19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अन्तर्वार्ता

कथा गायत्रीकुमार चापागाईं November 5, 2026, 2:22 pm
गायत्रीकुमार चापागाईं
गायत्रीकुमार चापागाईं

उनीहरूका लागि एउटा सुनौलो अवसर थियो । आफैंले छानेको विद्यालयमा आबासीय सुविधासहित उच्च शिक्षासम्म अध्ययन गर्न पाउने सुअवसर । अत्यन्तै पिछडिएका ठाउँका विपन्न, गरिब तथा जेहेन्दार छात्राहरूलाई छनौट गर्न हामी कलेजको एउटा भव्य सभाहलमा थियौं जहाँबाट पारिपट्टिको गाउँ, वनजङ्गल, चौताराका वरपीपल देखिन्थ्यो । अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको कार्यक्रम । अन्तर्वार्ता त एउटा भेटघाट र औपचारिकता पुर्याउने मेलोमेसोमात्र । प्रारम्भिक चरणको छनौट शिक्षा कार्यालयले गरेकै थियो । त्यसमा केही सङ्ख्या बढी काँटछाँट गर्नुपर्ने हाम्रो जिम्मेवारी । सदरमुकामबाट धेरै टाढाका छात्राहरूलाई प्राथमिकताको सूचीमा राखेर हामी अन्तर्वार्ता लिँदै थियौं । पहिलो दिनकै सूचीमा परेका चारजना भोटखोलाका भोटिनी छात्राहरूलाई मैले एकैपटक अन्तर्वार्तामा बोलाउन भनेँ । यसो भन्नाको मेरो उद्देश्य उनीहरूलाई समूहमा आफ्ना कुराहरू राख्न सहज होस् भन्ने थियो । अर्को कुरा मैले साढे तीनदशक अघि उनीहरूको गाउँको भ्रमण गरेको थिएँ । त्यतिबेलाका केही अनौठा घटना र दृश्यले पारेको प्रभाव मेरा दिमागमा कैद थिए । उनीहरूका साथमा त्यो विस्मृत संस्मरणलाई अझ रोमाञ्चकारी बनाउन म हौसिएको थिएँ र उनीहरूसँग अत्यन्तै घुलमिल गरेर कुराकानी गर्नु थियो ।
नौला मानिसहरूसँग आफ्‌ना भित्री कुराहरू एक्कासी राख्न पर्दा हिचकिचावट हुन्छ नै । मैले विदेशीहरूको सर–सङ्गतबाट के सिकेको थिएँ भने अन्तर्वार्ता लिने मानिसले आफ्‌नो परिचय दिएर आत्मीयता प्रदर्शन गर्छन् र लिनेको सबै कुराको जानकारी पहिले नै बुझिसक्छन् । मैले झ्यालबाट देखिदै गरेको अरूणपारिको गाउँलाई देखाउँदै भने, ‘म ऊ त्यो झ्यालबाट देखिरहेको गाउँको मान्छे हूँ । लामो समयसम्म त्यही गाउँमा पढाएँ । मधेश झरेँ । अहिले राजधानीमा बस्दै छु । मैले झन्डै तीनचार दिनको पैदल यात्रा गरेर तिमीहरूको गाउँघरको भ्रमण गरेको छु । पहाडको अझ तिमीहरूको भोटखोलाको जन–जीवन देखेर हाँसेको, रूएको छु । त्यतिबेला तिमीहरू जन्मिएकै थिएनौं होला । तिमीहरूका गाउँमा स्कुल त थियो तर त्यहाँ काम गर्ने शिक्षकहरू यतैबाट जान्थे । वर्षमा मुस्किलले तीन–चार महिना बस्थे । अझ दुईजना शिक्षक भए आलोपालो गर्थे । केटीहरूलाई पढाउने चलन थिएन । केटाहरू पनि धेरैजसो एकदुई महिनामै स्कुल छाड्थे । उसो त हिउँ झर्न थालेपछि तिमीहरूका बा–आमा नै गाउँ छाडेर आफ्ना लाला–बाला, वस्तुभाउ धपाउँदै तल बेँसी तिर झर्थे कोही–कोही सदरमुकामकै आसपास हुँदै उँघो मधेशसम्म पनि पुग्थे । होइन त ?’
