19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'राराको डिलमा' भित्रका नियात्राहरूको चक्रानुगमन

कृति/समीक्षा डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ November 3, 2026, 5:28 am
डा. घनश्याम न्यौपाने ‘परिश्रमी’
डा. घनश्याम न्यौपाने ‘परिश्रमी’

राराको डिलमा (२०८०) प्रा.डा. कपिल लामिछानेद्धाारा लिखित फुटकर नियात्राहरू समाहृत सङ्कलन हो । यो कृति भुँडीपुराणले प्रकाशनले प्रकाशित गरी पाठकीय बजारमा पु¥याएको हो । कपिल लामिछाने मूलतः कथा/लघुकथा समेत, बालसाहित्य, लोकसाहित्य, समालोचना र अनुसन्धानमूलक लेख–रचनाका माध्यमबाट प्रख्याति आर्जन गरेका स्रष्टा एवम् अधिस्रष्टा हुन् । त्यसो त यिनले कविता पनि सिर्जना गरेका छन् । गाउँखाने कथामा विद्यावारिधि गरेका लामिछाने लोकवार्तासँग आबद्ध विज्ञ पनि मानिन्छन् । निबन्धको खास प्रभेदका रूपमा विकसित नियात्रा लेखनमा पनि यिनको प्रातिभ क्षमता रहेछ भन्ने कुरालाई यस कृतिले प्रमाणित गरेको छ । यहाँ यसै कृतिको प्रभावपरक समीक्षा लेख्ने जमर्को गरिएको छ ।

समीक्ष्य कृति राराको डिलमा अन्तर्गत फापरथुमको आनन्द, राराको डिलमा, दोलखा दौडाहा, सिन्धुलीगढी घुमेर हेर्दा, पाल्पाली तरङ्ग, रुन्टीगढीमा रमाउँदै, मुस्ताङ यात्रा, भिक्षुका पाइला पछ्याउँदै, भैरहवादेखि आबुरोडसम्म, माउन्ट आबु र अक्षरधामको आनन्द, पर्वत र म्याग्दीको एक फन्को, छानामाथि रेल, चीन यात्रामा देवकोटाको सम्झना, यार्चा ः भिल्लका देशमा मणि, ग्रेटवालमा उभिएर, घान्द्रुकको घाम, जुहीको जात्रा, रेसुङ्गा त रेसुङ्गा पो रै’छ एवम् जङ्गलभित्र बालसाहित्यको चिन्तन शीर्षकबद्ध उन्नाइसवटा नियात्राहरूको समाहरण छ । यीमध्ये स्वदेशाटनसँग सम्बद्ध तेह्रवटा र विदेशाटनसँग सम्बद्ध छवटा नियात्रा रहेका छन् । विदेशयात्रा अन्तर्गत छिमेकी मुलुक भारतसँग सम्बन्धित दुईवटा छन् भने चीनसँग सम्बन्धित चारवटा छन् । अपवादबाहेक यी नियात्राहरू प्रायः सहयात्रामा आधारित छन् । स्वदेशाटनका सबैजसो नियात्रा कुनै न कुनै साहित्यिक कार्यक्रमसँग जोडिएका छन् भने भारतीय भूमिका यात्रा मूलतः ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयसँग जोडिएका छन् । यिनमा साहित्यिक गतिविधिको सम्बद्धता देखिँदैन । चीनको यात्रामा भने तिब्बतमा भएको साहित्यिक गोष्ठीको परिचर्चा समाविष्ट छ ।

