19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मार्क्सवादी आँखाले कृष्णराज अधिकारीको ‘अँध्यारो यात्रा’ हेर्दा

कृति/समीक्षा नारायण मरासिनी November 2, 2026, 8:57 am
नारायण मरासिनी
नारायण मरासिनी

१. विषयप्रवेश एवम् सैद्धान्तिक पृष्ठभूमि

प्रगतिशील–प्रगतिवादी साहित्यिक फाँटमा क्रियाशील डा. कृष्णराज अधिकारी (वि.सं. २०२०) बहुआयामिक स्रष्टा एवम् द्रष्टा व्यक्तित्वका रुपमा परिचित छन् । यिनका हालसम्म ‘स्मृतिका बिम्बहरु’ (नियात्रा, २०६३), ‘महाकाव्य सिद्धान्त र देवकोटाका महाकाव्यहरु’ (समालोचना, २०६६), ‘सुरूङ खन्दै छन् मुसाहरु’ (कवितासङ्ग्रह, २०६८), ‘साहित्यिक अवलोकन’ (समालोचना, २०७१), ‘केही सृजनाः पृथक विवेचना’ (समीक्षासङ्ग्रह, २०७८), ‘अँध्यारो यात्रा’ (कथासङ्ग्रह, २०७८) लगायतका कृतिहरु प्रकाशित छन् । यिनले विभिन्न पुस्तक एवम् साहित्यिक पत्रिकाहरुको पनि सम्पादन गरेका छन् ।

साहित्यमा प्रगतिवादलाई सामाजिक रूपान्तरण, वर्ग–सङ्घर्ष र उत्पीडित जनताको मुक्तिको वैचारिक हतियारका रूपमा लिइन्छ । मार्क्सवादी सौन्दर्यशास्त्र र सामाजिक–ऐतिहासिक भौतिकवादी सिद्धान्तका आधारमा सिर्जित साहित्य नै प्रगतिवादी साहित्य हो । प्रगतिवादी साहित्यले समाजलाई स्थिर वा अपरिवर्तनीय मान्दैन; बरु यसले त आर्थिक उत्पादन–सम्बन्ध, वर्ग–संरचना र तिनका बिचमा चल्ने निरन्तर द्वन्द्वका माध्यमबाट समाज विकासशील रहन्छ भन्ने मान्यता राख्दछ । समाजवादी यथार्थवादले साहित्यमा समाजको निष्पक्ष वा केवल सतही तस्बिर मात्र उतार्दैन, बरु यसले समाजमा विद्यमान शोषण, उत्पीडन, अन्याय–अत्याचार र वर्ग–विभेदको मूल कारण खोतल्दै श्रमजीवी वर्गको पक्षपोषण गर्दछ । प्रगतिवादी धारामा आबद्ध कथाकारहरूले समाजका शोषित, पीडित, किसान, मजदुर, दलित, सुकुम्बासी र सीमान्तकृत मानिसहरूका जीवन–सङ्घर्षलाई कथाको मुख्य विषय बनाउँदै शोषणकारी व्यवस्था र अवसरवादी राजनीतिक नेतृत्वमाथि दह्रो रुपमा प्रहार गर्दछन् ।

यसै सन्दर्भमा नेपालको प्रगतिवादी धाराको कथा लेखन परम्पराअन्तर्गत वर्तमानमा कथाकार कृष्णराज अधिकारी वैचारिक रूपमा स्पष्ट र सशक्त हस्ताक्षरका रूपमा देखापरेका छन् । उनको ‘अँध्यारो यात्रा’ (२०७८) समकालीन नेपाली समाजका आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक अन्तर्विरोधहरूलाई विषय बनाइएको कथासङ्ग्रह हो । यस सङ्ग्रहमा जम्मा १४ वटा कथा सङ्गृहीत छन् । सङ्गृहीत कथाहरूले नेपालको युगीन यथार्थ— दस वर्षे सशस्त्र द्वन्द्व र त्यसपछिको निराशा, वैदेशिक रोजगारको पीडादायी बाध्यता, कोरोना महामारीकालीन श्रमजीवीहरुको जीवनयापनमा देखापरेको सङ्कट, दलाल पुँजीवादको विकास, राजनीतिमा फस्टाएको अवसरवाद र भ्रष्टाचार तथा लैङ्गिक एवम् जातीय उत्पीडनलाई मुख्य विषय बनाएका छन् ।

प्रगतिवादी सैद्धान्तिक आधारमा विश्लेषण गर्दा ‘अँध्यारो यात्रा’ ले नेपाली समाजको वर्तमान वर्ग–संरचनालाई सूक्ष्म रूपमा उद्घाटन गरेको पाइन्छ । यस लेखमा अधिकारीका कथाहरूलाई मार्क्सवादी यथार्थवाद, वर्ग–सङ्घर्ष, राज्यको वर्गीय चरित्र, दलाल पुँजीवादी तथा नोकरशाही व्यवस्थाको भण्डाफोर र श्रमजीवी वर्गको अधिकारका सन्दर्भमा विश्लेषण गरिएको छ ।

२. ‘अँध्यारो यात्रा’ का कथाहरूको विश्लेषण

२.१ सशस्त्र सङ्घर्ष, राज्य आतङ्क, वैदेशिक रोजगार र पारिवारिक विघटनको प्रस्तुतिमा ‘अँध्यारो यात्रा’

प्रस्तुत सङ्ग्रहको नामकरण गरिएको कथा ‘अँध्यारो यात्रा’ नेपाली समाजले भोगेको दस वर्षे सशस्त्र द्वन्द्व अर्थात् माओवादी जनयुद्ध, राज्य र विद्रोही पक्षको चेपुवामा परेका आम श्रमजीवी जनता तथा द्वन्द्वोत्तर कालमा वैदेशिक रोजगारका नाममा हुने बन्धक श्रमको बहुआयामिक चित्र प्रस्तुत गर्ने बृहत आयामको कथा हो । कथाको मुख्य पात्र दिलीप एक साधारण ग्रामीण युवा हो, जो भारतमा रोजगारी गरेर परिवार पालिरहेको थियो । गाउँमा निर्दोष भाइ रविनलाई सरकारी फौजले गोली हानेर हत्या गरिदिएपछि उसको जीवनको दिशा बदलिन्छ । राज्य आतङ्कले उत्पन्न गरेको आक्रोश र प्रतिशोधको भावनाले दिलीपलाई माओवादी सशस्त्र आन्दोलनमा होमिन बाध्य पार्छ ।