मेरो कुराले उनीहरू क्यै उत्सुक र उल्लसित भएको म देख्तैथेँ । उनीहरू मध्येकी एकजनाले बिस्तारै मुख खोली । ‘हो हिउँदमा हाम्रो गाउँ तीनचार महिना निर्जन नै हुन्छ । हामी आलु र मकै छरेपछि बेँसीको न्यानो खोज्दै हिँड्छौं । अहिले केटीहरू पनि स्कुल जान्छन् । हामीले यतै दोकान गरेर बस्ने आफन्तका आसपास बसेर पढ्ने अवसर पाएका हौं ।’
‘तिमीहरूलाई हियाउने, होच्याउने, तल खसाल्ने मेरो विचार छैन तर जतिबेला मैले तिमीहरूको गाउँ टेकेँ, हेरेँ, जानेँ त्यो वातावरण र दृश्यले पारेको केही कुराहरू बताउँछु हुन्छ ?’
उनीहरूले ‘सुनौं न त’ भन्दै टाउको हल्लाए ।
अन्तर्वार्ता उनीहरूको लिनु पर्ने थियो तर म आफैं पो उनीहरूलाई अन्तर्वार्ता दिदै थिएँ । उनीहरू मेरा कुरा चाख मानेर सुनिरहेका थिए ।
+++
‘त्यो पारिको मेरो गाउँ धान, मकै, कोदो फल्ने उर्वर भूमि हो । त्यहाँ पानीका मूल धेरै छन् । हामी स–स्याना हुँदा नै गाउँमा धेरै किसिमका मानिसहरू आइरहन्थे । पढ्न बसेका विद्यार्थीहरू पनि औंसी, पूर्णिमा, द्वादशीजस्ता तिथिमा घर–घरमा सिधा माग्थे । सिधामा चामल, दाल, आलु, बेसार, नून, फलफूल, पैसा दिने चलन थियो । यस्तै साधुसन्त जोगीहरू सन्यासीहरू पनि भिक्षा माग्दै आउँथे । कोही सिधा लिएर हिँड्थे भने कोहीचाहिँ हप्तौंसम्म धुनी जगाएर बस्थे । अतिथि देवो भवः भनेर मान्ने हाम्रा आमाबाबु तिनीहरूको खाने, बस्ने प्रबन्ध मिलाउँथे । यस्तै कार्तिक र चैत्रमा जोगीहरू शङ्खजस्तै खै कुन जनावरको सिङ हो, घरका चारैसुरमा रातमा बजाउँथे । बिहान सिधा उठाउँदै हिँड्ने । तिनीहरूको तर्ल्याङ तुर्लुङ परेको झोली–तुम्बा अनौठो हुन्थ्यो । हामीहरू तिनीहरूको बज्ने शङ्खजस्तो बाजा देखाऊ भन्थ्यौं । कसैले देखाउँथे कसैले देखाउँदैनथे । यस्तै हिउँदमा कुसुलेहरू पुतली नचाउँदै गीत गाउँदै घर–घरमा सिधा उठाउँथे । माङ्दिनतिरका गाइनेहरू सारङ्गी रेट्तै लोग्ने–स्वास्नी सपरिवार आउँथे । यिनीहरूभन्दा पनि मङ्सिर, पुस, माघ महिनातिर ठूलो समूहमा आउने भोटखोलाका भोटेहरूको समूह हामीलाई अत्यन्तै नौलो र अनौठो लाग्थ्यो । हामी केटाकेटीहरू उनीहरूलाई देख्ता अत्यन्तै डराउँथ्यौं । लोग्नेमान्छेले पनि स्वास्नीमान्छेको जस्तै चुल्ठो बाट्थे । क्याप लगाउँथे । दोचा, बख्खु लगाउने, लामो चुप्पी भिर्ने यस्ता मानिस देख्ता सातै जान्थ्यो – हाम्रो । आईमाईहरू अगाडि–पछाडि नै गलैंचाजस्तो