विश्वव्यापी तापक्रम वृद्धि, जलवायु परिवर्तन, जैविक विविधताको विनाश, प्राकृतिक स्रोतको अनियन्त्रित दोहन तथा पर्यावरणीय असन्तुलन समकालीन विश्वका गम्भीर चुनौतीका रूपमा देखा परेका छन्। हिमनदी पग्लने, समुद्री सतह बढ्ने, बाढी, पहिरो, खडेरी, भीषण गर्मी तथा वन डढेलोजस्ता प्राकृतिक विपत्तिको बढ्दो जोखिमले मानव सभ्यताको भविष्यलाई नै प्रश्नको घेरामा ल्याएको छ। यस्तो परिस्थितिमा पर्यावरण संरक्षणलाई विज्ञान र प्रविधिको विषयमा मात्र सीमित नराखी शिक्षा, संस्कृति, भाषा र साहित्यको विमर्शसँग जोड्नु अपरिहार्य बनेको छ। यही वैचारिक तथा सामाजिक सन्दर्भलाई केन्द्रमा राखेर भारतको गुवाहाटी विश्वविद्यालयमा २ नोभेम्बर २०२६ का दिन ‘पर्यावरणीय साहित्य: वर्तमान र भविष्यका सरोकार’ (Environmental Literature: Concerns of the Present and the Future) विषयक एकदिवसीय अन्तर्राष्ट्रिय पर्या-साहित्य सङ्गोष्ठी आधुनिक भाषा र साहित्य अध्ययन केन्द्रको सभागृहमा सम्पन्न भयो।
नेपाली भाषा संस्कृति मञ्च (NBSM), गुवाहाटी र गुवाहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा तथा साहित्य अध्ययन विभागको संयुक्त आयोजनामा सम्पन्न उक्त सङ्गोष्ठीमा नेपाल पर्यासाहित्य प्रतिष्ठान, काठमाडौं तथा जनकवि केशरी धर्मराज थापा–सावित्री थापा प्रतिष्ठान, काठमाडौंले पनि आर्थिक सहयोग पुर्याइ सहकार्य गरेको थियो। साहित्य, भाषा र संस्कृतिका माध्यमबाट पर्यावरणीय चेतना अभिवृद्धि गर्नु, प्रकृतिप्रतिको मानवीय उत्तरदायित्वबोध विकास गर्नु तथा पर्यावरण संरक्षणलाई साझा सामाजिक दायित्वका रूपमा स्थापित गर्नु नै यस सङ्गोष्ठी आयोजना गर्नुको प्रमुख उद्देश्य थिए ।
साहित्यिक प्रकाशन, सम्मान र सांस्कृतिक विमर्श-
सङ्गोष्ठीको उद्घाटन समारोहमा पर्यावरणविद् प्राध्यापक हरिप्रसाद शर्मा, साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराई तथा प्राध्यापक दिलीप बराले प्रकृति र मानवजीवनबीचको अन्योन्याश्रित सम्बन्ध, परम्परागत ज्ञानमा निहित प्रकृतिचेतना तथा साहित्यको सामाजिक उत्तरदायित्वबारे विचार प्रस्तुत गरे । वक्ताहरूले आधुनिक पर्यावरणीय सङ्कटको समाधानका लागि वैज्ञानिक ज्ञानसँगै स्थानीय समुदायमा पुस्तौँदेखि सञ्चित प्रकृतिसम्बन्धी परम्परागत ज्ञान र सांस्कृतिक अनुभवको संरक्षण तथा पुनर्व्याख्या आवश्यक रहेको धारणा व्यक्त गरे । सङ्गोष्ठीको अर्को उल्लेखनीय उपलब्धि विभिन्न भाषिक तथा विधागत महत्त्व बोकेका तीनवटा कृतिको लोकार्पण रह्यो। कार्यक्रममा प्रा. डा. गोविन्दराज भट्टराईकृत नियात्राकृति ‘शिलाङ, तेजपुर, गुवाहाटी’, पेशल कुमार लुइँटेलद्वारा अङ्ग्रेजी भाषामा लिखित पर्यावरणीय साहित्यसम्बन्धी निबन्ध कृति Waiting for a Waterfall तथा डा.गोविन्दराज भट्टराईको अनुवाद अध्ययनसम्बन्धी कृतिको ज्ञानबहादुर क्षेत्रीद्वारा असमिया भाषामा अनूदित ‘अनुवाद अध्ययन परिचायिका’ शीर्षक तीनवटा कृति सार्वजनिक भए । यी प्रकाशनले सङ्गोष्ठीको विषयगत क्षेत्रलाई पर्यावरणीय साहित्यमा मात्र सीमित नराखी यात्रा साहित्य, अनुवाद अध्ययन र अन्तरभाषिक ज्ञान आदानप्रदानसम्म विस्तार गरेको देखिन्छ । विशेषतः नेपाली भाषामा विकसित प्राज्ञिक चिन्तनलाई असमिया भाषामा अनुवाद गरी स्थानीय पाठक तथा अनुसन्धानकर्तासम्म पुर्याउने प्रयासले भाषिक सहकार्य र ज्ञानको क्षेत्रीय विस्तारको महत्त्वलाई प्रकाश पारेको छ ।
