समयको गतिसँगै जीवन जति नै परिपक्व र आधुनिक बन्दै गए पनि, मनको एउटा कुना सधैँ ती निश्चल र सुवासिला बाल्यकालका दिनहरूतिर फर्कन आतुर हुन्छ । अभाव र अपर्याप्तताले घेरिएको भए तापनि ती दिनहरूमा एउटा अलौकिक उन्मुक्तता र अद्भूत रोमान्चकता थियो । आज विगतका ती पानाहरू पल्टाउँदा मेरो बाल्यकाल एउटा जीवन्त चित्रझैँ आँखै अगाडि नाचिरहेको छ ।
हजुरबासँग गोठका अविस्मरणीय पलहरू
मेरो बाल्यकालको सबैभन्दा प्रिय संसार मावली हजुरबासँग गोठ बस्नु र चियाने खेतमुनीको पाखा–पखेरामा गाई बाख्रा चराउनु थियो । एकदिन गोठालाको यही क्रममा एउटा हुटिट्याउँ जत्तिकै चञ्चल खसी बथानबाट अचानक हराएपछि साँझ पर्दा हजुरबाको गाली खाने डरले मुटु काँपेको त्यो आतंक अझै पनि ताजै छ । यस्तै घटना भयो अर्को साँझ । मामाको छोरा ठूल्दाइसँग खोला साइडमा पाडाबाछालाई घाँस खोज्न मपनि पछि लाग्नेभएँ । हजुरबाले भन्नुभयो– ‘अलि राम्रो राम्रो र कलिलो खालको घाँस ल्याउनु है बुद्ध ।’ सानामा मलाई बोलाउने नाम ‘बुद्धि’ थियो । हजुरबाले मायाँ गरेर अझै परिष्कृत गरेर भगवानको नामसँग मिलाएर ‘बुद्ध’ भन्नुहुन्थ्यो । हामी राम्रो घाँस खोज्न फुङ खोलाको किनारै किनार अहिलेको मांसेवुङस्थित नाङ्रुङको बरालगाउँको फेदी पुगेछौं । त्यहाँ भर्खरै खेत मासेर अम्लिसो र धुस घाँस लगाएको रहेछ । स साना खनिउ र निवाराका पोथ्राहरु पनि थिए । मावली ठूल्दाई अलि सोझो किसिमको हुनुहुन्थ्यो, म अलि चन्चले र उरन्ठेउलो रहेछु, मैले भने–‘यहाँ यति राम्रो घाँस भेटियो अब कहाँ खोज्दै डुल्ने हो काटौ यही ।’ ठुल्दाइलेपनि शुरु गरिहाल्नुभयो । दाइले त सकेसम्मकै भारी छिनभरमै कस्नुभयो, मैलेपनि कुचो निस्कन लागेको अम्लिसो र खनिउँ, निवारा, गोगनका पोथ्रा जे जे काट्न सक्थँे एकविटो त बनाइहालेँ । हामी खोला तरेर कुलाको डिलैडिल छोटो बाटो गोठतिर फर्किने योजना बनायौं । दाइ अघि अघि, म पछिपछि थिएँ, घाँसको मुठा राम्रो कसिएको रहेनछ । मेरो भारीबाट विचविचमा एक एक वटा अम्लिसोको स्याउला झर्न थालेछ । हामी कसैले देख्ला कि भन्ने त्रासमा हतारिएर हिँडेका थियौं । जेनतेन एकविटो घाँस गोठ पुर्याइयो, तर हजुरबा खुशी हुनुहोला भन्ठानेको त अझ रिसाउनु भयो, ‘हन यो बुद्ध के भएको ? कसको विरुवामा पसेर घाँस चोरर पो ल्याएछ त ? सड्डु.. अब मार्नेभए मान्छेले... ।’ हजुरबाको कुरा नसुनी मैले पाडाबाछाको टाट्नामा घाँस ओइर्याइहाले । त्यो दिन पाडाबाछा त टिमिक्कै अगाए, तर, विहान उज्यालो हुन नपाउँदै घाँसचोरीको आरोपमा ३ जना मान्छे टुप्लुकै गोठमै आइपुगे ।
जताजता घाँसका स्याउला झरेका छन्, उतै पहिल्याउँदै ति मान्छे हाम्रो गोठसम्म आएका रहेछन् । घाँस चोरको प्रमाण पुगिहाल्यो । अनि शुरुभयो लफडा ! विहानभर गाउँले भेला भएर कचडी बस्ने भए, अन्तिममा केही लागेन, माफि माग्दापनि भएन र ठूलामामाले एक ठेकी दही र २५ रुपयाँ पैसा तिर्ने निधो भयो । सहमतिपछि बराल थरका ति घाँसबारीवाला अरु उनका साथीसहित दही र पैसा लिएर फर्किए । यता हजुरबाले सड्डु.. तैले गर्दा दण्ड तिर्नुपर्नेभयो भनेर कराएपछि भागेको त्यो दिनदेखि म गोठमा बसिन । घर फर्किएँ ।