प्रगतिवादका अनुसार मानिसको चेतना उसको सामाजिक र भौतिक स्थितिबाट निर्धारित हुन्छ । दिलीप स्वभावैले हिंसाप्रेमी वा युद्धको आकाङ्क्षी थिएन; तर राज्यको निरङ्कुश र हिंस्रक व्यवहारले उसलाई विद्रोही बनाउँछ । कथाकारले यस कथामा द्वन्द्वका क्रममा दिलीपले भोगेको कठिन छापामार जीवन, बेनी आक्रमणको भीषण अनुभव र घाइते भएर ज्यान जोगाउन गरेको सङ्घर्षको जीवन्त चित्रण गरेका छन् । युद्धमा घाइते भएपछि ऊ साथी तुलबहादुरको सहयोगमा भारतको नयाँ दिल्ली पुग्छ । नयाँ दिल्लीबाट दलालको जालमा परेर मलेसियाको क्यामरुन हाइल्याण्डस्थित एउटा कृषि फार्ममा पुग्छ । मलेसियामा उसले आठ वर्षसम्म बाह्य रुपमा सम्पर्कविहीन भएर बन्दीसरह श्रम गर्नुपर्छ । यस घटनाले पुँजीवादी भूमण्डलीकरण र दलाल श्रम–बजारले कसरी तेस्रो विश्वका युवाहरूलाई आधुनिक दासतामा थिच्छ भन्ने यथार्थलाई प्रस्तुत गरेको छ ।

आठ वर्षपछि दिलीप आफ्नो गाउँ फर्केको छ । बागलुङको ताराखोलास्थित आफ्नो पुरानो घर पुग्दा उसले घरलाई उजाड र पूर्ण रूपमा विघटित पाउँछ । बुबाआमा दुवैको मृत्यु भइसकेको छ, छोरो राजु स्कुलको पढाइ छोडेर बसपार्कमा सह–चालक (खलाँसी) बनेर हराएको छ र श्रीमती शीला चाहिँ घर छोडेर बेपत्ता भएकी छ । घरमा केवल परित्यक्ता भाउजू मात्र बाँकी छन् । कथाको यस किसिमको अन्त्यले क्रान्तिको नाममा भएको बलिदान र त्यसपछि प्राप्त भएको राजनीतिक उपलब्धि तथा व्यक्तिगत÷पारिवारिक विनाशबिचको दुदर्शालाई देखाएको छ । अन्त्यमा दिलीप आफूले ल्याएको सुटकेस भाउजूलाई सुम्पेर पुनः अँध्यारो अँध्यारो अर्थात् गन्तव्यहीन यात्रामा निस्केको छ ।

यो कथा केवल एउटा व्यक्तिको दुःखान्त कथा मात्र होइन, यो त राजनीतिक आन्दोलनमा भएको वैचारिक विचलन, श्रमजीवी वर्गमाथि परेको विनाशकारी प्रभाव र वैदेशिक रोजगारका नाममा हुने पुँजीवादी शोषणको यथार्थ प्रस्तुति हो । क्रान्तिले श्रमजीवी वर्गलाई मुक्ति दिनुपर्नेमा उल्टै तिनको घरबार विनाश भएको र वर्ग–सङ्घर्षका सहिदहरूका परिवार सडकमा पुगेको मार्मिक यथार्थलाई यस कथाले प्रस्तुत गरेको छ ।

२.२ बुर्जुवा कम्युनिस्ट नेताहरूको अवसरवाद र दलित तथा उत्पीडित वर्गप्रतिको अपमानमा ‘मृत्यु–भोज’

‘मृत्यु–भोज’ कथा वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनभित्र छिरेको बुर्जुवा संस्कृति, वैचारिक स्खलन र वर्गीय\जातीय उत्पीडनमाथि रचिएको व्यङ्ग्यात्मक कथा हो । कथाको मुख्य पात्र कमरेड माधव विगतमा सर्वहारा आन्दोलनको कुरा गर्ने तर सत्ता र पहुँचमा पुगेपछि सामन्ती–पुँजीवादी ठाँटबाँटमा रमाउने नव–अभिजात वर्गको प्रतिनिधि हो । यस कथामा कमरेड माधवको कान्छो छोरा विश्वको विवाहपछि आयोजित भव्य प्रीतिभोजको परिवेश छ ।

भोजमा दुई प्रकारका वर्ग–दृश्यहरू स्पष्ट रूपमा देखिएका छन् । एकातिर शक्तिकेन्द्रमा रहेका नेताहरू, प्रशासकहरू, व्यापारीहरू र पहुँचवालाहरूका लागि उच्चस्तरीय मदिरा र ककटेल पार्टीको व्यवस्था छ भने अर्कातिर विगतमा कमरेड माधवको खेतबारी जोत्ने, पार्टीका लागि भोट माग्ने र चन्दा दिने सुकुम्बासी तथा दलित हलीहरू— तिले र डिल्ले जस्ता पात्रलाई पशुवत व्यवहार गरिएको छ । कमरेड डम्बर, जसले कामीबाट कमरेड बनेकामा गर्व गथ्र्यो, उसैले ती दुई गरिब दलितहरूलाई देखेर पनि नदेखेझैँ गरेको छ । अन्ततः माधवका मान्छेहरूले तिले र डिल्लेलाई मान्छेको दर्जासम्म नदिई बारीको कुनामा लगेर अलक्क प्लास्टिकको प्लेटमा भात र त्यसमाथि अलिकति मासु दिएका छन् ।

कथाले मार्क्सवादी आदर्शको घोर अवमूल्यन र कम्युनिस्ट पार्टीभित्र मौलाएको नव–सामन्ती चरित्रको शल्यक्रिया गरेको छ भण्डाफोर गरेको छ । तिले र डिल्लेले भोजबाट फर्कँदा वैचारिक आक्रोश व्यक्त गरेका छन् । उनीहरू भन्छन्— “देशमा के के नै परिवर्तन भयो भन्छन्, राजा गए, जनताको पालो आयो भन्छन्, तर हाम्रा लागि कहाँ आयो परिवर्तन ? परिवर्तन त तिनै माधवहरू र डम्बरहरूका लागि मात्रै रहेछ ।” यस संवादबाट नेपाली क्रान्तिले केवल शासकको अनुहार फेरेको तर श्रमजीवी वर्गको सामाजिक र आर्थिक स्थितिमा कुनै तात्विक परिवर्तन ल्याउन नसकेको निष्कर्ष निकाल्न सकिन्छ ।

