19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अन्तःदीप

कविता डा. गोपाल पौड्याल 'मण्डने' November 2, 2026, 8:55 am
डा. गोपाल पौड्याल 'मण्डने'
डा. गोपाल पौड्याल 'मण्डने'

मनको निस्तब्ध देवालयमा
एउटा दीप बल्छ
झल्झलि धैर्यको,
जसको स्थिर शिखा
आँधीको अनुहारमा पनि काँप्दैन।
त्यसको वरिपरि फैलिन्छ
क्षमाको चन्द्रप्रभा;
पुराना आघातका ढुङ्गामाथि
शीतल प्रकाश बनेर झर्छ,
र कठोर स्मृतिमा
कोमलताको पालुवा उम्रन्छ।

इच्छाका अस्थिर तरङ्ग उठ्छन्,
लोभका छायाहरू लम्बिन्छन्;
तर संयमको तटले
मनलाई आफ्नै गहिराइमा फर्काउँछ।
यस्तै छ यहाँ
अरूको अधिकारतिर नबढेको हात
अस्तेयको मौन अर्घ्यमा अघि बढ्छ।

बाहिरको जलले
केही धूलो मात्र पखाल्छ;
शौच त त्यो निर्मलता हो
जहाँ कपटको छाया छैन,
जहाँ क्रोधले आफ्नो ज्वाला बिर्सन्छ
र इन्द्रियहरू शान्त नदीझैँ बग्छन्।

लाभको चमक र सत्यको उज्यालो छुट्याउने दृष्टि,
क्षणिक सुख र स्थायी कल्याणको भेद चिन्ने चेतना।
त्यसैले तृष्णाले सुन देखाउँदा
यो मनलाई मूल्य सोध्न सिकाउँछ;
आवेगले बाटो छेक्दा
परिणामतिर हेर्न सिकाउँछ।
हो त्यहि हो विवेक।

बिहानले खोलेको आकाश।
यी दुईको उज्यालोमा
अज्ञानको कुहिरो पातलिन्छ,
र सत्यको बाटो
आफ्नै पाइलामुनि देखिन थाल्छ।
सत्य कुनै गर्जन होइन
निश्छल जलको पारदर्शिता हो;
सायद यहि त होला नि विद्या

आफ्नो वचनमा निर्मल,
आफ्नो कर्ममा अडिग।
अक्रोध त्यही जलको शीतलता,
जसले प्रतिशोधको आगो
करुणाको वाष्प बनाइदिन्छ।

शिक्षा, धर्म यहीँ छ
न केवल मन्त्रको ध्वनिमा,
न केवल दीप र धूपको सुवासमा;
यो त आचरणको उज्यालो हो,
अन्तःकरणमा फुलेको
दया, संयम र सद्भावको वन।
एउटा दीपबाट अर्को दीप बल्छ;
एउटा निर्मल मनबाट
अर्को मनमा शान्ति सर्छ।
दश गुणको यो उज्यालो
हृदयदेखि हृदयसम्म फैलिरहोस्
मानवता आफैँ
आफ्नो देवालय बनोस्।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।