यद्यपि, गोठका ती दिनहरू केवल डरका मात्र थिएनन्, रमाइला पलपनि थिए । माउ गाई ‘मालीगाई’ दुहेर दिउँसोको पारिलो घाममा जंगलको एकान्तमा बाँसको टोकरीमा दुध र सुठुनी हालेर बाँसकै बुझो खाँदेर दूध र सुठुनीको खीर खाँदाको त्यो स्वाद आजका पाँचतारे होटलका परिकारले पनि दिन सक्दैनन् । त्यस्तै, ओखरको रुखमा चढेर माथि पुगेपछि फेरि तल ओर्लन नसकेर रुखको हाँगा समाएर ‘घरडाँडे राई’ दाइलाई गुहार माग्दै जोडले रोएको त्यो बालापनको लाचारी सम्झँदा आज पनि आफैँलाई अचम्म लाग्छ ।
भोका पेटले खोजेका बाटाहरू
स्कुलको टिफिन समयमा साथीहरूले खल्तीबाट पैसा झिकेर बिस्कुट कपाकप खाँदा आफूसँग सुको पैसा नभएर टुलुटुलु हेर्दै र मुखको थुक निलेर बस्नुपरेको विवशताले मन रोए पनि, त्यो अभावले हामीलाई नयाँ–नयाँ खोजको सिर्जना गर्न सिकायो, भद्राक्षे, सिन्कौली र सोउरका बोक्रा झोलामा बोकेर स्कुलमा साथीहरुसँग विस्कुट साटेर खाएका पलहरु अविस्मरणीय लाग्छन् । पुराना कपडाका झुम्रा बटुलेर च्यातिएका मोजामा धागोले बेरेर बनाएको डल्लोलाई फुटबल मानेर पोखरी सुकेका बेलाको चौर र धुले मैदानमा दौडिएको क्षण होस् वा छिमेकी राना मगर मामाले दसैँमा काटेको सुँगुरको मुत्रथैलीलाई राम्ररी धोएर फुलाएर भलिबल बनाइ खेलेको त्यो बाल–रोमान्चकता आज शब्दमा बयान गर्नै असम्भव छ ।
बाको कुटाइको डर, स्कुलको ‘विद्रोह’ र पौडीको रहर
त्यो बाल अवस्थामा अनुशासनका पाठहरू पनि कम कष्टप्रद थिएनन्, एकपटक घाँस काट्न जाँदा अन्जानमा घर छाउन जोगाएको सालिम्मो खर काटेर ल्याएपछि बाले कुट्न खेदाएको डरले घर फर्कन नसकी जंगलमै लुकेर बसेको त्यो साँझ छोरो हराएको हल्ला आमाले ओल्लो पल्लो घरमा सुनाउँदा सुनाउँदै गाउँनै छोरो हराएको सोलोलो हल्ला भएछ । राती दाइको सहाराले घर फर्किएर पनि बाका छेउ नपरी पालीतिरै खाएर उतै सुतियो । यता स्कुलमा साथीहरूसँग झगडा परेर गुरुले सजाय स्वरूप केटीहरूको सिटको बीचमा राखिदिँदा त्यसलाई आफ्नो आत्मसम्मानमा ठेस पुगेको महसुसले ‘विद्रोह’ गरेर कतिदिन त स्कूल नै पो गइएनछ । एकदिन त पढाइको सुगा रटाईबाट वाक्क भएर स्कुलबाटै भागेर दिउँसोको घाममा खोलामा पौडी खेल्न भनेर तीनचार भाइ भागेर खोला गएका थियौं । पानी सर्किएर एउटा साथी झण्डै वितेको । सबै मिलेर उचालेर उसको पेट थिचिदिएपछि पानी ओकलाए पछि बल्ल होसमा आएको थियो । र पनि पौडी नखेली घर फकिएनौं । खुट्टाले पानी उच्छिट्याएर बिताएका ती स्वतन्त्र पलहरू बालापनका अमूल्य सम्पदा जस्तो लाग्छ ।