२.३ कोरोनाकालीन श्रमजीवीहरुको बिजोग र राज्यको वर्गीय स्वरूपमा ‘राहतको रासन’ र ‘महाकालीको काखमा’

कथासङ्ग्रहभित्रका ‘राहतको रासन’ र ‘महाकालीको काखमा’ कथाले विश्वव्यापी कोरोना महामारी (कोभिड– १९) र त्यस क्रममा नेपाल सरकारले लागु गरेको लकडाउनका बिच श्रमजीवी तथा सुकुम्बासी वर्गले भोगेको अमानवीय सङ्कटको यथार्थ चित्र उतारिएको छ ।

‘राहतको रासन’ पोखरामा ज्यामी काम गर्ने धादिङका गोपी तामाङ र उसकी गर्भवती श्रीमतीको भोकमरीको कथा हो । लकडाउनका कारण काम बन्द हुन्छ, ग्यास र रासन सकिन्छ । सरकार र वडा कार्यालयले राहत बाँड्ने प्रचार गर्छन्, तर राहत वितरणमा पनि दलाल राजनीति, नातावाद र पार्टीगत पक्षपात हाबी हुन्छ । जसको पहुँच छ, जसको नागरिकता र वडाको सिफारिस छ, वा जो स्थानीय नेताका मान्छे हुन्, उनीहरूले ठुला–ठुला बोरामा राहत पाएका छन् । तर साँच्चिकै भोकै मर्न लागेका सुकुम्बासी र बाहिरी जिल्लाका वास्तविक श्रमिक गोपी तामाङहरू भने दिनभर लाइनमा बसेर पनि रित्तो हात फर्किन बाध्य भएका छन् । सरकारी नेताहरू गाडीमा आएर भाषण गर्छन्— “यो जनताको सरकार हो, कसैलाई भोकै मर्न दिइँदैन,” तर तिनीहरुले भाषण गरेको भोलिपल्टै श्रमिकहरू आधा किलो चामल किन्न पनि नसकेर चाउचाउ र चिउरा खाएर पेट पाल्न बाध्य भएका छन् ।

त्यसै गरी, ‘महाकालीको काखमा’मा भारतको गुजरातमा चौकिदारी र मजदुरी गर्ने डिलाराम वि.क., जग्गु, शेरबहादुर, दिपेन्द्र ऐडी लगायतका नेपाली श्रमिकहरूको नेपाल फर्कँदाको दर्दनाक प्रस्तुति छ । उनीहरू सयौँ किलोमिटरको हन्डर खाँदै सिमानाका बनबासा-टनकपुर पुग्दा आफ्नै देशको सरकारले प्रहरी लगाएर लाठीचार्ज गरेको छ र सीमामा थुनेर राखेको छ । बिरामी परेका जग्गुको उपचार नपाएर महाकाली नदीको बगरमा अकालमा मृत्यु भएको छ । उसको शव भारततर्फको बगरमा गाडिएको छ र उसको खल्तीबाट खसेको नेपाली नागरिकताको प्रमाणपत्र महाकालीको छालले बगाएर लगेको छ । डिलारामले आक्रोशित हुँदै भनेको छ— “बग्न देऊ यो नागरिकताको खोस्टोलाई, बडो मुस्किलले बनाएको यो नागरिकता उसलाई कहिल्यै काम लागेन ।”

यी दुवै कथाले बुर्जुवा राज्यसत्ताको अमानवीय र निर्मम चरित्रलाई उदाङ्गो पारेका छन् । मार्क्सवादले राज्यसत्तालाई उत्पीडित तथा निमुखाहरुको हित गर्ने प्रणाली ठान्दछ । तर यहाँ सङ्कटको बेला राज्यले धनी र पहुँचवालाको मात्रै रक्षा गरेको छ; देश निर्माण गर्ने वास्तविक सर्वहारा वर्गलाई सीमामा र सडकमा भोकभोकै मर्न छाडिदिएको यथार्थलाई यी कथाले छर्लङ्ग पारेका छन् ।

२.४ पुँजीवादी बजारवाद र बौद्धिक–सांस्कृतिक श्रमको अवमूल्यनमा ‘उपेक्षित आदर्श’

‘उपेक्षित आदर्श’ कथाले पुँजीवादी बजार व्यवस्थामा साहित्य, दर्शन, ज्ञान र बौद्धिक श्रम कसरी अवमूल्यन हुन्छ र केवल भौतिक÷वित्तीय लाभलाई नै सफलताको मापदण्ड मानिन्छ भन्ने गहिरो प्रश्न उठाएको छ । कथाको मुख्य पात्र निलकण्ठ एक निष्ठावान्, स्वाभिमानी र दर्शन÷साहित्यका गम्भीर पाठक एवम् लेखक हो । उसले विगत ४० वर्षदेखि आफूले खाजा खाने पैसा काटेर पुस्तकहरू किनेको छ र विगत २० वर्षदेखि आफ्नै खर्चमा ‘सयपत्री’ नामक साहित्यिक पत्रिका सम्पादन र प्रकाशन गर्दै आएको छ । तर, पुँजीवादी उपभोक्तावादी आधुनिक समाज र उसको आफ्नै परिवारका लागि उसको यो बौद्धिक साधना पूर्ण रूपमा निरर्थक र फजुल खर्च ठहर्छ । निलकण्ठकी श्रीमती भन्छे— “पुस्तकका साटो अलिकति सागसब्जी ल्याएको भए मुख फेर्न हुन्थ्यो ।” छोरा र बुहारीले उसको अध्ययन कक्षलाई खोसेर नातिनीको कोठा बनाउन खोजेका छन् र वर्षौँको मिहिनेतले सङ्कलन गरिएका हजारौँ पुस्तकहरूलाई फोहोरका रूपमा हेरेका छन् ।

निलकण्ठले बनेपाको सडकमा नातिलाई चटपटे खुवाउन जाँदा चटपटे व्यापारीले आफूले १० वर्षअघि रु. २० हजार ऋण काढेर छापेको आफ्नै निबन्धसङ्ग्रह ‘जुनकिरी’ को पाना च्यातेर चटपटेको पोको बनाएको देखेको छ । पछि कोटेश्वरमा मकै पोल्ने महिलाले पनि उनको ‘सयपत्री’ पत्रिकाको विशेष अङ्क च्यातेर मकै पोलेको देख्दा निलकण्ठको मुटु चिरिएको छ । कबाडीले उनका पुस्तकहरूलाई चार–पाँच रुपैयाँ प्रति किलोमा किनेर लगेको थाहा पाउँदा उसको आत्मसम्मानमा गहिरो चोट पुगेको छ ।

