19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जूनमायाको हाँसो

कविता कृष्ण बाउसे November 2, 2026, 9:01 am
कृष्ण बाउसे
कृष्ण बाउसे

घर भत्किएर
गाउँ खण्डहर भएको छ ।
आफन्तका लासहरू गाडेर
आँगनमा तुलसी रोपिएको छ ।
एकछाक खाने अन्न जोगिएको छैन ।
पुरिएका कुनै लुगा निकाल्न सकिएको छैन ।
तर पनि
जूनमाया बारी खोस्रिदै छिन्
बोटबिरुवा लगाउनु छ भनेर
कोदो फलाउनु छ भनेर
तोरी फुलाउनु छ भनेर ।
बारीको एक कुनामा
पाल टाँगेर बनाएकी छिन् उनले आफ्नो दरबार ।
मस्काउँछिन् त्यहाँ उनी
मनकारी डोल्माले
उपहारमा दिएको कोदोको पिठो मुछेर
चौरासी व्यञ्जनलाई जित्ने ढिँडो ।
जहाँ सहभोज चल्छ उनको
बेघर कुकुर र भोका परेवाहरूका साथ ।

एक्लै त खानै सक्तिनन् जूनमाया !
एक्लै त बस्नै सक्दिनन् जूनमाया !

हुन त
पूरै गाउँ नै
एउटै चउरको बासिन्दा भएको छ यस बेला ।
तर जूनमायाको कथा अर्कै छ
आफ्नो साबिक खायलमा
उनी आफ्नो सारा विगत भुलेर
एक्लै बसिरहेकी छिन् ।

शङ्का लाग्छ –
छोराछोरी पनि थिए र उनका !
शङ्का लाग्छ –
सासू, ससुरा र लोग्ने नाताका
सदस्य पनि थिए र उनको परिवारमा !
शङ्का लाग्छ –
कुनै बस्तीमा घर भन्ने संरचना पनि थियोे र उनको !

अहँ, केही थाहा छैन उनलाई उनको विगतबारे ।
वास्तवमा
जितेको छ उनलाई
उनको विगत बिर्साउने चोटले
र त्यसले नै
बाँच्न सम्भव तुल्याएको छ जूनमायालाई ।
हो,
आफ्नो वशमा केही नभएको परिवेशमा
चिन्ता गर्न सक्ने शक्ति गुमेर नै
हाँस्न सम्भव भएको छ जूनमायालाई ।

भूगर्भको रहस्यमय खेलमैदानमा
दक्षिणको खेलाडी ठेलिदै आउँदा
छिरेपछि आफूभन्दा ठूलो उत्तरी खेलाडीको टाङमुनि
अनायास उचालिनाले
नौसय माइलमाथिको उनले टेकेको धर्ती
– मेटिएको हो जूनमायाको स्मृतिको रेखा
– काटिएको हो जूनमायाको भाग्यको लता
– उल्टिएको हो जूनमायाको पुरानो जीवनको कथा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।