यसै अवसरमा नेपाली भाषा र साहित्यको विकास, विस्तार तथा प्राज्ञिक उन्नयनमा निरन्तर योगदान पुर्याउँदै आएका प्रा. डा. गोविन्दराज भट्टराईलाई नेपाली भाषा संस्कृति मञ्चले ‘नेपाली साहित्यका प्रज्ञापुरुष’ उपाधिले सम्मान जनायो। विशेषतः भारतका विभिन्न भूभागमा रहेका नेपालीभाषी साहित्यकार तथा प्राज्ञिक समुदायसँग उहाँले कायम राख्नुभएको बौद्धिक सम्बन्ध, मार्गदर्शन र साहित्यिक अभिभावकत्वप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले प्रदान गरिएको यस उपाधिले सीमापारि विकसित नेपाली साहित्यिक सम्बन्धको महत्त्वलाई समेत प्रतिबिम्बित गरेको छ।
पर्यावरणीय साहित्यको अवधारणा र सैद्धान्तिक विमर्श-
सङ्गोष्ठीमा नेपाली भाषाका ९ वटा, असमिया भाषाका ४ वटा र अङ्ग्रेजी भाषाका ३ वटा गरी जम्मा १६ वटा गहकिला प्राज्ञिकतहका कार्यपत्रहरू प्रस्तुत गरिनुका साथै ‘पर्यावरणीय चेतना र प्रकृति संरक्षणमा साहित्यको भूमिका’ विषयमा विशेष परिसंवाद आयोजना गरिएको थियो । छुट्टा-छुट्टै प्राविधिक सत्रमा १६ वटा गोष्ठीपत्र प्रस्तुतिका माध्यमबाट पर्यावरणीय साहित्यको अवधारणा, सैद्धान्तिक आधार, कार्यक्षेत्र, समकालीन सान्दर्भिकता तथा प्रकृति संरक्षणमा यसको सम्भावित भूमिकाबारे बहुआयामिक विमर्श भयो । छलफलको एउटा महत्त्वपूर्ण सैद्धान्तिक प्रश्न प्रकृतिको सामान्य चित्रण र पर्यावरणीय साहित्यबीचको भिन्नतासँग सम्बन्धित थियो। साहित्यमा नदी, हिमाल, वनजङ्गल, चराचुरुङ्गी र प्राकृतिक सौन्दर्यको उपस्थिति हुँदैमा त्यसलाई स्वतः पर्यावरणीय साहित्य मान्न नसकिने विचार विमर्शमा प्रस्तुत भयो। प्रकृतिसँग मानवजीवनको पारस्परिक सम्बन्ध, प्राकृतिक स्रोतको दोहन, पर्यावरणीय अन्याय, जैविक विविधताको क्षयीकरण, मानवेत्तर अस्तित्वको अधिकार तथा प्रकृति विनाशविरुद्धको चेतना साहित्यिक अभिव्यक्तिमा समावेश भएपछि मात्र त्यसले विशिष्ट पर्यावरणीय अर्थ प्राप्त गर्ने दृष्टिकोणलाई विशेष महत्त्व दिइयो। यस दृष्टिले पर्यावरणीय साहित्य प्रकृतिको सौन्दर्यवर्णनमा सीमित साहित्यिक प्रवृत्ति नभई मानवकेन्द्रित विकासदृष्टिको आलोचना गर्ने, प्रकृति र संस्कृतिबीचको अन्तर्सम्बन्ध पहिल्याउने तथा सहअस्तित्वमा आधारित जीवनदर्शनको खोजी गर्ने बौद्धिक र सिर्जनात्मक अभ्यास हो। यसले साहित्यलाई पर्यावरणीय सङ्कटको साक्षी, त्यसको आलोचक र सम्भावित सामाजिक परिवर्तनको संवाहकका रूपमा स्थापित गर्न सक्ने विषयमा सहभागीहरूले जोड दिए।
अन्तर्राष्ट्रिय गोष्ठीमा प्रस्तुत गरिएका कार्यपत्रहरू-
सङ्गोष्ठीको प्रथम प्राविधिक कार्यसत्र साहित्यकार श्री ज्ञानबहादुर क्षेत्री र प्रो. जयन्तकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न भयो । यस प्रथम कार्यसत्रमा श्री विजय हितान, प्रा. अञ्जना वस्ती, डा. अशोक थापा, अनिता कोइराला, डा. ज्ञानु अधिकारी, डा. राजकुमार छेत्री, डा. त्रिभुवन बराई, प्रा.डा. देवेन सापकोटा, डा. उमा देवी र श्री मदनराज थापाका नेपालीमा लेखिएका जम्मा ९ वटा कार्यपत्रहरू प्रस्तुत भए ।
श्री विजय हितानको ‘नेपाली साहित्यमा चौथो आयाम:पर्यावरण’-ले नेपाली साहित्यमा पर्यावरणीय चिन्तनको ऐतिहासिक उपस्थिति, वैचारिक विकास र समकालीन सम्भावनामाथि विमर्श विस्तार गरे । हितानले आफ्नो कार्यपत्रमा जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, वन विनाश, प्रदूषण र प्राकृतिक स्रोतको दोहनले मानव अस्तित्वलाई चुनौती दिइरहेको सन्दर्भमा नेपाली साहित्यमा "चौथो आयाम" का रूपमा पर्यावरणलाई समावेश गर्नुपर्ने प्रस्ताव अघि सारे । उनको कार्यपत्रमा साहित्यलाई राजनीतिक, आर्थिक र सामाजिक विषयमा मात्र सीमित नराखी मानव र मानवेत्तर जगत्बीचको अन्तर्सम्बन्धलाई केन्द्रमा राख्नुपर्ने तर्क प्रस्तुत गरिएको छ । पर्यावरणीय सङ्कटबाट सुरक्षित रहने र बदलिँदो वातावरणसँग अनुकूलन गर्ने प्रश्नलाई साहित्यिक लेखनको महत्त्वपूर्ण सरोकार बनाउनुपर्ने यसको निष्कर्ष छ।