आज यी सारा स्मृतिहरूलाई समेटेर हेर्दा लाग्छ, जीवनमा भौतिक सुखसुविधा जति नै बढे पनि बाल्यकालको त्यो माटोको सुवास र निर्दोष चञ्चलता कहिल्यै फर्केर आउँदैन । ती अभाव, आँसु, डर र खुसीका मिसावटले नै मेरो जीवनलाई यो सुन्दर आकार दिएका होलान भन्ने सम्झिएर चित्त बुझ्छ ।
कुखुरा खाएर जात फ्ँयाकेको समय
सानामा घरमा ठूलाठूला मान्छेहरूले ‘कुखुरा खानु हुँदैन, जात जान्छ, पाप लाग्छ’ भनेर कतिपय जात वा परिवारमा बन्देज लगाएका कुराहरू कानमा गुञ्जिरहन्थे । हाम्रोमा पनि तेस्तै थियो । कुखुरा खाए बाहुनको जात जान्छ भन्थे । तर बाल्यकालको त्यो विद्रोही मन र कौतूहलताले कहाँ छेक्थ्यो र ? बुबा, हजुरआमा र फुपू (माल्दिदी) आमैहरूको त्यो कडा नियमलाई तोड्दै छिमेकी गुरुभक्त काकाको सुनसान ग्वाली (गोठ) लाई हामीले गोप्य अड्डा बनायौं ।
पाँच–छ भाइ मिल्ने साथीहरू जम्मा हुन्थ्यौं । कसले कहाँबाट कुखुराको जोहो ग¥यो, त्यो अहिले पनि रहस्य नै छ । ग्वालीको कुना, जहाँ भैसीलाइ खोले पकाइन्थ्यो, त्यहीं एउटा कालो कराइ तताइयो । घरलान गोठमा जोगाएर राखिएको शुद्ध हर्पेको नौनीघिउ हालियो । जब नौनीघिउमा कुखुराको मासु पाक्न थाल्यो, त्यसको बास्नाले हाम्रो मासुप्रतिको भोकलाई झन् बढाएर लान्थ्यो । कसैले बाहिरबाट पहरा दिइरहेका हुन्थ्यौं भने हामीभित्र मुटुमा डर र ओठमा हाँसो बोकेर ‘जात जाए जाओस्, आज स्वाद छाड्नु हुँदैन’ भन्दै त्यो मासु तानातान गर्दै खान्थ्यौं । रापिलो भुङ्ग्रोमा पोलेका कुखुराका फिला र त्यो चोरी–छिपी खाएको कुखुराको मासुको स्वाद जीवनभर जिब्रोमा झुन्डिइरहेको छ । हामीले जतिरात कुखुरा खायौं यी सबै पक्षको कमाण्ड भाइ बालकृष्णले गरेको थियो । सानामा बालकृष्ण पनि बहुत रमाइलो गर्न खोज्ने पात्र हुन्जस्तो लाग्छ अहिले सम्झिँदा ।
जुनको उज्यालोमा धान –पराल दाइँ र भूतका कथा
पुष माघको त्यो कुहिरो लाग्न थालेको चिसो रात, आकाशमा टलक्क टल्किएको जून र गाउँभरका युवाहरू एक ठाउँमा जम्मा भएर धान दाइँ गरेको त्यो उमंगमय रात ! गाउँमा धान थ्रेसिङ गर्ने आधुनिक मेसिन नभएको त्यो जमानामा गोरु घुमाएर वा मान्छेहरू नै मिलेर धान –पराल दाइँ गर्ने चलन थियो ।
रातारात गाउँका दाजुभाइ र साथीहरू खलामा भेला हुन्थ्यौं । कतै कतै गोरुहरू गोलबन्द घुमिरहन्थे, मान्छेले मुठा बाँध्ने र पछार्ने काम गरिन्थ्यो । तर सबै खेतहरुमा गोरु घुमाउने सुविधापनि थिएन । हामी पराल पल्टाउँदै पालो पालो पछार्ने काम गथ्र्यौं । कामको समयमा स्थानीय लोकल कालो चियासँग मिश्रीका ससाना डल्ला चपाउने चलन थियो । हामीपनि कालो चिया बहुत खान्थ्यौं । कामको थकान मेटाउन कोही बीचमा गएर डरलाग्दा भूतका कथाहरू सुनाउन थाल्थे । कतै मध्य रातमा राँके भूत भेटिन्थो रे । कतै चियाने डाँडामा मसानको बजार...। ‘त्यो चौतारीमा राति एक्लै हिँड्दा यस्तो भएको थियो...कहिले कालो मखुण्डो भिरेको काले मसान त कहिले पूर्ण कदको सेतो भूतले खेदेका दन्ते कथा पालो पालो सुन्दा बढो खुल्दुली पनि लाग्थ्यो’ कथा सुन्दै, डराउँदै, अनि फेरि हाँस्दै काम चल्थ्यो । रातीको काममा भोकलागे खलाकै आडमा स्कूसका डल्ला उसिनेर भोक मेटाउने समय कम ओझिलो थिएन । त्यो जुनको उज्यालोमा पसिनाले भिज्दै, साथीहरूको काँधमा काँध मिलाएर धान दाइँ गरेको रात केवल काम मात्र थिएन, त्यो त युवाहरूबीचको एकता र अर्म पर्मको सारथी गाथा पनि थियो ।