यस कृति अन्तर्गतको फापरथुमको आनन्द शीर्षकको नियात्रामा स्याङ्जा जिल्लाको फापरथुममा रहेको पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानको आयोजना र आनन्द आश्रम ज्ञानकेन्द्रको व्यवस्थापनमा स्रष्टा, द्रष्टाहरूको व्यापक सहभागितामा सम्पन्न भएको साहित्यिक कार्यक्रमलाई वण्र्य विषय चयन गरिएको छ भने अन्य विविध सम्बन्धित पक्षहरूलाई यसको कलेवर सम्पुष्टिमा समावेश गरिएको छ । नियात्राकारको नेतृत्वमा भैरहवादेखि सुरु भएको यात्राका अनेक रोचक प्रसङ्गहरू यसमा समेटिएका छन् । कार्यक्रमको भव्यता र प्रकृतिको सौन्दर्य चित्रणले यो नियात्रा आकर्षक बनेको छ । दोस्रो क्रममा रहेको राराको डिलमा यस कृति अन्तर्गतको शीर्ष नियात्रा हो । राराताल यसको मुख्य गन्तव्य हो भने अवलोकन भ्रमण र साहित्यिक कार्यक्रममा सहभागिता यसको अन्तर्वस्तु हो । यसको आरम्भ वृत्ताकारीय छ भने अन्त रैखिक छ । यस नियात्राले लेखकलाई साँच्चिकै नियात्राकारका रूपमा स्थापित गरेको छ । यात्राक्रमका विविध सुखदुःखानुभूतिको चित्रणसँग राराको अद्भुत सौन्दर्यको सुरुचिपूर्ण वर्णन छ यसमा । आत्मपरक नैबन्धिक मान्यताको सौन्दर्यले यो नियात्रा सम्पोषित छ । लेखकमा अन्तर्निहित भावुकताले यसमा प्रशस्त प्रविष्टि पाएको देखिन्छ । यथार्थमा यस सङ्ग्रहभित्रको सबैभन्दा उच्चकोटिको नियात्रा यही हो भन्ने लाग्दछ । दोलखा दौडाहामा प्राकृतिक सौन्दर्यकाका रोमाञ्चक दृश्यहरू छन् । यसको आरम्भ निकै रोचक र वृत्ताकारीय छ भने अन्त रैखिक छ । ‘‘चरीकोट पुग्दा रातको साडे नौ बजिसकेको थियो । एक सहयात्रीले भने– खै, कुन चरीले लगाएको छ कोट? मैले भोलि बिहान हेरौँला भनेँ । यसरी दोलखा दौडाहा नियात्रा आरम्भ भएको छ । लेखक यसपूर्व नै बालसाहित्य सम्मेलनमा चरीकोट पुगेको प्रसङ्गले पनि यसमा पूर्वदीप्तिका रूपमा चर्चा पाएको छ । यसरी नै लेखकले यसपटक दोलखा दौडाहामा रहँदा केबुलकारबाट कालिन्चोक पुगेको, नेपालको स्विजरल्यान्ड जिरी र चरीकोट लगायतका रमणीय स्थलहरू घुमेको अनुभव र अनुभूतिहरूलाई बढी महत्वका साथ यसमा समेटेका छन् । सिन्धुलीगढी घुमेर हेर्दा शीर्षकको नियात्रा दोलखा दौडाहाकै शृङ्खलासँग जोडिएको छ । दोलखा दौडाहाको समापनपश्चात् यात्राटोली सिन्धुलीगढीतर्फ प्रस्थान गरेको प्रसङ्ग अगाडि नै आइसकेको छ । सुप्रसिद्ध गीत ‘सिन्धुलीगढी घुमेर हेर्दा‘को बोल यस नियात्राको शीर्षक बनेको छ । यसमा एकातिर यात्राको प्रक्रममा परेका मिल्ती, मन्थली, तामाकोसी, खुर्कोट आदिको उल्लेखसहित