डा. अशोक थापा- (नेपाली आख्यानमा पर्यावरणीय चेतना)- डा. थापाले आफ्नो पत्रमा नेपाली आख्यानमा पर्यावरणीय चेतनाको विकास क्रमिक रूपमा भएको पाइन्छ भन्ने तर्क राख्दै समकालीन नेपाली आख्यानमा वनविनाश, जैविक विविधताको हास, मानव-प्रकृति सम्बन्ध र पर्यावरणीय सङ्कट प्रमुख विषय बनेको कुरो अघि सारे । रमेश विकल (अविरल बग्दछ इन्द्रावती), सञ्जीव उप्रेती(हंस), उमा सुवेदी(इति), अनुराधा शर्मा पूजारी(यहाँ एउटा जङ्गल थियो) तथा विजय हितान (ब्लु प्लानेट) लगायत मनोज बोगटी, महेश पौड्याल, मनप्रसाद सुब्बा र भारतीय नेपाली साहित्यकारहरूले पनि पर्यावरणीय आख्यान लेखनमा योगदान पुर्याएको चर्चा गरे। विशेषतः आख्यानमा प्रकृतिको उपस्थिति, मानवीय जीवन र पर्यावरणबीचको सम्बन्ध तथा पर्यावरणीय सङ्कटप्रतिको साहित्यिक प्रतिक्रियाका विविध पक्ष छलफलमा आए । यसले नेपाली साहित्यको अध्ययनलाई परम्परागत सौन्दर्यशास्त्रीय दृष्टिकोणबाट मात्र अघि नबढाएर पर्यावरणीय आलोचना र अन्तरविषयक अनुसन्धानतर्फ पनि उन्मुख गराउनुपर्ने आवश्यकतालाई जोड़ दिए ।
प्रा. अञ्जना वस्ती-(दुई पृथक भाषाका आख्यानमा खिचिएका पर्या चिन्तनका तस्वीरहरू) प्रा. वस्तीको कार्यपत्रमा नेपाली र असमेली भाषामा रचिएका विजय हितानको "ब्लू प्लानेट" कथासङ्ग्रह र अनुराधा शर्मा पूजारीको यहाँ एउटा जङ्गल थियो उपन्यासमा पर्यावरणीय अध्ययन गरिएको छ। विकास निर्माण, जैविक विविधता, पर्यानारीवाद, ग्राम्यता, नगरीकरण, प्रदूषण, जलवायु परिवर्तन र वन्यजन्तुको बासस्थानमाथिको अतिक्रमणलाई विश्लेषणको आधार बनाइएको छ। दुवै आख्यानले प्रकृतिको सौन्दर्य वर्णनमा मात्र सीमित नरही मानवीय गतिविधिबाट उत्पन्न पर्यावरणीय क्षति र त्यसको न्यूनीकरणको आवश्यकतालाई प्रस्तुत गर्छन् ।
डा. ज्ञानु अधिकारी-(नेपाली निबन्धमा पर्यावरणीय चेतनाको प्रयोग)- डा. अधिकारीको गोष्ठीपत्र नेपाली निबन्धमा अभिव्यक्त पर्यावरणीय चेतनामा केन्द्रित रहोको देखिन्छ। पुस्तकालयमा सङ्कलित प्राथमिक निबन्ध सामग्री तथा पर्यावरण र नेपाली निबन्धसम्बन्धी विद्वान्का लेखनलाई द्वितीयक स्रोतका रूपमा उपयोग गरी प्रकृति, मानव र संस्कृतिबीचको अन्तर्सम्बन्ध, प्रकृतिमाथिको अतिक्रमण तथा बिग्रँदो पर्यावरणका कारण उत्पन्न पारिस्थितिक चेतनाको विश्लेषण गरिएको छ। अध्ययनले प्रकृति र मानवको अन्तरसम्बन्धबाट संस्कृति निर्माण हुने तर तीव्र औद्योगिकीकरण र सहरीकरणले प्रकृतिको विनाश बढाउने भएकाले पर्यावरण संरक्षण आवश्यक रहेको निष्कर्ष प्रस्तुत गर्छ।
डा. राजकुमार छेत्री- (नेपाली पर्या-साहित्यमा हिमालयको प्रभाव र सांस्कृतिक चेतना)-नामक कार्यपत्रमा डा. छेत्रीले हिमालयलाई हिमाच्छादित पर्वतशृङ्खलाका रूपमा मात्र नभई सांस्कृतिक स्मृति, साहित्यिक चेतना र सामूहिक जीवनबोधको प्रतीकका रूपमा अध्ययन गर्नुपर्ने बताउँदै वेद, उपनिषद्, पुराण, रामायण, महाभारत तथा आधुनिक साहित्य, गीत-सङ्गीत, नृत्य, लोकपरम्परा र सामाजिक संस्कारमा हिमालयको प्रभावलाई रेखाङ्ङ्कित गरिएको छ भन्ने सन्दर्भमा आफ्नो अवधारणा स्पष्ट पारे । हिमालयबाट उत्पन्न नदी, वन, औषधीय वनस्पति र जैविक विविधताले भौतिक जीवनलाई पोषण गर्छन् भने मिथक, लोकविश्वास र सांस्कृतिक प्रतीकहरूले आध्यात्मिक तथा भावनात्मक जीवनलाई आकार र आधार समेत दिन्छन् भन्ने डा. छेत्रीको कार्यपत्रको निष्कर्ष रहेको बुझिन्छ ।