जन्ती गएर केराउबारीमा विताएको रात
गाउँमा कसैको रात्रीकालिन बिहे पर्दा जन्ती जानुको बेग्लै रमाइलो हुन्थ्यो, अझ त्यसमाथि रातको समयमा हुने ‘मस्ती’ त शब्दमा वर्णन गर्नै सकिन्न । बाजागाजा र नाचगानसहित पुगेको जन्तीमा युवा टोलीको मुख्य ध्यान भनेको खानाको तारतम्य मिलाउनु वा बेहुली पक्षसँग लुकिछिपी रमाइलो गर्नु हुन्थ्यो । त्यो जाडोको महिनामा किसानका खेतमा लटरम्म फलेका केराउ र मटरका हरिया कोशा चोर्नुको मज्जा नै बेग्लै थियो । कसैले थाहा पाउलान् कि भनेर लुकिछिपी बोटबाट कोशा टिप्दै, कमिज भराएर, अनि रातको अन्धकारमा लुक्दै खाएको त्यो मटरको स्वाद आजसम्म कुनै महँगो होटलको परिकारमा पनि भेटिएको छैन ।
काली ज्यामिर र आरु खान भागेका दिन
गाउँको साझा पँधेरोमा पानी लिन जाँदा बाटैमा लटरम्म फलेका काली ज्यामिर र अमलाको रुखले चन्चले नजरलाई तानिसकेको हुन्थ्यो । घरको गाग्री पँधेरामै अलपत्र छाडेर अमलाको रुखमा बाँदरझैँ उक्लिने त्यो उरन्ठेउलोपन आज पनि ओठमा मुस्कान ल्याउन पर्याप्त छ । माथिबाट अमला झार्दा–झार्दै पाखुराभरि कमिलाले टोकेर रुँदै घर फर्किएर पनि आमाका अगाडी त्यही अमिलो ज्यामिर नुनमा चोबेर खाँदाको त्यो अमिलो स्वादले सारा दुखाई बिर्साइदिन्थ्यो । जिब्रोको त्यो लापर्बाही र आनन्द आजको कृत्रिम दुनियाँमा कहाँ पाउनु र !
बलेँसीको भलमा कागजको डुंगा
असार–साउनको मुसलधारे झरीमा निथु्रक्क भिजेको मुसो झै भएर स्कुलबाट घर फर्कंदाको रोमान्चकता नै बेग्लै हुन्थ्यो । बाटोमा जमेको हिलो पानीको भलमा पुराना कापीका पाना च्यातेर रङ्गीचङ्गी कागजका डुंगाहरू तैराउर्दै, ‘मेरो डुङ्गा छिटो पुग्छ कि तेरो ?’ भन्दै साथीहरूसँग तात्तातो बाजी थापेको त्यो बाल–जिज्ञासा मानसपटलमा अझै जीवन्त छ । बर्सातको हिलोमै चिप्लिँदै, रुझ्दै र डुंगासँगै आफ्ना बाल–सपनाहरूलाई पनि बगाउँदै गरेको त्यो स्वच्छ प्रतिस्पर्धा जीवनको सबैभन्दा सुन्दर र निष्कलंक नाटक जस्तै लाग्छ ।
आज यी सारा स्मृतिहरूलाई समेटेर पछाडि फर्किएर हेर्दा लाग्छ– जीवनमा भौतिक सुखसुविधा र आधुनिकता जति नै बढे पनि बाल्यकालको त्यो माटोको सुवास, अनकन्टार गोठको न्यानोपन र निर्दोष चञ्चलता कहिल्यै फर्केर आउँदैन । ती अभाव, आँसु, डर र खुसीका अनगिन्ती मिसावटले नै मेरो वर्तमान जीवनलाई आज यो सुन्दर आकार दिएका हुन् । समयले हामीलाई परिपक्व र व्यस्त बनाइदिए पनि, मनको कुनामा सधैँ ती सुवासिला दिनहरू बाँचिरहनेछन् र शायद, यही बाल्यकाल नै हामी सबैको जीवनको सबैभन्दा अमूल्य र साँचो पूँजी हो ।
दमक, झापा ।