सिन्धुलीगढीको प्राकृतिक भूबनावटको चित्रण छ भने अर्कातिर अङ्ग्रेजहरूसँगको युद्धको प्रसङ्गसहित त्यहाँको इतिहासको गहिरो खोजतलास पनि छ । अन्य ठाउँका गढीभन्दा सिन्धुलीे गढीको महतव र ऐतिहासिकता लेखकलाई फरक लाग्दछ । गीतको बोलबाट शीर्षक बनाइएको यस नियात्राको समापन यही गीतका तीन पङ्क्तिबाट गरिएको छ । पाल्पाली तरङ्ग शीर्षकबद्ध नियात्रा प्रश्रित प्रतिष्ठान नेपाल र तरङ्ग साहित्य सङ्गमको संयुक्त आयोजनामा पाल्पाको दमकडामा भएको साहित्यिक कार्यक्रमसँग जोडिएको छ । लेखकले त्यहाँ पाएको आतिथ्य र सम्पन्न कार्यक्रमको प्रशंसा गरेका छन् । यसका साथै माडी दमकडाका पौराणिक, ऐतिहासिक र भौगोलिक तथ्यहरूको सन्धान र विवेचन पनि गरेका छन् । बिचबिचमा फुरेका हाइकूहरू पनि यसमा समावेश गरिएका छन् । रुन्टीगढीमा रमाउँदै शीर्षकबद्ध नियात्राको रचना गर्भ हो रोल्पाको रुन्टीगढीमा सम्पन्न लोकवार्ता सम्बद्ध कार्यक्रम । यसै कार्यक्रमका लागि सहभागी हुन गएका लेखकलाई यहाँको परिवेशले लोभ्याउँछ र जन्मिन्छ रुन्टीगढीमा रमाउँदै । यसमा जलजला होटलको सभाकक्षमा भएको कार्यक्रम र कार्यपत्रहरू प्रस्तुतिको झलक छ । कुसुन्डा जाति र भाषाको चर्चा छ । रुन्टीमा जन्मेका नारायण गिरी नै तपस्याका माध्यमबाट हंसानन्द गिरी, अभयानन्द गिरी हुँदै स्वर्गद्वारी आश्रमका संस्थापक महाप्रभु बालतपसीका नामले व्रिख्यात भएको रोचक प्रसङ्ग पनि यसमा छ । माओवादी जनयुद्ध घोषणा भएको भूमि होलेरीले पनि यसमा चर्चा पाएको छ । सारमा यसमा रुन्टीगढीको प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्वको वर्णन छ । मुस्ताङ यात्रा शीर्षकको नियात्रामा भैरहवादेखि हिमालपारिको जिल्ला मुस्ताङको खासगरी मुक्तिनाथसम्मको रोचक यात्राको वर्णन छ । यात्रापथमा पर्ने पाल्पा, राम्दी गल्याङ, वालिङ, स्याङ्जा, नाउडाँडा, पोखरा, बागलुङ, बेनी, गलेश्वर, कालीदुन, लेते, कोबाङ, कागबेनी, रानीपौवा, जोमसोम जस्ता ठाउँ र त्यहाँका दृश्यहरूको अवलोकन गर्दै मुक्तिनाथ पुगी दर्शन र पूजाअर्चना गरेर फर्केको विस्तृत विवरण यस नियात्रामा रहेको छ । कवि भूपिको स्मरण र भूपि स्मृति थाक पुस्तकालय अवलोकनको प्रसङ्गले पनि यसमा स्थान पाएको छ । मुस्ताङ शब्दको व्युत्पत्ति मन र थाङ मिलेर भएको तथ्य पनि यसमा छ । यसरी नै काली र गण्डकी दुई फरक फरक खोला मिलेर कालीगण्डकी बनेको तथ्यलाई पनि यसमा समाहित गरिएको छ । भिक्षुका पाइला पछ्याउँदै शीर्षकको