लुगा लगाउने, टोपी लगाउने रातापिरा हुन्थे । उनीहरू घरमा नबसेर वारीमै खुला ठाउँमा सुत्थे । ओढ्ने, ओछ्याउने, पकाउने भाँडाकुँडाको भारी बोकेकै हुन्थे । घर–घरमा जरिबुटी, छ्यापी, लसुन, जिम्बु बेच्दै हिँड्थे सँगै पिठो, चामल पनि माग्थे । एउटा गाउँमा तीनचार रात बिताएपछि उनीहरू अर्को गाउँ सर्थे । मलाई लाग्छ – यिनीहरूकै सन्तान तिमीहरू हुनुपर्छ ।’
बाल्यकालको मेरो संस्मरण सुनेपछि उनीहरूले फेरि टाउको हल्लाउँदै भने, ‘यो परम्परामा केही परिवर्तन भए पनि अझै केही बाँकी छँदै छ । सन्तान त हामी उनीहरूकै हौं ।’
+++
नुम, हेदाङ्गा हुँदै दिदिङको राई गाउँ छिचोलेर चेपुवातिर जाँदा उकालो, एकान्त एउटा थुम्कीजस्तो ठाउँमा पुगेर हावा खाँदै थियौं, मास्तिरबाट एउटी महिला रूएको आवाज सुन्यौं । आवाज नजिकिदै आयो । तीनजना युवक केटाहरूले एउटी महिलालाई घिस्याउँदै ल्याउँदै रहेछन् । युवतीले पूरै जिउ छाडेकी थिई । उनीहरू सकी–नसकी न्वारानको बल लगाएर घिसार्दै थिए । यसरी घिसार्दा उसका बाक्ला लुगाले शरीरको भित्री भागमा असर परेन होला तर ऊ डाको छोडेर रूइरहेकी थिई । आँसु पुछ्दै, हिक्क हिक्क हिक्का छोड्दै ऊ आफ्‌नै भाषामा के–के भुत्भुताइरहेकी थिई । युवती त्यस्तै पन्ध्र–सोह्र वर्षकी जस्ती देखिन्थी भने युवकहरू पनि उही उमेरका । पहिले मैले ठानेँ – ‘बलात्कारको प्रयत्न हो कि, क्या हो ?’
मेरो जिज्ञासालाई चिर्दै गुरूङ साइँलो बोल्यो, ‘यो यिनीहरूको बिहेको रीत हो ।’
‘यस्तो जङ्गली राक्षसी पाराको पनि बिहे हुन्छ ?’
‘तपाईं छक्क पर्नुहुन्छ, यी तीनजना केटाहरू दाजुभाइ रहेछन् भने त यो केटी तिनीहरूकी साझा बेहुली हुनसक्छे ।’
‘राम ! राम ! यो युगमा पनि द्रौपती ।’ म आफैं पौराणिक पात्रलाई सम्झेर भक्कानिएँ । राजीखुशीले नै यो केटी साझा पत्नी बन्छे कि यस्तै करकापले । मैले क्यै बुझ्‌न सकिन ।
निर्जन एकान्तमा हामी तीनजनाको समूह देखेर होला केटाहरू हच्किए क्यैबेर रोकिए तैपनि केटीका पाखुरा छाडेका थिएनन् । केटीलाई सोध्ने कुरा धेरै थिए तर उही गुरूङले भन्यो, ‘हामी वटुवाहरूले यस्तो कुरामा चासो नराख्नु नै बेस हुन्छ ।’
मौन भाषामा केटीकै आँखाले भनेजस्तो लाग्यो – तल सुसाइरहेको नदीले हाम्रो दुःख देखेन यो जङ्गलका रूख बुट्यानहरूले हाम्रो सुस्केरा, रोदन सुनेन । यी डाँडाकाँडाले सुनेनन् । तिमीहरू वटुवाले के मेरो दर्द सुनौंला ?’
