरूसँग खेल्दै थिएँ म ।

"असेःक् साम्माङ" भन्दै मैले एउटा लामो सर्प त्यै बज्यै र आमाको छेउमा फ्याकेँ । दुवैजना बुढी बोजुहरू जुरुक्‍क उभिएर बुरुक्‍क उफ्रिदै भाग्नुभयो ।

"हरे शिव हरे शिव !" बोजुहरूले भगवानको नाम पुकार्न थाल्नुभयो । मैले हाँस्दै सोधेँ, "बज्यै, बिहान देख्नुभको नाग देउता यस्तै थियो कि ?"

"चुप लाग् तँ ठेट्ना, आफ्नो सातो गको बेला के पो सोध्छ ब्यारे !" लामो-लामो सास फेर्दै बज्यै कराउनुभयो ।

"असेःक् साम्माङसँग नजिस्की है, नाति । यो द्यौतालाई रिस उठ्यो भने डसेर मार्छ ।" मेरी बोजुले सम्झाउनुभयो मलाई ।

"हाँहाँ, तपाईँहरू त आफ्नै द्यौतासँग पनि डराउनुहुँदोरैछ । हो, यही डर नै देउता हो बोजुहरू, ल हेर्नुहोस् यो रबरको साँप होइन त ?" मैले वहाँहरूको छेउमा फ्याकेको साँपरुपको खेलौना टिप्दै भनेँ, "बिहान बेलको ढुङ्‍गामा देख्नु भको नाग-द्यौता पनि यही हो बज्यै ।"

बज्यैले हात जोडेर भगवानलाई पुकार्दै भन्नुभयो, "हरे शिव ! यो मूर्ख बालकलाई केही नहोस् । यसले नाग-देवलाई चिनेको छैन ।"

मेरी बोजुले ती बज्यैलाई खोस्टाले बुनेको सुकुलमा बसाउँदै भन्नुभयो, "तपाईँहरूको नागदेव र हाम्रो असेःक् साम्माङ उस्तै रैछ हाउ दिदी ।"

"होला साहिँली ।"

म चाहिँ आँगनको छेउमा रोपेको बाबरी फूलमा रबरको साँप लुकाइबाजी खेल्न थालेँ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।