नियात्रा भवानी भिक्षुको जन्मस्थलको अवलोकन भ्रमणसँग सम्बन्धित छ । भैरहवा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा नेपाली विषय अध्ययनरत विद्यार्थी र सम्बद्ध विषयका प्राध्यापकहरूसहितको यो भ्रमण मूलतः उक्त क्याम्पसमा भवानी भिक्षुलाई ऐच्छिक विषयका रूपमा पढाउने उद्देश्य अनुरूप भएको थियो । यस नियात्रामा तौलिहवा पुगेपछि त्यहाँका स्रष्टाहरूलाई भेटेको, भवानी भिक्षुको घरमा पुगी निकटका परिवार जन र आफन्तहरूसँग भेट भएको र केही जानकारी लिएको, गोटिहवामा रहेको क्रकुच्छन्द बुद्धको प्रतिमाको अवलोकन गरेको तथा भिक्षुको सालिकमा श्रद्धा अर्पण गरी तिलौराकोटतर्फ प्रस्थान गरेको, त्यस क्षेत्रको अवलोकनपश्चात् जगदीशपुरतालमा पुगी त्यहाँको अवलोकन गरेर भैरहवातिर फर्केको यावत् प्रसङ्गहरूलाई सविस्तार विवेचन गरेको छ । यसमा लेखकको अतीतासक्तिले प्रविष्टि पाएको छ । भवानी भिक्षुको साहित्यिक गोगदान तथा इतिवृत्त पनि यसमा समाविष्ट छ ।

भैरहवादेखि आबुरोडसम्म शीर्षकको नियात्रा विदेशाटनसँग सम्बद्ध छ । यसमा भैरहवादेखि भारतको आबुरोडमा अवस्थित प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयसम्मको यात्राको वर्णन छ । यात्राक्रममा दिल्लीका विभिन्न स्थानहरूको अवलोकन गरेको प्रसङ्ग पनि यहाँ जोडिएको छ । आबुरोड अन्तर्गतको आश्रममा प्रवेश गरेपछि लेखक निकै प्रसन्न हुन्छन् । त्यहाँका भौतिक संरचना र शिष्ट र सभ्य व्यवस्थापनको लेखकले मुक्तकण्ठले प्रशंसा गरेका छन् । यसभित्र लेखकको मनभित्रका विविध अनुभूतिका सुन्दर भावहरू विकीर्ण रूपमा मुखरित भएका छन् । यही यात्रासँग जोडिएको अर्को नियात्रा हो माउन्ट आबु र अक्षरधामको आनन्द । यस नियात्राका मुख्य गन्तव्य रहेका छन् माउन्ट आबु र अक्षरधाम । यो एउटा शीर्षकमा समेटिएको नियात्रा भए पनि लेखकले यसलाई दुई चरणमा देखाएका छन् । पहिलो चरण हो, माउन्ट आबुअन्तर्गतको यात्रा । यसमा राजस्थान अन्तर्गत पर्ने धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थल माउन्ट आबुमा रहेका प्रजापिता ब्रह्माकुमारी विश्वविद्यालयसँग सम्बद्ध ब्रह्मा बाबाको प्रवचन र अध्ययन कक्ष, समाधिस्थल, आध्यात्मिक सङ्ग्रहालय, मधुवन, जे बटुमल ग्लोबल हस्पिटल, पिसपार्क, नक्की झिलहरूको अवलोकनबाट रमाएको चर्चा गरेका छन् भने दोस्रो चरणको यात्राको गन्तव्य अक्षरधाम रहेको जनाएका छन् । यो अक्षरधाम दिल्लीको भने होइन । गुजरात प्रान्तको गान्धीनगरस्थित अक्षरधामको यात्रा थियो यो । यस यात्रामा अम्बादेवी मन्दिरको दर्शन गर्दै अक्षरधाम पुगेको र त्यहाँको अवलोकनबाट आनन्द लिँदै र प्रफुल्ल हुँदै नेपालका लागि प्रस्थान गरेकोे वर्णन छ ।