मार्क्सवादी सौन्दर्यशास्त्रका अनुसार पुँजीवादले मानवीय संवेदना, ज्ञान, कला र साहित्यलाई समेत वस्तुमा रूपान्तरण गर्छ । जहाँ बजार मूल्य नै अन्तिम मूल्य बन्छ, त्यहाँ विचार र सांस्कृतिक चेतनाको कुनै स्थान रहँदैन । ‘उपेक्षित आदर्श’मा निलकण्ठको कथाले पुँजीवादी बजारवादले सिर्जना गरेको सांस्कृतिक शून्यता र बौद्धिक श्रममाथिको बर्बरतालाई सशक्त ढङ्गले उजागर गरेको छ ।

२.५ भू–माफिया, दलाल राजनीति र उत्पीडित महिलामाथिको चक्रव्यूहमा ‘शहरको त्यो घर’

‘शहरको त्यो घर’ कथामा सहरीकरणका नाममा फस्टाएको भू–माफियागिरी, दलाल पुँजीवाद र राजनीतिक नेताहरूको भ्रष्ट चरित्रलाई कथाको विषयवस्तु बनाइएको छ । कथाकी मुख्य पात्र सावित्री एक गरिब, असहाय र एकल महिला हो । उसको श्रीमान् खडानन्दको मृत्यु भइसकेको छ र छोरो सोभित अरबमा रोजगारी गर्न गएर बिरामी परी ऋणको चक्रव्यूहमा फसेको छ ।

सावित्रीको मूल सडकको छेउमा रहेको सानो घर र घडेरीमा उसका छिमेकी महेन्द्र— जो एक पहुँचवाला र धनी व्यक्ति हो, उसले आँखा गाडेको छ । महेन्द्रले सावित्रीको दुई आना जग्गा मिचेर पाँचतले विशाल भवन बनाएको छ । छिमेकीको पेलान र थिचोमिचो भएपछि सावित्री न्यायका लागि स्थानीय प्रभावशाली पार्टी नेता दीपकरामकहाँ पुग्छे । दीपकरामले मुद्दा हालिदिने र न्याय दिलाउने आश्वासन दिएको छ । मुद्दाको डर देखाएर दीपकरामले महेन्द्रसँग सुटुक्क चार लाख रुपैयाँ असुलेको छ । तर, सावित्रीलाई भने तीन लाखमा कुरा मिल्यो भन्दै दुई लाख रुपैयाँ मात्र दिन्छ र बाँकी एक लाख रुपैयाँ “पार्टीलाई सहयोग गर्नुपर्छ” भन्दै आफै पचाउँछ । पछि सावित्रीले थाहा पाउँछे कि महेन्द्रले दीपकरामलाई चार लाख र नेतालाई छुट्टै बुझाएर जग्गा कब्जा गरेको थियो ।

यसरी एकातिर सामन्ती-पुँजीवादी छिमेकी महेन्द्रको थिचोमिचो र अर्कातिर सर्वहाराको मसिहा भनिने दलाल नेता दीपकरामको धोकाले सावित्रीलाई घरबारविहीन बनाउँछ । दुईतिरका अग्ला ढलान घरहरूको चेपुवामा परेको उसको सानो माटाको झुपडी कहिल्यै घाम देख्न पाउँदैन र लेउ लागेर ओसिलो हुन्छ । अन्त्यमा, सावित्री र उसको छोरा सोभित आफ्नो पुख्र्यौली थलो छाडेर टाढा बाँझो खेततिर विस्थापित हुन बाध्य छन् ।

यस कथाले नेपालमा फस्टाउँदै गएको भू–माफिया, दलाल पुँजीवाद र दलाल राजनीतिक दलहरूबिचको अपवित्र गठजोडलाई देखाएको छ । गरिब र सुकुम्बासीहरू आफ्नै भूमिबाट कसरी विस्थापित हुन्छन् र सहर कसरी धनी र दलालहरूको मात्र क्रूर क्रिडास्थल बन्छ भन्ने सामाजिक–आर्थिक यथार्थलाई कथाले छर्लङ्ग पारेको छ ।

२.६ पितृसत्तात्मक समाजमा महिलाको वर्गीय र लैङ्गिक उत्पीडनमा ‘कोपिला’ र ‘उसको कथा’

मार्क्सवादी–नारीवादी दृष्टिकोणले महिला उत्पीडनलाई केवल पुरुष र महिलाबिचको जैविक द्वन्द्वका रूपमा मात्र हेर्दैन; बरु यसलाई निजी सम्पत्तिको विकास, वर्ग–संरचना र पितृसत्तात्मक सामाजिक–आर्थिक सम्बन्धसँग जोडेर हेर्छ । सङ्ग्रहभित्रका ‘कोपिला’ र ‘उसको कथा’ कथाले नेपाली समाजमा महिलाहरूले भोग्नुपरेको वर्गीय र लैङ्गिक दोहोरो उत्पीडनलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन् ।

‘कोपिला’ कथामा विद्यालय जीवनमा अत्यन्त प्रतिभावान्, आँटिलो, गणित र विज्ञानमा उत्कृष्ट तथा अन्यायविरुद्ध सशक्त आवाज उठाउने छात्रा कोपिलाको दुखद रूपान्तरणको कथा छ । कथाको निरीक्षक/पात्र किरणले वर्षौँपछि स्याङ्जाको विकट बाटोमा ओत लाग्दा कोपिलालाई भेट्छ । विगतमा सम्भावनाले भरिएकी कोपिला अहिले दुईवटी छोरीकी आमा, श्रीमान्बाट परित्यक्ता र सासू–नन्दको निरन्तर मानसिक-शारीरिक यातना सहने एक जर्जर, अशक्त र निराश महिलामा परिणत भएकी छ । आर्थिक निर्भरता र पितृसत्तात्मक वैवाहिक संरचनाले कसरी एउटी क्षमतावान् नारीको व्यक्तित्व र अस्तित्वलाई ध्वस्त पार्छ भन्ने उदाहरणका रुपमा कोपिलाको जीवनलाई प्रस्तुत गरिएको छ ।

यसै गरी ‘उसको कथा’ मा स्नातक तह पढ्दै गरेकी युवती निरूको कथा छ । निरू आर्थिक अभावका कारण सडकमा फलफूल, कपडा, चटपटे र मकै पोलेर बेच्न बाध्य हुन्छे । उसको श्रीमान् तिलबहादुर रक्सी, चुरोट र जुवातासमा पैसा उडाउने, काम नगर्ने र निरूमाथि घरेलु हिंसा गर्ने चरित्रको छ । अन्त्यमा तिलबहादुरको शङ्कास्पद हत्या वा दुर्घटनापछि नगर प्रहरी र प्रहरीले निरूलाई नै पक्राउ गरेर लैजान्छ ।