डा. देवेन सापकोटा (असमेली समकालीन नेपाली साहित्यमा पर्यावरणीय चेतना)- शीर्षक कार्यपत्रले असमेली समकालीन नेपाली साहित्यमा अभिव्यक्त पर्यावरणीय चेतनाको अध्ययन गर्छ साथै स्थानीय भूगोल, नदी, वन, माटो, ग्राम्य जीवन र मानव तथा मानवेत्तर जगत्बीचको सम्बन्धलाई साहित्यिक अभिव्यक्तिका महत्त्वपूर्ण पक्षबारे प्रकाश पारेको छ। आधुनिक विकास, सहरीकरण, प्रदूषण र प्राकृतिक स्रोतको दोहनले सिर्जना गरेका समस्याहरू साहित्यमा कसरी प्रतिबिम्बित भएका छन् भन्ने विषय यसको केन्द्रमा छ।
अनिता कोइराला- (पर्याचेतनाको गम्भीर धारमा दुई भूगोलको संयुक्त गुञ्जन)- कार्यपत्रले नेपाल र भारतको असम भूगोलमा सिर्जित नेपाली पर्यावरणीय कविताको तुलनात्मक अध्ययन प्रस्तुत गर्छ। "हरित हस्ताक्षर: कवितामा प्रकृति र नारी" तथा "असमेली पर्यावरणीय कविता" लगायतका कृतिलाई आधार बनाउँदै जलवायु परिवर्तन, जैविक विविधता, ग्राम्यता, आदिवासी जीवन, विकास र विनाश, प्रकृति-नारी सम्बन्ध र सहअस्तित्वका पक्ष विश्लेषण गरिएको छ। दुवै भूगोलका कवितामा प्रकृतिको सौन्दर्य वर्णनभन्दा अघि बढेर पर्यावरणीय विनाशप्रति चिन्ता, प्रतिरोध र खबरदारी व्यक्त भएको निष्कर्ष प्रस्तुत गरिएको छ।
डा. त्रिभुवन बराई-(नेपाली कवितामा पर्यावरणीय सिद्धान्तको प्रयोग)- डा. बराईले नेपाली कवितामा पर्यावरणीय सिद्धान्तको प्रयोग र प्रकृति-मानव सम्बन्धको साहित्यिक अभिव्यक्तिलाई केन्द्रमा राखेर आफ्नो कार्यपत्र तयार गरेका छन् । पर्यावरणीय आलोचनाको दृष्टिबाट कवितामा प्रकृति, जीवजगत्, प्रदूषण, स्रोतको दोहन र वातावरणीय असन्तुलनजस्ता विषय कसरी प्रस्तुत भएका छन् भन्ने प्रश्नलाई सम्बोधन गर्दै अध्ययनको मूल सरोकार साहित्यिक पाठमा मानवकेन्द्रित दृष्टिकोणको समीक्षा गर्नु र मानवेत्तर जगत् तथा पारिस्थितिक सम्बन्धप्रति संवेदनशील आलोचनात्मक पठनको सम्भावना देखाउनु रहेको कुरो प्रकाश पारे ।
मदनराज थापा-("चितवन दर्पण" काव्यमा धर्मराज थापाको पर्यावरणीय चेत)- पत्र प्रस्तोता श्री थापाले "चितवन दर्पण" काव्यमा अभिव्यक्त पर्यावरणीय चेतनाका साथै काव्यमा प्रकृति, भू-दृश्य र मानव जीवनको सम्बन्ध तथा प्राकृतिक परिवेशप्रतिको संवेदनालाई पर्यावरणीय दृष्टिले बुझ्ने प्रयास गरिएकोबारे प्रकाश पारे । यस गोष्ठीपत्रमा साहित्यिक चित्रणले प्रकृतिको सौन्दर्य प्रस्तुत गर्नुका साथै मानिस र उसको परिवेशबीचको निर्भरता पनि देखाउँछ साथै काव्यले पर्यावरणीय मूल्य, स्थानीय जीवनबोध र प्रकृतिप्रतिको जिम्मेवारीबारे विमर्श गर्ने दायित्व सुम्पिएको कुरो निष्कर्षमा प्रकाश पारे ।
डा. उमा देवी- (गोपाल सिंह नेपालीका काव्यमा प्रकृति एवम् पर्यावरणीय सरोकार)- हिन्दी साहित्यमा अध्यापन गरिरहेकी डा.उमा देवीले हिन्दी र नेपाली दुवै भाषामा सरावरी लेख्ने कवि-गीतकार गोपालसिंह नेपालीका कविता र गीतहरू पाइने पर्यावरणीय चेतनालाई प्रकाश पारिन् । कवि-गीतकार गोपालसिंहले पर्यावरण जागरण सम्बन्धमा प्रशस्त काव्यहरू रचना गरेको उल्लेख गर्दै उनको काव्यलेखनमा पर्यावरण चेतनाको खुलेर प्रंशसा गरिन् । उनको गोष्ठीपत्रको आयाम छरितो र छोटो किसिमको थियो ।