शहरतिर महिला अधिकार, मानवअधिकारका मुद्दा र कानूनका कुरा धेरै सुनिन्छन् । तर दुर्गम गाउँकी महिलाको यो अवस्था देखेर मन धुरूधुरू रोयो तर क्यै गर्न सक्ने अवस्था रहेन । यत्तिचाहिँ गुरूङले पत्ता लगायो – केटाहरू पारिपट्टिको गाउँ स्याक्सिलाका रहेछन् ।
चेपुवाका जाने–सुनेका नेतासँग बेलुका यही कुरामा विचारविमर्श चल्यो । घिस्याउने कुरालाई उनले रीतसँग जोडे । बाबु–आमाको स्वीकृति गौण हो भने । केटीहरूको जनसङ्ख्या कम भएको पनि होइन रहेछ । केटा केटीको अनुपात बराबरै छ भने । केटीको रोदनलाई खेलाची ठानेँ । साझा पत्नीबारे उनको धारणा थियो– ‘यो सवाल गरिबीसँग गाँसिएको छ । एकै घरका तीनवटा छोराले तीनवटी स्वास्नी ल्याए भने पाल्ने क्षमता खै ? घर बनाउने ठाउँ खै कहाँ छ र गाउँमा ?’ साँच्चिकै उनीहरूको गाउँ पूरै घरैघरले ढाकिएको शहरकै जस्तो बाक्लो थियो । आफै बास बसेको घर ओल्टेकोल्टे हुँदा नचिनिएला जस्तो । अर्को कुरा उनले थपे – ‘आर्थिक अवस्थाकै कारणले पनि यस्तो भएको हो ? घरमा एकजना लोग्ने मात्र स्वास्नीसँग बस्ने । दुईजनामध्ये एकजना कमाउन जाने एकजना गोठ रूङ्न । पालो महिना–दुई महिनाको शर्तबन्दी हुन्छ । अनुशासन कायम पनि हुने । सन्तान कसको हो चिनाई दिने – आमा । अझ पालो तोक्ने काम पनि उसकै ।’ उनका आँखाले हेर्दा महिलाकै हालीमुहाली जस्तो पनि देखिने । भन्न त भने उनले तर मेरो चित्त बुझिरहेको थिएन । पाहुनाको खातिर गर्दै झरको थालमा राता चामल त दिए तर भरखरै ढिँडो खाएको जूठो थालमाथि । मेरो शेर्पा साथीले भन्यो– ‘यी कार्बोटे भोटेहरूको काठको भाँडामा हामी खाँदैनौं ।’ ऊ आफूलाई उनीहरूभन्दा श्रेष्ठ साबित गर्दै थियो । उनीहरू मित–मित एउटै भाँडामा खान्थे । ऊ यिनीहरूलाई दलित जातिसँग तुलना गर्दै थियो । भाँडा माझ्‌दै न माझ्‌ने, लुगा धुँदै नधुने, कहिल्यै पानी हालेर जिउ नपखाल्ने भनेर उनीहरूको खिसी पनि गर्दै थियो । उनीहरूको शरीरबाट आउने गन्धले मेरो पनि नाक पोलिरहेको थियो । त्यसमाथि घर वरिपरिको मानव मलमूत्रको दुर्गन्धले एकरात काट्न पनि सकस नै पर्ने जस्तो थियो ।
मैले केटीहरूतिर फर्केर भनेँ– ‘तिमीहरू त पूरै सुधारिएछौ ! परम्परागत पोशाक पनि लगाएका छैनौं, सफा सुग्घर पनि देखिन्छौं नि !’
‘पढेर गाउँ फर्किएपछि अझ चेतना जगाउँछौ । पहिले खुला ठाउँमा दिशापिसाब गर्ने चलन थियो अहिले सुरक्षित चर्पीहरू बनाइएका छन् । त्यसको सफाइ भने अझै राम्ररी हुन सकेको छैन । हामी प्रयत्न गर्छौ ।’
मैले फेरि उक्साएँ – ‘साझा पत्नी बन्ने कि नबन्ने ?’