यी दुवै कथाले पुँजीवादी–पितृसत्तात्मक समाजमा तल्लो वर्गका महिलाहरू एकातिर आर्थिक गरिबी र असहायतासँग लड्न बाध्य छन् भने अर्कातिर घरेलु हिंसा, पुरुष–प्रधान यौन हिंसा र सामाजिक अपमान सहन पनि बाध्य छन् भन्ने वास्तविकतालाई कलात्मक रुपमा प्रस्तुत गरेका छन् ।

२.७ राजनीतिक दलहरूको उपयोगितावादी चरित्र र इमानदार कार्यकर्ताको त्रासद अन्त्यमा ‘उपयोग’ र ‘साँझपछिको भाषण’

नेपाली समाजमा क्रान्ति वा राजनीतिक परिवर्तनका लागि इमानदार कार्यकर्ता र युवाहरूलाई कसरी भ¥याङ बनाइन्छ र काम सकिएपछि कसरी फ्याँकिन्छ भन्ने विद्रूप यथार्थलाई ‘उपयोग’ र ‘साँझपछिको भाषण’ कथाले प्रस्तुत गरेका छन् । ‘उपयोग’ कथाको मुख्य पात्र लालबहादुर (लाले) शारीरिक रूपमा सुगठित, जुडो–कराते र बक्सिङ जानेको, बाँसुरी र सङ्गीतमा पोख्त युवा हो । उसलाई तत्कालीन नेकपा (माले-एमाले) का स्थानीय नेताहरूले ठुला–ठुला सपना देखाएर भारतीय सेना÷नेपाली सेनाको जागिर छोड्न लगाई अखिलको भिडन्त गर्ने कमान्डर बनाउँछन् । लाले पार्टीका लागि क्याम्पस भिडन्तमा ज्यान दिएर लड्छ, जेल पर्छ । तर जब उसलाई आर्थिक सङ्कट पर्छ, पार्टी र नेताहरूले उसलाई चटक्कै बिर्सन्छन् । निराश बनेको लाले पछि नेपाली काङ्ग्रेसमा प्रवेश गर्छ तर त्यहाँ पनि उही प्रयोग र उपेक्षा दोहोरिन्छ । आर्थिक अभाव र मानसिक द्वन्द्व सहन नसकेर ऊ लागूऔषध र अवाञ्छित गतिविधिमा फस्न पुग्छ र अन्त्यमा रुखमा झुन्डिएर आत्महत्या गर्छ ।

यसै गरी, ‘साँझपछिको भाषण’ कथाका जीवलाल एक इमानदार पूर्व–शिक्षक हुन्, जसलाई स्थानीय दलाल नेताहरू गणेशदत्त, दामोदरले व्यापार र होटलमा साझेदार बनाएर ठग्छन् र घरबारविहीन बनाउँछन् । जीवलाल हरेक साँझ रक्सीको नशामा चौतारामा उभिएर गाउँका भ्रष्ट नेता, भू–माफिया र शोषकहरूको भण्डाफोर गर्दै कडा भाषण गर्छ । उसको भाषणमा सत्य र तथ्य कुराहरु आउँछन् । उसले भाषणमार्फत अत्याचारी फटाहाहरुलाई खबरदारी गर्छ । तर उसको खबरदारी सहन नसकेर गाउँका दलाल नेताहरूले रातको समयमा उसको टाउकामा लाठी र ढुङ्गा हानेर बीभत्स हत्या गर्छन् र प्रहरीसँग मिलेमतो गरी “रक्सी खाएर चौताराबाट लडेर मरेको” मुचुल्का बनाउँछन् ।

यी कथाहरूले नेपाली समाजका बुर्जुवा तथा अवसरवादी राजनीतिक दलहरूको आपराधिक, उपयोगितावादी र षड्यन्त्रकारी चरित्रलाई नाङ्गो पारेका छन् । इमानदार र विद्रोही चेतना भएका मानिसहरूलाई यो व्यवस्थाले कसरी सिध्याउँछ भन्ने यथार्थ चित्र कथाकारले खिचेका छन् ।

२.८ श्रमजीवीको अमानवीय जीवन र बुर्जुवाहरुको तडकभडकमा ‘साइँली बज्यै’ र ‘गेट टुगेदर’

‘साइँली बज्यै’ कथामा जीवनको अन्तिम अवस्थासम्म पनि डोकामा तरकारी बोकेर पोखराका गल्ली–गल्ली घुम्ने वृद्धा साइँली बज्यैको कारुणिक जीवन छ । श्रीमान्ले अर्की ल्याएर छोडेपछि छोरीलाई हुर्काएकी साइँली बज्यैकी छोरीलाई काठमाडौँमा राम्रो काम दिलाइदिने बहानामा दलाल रीमा तामाङले वैदेशिक रोजगार÷मानव बेचबिखनमा लगेर बेचिदिन्छे । छोरीको पर्खाइमा रोएर बसेकी वृद्धा साइँली बज्यै कुनै सामाजिक सुरक्षा नपाएर अन्ततः सडकको पेटीमा तरकारीको डोको टाउकामा अड्याएकै अवस्थामा मृत भेटिन्छे ।

‘गेट टुगेदर’ कथामा माध्यमिक तहका पूर्व–सहपाठीहरूको ओभर–नाइट पुनर्मिलन कार्यक्रमको परिवेश छ । उक्त कार्यक्रममा उही कक्षामा पढेका साथीहरूबिच गहिरो वर्गीय खाडल देखिएको छ । एकातिर विदेश बसेर आएका, जग्गा कारोबारी, उच्च सरकारी अधिकृत र ठेकेदार साथीहरू आफ्ना महङ्गा गाडी, फेसन, रक्सी र फजुल खर्चको धाक लगाउँछन् भने अर्कातिर गाउँमा अध्यापन गर्ने शिक्षक, साना कर्मचारी र किसान साथीहरू (सागर जस्ता)ले हीनताबोध र उकुसमुकुस महसुस गरेका छन् ।

यी दुवै कथाले पुँजीवादी व्यवस्थाभित्र मौलाउँदै गएको वर्ग–विभाजन, मानव बेचबिखन र श्रमजीवी वर्गमाथि हुने अमानवीय बेवास्तालाई प्रगतिवादी कसीबाट उदाङ्गो पारेका छन् ।