प्रो. हरिप्रसाद शर्मा र प्रो. दिलिप कलिताको सत्राध्यक्षतामा यसैको साथै अर्को प्राविधिक कार्यसत्र सम्पन्न भयो । यस सत्रमा महेश पौड्याल, पङ्कज शर्मा, प्रियङ्का प्रियदर्शिनीका तीनवटा अङ्ग्रेजीका कार्यपत्रका साथै डा. कणिमा पाठक, ज्योति बर्मन, तुलिका तामुली र भिङ्कु मणि दासद्वारा असमीय भाषामा तयार पारिएका चारवटा कार्यपत्रहरू प्रस्तुत गरिए ।
महेश पौड्याल- (Reimagining Environment Democracy_ Towards a culturally Sensitive Ecocritism in Nepal-पर्यावरणीय लोकतन्त्रको पुनर्कल्पना: नेपालमा सांस्कृतिक संवेदनशीलतामा आधारित पर्यावरणीय समालोचना)- पौड्यालको कार्यपत्रले नेपालको पारिस्थितिक तथा जनसाङ्ख्यिक यथार्थ विविध संस्कृति र आदिवासी जनसमुदायले निर्माण गरेका साथै जसको इतिहास, पहिचान र जीविकोपार्जन निश्चित पारिस्थितिक क्षेत्रहरूसँग गहिरो रूपमा जोडिएका कुरो उठाएको छ । नेपाली पर्यावरणीय समालोचनाका विभिन्न दृष्टिकोणहरूको समीक्षा गर्दै तिनलाई पर्यावरणीय लोकतन्त्रसम्बन्धी सैद्धान्तिक अवधारणासँग संवादमा ल्याइएको छ । यसले विविध साहित्यिक स्वर र दृष्टिकोणहरूलाई समेट्ने, सांस्कृतिक विशिष्टतामा आधारित पारिस्थितिक सम्बन्धहरूलाई मान्यता दिने तथा नेपालको पर्यावरणीय–सांस्कृतिक यथार्थलाई अझ प्रभावकारी ढङ्गले सम्बोधन गर्ने सांस्कृतिक रूपमा संवेदनशील अवधारणात्मक ढाँचाको आवश्यकता औँल्याएको छ।
पङ्कज शर्मा-(The Bond Under Threat: Ecological Rupture and the Human-Nature Relationship in Contemporary Literature- सङ्कटापन्न मानव–प्रकृति सम्बन्ध: समकालीन साहित्यमा पारिस्थितिक विच्छेद) शर्माको कार्यपत्रमा समकालीन साहित्यले मानव र प्राकृतिक संसारबीच बढ्दै गएको विच्छेदलाई कसरी प्रस्तुत गरेको छ भन्ने विषयको विश्लेषण गरिएको छ। पर्यावरणीय विनाश, प्राकृतिक स्रोतसाधनको दोहन तथा विकासका बदलिँदा स्वरूपहरूले मानव र उसको पर्यावरणबीचको सम्बन्धमाथि निरन्तर दबाब सिर्जना गरिरहेका छन्। साहित्यिक विश्लेषणका माध्यमबाट यस शोधपत्रले साहित्यकारहरूले पर्यावरणीय क्षति, मानवीय उत्तरदायित्व तथा प्रकृतिलाई केवल मानव उपयोगको साधनका रूपमा हेर्दा उत्पन्न हुने परिणामहरूलाई कसरी चित्रण गरेका छन् भन्ने कुराको अध्ययन गरेको छ। यसले साहित्यले पारिस्थितिक चेतना अभिवृद्धि गर्न तथा पाठकहरूलाई मानव र प्रकृतिबीचको सम्बन्धका नैतिक आधारहरूबारे पुनर्विचार गर्न प्रेरित गर्न सक्ने तर्क प्रस्तुत गरेको छ।
प्रियङ्का प्रियदर्शिनी-(Ecocritical Shifts in 21st-Century Hindi Literature: From Romanticized Nature to Anthropocene Engagements- एक्काइसौँ शताब्दीको हिन्दी साहित्यमा पर्यावरणीय समालोचनाका बदलिँदा प्रवृत्तिहरू: प्रकृतिको सौन्दर्यपरक चित्रणदेखि मानव युगसम्बन्धी विमर्शसम्म)- यस कार्यपत्रमा एक्काइसौँ शताब्दीको हिन्दी साहित्यमा प्रकृतिका आदर्शीकृत चित्रणबाट मानवयुग तथा पारिस्थितिक सङ्कटप्रतिको आलोचनात्मक संलग्नतातर्फ विकसित हुँदै गएका प्रवृत्तिहरूको अध्ययन गरिएको छ। यसमा साहित्यिक कृतिहरूले जलवायु परिवर्तन, पर्यावरणीय क्षयीकरण तथा मानवीय गतिविधिका परिणामहरूप्रति कसरी प्रतिक्रिया व्यक्त गरेका छन् भन्ने विषयलाई समेटिएको छ। साहित्यिक दृष्टिकोणमा आएका परिवर्तनहरूको विश्लेषण गर्दै यस शोधपत्रले प्रकृति केवल सौन्दर्यको विषयका रूपमा सीमित नरही द्वन्द्व, संवेदनशीलता, जोखिम र नैतिक उत्तरदायित्वको क्षेत्रका रूपमा कसरी प्रस्तुत हुँदै गएको छ भन्ने कुराको अन्वेषण गरेको छ। यसले समकालीन हिन्दी साहित्यले पर्यावरणीय चेतनाको विस्तार र अभिवृद्धिमा निर्वाह गरेको महत्त्वपूर्ण भूमिकालाई उजागर गरेको छ।