पर्वत र म्याग्दीको एक फन्को शीर्षकको नियात्राको मुख्य गन्तव्य पर्वत जिल्लाको सदरमुकाम कुश्मा रहेको छ भने म्याग्दी त्यससँग जोडिएको छ । खासगरी कुश्माका स्रष्टा शान्तिनारायण श्रेष्ठको ७७औँ जन्मोत्सव र शान्तिनारायण श्रेष्ठ ः स्रष्टा र सिर्जना नामक अभिनन्दन ग्रन्थको लोकार्पण समारोहमा सहभागी हुन जाँदाको यात्राका रोचक प्रसङ्गहरू यसमा समाविष्ट छन् । बिचबिचमा हास्यव्यङ्ग्यको मिश्रण पनि छ । शान्तिनारायण श्रेष्ठको ७७औँ जन्मदिनको भव्य उत्सवसहित अभिनन्दन ग्रन्थको लोकार्पणको चर्चाले उत्तिकै महत्व पाएको छ । पर्वतका प्रसिद्ध साहित्यकार तथा साहित्यिक पत्रिकाका सम्पादक इन्द्रकुमार विकल्प र सरस्वती शर्मा ‘जिज्ञासु’सँग उनीहरूकै निवासमा भएको भेट, कुश्मा बलेवा यान्त्रिक पुल तरेको प्रसङ्गले यसमा स्थान पाएका छन् । भोलिपल्ट म्याग्दीको यात्राका क्रममा गलेश्वरधामसम्म पुगेको रमाइलो वर्णन पनि यसमा छ । यसैमा लेखकले गुडीयान शब्दको व्युत्पादन पनि गरेका छन् जसको अर्थ ‘गुड्ने गाडी’ हुन्छ ।

छानामाथि रेल शीर्षकको नियात्रा पढ्दा वा सुन्दा नै अचम्म लाग्दो र कौतूहल जगाउने खालको छ । यो चीनको यात्रासँग सम्बद्ध नियात्रा हो । यसमा तिब्बतको ल्हासाबाट रेल चढेर बेइजिङ जाँदाको अनुभवसँगै अनुभूतिहरूको मिश्रण छ । लेखकले ल्हासा–बेइजिङ रेलयात्रालाई अनेक आश्चर्यको कुटुरो रहेछ भनेका छन् । चिनियाँ रेलभित्र पाइने सुविधाबाट लेखक प्रभावित हुन्छन् । यसै क्रममा भारतीय रेल र चिनियाँ रेलको तुलना गर्न थाल्दछन् । नेपालमा रेलयातायातको कल्पना गर्दछन् । चीनले जमिनमुनि, समुद्रमुनि, पहाडमुनि र संसारकै छानो मानिएको तिब्बतको प्लाटुमाथि रेल गुडाएको कुरा खोतल्छन् । यसरी यस नियात्राको शीर्षकको रहस्य खुलेको छ । चीन यात्रामा देवकोटाको सम्झना पनि चीनयात्रासँग सम्बद्ध नियात्रा हो । चीनयात्राका क्रममा ल्हासा पुगेपछि त्यहाँ स्थित नेपाली महावाणिज्य दूतावास परिसरमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक÷प्रतिमालाई श्रद्धाले दाहिने पारेर प्रवेश गरेको र दाहिने पारेर नै प्रस्थान गरेको प्रसङ्गसहित त्यहाँ भएको कृति विमोचन तथा अन्य क्रियाकलापहरूको चर्चा