२.९ नोकरशाही पुँजीवाद, भ्रष्टाचार र इमानदार कर्मचारीको स्वाभिमानमा ‘उन्मुक्ति’

‘उन्मुक्ति’ कथाले सरकारी नोकरशाही संयन्त्रभित्र व्याप्त घोर भ्रष्टाचार, चाप्लुसी, यौन दुव्र्यवहार र इमानदार कर्मचारीमाथि हुने उत्पीडनलाई विषयवस्तु बनाएको छ । कथाका मुख्य पात्र रेवती मालपोत कार्यालयका एक स्वच्छ, इमानदार र अनुभवी सुब्बा (नासु) हो । ऊ विगत १४ वर्षदेखि एउटै पदमा कार्यरत छ । कार्यालयमा सरुवा भएर आउने नयाँ सह–सचिव÷हाकिम उदयविक्रम बस्नेत अत्यन्त भ्रष्ट, घूसखोर, र यौनकाण्डहरूमा मुछिएको व्यक्ति हो । उसले यसअघि खरिदार रमा र कार्यालय सहयोगी हरिकुमारकी श्रीमतीमाथि यौन अत्याचार गरिसकेको हुन्छ । उदयविक्रमले फर्जी र जग्गा दर्ताको गलत फाइलमा टिप्पणी उठाउन नासु रेवतीलाई दबाब दिन्छ । तर रेवतीले आफ्नो इमान र स्वाभिमानलाई बन्धक राख्न अस्वीकार गरेको छ ।

जब भ्रष्ट हाकिमको दबाब बढ्छ र भ्रष्ट संयन्त्रभित्र पसेर काम गर्न असम्भव हुन्छ तब रेवतीले आफ्नो १४ वर्षको जागिरबाट राजीनामा दिने निर्णय गर्छ । राजीनामा पत्र बुझाएपछि रेवतीले महसुस गरेको हलुकापन नै उसको ‘उन्मुक्ति’ हो । प्रगतिवादी दृष्टिकोणबाट यस कथाले भ्रष्ट नोकरशाही व्यवस्थासामु घुँडा नटेकी आफ्नो स्वाभिमान र नैतिकताको रक्षा गर्ने श्रमजीवी/कर्मचारीको नैतिक विजयलाई सङ्केत गरेको छ ।

३. ‘अँध्यारो यात्रा’ का मूल वैचारिक आयामहरू

कृष्णराज अधिकारीको ‘अँध्यारो यात्रा’ कथासङ्ग्रहको समग्र अध्ययन गर्दा यसभित्र मार्क्सवादी सौन्दर्यका निम्नलिखित आयामहरू देखापर्छन्–

३.१ वर्ग–सङ्घर्ष र वर्गीय ध्रुवीकरण

मार्क्सवादी दर्शनको केन्द्रीय सार भनेकै वर्ग–सङ्घर्ष हो । समाजमा उत्पादनका साधनहरूमाथि कब्जा जमाउने शोषक वर्ग र केवल आफ्नो श्रम बेचेर गुजारा गर्ने शोषित वर्गबिच निरन्तर सङ्घर्ष चलिरहन्छ । ‘अँध्यारो यात्रा’ कथासङ्ग्रहका प्रायः सबै कथाहरूमा यो वर्गीय ध्रुवीकरण प्रस्ट रुपमा देखिन्छ । ‘मृत्यु–भोज’ मा एकातिर कमरेड माधव र दलालहरूको शोषक वर्ग छ भने अर्कातिर हली तिले र डिल्लेको सर्वहारा वर्ग छ । ‘गेट टुगेदर’ मा पुँजीपति, जग्गा कारोबारी र उच्च प्रशासकहरूको वर्ग एकातिर छ भने विद्यालयका शिक्षक र किसानहरूको वर्ग अर्कातिर छ । ‘शहरको त्यो घर’ मा भू–माफिया महेन्द्र र दलाल नेता दीपकराम एकातिर छन् भने भूमिहीन बन्न पुगेकी असहाय एकल महिला सावित्री अर्कातिर छिन् । कथाकार अधिकारीले यी दुई वर्गका बिचको दूरी केवल भौतिक मात्र नभएर वैचारिक र सांस्कृतिक रूपमा पनि कसरी गहिरिँदै गएको छ भन्ने कुरालाई यथार्थवादी ढङ्गले प्रस्तुत गरेका छन् ।

३.२ राज्यसत्ताको वर्ग–चरित्र र नोकरशाही पुँजीवादको भण्डाफोर

मार्क्सवादका अनुसार राज्यसत्ता निष्पक्ष हुँदैन; यो सधैँ शासक वर्गको हित रक्षा गर्ने औजार हुन्छ । ‘अँध्यारो यात्रा’ का कथाहरूमा नेपालको राज्यसत्ता, यसको प्रहरी, प्रशासन, अदालत र नोकरशाही संयन्त्र कसरी धनी र पहुँचवालाहरूको सेवामा तल्लीन छ भन्ने देखाइएको छ । ‘राहतको रासन’ र ‘महाकालीको काखमा’ मा राज्यले सङ्कटको बेला आफ्नै श्रमजीवी नागरिकहरूलाई सीमामा लाठीचार्ज गर्छ, भोकै मार्छ र उपचार सुविधाबाट वञ्चित गराएको छ । ‘उन्मुक्ति’ मा भ्रष्ट र बलात्कारी हाकिम उदयविक्रम पटक–पटक बढुवा भएर उच्च पदमा पुग्छ, जबकि इमानदार कर्मचारी रेवतीलाई पाखा लगाएको छ । ‘साँझपछिको भाषण’ मा प्रहरीले भ्रष्ट नेताहरूको इसारामा हत्यालाई दुर्घटना बनाएर मुचुल्का उठाएको छ । यी सबै प्रसङ्गहरूले नेपालको वर्तमान राज्यसत्ता नोकरशाही पुँजीपति र दलालहरूको हातमा बन्धक रहेको निष्कर्षलाई पुष्टि गरेका छन् ।