डा. कणिमा पाठक- (শ্রীমদ্ভগৱদগীতা'ত পৰিৱেশ বিজ্ঞান:এক অধ্যয়ন अर्थात् श्रीमद्भगवद्गीतामा पर्यावरण विज्ञान: एक अध्ययन)- यस अध्ययनमा श्रीमद्भगवद्गीताका विचार र शिक्षामा प्रकृति, जीवन तथा पर्यावरणसँग सम्बन्धित अवधारणाहरूको खोजी गरिएको छ। यस ग्रन्थको दार्शनिक दृष्टिकोणका आधारमा मानिसको कर्तव्य, आत्मसंयम, प्राकृतिक संसारसँगको सम्बन्ध र जीवनमा एकअर्काप्रतिको निर्भरताबारे विचार गरिएको छ। यस अध्ययनले पर्यावरण संरक्षणको नैतिक महत्त्व र प्रकृतिप्रति जिम्मेवार व्यवहार गर्न सकिने सम्भावनाबारे चर्चा गरेको छ।
१४.ज्योति बर्मन- (জলজাহাজ উপন্যাসত প্রতিফলিত নেপৰীয়া সমাজ জীৱন अर्थात् ‘जलजहाज’ उपन्यासमा प्रतिबिम्बित नेपाली समाजजीवन)- यस अध्ययनमा ‘जलजहाज’ उपन्यासमा चित्रण गरिएको नेपाली समाजजीवनका विभिन्न पक्षहरूको समीक्षा गरिएको छ। उपन्यासमा प्रस्तुत सामाजिक वातावरण, मानिसहरूको जीवनशैली र जीविकोपार्जन, सांस्कृतिक अनुभव तथा प्रकृतिसँग समाजको सम्बन्धलाई बुझ्ने प्रयास गरिएको छ। स्थानीय समाजजीवन र पर्यावरणबीचको आपसी सम्बन्धका माध्यमबाट साहित्यले कुनै समुदायको अनुभव र पहिचानलाई कसरी अभिव्यक्त गर्छ भन्ने कुरा यस अध्ययनको मुख्य चासो रहेको छ।
१५.तुलिका तामुली- (অনুৰাধা শৰ্মা পূজাৰীৰ 'ইয়াত এখন অৰণ্য আছিল' উপন্যাসত পাৰিপাৰ্শ্বিক সচেতনতাঃ এক অধ্যয়ন, अर्थात् अनुराधा शर्मा पुजारीको ‘यहाँ एउटा वन थियो’ उपन्यासमा पर्यावरणीय चेतना: एक अध्ययन)- यस अध्ययनमा अनुराधा शर्मा पुजारीको ‘यहाँ एउटा वन थियो’ उपन्यासमा व्यक्त पर्यावरणीय चेतनाको विश्लेषण गरिएको छ । वन विनाश, प्रकृतिमाथि मानिसको हस्तक्षेप तथा विकासका नाममा पर्यावरणमा हुने परिवर्तनले सिर्जना गरेका समस्याहरू यस उपन्यासको मुख्य विषय बनेका छन्। साहित्यिक प्रस्तुतिका माध्यमबाट मानव र प्रकृतिबीचको सम्बन्ध, जैविक विविधताको महत्त्व तथा पर्यावरण संरक्षणको आवश्यकतालाई कसरी अभिव्यक्त गरिएको छ भन्ने विषयको अध्ययन यसमा गरिएको छ।
१६.भिङ्कु मणि दास- (ওদালগুৰি জিলাৰ বড়ো আৰু নেপালী জনগোষ্ঠীৰ মাজত প্ৰচলিত লোকবিশ্বাসত প্ৰকৃতিৰ স্থানঃ এটি তুলনামূলক অধ্যয়ন, अर्थात् उदालगुडी जिल्लाका बोडो र नेपाली समुदायमा प्रचलित लोकविश्वासमा प्रकृतिको स्थान: एक तुलनात्मक अध्ययन)- यस अनुसन्धानमा उदालगुरी जिल्लाका बोडो र नेपाली समुदायमा प्रचलित लोकविश्वासमा प्रकृतिको स्थानबारे तुलनात्मक अध्ययन गरिएको छ। लोकविश्वास, परम्परा र सांस्कृतिक व्यवहारका माध्यमबाट प्रकृति, जीवजन्तु, वनस्पति तथा प्राकृतिक शक्तिप्रति मानिसहरूको धारणा अभिव्यक्त हुने गर्दछ। यी दुई समुदायका विश्वास प्रणालीको तुलनाले पर्यावरणसँग जोडिएको सांस्कृतिक सम्बन्ध र स्थानीय ज्ञानको महत्त्व बुझ्न सहयोग पुर्याउँछ।
परिसंवाद: साहित्यको सामाजिक उत्तरदायित्व-