यसमा छ । यसमा लेखकको भावुकता तरङ्गित भएको छ । मुनामदनका पात्रहरूसँग त्यहाँका सहयोगी जीवित पात्रहरूको तुलना गर्दै अरनिकोको प्रसङ्ग पनि उठाएका छन् । नेपाली कलाकार बाहुबल चीनमा पुगेर अत्यन्त लोकप्रिय भएको इतिहासले बताउँछ । तिनै बाहुबललाई चिनियाँहरू अरनिको भन्छन् भन्ने कुरा पनि यसमा उल्लेख छ । (मैले चिनियाँ विद्यार्थीहरूलाई पढाउँदा उनीहरूबाट जानकारी पाएअनुसार हामीले अरनिको भन्छौँ तर उनीहरू आनिक भन्छन् सायद ।) तिब्बती भाषामा ल्हासाको अर्थ देवभूमि रहेको जानकारीसहित यसको समापनमा देवकोटा, मुनामदन, भृकुटी, बुद्ध, अरनिको र मुनामदनलाई चिनियाँ भाषामा अनुवाद गर्ने प्रोफेसर लिउ जियानको मनमस्तिष्कमा प्रभाव परेको उल्लेख छ । यार्चा ः भिल्लका देशमा मणि चीनयात्रासँग सम्बद्ध तेस्रो नियात्रा हो । यसमा ल्हासा बजार घुम्दै गर्दा लेखकको टोलीका आँखा अचानक बडा बडा सिसामा बेच्न राखिएको यार्चागुम्बामा पर्दछन् । त्यहाँ यार्चागुम्बाको औषधीय गुणका दृष्टिले अति नै महतव रहेको र यसको गुणवत्ता एवम् मूल्यबारे जानकारी पाएपछि लेखकको मन एकाएक नेपालका हिमाली भेगमा पाइने यार्चागुम्बातिर अनुधावित हुन्छ । हामीले यार्चाको खास महतव अझै नबुझेको अनुभूति गर्दै लेखकले भिल्लका देशमा मणि भन्ने उक्तिको सार्थकता साबित गर्न खोजेका छन् । यस सन्दर्भलाई पुष्टि गर्न लेखक भन्छन्–‘सायद ल्हासाली व्यापारीहरू हामीलाई भिल्ललाई झैँ हेरिरहेका थिए ।’ चीनयात्रासँग सम्बद्ध अन्तिम अर्थात् चौथो नियात्रा हो ग्रेटवालमा उभिएर । यस नियात्राको मुख्य गन्तव्य नै संसारप्रसिद्ध चीनको ग्रेटवाल हो । चीनयात्राको अनुक्रममा लेखक टोलीसहित ग्रेटवालमा पुगेको र त्यहाँ अनेक अनुभूतिसहित अद्भुत र रोचक तथ्यहरू सङ्कलन गरेको कुरा यसमा पाइन्छ । यसको आरम्भमा नै लेखक भन्छन्–‘मेरा धेरै सपनाहरूमध्ये एउटा ग्रेटवालमा पुग्नु पनि हो ।’ यसै सन्दर्भमा लेखक अर्को मनोभाव यसरी व्यक्त गर्छन्– ‘मलाई दुनियाँको एउटा आश्चर्य ग्रेटवालमा मेरो झन्डा पु¥याउनु थियो ।’ यस नियात्रामा बाह्य वर्णन मात्र छैन, अपितु यसको निर्माणको आश्चर्थ लाग्दो इतिहासको उत्खनन पनि गरिएको छ । यसको समापनमा भावुक हुँदै लेखक भन्छन्– ‘सगरमाथाको शिरबाट, लुम्बिनीको धर्र्तीबाट म ग्रेटवाललाई ग्रेट सलाम गर्न चाहन्छु, सलाम !’ ग्रेटवाललाई चिनियाँहरू आफ्नो भाषामा के भन्दा रहेछन् ? यसबारे भने लेखकले सोधखोज गर्न बिर्सेछन् क्यारे !