३.३ दलाल पुँजीवाद, वैदेशिक रोजगार र श्रमजीवी वर्गको उठिबास

नेपालको ग्रामीण अर्थतन्त्र ध्वस्त हुनु, कृषि क्षेत्रबाट किसानहरूको उठिबास हुनु र लाखौँ युवाहरू वैदेशिक रोजगारका नाममा मरुभूमि र विदेशी फार्महरूमा आधुनिक दास बन्न बाध्य हुनु समकालीन नेपाली समाजको सबैभन्दा ठुलो त्रासदी हो । ‘अँध्यारो यात्रा’ कथाको दिलीपले मलेसियाको फार्ममा ८ वर्षसम्म बन्दी बनेर श्रम गरेको छ । ‘महाकालीको काखमा’ का डिलाराम वि.क. र जग्गु भारतको गुजरातमा चौकीदारी गर्न बाध्य छन् र तिनीहरुले लकडाउनमा अकालमा ज्यान गुमाएका छन् । ‘शहरको त्यो घर’ कथाको सोभित अरब गएर बिरामी परी ऋणको भार बोकेर फर्केको छ । कथाकार अधिकारीका अनुसार दलाल पुँजीवादले देशभित्र उत्पादनका साधन र रोजगारीको सिर्जना गर्नुको साटो श्रमजीवी युवाहरूलाई निर्यातयोग्य वस्तुमा परिणत गरेको छ, जसले गर्दा नेपाली गाउँहरू उजाड र युवाविहीन बनेका छन् ।

३.४ क्रान्तिकारी आन्दोलनमा विचलन र राजनीतिक अवसरवादमाथि प्रहार

मार्क्सवादी साहित्यले क्रान्तिको समर्थन गर्छ, तर क्रान्तिका नाममा हुने विचलन, अवसरवाद र नेताहरूको भ्रष्टीकरणको आलोचना पनि गर्छ । यस सङ्ग्रहको मुख्य उद्देश्य नै क्रान्तिकारी भनिने नेताहरूको वैचारिक पतनको भण्डाफोर गर्नु हो । ‘मृत्यु–भोज’ को कमरेड माधव र कमरेड डम्बर विगतमा जनयुद्ध वा आन्दोलनका कुरा गर्थे तर सत्तामा पुगेपछि उनीहरू जातीय÷वर्गीय विभेद गर्ने सामन्तमा परिणत भएका छन् । ‘उपयोग’ मा क्रान्तिका नाममा लालेजस्ता सोझा युवाहरूलाई भिडन्तमा प्रयोग गरिएको छ र पछि उनीहरूको बिजोग बनाइएको छ । ‘शहरको त्यो घर’ को दलाल नेता दीपकरामले सोझा जनताको मुद्दा मिलाइदिने बहानामा आफैले लाखौँ कमिसन कुम्ल्याएको छ । कथाकारले प्रस्तुत गरेको यो यथार्थले क्रान्तिपछि सत्तामा पुगेको नेतृत्व कसरी बुर्जुवा वर्गमा रूपान्तरित हुन्छ भन्ने अवधारणालाई चरितार्थ गरेको छ ।

३.५ लैङ्गिक र वर्गीय दोहोरो उत्पीडन

यस कथासङ्ग्रहका नारी पात्रहरू— कोपिला, निरू, सावित्री, साइँली बज्यै र दिलीपकी आमा÷भाउजू केवल नारी भएकै कारणले मात्र होइन, गरिब र श्रमजीवी वर्गका नारी भएकाले दोहोरो उत्पीडनमा परेका छन् । कोपिला र निरू जस्ता शिक्षित र प्रतिभावान् नारीहरू पनि आर्थिक स्वावलम्बनको अभाव र पितृसत्तात्मक घरेलु हिंसाका कारण जीवनमा पराजित हुन पुगेका छन् । साइँली बज्यै जस्ता वृद्धा श्रमजीवीहरू जीवनको अन्तिम साससम्म डोको बोकेर सडकमा मर्न बाध्य भएका छन् । कथाकारले महिला मुक्तिका लागि केवल कानुनी अधिकार मात्र पर्याप्त नभई उनीहरूको आर्थिक आत्मनिर्भरता र सामाजिक–उत्पादन सम्बन्धमा रूपान्तरण आवश्यक छ भन्ने मार्क्सवादी चेतना प्रवाह गरेका छन् ।

४. पात्रविधान, भाषा–शैली र प्रगतिवादी सौन्दर्य चेतना

४.१ सर्वहारा पात्रहरूको चयन र सजीव चरित्र–चित्रण

कृष्णराज अधिकारीका कथाहरूको मुख्य विशेषता भनेको पात्रहरूको यथार्थपरक र जीवन्त छनोट हो । यिनका कथाका पात्रहरू काल्पनिक वा आदर्शवादी नभई हाम्रै गाउँघर, सडक, गल्ली, खेतबारी, बसपार्क र कार्यालयहरूमा भेटिने भुइँमान्छेहरू हुन् ।

‘अँध्यारो यात्रा’ कथाको प्रमुख पात्र दिलीप माओवादी जनयुद्धकालीन पूर्व छापामार हो । ऊ वैदेशिक रोजगारीमा बन्धकमा परेको पीडित श्रमिक हो । भाउजू पाविारिक हिंसा भोग्न बाध्य महिला हुन् । यी दुवै सर्वहारा वर्र्गीय चरित्र हुन् । ‘मृत्यु–भोज’ का प्रमुख पात्र तिले, डिल्ले र कमरेड माधव हुन् । तिले र डल्ले हली–गोठाला हुन्, दलित पात्र हुन् भने कमरेड माधव बुर्जुवा नेता हो । यसमा कम्युनिस्ट पार्टीभित्रको वर्गीय विचलनको भण्डाफोर गरिएको छ । ‘राहतको रासन’ कथामा गोपी तामाङ र उसकी श्रीमती छन् । गोपी तामाङ सहरमा कार्यरत सुकुम्बासी श्रमिक हो । उनीहरु कोरोना कालमा राज्यद्वारा अपहेलित छन् । ‘महाकालीको काखमा’ कथामा डिलाराम वि.क., जग्गु र शेरबहादुर मुख्य पात्र हुन् । उनीहरु भारतमा कार्यरत प्रवासी नेपाली श्रमिक हुन् । ‘उपेक्षित आदर्श’को निलकण्ठ निष्ठावान् लेखक एवम् अस्थायी शिक्षक हो । कथामा उसको चरित्रको माध्यमबाट पुँजीवादी बजारवादमा बौद्धिक श्रमको अवमूल्यनलाई देखाइएको छ । ‘शहरको त्यो घर’ की प्रमुख नारी पात्र सावित्री असहाय एकल महिला हो भने महेन्द्र र दीपकराम भू–माफिया र दलाल नेता हुन् । कथामा भू–माफिया र राजनीतिज्ञको घृणित गठजोड छ । ‘उन्मुक्ति’ को नासु रेवती इमानदार र स्वाभिमानी छ भने हाकिम उदयविक्रम भ्रष्ट प्रशासकका रुपमा चित्रित छ । ‘उसको कथा’की निरु, ‘कोपिला’ कथाकी कोपिला, ‘साइँली बज्यै’ कथाकी साइँली बज्यै श्रमिक÷सडक व्यापारी महिला, उत्पीडित नारीका रुपमा चित्रित छन् । उनीहरु लैङ्गिक र वर्गीय उत्पीडनमा परेका पात्र हुन् ।