‘The Role of Literature in Environmental Awareness and Nature Conservation’ अर्थात् ‘पर्यावरणीय चेतना र प्रकृति संरक्षणमा साहित्यको भूमिका’ विषयक परिसंवाद रह्यो । साहित्यकार श्री रुद्र बरालको सभापतित्व तथा डा. देवेन सापकोटाको सञ्चालनमा सम्पन्न परिसंवादमा डा. गोविन्दराज भट्टराई, विजय हितान, नवीन पौड्याल, डा. सुकराज दियाली, डा. दिलीप छेत्री, पुष्पधर शर्मा तथा नैना अधिकारीले आ-आफ्ना विचार प्रस्तुत गरे। यस परिसंवादमा साहित्यले पर्यावरणीय सङ्कटलाई कसरी अभिव्यक्त गर्ने, प्रकृतिमाथिको मानवीय हस्तक्षेप र त्यसबाट उत्पन्न असमानतालाई कसरी प्रश्न गर्ने तथा साहित्यिक संवेदनालाई व्यावहारिक संरक्षण अभियानसँग कसरी जोड्ने भन्ने विषयमा विचार आदानप्रदान भयो। साहित्यले केवल पर्यावरणीय समस्याको सूचना प्रवाह गर्ने नभई मानिसको प्रकृतिप्रतिको दृष्टिकोण, व्यवहार र नैतिक चेतनामा परिवर्तन ल्याउने भूमिका निर्वाह गर्नुपर्ने धारणा विशेष रूपमा प्रस्तुत भयो। यस विमर्शले पर्यावरणीय साहित्यलाई सिर्जनात्मक अभिव्यक्तिको एउटा विधागत प्रवृत्तिका रूपमा मात्र नभई सामाजिक हस्तक्षेप, आलोचनात्मक चेतना र पर्यावरणीय न्यायको पक्षमा उभिने वैचारिक अभ्यासका रूपमा बुझ्नुपर्ने आवश्यकता औँल्याएको छ। यद्यपि साहित्यिक चेतनालाई वास्तविक संरक्षण कार्यसँग जोड्न अनुसन्धान, शिक्षण, सार्वजनिक संवाद र संस्थागत सहकार्यको निरन्तरता आवश्यक रहने विषय पनि यस सन्दर्भमा महत्त्वपूर्ण देखिन्छ।
अन्तरदेशीय सहभागिता र नेपाली भाषिक समुदायबीचको सम्बन्ध-
सङ्गोष्ठीमा नेपाल र भारतका विभिन्न प्रान्तबाट साहित्यकार, प्राज्ञिक व्यक्तित्व, शोधकर्ताहरूको लोभलाग्दो सहभागिता रहेको थियो । यसका अतिरिक्त गुवाहाटी विश्वविद्यालयका विद्यार्थी अनि प्राध्यापकहरू तथा असमका भाषा, साहित्य, पर्यावरण तथा संस्कृतिसम्बन्धी संस्थाहरूका प्रतिनिधिहरूको पनि बाक्लो उपस्थिति रहेको थियो । विभिन्न क्षेत्रका प्राज्ञ, साहित्यसर्जक तथा अनुसन्धानकर्ताको उत्साही सहभागिताले नेपाली, असमिया र अङ्ग्रेजी भाषाका प्राज्ञिक समुदायबीच अन्तरदेशीय संवाद र अनुभव आदानप्रदानको अवसर पनि जुरेको हो । सङ्गोष्ठीको अन्तरदेशीय महत्त्वलाई असमको ऐतिहासिक नेपाली साहित्यिक परिवेशले थप अर्थपूर्ण बनाएको थियो। लीलबहादुर क्षेत्री र हरिभक्त कटुवालजस्ता स्रष्टाहरूको साहित्यिक योगदानले समृद्ध असमको नेपालीभाषी समुदायले नेपाली साहित्यको विकासमा पुर्याएको योगदान यस अवसरमा स्मरणीय रह्यो ।
पर्यावरणीय विमर्शका दृष्टिले असमको भौगोलिक तथा सांस्कृतिक परिवेश झनै अर्थपूर्ण विशेष महत्वको छ । ब्रह्मपुत्र नदीको विशाल जलप्रवाह, बाढी र वर्षासँग गाँसिएको जनजीवन, वनजङ्गल, जैविक विविधता तथा विविध जातीय समुदायमा विद्यमान परम्परागत प्रकृतिज्ञानले यस क्षेत्रलाई पर्यावरणीय अध्ययनको जीवन्त आधार बनाएका छन्। यस्तो भूगोलमा आयोजित सङ्गोष्ठीले पर्यावरणीय साहित्यलाई सैद्धान्तिक बहसबाट स्थानीय जीवनानुभव र सांस्कृतिक यथार्थसँग जोड्ने अवसर प्रदान गरेको छ । कार्यक्रमको समापन सत्रमा जनकवि केशरी धर्मराज थापाको जीवन, व्यक्तित्व र कृतित्वसम्बन्धी वृत्तचित्र प्रदर्शन तथा व्याख्यान पनि प्रस्तुत गरियो । जनकवि केशरी धर्मराज थापा-सावित्री थापा प्रतिष्ठान, काठमाडौंका अध्यक्ष मदनराज थापा र कुञ्जराज थापाले प्रस्तुत गरेको उक्त कार्यक्रममा नेपाली लोकसङ्गीत, लोकसाहित्य र सांस्कृतिक परम्पराको संरक्षण तथा पुस्तान्तरणका विषयमा चर्चा गरिएको थियो । नेपाली भाषा संस्कृति मञ्चका कार्यकारी उपाध्यक्ष तथा असमका साहित्यकार पुरुषोत्तम उपाध्याय दाहालको अध्यक्षतामा सम्पन्न यस सत्रले सङ्गोष्ठीलाई साहित्यिक विमर्शसँगै सांस्कृतिक स्मृति र लोकपरम्पराको संरक्षणसँग पनि जोडेको थियो।
संस्थागत सहकार्य र भावी अनुसन्धानको सम्भावना-