घान्द्रुकको घाम शीर्षकबद्ध नियात्राको मुख्य गन्तव्य स्थल घान्द्रुक नै हो । यो यात्रा मूलतः बीसौँ बालसाहित्य सम्मेलनसँग जोडिएको छ । भैरहवाबाट तनहुँ पुगी शुक्ला प्रवाहको कार्यक्रममा सहभागी हुँदै र काठमाडौँबाट आएको टोलीसँग मिसिएर पोखरा बागलुङ राजमार्गको नयाँपुलदेखि पैदल यात्रा गर्दै घान्द्रुक पुगी त्यहाँ आयोजित बालसाहित्य सम्मेलनमा सहभागी भएको वृतान्त यसमा समाविष्ट छ । घान्द्रुक पैदल यात्रीहरूको पर्यटकीय स्थलका रूपमा प्रख्यात छ । लेखकले त्यहाँ सम्पन्न बालसाहित्य सम्मेलनको परिचर्चाका साथै घान्द्रूकको सजीव चित्र उतारेका छन् । त्यहाँ प्राप्त हुने सुविधाहरूको खुलेर तारिफ गरेका छन् । लेखकलाई घान्द्रूक बसिखानेहरूको नभएर गरिखानेहरूको भूमि रहेछ भन्ने लाग्दछ । यही ज्ञानको घाम त्यहाँबाट प्राप्त भएको अनुभूति यसमा पोखिएको छ । जुहीको जात्रा शीर्षकबद्ध नियात्राको मुख्य गन्तव्य स्थल पोखरा रहेको छ । यसलाई हास्यव्यङ्ग्य नियात्रा मान्न सकिन्छ । यद्यपि जुही झर्रोवादी आन्दोलनका एकजना सदस्य चूडामणि रेग्मीको सम्पादनमा झापाबाट प्रकाशित हुने पत्रिका हो । यसले विश्व शाक्यको महापुराण नामक कृतिको विमोचनको आयोजना पोखरामा गरेको हुँदा सोही कार्यक्रममा सहभागी हुन लेखक त्यहाँ पुगेका छन् । देशका विभिन्न ठाउँबाट आएका स्रष्टाहरूको सूची यसमा छ । धेरै स्रष्टाहरू सम्मानित भएको जानकारी पनि यहाँ छ । जुहीको जात्रालाई लेखकले गाईजात्राभन्दा पनि रमाइलो मानेका छन् । छोटोछरितो आकारको हँसाउने खालको यो नियात्रा साँच्चिकै रमाइला छ नै । रेसुङ्गा त रेसुङ्गा पो रै‘छ शीर्षकबद्ध नियात्राको मुख्य गन्तव्य स्थल रेसुङ्गा नै रहेको छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घासभन्दा माथि डाँडामा पर्ने रेसुङ्गाको सुन्दर ढङ्गले वर्णन गरिएको छ यस नियात्रामा । रेसुङ्गा शब्द ऋष्यशृङ्गबाट बनेको रहस्य यसमा खुलेको छ । रेसुङ्गाको शीतल जलवायुबाट लेखक प्रभावित भएका छन् । यसमा रेसुङ्गा सन्तहरूको साधनास्थलका रूपमा रहेको तथा सन्त सम्प्रदायका प्रवर्तक शशिधरको साधनाभूमि नै यही रहेको र यही सम्प्रदाय पछि निर्गुण भक्तिधारा नामले विकसित भएको तथ्य पनि उल्लेख छ । यहाँका धार्मिक मठमन्दिरहरूको परिचर्चा र केही ऐतिहासिक तथ्यको उद्घाटन पनि यसमा गरिएको छ । जङ्गलभित्र बालसाहित्यको चिन्तन शीर्षकबद्ध नियात्रा यस कृतिमा समाहित अन्तिम नियात्रा हो । यसको मुख्य गन्तव्य स्थल चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको चितवन जङ्गल लज हो । यसमा जङ्गलभित्र रहेको चितवन जङ्गल लजमा आयोजित बालसाहित्य महोत्सवमा सहभागी हुन जाँदाका केही भ्रमित र जटिल अवस्था र भोगेका कष्ट र पीडाहरूको एकातिर मार्मिक चित्रण छ भने