‘अहिले यो प्रथामा पनि कमी आएको छ । हामी यसलाई बन्द गर्न आह्वान गर्छौ । हामीलाई घिस्याउन आउने केटो जन्मेको छ जस्तो लाग्दैन ।’ एउटीले जवाफ दिए पनि उनीहरू समूहगतरूपमा एक देखिन्थे ।
म उनीहरूको आत्मविश्वासमा गौरव मान्दै थिएँ । चलिरहेको परम्परा तोड्न सजिलो थिएन ।
+++
लेकको थुम्कीमा रहेको हुङहुङभन्दा बेँसी फाँटको हटिया गोलालाई बास बस्न उपयुक्त ठानेर हामी झर्यौं । अरून नदीको किनार । बेँसी फाँट जस्तो भए पनि वरूण उपत्यकादेखि नै लेकको अनुभूति हुने । एकै किसिमका एकपाखे सयौं घरहरू । यस्ता घरहरू अन्यत्र पनि देखिए । बारीको कान्ला माथि– तल लहरै । काठकै बेरा, काठकै टाँड–तख्ताको । निगालो र मालिङ्गोको चित्राले टाइएको छानो । छानो बगरका ढुङ्गाहरूले थिचिएको । भोटको साझा बस्ती–शहरकै झझल्को दिने । फोहोर देख्ता भने दिङ्दिङ् लाग्ने । सफा ठाउँ र माझेका भाँडाकुँडा खोज्दा–खोज्दा बल्लतल्ल खाँदबारीतिर आवतजावत गर्ने एउटा घर–परिवार भेटियो, जो दैनिक भाँडा माझ्‌दा रहेछन् तर अँगेनो भने फोहोर । एउटा गाईगोठमा खाना पकाएर खाने सुरसार गर्दै थियौं । एकजनाले प्रस्ताव राखे – ‘आज राति गाउँमा जोर धामी बस्तै छन्, हेर्न जानुपर्छ ।’ हामीले थाकेका छौं भनेर टार्यौं ।
रातको एकबजेतिर गाउँ पूरै होहल्लामा गुन्जियो । धामी बसेकै ठाउँमा केटाकेटीले गन्हाउने वायु छोडे भन्ने निहुँमा कुटाकुट नै भएछ । धामी त उज्यालो हुने बेलासम्म काम्दै बक्तै थियो रे तर दर्शक भने शून्य । बिहान तीनचारजना घाइतेहरूलाई बोकेर गोलाको स्वास्थ्यकेन्द्रतिर लाँदै थिए – केही युवक केटाहरू । घाइतेहरू पनि केटाहरू नै थिए । जोखाना हेर्नेले यो युद्ध र मारमारको दुर्घटना देख्यो कि देखेन हामी दुई दिनका पाहुनाहरूले भने नमीठो अनुभूति बटुल्यौँ । मैले ती नानीहरूलाई नै सोधेँ – ‘के यस्तै स–स्यानो निहुँमा अझै काटमार गर्ने युद्ध नै तिमीहरूका गाउँमा चलिरहन्छ ?’
‘चल्छ, मिल्छ ठेगान हुँदैन सर !’ दिक्क लागे झैं आफू–आफू मुखामुख गर्दै सामूहिक जवाफ दिए उनीहरूले ।
‘तिमीहरू धन्य छौ ! तिमीहरूको भविष्य उज्वल रहनेछ’ भन्दै मैले अन्तर्वार्तालाई बिट मारेँ । बाहिर कुलुङ्गे राइनी, गुरूङ्गेनी केटीहरू आज हाम्रो पालो नआउने रहेछ भनेर गुनासो गर्दै रहेछन् । यता भोटिनी केटीहरू भने दङ्गदास ।

विराटनगर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।