सङ्गोष्ठीको सफल आयोजनामा प्राज्ञिक संयोजक डा. खगेन शर्माको भूमिका महत्त्वपूर्ण रहेको थियो भने प्रा.दिलिप कलिता, ज्ञानबहादुर क्षेत्री, पुष्पधर शर्मा, पुरुषोत्तम उपाध्याय दाहाल, डा. देवेन सापकोटा, डा. असिम बरागायत सहआयोजक, सहयोगी संस्थाहरूको पनि उल्लेखनीय योगदान रह्यो। सङ्गोष्ठी सम्पन्न भएको साँझ डा. कमल छेत्री र कृष्ण छेत्रीले गुवाहाटीको नेपाली मन्दिर परिसरस्थित होटल सागर रत्नमा सहभागी अतिथिहरूका लागि रात्रिभोजको आयोजना गरे । उक्त भेटघाटले औपचारिक प्राज्ञिक कार्यक्रमभन्दा बाहिर पनि साहित्यिक सम्बन्ध, अनुभव आदानप्रदान र पारस्परिक आत्मीयता विस्तार गर्ने अवसर प्रदान गर्यो।
निष्कर्ष : प्रकृतिको सौन्दर्यवर्णनदेखि अस्तित्वको पक्षधरतातर्फ-
गुवाहाटी विश्वविद्यालयमा सम्पन्न अन्तर्राष्ट्रिय सङ्गोष्ठीले पर्यावरणीय साहित्यको अवधारणा, सैद्धान्तिक आधार र सामाजिक उत्तरदायित्वबारे बहुआयामिक विमर्शको अवसर प्रदान गरेको छ। विभिन्न भाषा, संस्कृति र देशका साहित्यकार, प्राध्यापक तथा अनुसन्धानकर्तालाई साझा पर्यावरणीय सरोकारमा जोड्दै यसले अन्तरभाषिक र अन्तरदेशीय प्राज्ञिक सहकार्यको सम्भावनासमेत उजागर गरेको छ। यस सङ्गोष्ठीबाट प्राप्त महत्त्वपूर्ण वैचारिक निष्कर्ष के हो भने पर्यावरणीय साहित्यको भविष्य प्रकृतिको सौन्दर्यगानमा मात्र निर्भर रहन सक्दैन। यसले प्रकृतिमाथिको अतिक्रमण, स्रोतसाधनको असमान दोहन, पर्यावरणीय अन्याय, जैविक विविधताको विनाश तथा मानव र मानवेत्तर अस्तित्वबीचको सम्बन्धलाई आलोचनात्मक रूपमा सम्बोधन गर्न सक्नुपर्छ। प्रकृतिलाई उपभोगको वस्तु नभई जीवनको साझा आधारका रूपमा स्वीकार गर्ने चेतना निर्माण गर्नु यसको मूल दायित्व हो। साहित्यले मात्रै पर्यावरणीय सङ्कट समाधान गर्न सक्दैन तर यसले त्यसप्रति मानिसको संवेदना, दृष्टिकोण र सामाजिक उत्तरदायित्व परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। त्यसैले साहित्यिक सिर्जना, अनुसन्धान, शैक्षिक विमर्श र व्यावहारिक संरक्षण अभियानबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनु आजको आवश्यकता हो। पर्यावरण संरक्षण सरकारको मात्र जिम्मेवारी नभई नागरिक, शैक्षिक संस्था, साहित्यकार, सांस्कृतिक सङ्गठन र सम्पूर्ण समाजको साझा दायित्व हो भन्ने सन्देश सङ्गोष्ठीले स्थापित गरेको छ।
अन्ततः पर्यासाहित्यको आगामी यात्रा प्रकृतिको सुन्दरता वर्णन गर्ने परम्पराबाट प्रकृतिको अस्तित्व, पर्यावरणीय न्याय र सहअस्तित्वको पक्षमा सक्रिय रूपमा उभिने सिर्जनात्मक तथा आलोचनात्मक अभ्यासतर्फ उन्मुख हुनुपर्छ। जोगाउनुपर्ने कुरा केवल वन, नदी, हिमाल र जैविक विविधता मात्र होइनन्, तीसँग गाँसिएका मानवजीवन, स्थानीय ज्ञान, लोकस्मृति, संस्कृति र सम्पूर्ण पारिस्थितिक सम्बन्धहरू पनि हुन्। यही व्यापक चेतनाको विकास गर्न सके साहित्य मानव सभ्यताको दिगो भविष्य निर्माणमा अर्थपूर्ण बौद्धिक तथा सांस्कृतिक हस्तक्षेप बन्न सक्नेछ। यस अर्थमा गुवाहाटी विश्वविद्यालयमा सम्पन्न उक्त अन्तर्राष्ट्रिय सङ्गोष्ठी पर्यावरणीय साहित्यसम्बन्धी प्राज्ञिक विमर्शलाई अन्तरदेशीय सहकार्य, अनुसन्धान र सामाजिक उत्तरदायित्वसँग जोड्ने महत्त्वपूर्ण पहलका रूपमा स्मरणीय रहनेछ।
सहप्राध्यापक, स्नातकोत्तर नेपाली विभाग, दार्जिलिङ सरकारी महाविद्यालय, दार्जिलिङ ।
(नोटः "पर्यावरणीय साहित्यः वर्तमान र भविष्यका सरोकार" विषयक एक दिवसीय अन्तर्राष्ट्रिय पर्या-साहित्य सङ्गोष्ठी प्रतिवेदन)