अर्कातिर महोत्सवको रमाइलो र उपलब्धिहरूको वर्णन छ । प्रतीकात्मक रूपमा गङ्गाजलमा रमाएको प्रसङ्ग पनि छ । यसको अन्तमा लेखक भन्छन् –‘सबै राम्रोसँग बुझेर हिँडेको भए पैतलामा जलौरा उठाउनुपर्ने थिएन होला, तर अकस्मात् हिँड्नुको मजै अर्को । केही कष्ट भए पनि जीवनमा नयाँ अनुभव प्राप्त भएको छ । म राहुल सांकृत्यायनसित सहमत छु, घुमाइ यस्तो पनि हुनुपर्छ जिन्दगीमा कैले कैले ।‘

तत्सम वर्गको प्रतीत हुने नियात्रा शब्द नेपाली साहित्यिक जगत्मा मात्र प्रचलनमा छ । हिन्दी, बङ्गाली लगायतका अन्य आधुनिक आर्यभाषामा यसको यथावत् प्रयोग भएको पाइँदैन । उनीहरू यात्रासंस्मरण भन्दछन् । यसको पहिलो प्रयोग तारानाथ शर्माको बेलाइततिर बरालिँदा (२०२६) नामक कृतिमा भूमिका लेख्ने प्रक्रममा बालकृष्ण पोखरेलले गरेका हुन् । अहिले नेपाली निबन्धको शक्तिशाली प्रभेद बनेको छ नियात्रा । यस कृतिमा लघुतामा तीन पृष्ठदेखि गुरुतामा साढेचौध पृष्ठसम्मका नियात्रा समाविष्ट छन् । अधिकांश नियात्राका शीर्षकले नै यात्राको गन्तव्य द्योतन गरेका छन् भने केही नियात्राका शीर्षक फरक प्रकृतिका छन् । जस्तै– छानामाथि रेल, यार्चा ः भिल्लका देशमा मणि, जुहीको जात्रा, जङ्गलभित्र बालसाहित्यको चिन्तन आदि । केही शीर्षकहरूमा आनुप्रासिक चमत्कार देखिन्छ । यथा– दोलखा दौडाहा, घान्द्रुकको घाम, जुहीको जात्रा आदि । यथाप्रसङ्ग बिच बिचमा कविताका पङ्क्ति, गीतका फाँकी, उखानटुक्का, उक्ति/सूक्ति आदिको प्रयोग गरिएको छ । कतिपय शब्दहरूको अर्थतात्विक व्युत्पत्ति वा संरचना देखाइएको छ भने शाब्दिक व्याख्या पनि गरिएको छ । यिनमा एकदुईवटाबाहेक लेखकका भ्रमण प्रायः सहयात्राका छन् । भ्रमणटोलीका सहयात्री र कार्यक्रमका सहभागीहरूको नाम भरसक छुटाइएको छैन । वस्तुतः यस कृतिमा यात्राका अनुभव र अनुभूतिलाई भाषिक कलाका माध्यमबाट अभिलेखीकरण गरिएको छ । लेखकले कतिपय सत्यलाई सुन्दरतामा रूपायित गरेका छन् । कतिपय नियात्रामा अतीतासक्ति (नोस्टाल्जिया) प्रभावित देखिन्छ । यात्रा गरिएका स्थानहरूको प्रकृतिको चित्रण, सौन्दर्यको प्रतिविम्बन र इतिहासको उत्खनन आकर्षक ढङ्गले गरिएको देखिन्छ । अपवादलाई छाडेर भन्दा यी नियात्रामा प्रयुक्त भाषामा शुद्धता, कोमलता र प्राञ्जलता पाइन्छ । यस सङ्ग्रहमा सङ्कलित अधिकांश नियात्रा लेखक जहाँ जहाँ पुगेका छन् पाठकमनलाई त्यहाँ त्यहाँ पुगेको अनुभूति गराउने र तत् तत् क्षेत्रमा पुग्न हुटहुटी जगाउने खालका छन् । समग्रमा यो कृति पठनीय मात्र होइन, कतिपय सन्दर्भ ज्ञानप्रद पनि छ । यो कृति निःसन्देह नेपाली नियात्राको भण्डारमा एउटा महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुनेछ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।