४.२ भाषाशैली, आञ्चलिक परिवेश र संवाद

कृष्णराज अधिकारीको कथा लेखनको भाषा र शैली सरल छ । कथामा ठेट नेपाली शब्दहरूको पनि संयोजन छ । कथाहरूमा गण्डकी क्षेत्रका पोखरा, बागलुङ, स्याङ्जा, पर्वतको आञ्चलिक परिवेश, स्थानीय लवज र भौगोलिक यथार्थलाई बडो सुन्दर ढङ्गले उतारिएको छ । आधुनिक सहरी जनजीवन र विकट ग्रामीण परिवेशबिचको द्वन्द्वलाई स्पष्ट रूपमा देखाउन स्थानीय बिम्ब र प्रतीकहरूको प्रयोग समेत गरिएको छ । कथाकारले आफ्ना कथाका पात्रहरूलाई वर्गीय स्वभावअनुसार बोल्न र व्यवहार गर्न लगाएका छन् । कमरेड माधव, उदयविक्रम, महेन्द्र, दीपकराम जस्ता शोषक पात्रहरूको बोलीमा घमन्ड, दम्भ र छलछाम छ भने तिले, गोपी, डिलाराम, रेवती जस्ता शोषित पात्रहरूको बोलीमा वैचारिक निष्ठा, दुख, आक्रोश र स्वाभिमान छ । शैलीमा नाटकीयता छ । संवादहरू लामा र बोझिला छैनन्, पात्रहरूको वर्गीय धरातल र सामाजिक पृष्ठभूमिअनुकूल उचित र सन्तुलित छन् ।

४.३ मार्क्सवादी सौन्दर्यदृष्टिः निराशाभित्र आशा र प्रतिरोधको चेतना

प्रगतिवादी साहित्यले निराशाको आँसु बगाउँदैन बरु निराशा र उत्पीडनका विरुद्ध विद्रोह र प्रतिरोधको चेतना जगाउँछ । ‘अँध्यारो यात्रा’ का कथाहरू बाहिरबाट हेर्दा दुःखान्त र कारुणिक पनि लाग्छन्— दिलीपको घर उजाडिनु, जग्गुको महाकालीमा मृत्यु हुनु, साइँली बज्यै सडकको पेटीमा मर्नु, जीवलालको हत्या हुनु वा सावित्रीको जग्गा लुटिनु । यी दुःखान्त घटनाहरूको गहिराइमा कथाकारले पाठकभित्र विद्यमान सामाजिक व्यवस्था, भ्रष्ट राजनीति र दलाल पुँजीवादप्रति तीव्र आक्रोश र विद्रोही चेतना पैदा गरिदिएका केही उदाहरण– ‘मृत्यु–भोज’ कथामा डिल्लेले भनेको छ— “यी नेताहरूले हाम्रा नाममा राजनीति गरे तर हामीलाई मान्छे पनि गनेनन् ।” ‘महाकालीको काखमा’ कथामा लालबहादुर खत्रीले भनेको छ— “हावा, पानी, माटो र प्रकृतिका लागि कुनै देशको सिमाना हुँदैन । मान्छेले आफ्नो शासन चलाउन बन्दुकको भरमा सिमाना कोरेका हुन् । राज्यसत्ता जनताप्रति जिम्मेवार नभएपछि हामीले भोग्ने भनेको यस्तै पीडा र मृत्यु हो ।” ‘उन्मुक्ति’ मा नासु रेवतीले भ्रष्ट हाकिमसामु राजीनामा बुझाएर आफ्नो स्वाभिमान कायम राखेको छ ।

यी प्रसङ्गहरूबाट स्पष्ट हुन्छ कि कथाहरूमा निराशावाद नभई यथार्थको कठोर धरातलमा उभिएर व्यवस्था परिवर्तनका लागि झक्कझक्याउने प्रगतिवादी आशावाद र प्रतिरोधको स्वर छ ।

५. निष्कर्ष

समग्रमा, कृष्णराज अधिकारीको ‘अँध्यारो यात्रा’ कथासङ्ग्रह नेपाली समाजले भोगेको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण एवम् विचलनको वस्तुनिष्ठ र यथार्थ प्रस्तुति हो । कथाकारले मार्क्सवादी सौन्दर्यशास्त्र र द्वन्द्वात्मक भौतिकवादी जीवनदृष्टिलाई आत्मसात् गर्दै समाजका उत्पीडित, सीमान्तकृत, श्रमिक, किसान, दलित र नारी वर्गको पक्षमा आवाज बुलन्द पारेका छन् । कथाहरूले दस वर्षे सशस्त्र सङ्घर्षका आदर्शहरू कसरी बुर्जुवा राजनीतिमा रूपान्तरित भएर विचलित बने भन्ने यथार्थ खोलेका छन् । दलाल पुँजीवाद र भूमण्डलीकरणका कारण नेपाली युवाहरू कसरी वैदेशिक रोजगारको आधुनिक दासता र महामारीको चपेटामा पिसिन बाध्य छन् भन्ने यथार्थको प्रस्तुति कथाहरुमा पाइन्छ । राज्यसत्ताको वर्ग–पक्षधरता, नोकरशाही भ्रष्टाचार र सहरी भू–माफियाहरूको नाङ्गो रूप सार्वजनिक गरिएको छ । पितृसत्तात्मक र पुँजीवादी संरचनाभित्र महिलाहरूले भोग्नुपरेको दोहोरो उत्पीडनलाई कलात्मक ढङ्गले उजागर गरिएको छ । यस सङ्ग्रहका कथाहरुले सामाजिक अन्याय र वर्गीय विभेदविरुद्ध सोच्न, प्रश्न गर्न र चेतनाको नयाँ उज्यालोतिर कदम बढाउन प्रेरित गर्दछन् । प्रगतिवादी नेपाली कथासाहित्यको इतिहासमा अधिकारीको ‘अँध्यारो यात्रा’ कथासङ्ग्रहलाई महत्वपूर्ण प्राप्तिका रुपमा लिन सकिन्छ ।


पोखरा– १७, कास्की

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।