19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रगतिवादी दृष्टिमा ‘यो देशको सबैभन्दा ठूलो मुर्दाघर हो सिंहदरबार’ कविता सङ्ग्रह

कृति/समीक्षा नारायण मरासिनी November 9, 2026, 4:50 pm
नारायण मरासिनी
नारायण मरासिनी

१. विषय प्रवेशः
साहित्य र समाजको सम्बन्ध अन्योन्याश्रित र द्वन्द्वात्मक हुन्छ । प्रगतिवादी दृष्टिमा साहित्य केवल कोरा कल्पना, व्यक्तिगत भावनाको उद्वेग र मनोरन्जनको साधन मात्र होइन; यो त युगीन यथार्थको वस्तुपरक प्रतिबिम्बन र सामाजिक–राजनीतिक परिवर्तनका लागि दह्रो हतियार हो । साहित्य वर्गसङ्घर्षको वैचारिक अभिव्यक्ति हो । यसले समाजमा फैलिएको वर्गविभेद, आर्थिक शोषण, सामाजिक उत्पीडन र असमानतालाई नङ्ग्याउँदै श्रमजीवी वर्गको पक्षमा क्रान्तिकारी चेतनाको निर्माण गर्नुपर्छ । समकालीन नेपाली काव्यको फाँटमा प्रगतिवादी धारा सशक्त रूपमा स्थापित छ । यही प्रगतिवादी परम्परा र क्रान्तिकारी चेतना बोकेर नेपाली नेपाली कविताका फाँटमा निरन्तर क्रियाशील र प्रतिबद्ध प्रतिभाका रूपमा देखापरेका कवि हुन्— अनिल श्रेष्ठ ।
अनिल श्रेष्ठ मूलतः विचार, विद्रोह र श्रमजीवी वर्गको पक्षमा कलम चलाउने कवि हुन् । यिनी वर्गपक्षधरतालाई आफ्नो काव्यिक मूलमन्त्र मान्ने प्रगतिवादी कवि हुन् । यिनको ‘यो देशको सबैभन्दा ठूलो मुर्दाघर हो सिंहदरबार’ (वि.सं. २०८३) समकालीन नेपाली समाज, राजनीति, शासकहरूको स्खलन र भूमण्डलीकृत दलाल पूँजीवादमाथि प्रहार गरिएको वैचारिक कविता सङ्ग्रह हो । जम्मा ६६ वटा छोटा–लामा कविताहरू सङ्गृहीत यस सङ्ग्रहले नेपालको समकालीन सामाजिक–राजनीतिक यथार्थ, शासकहरूको सत्तालोलुप चरित्र, सर्वहारा वर्गको दयनीय अवस्था, जनयुद्धपछिको वैचारिक विचलन, साम्राज्यवादको विस्तार र मानवीय मूल्यको विघटनलाई मर्मस्पर्शी ढङ्गले प्रस्तुत गरेको छ ।
प्रगतिवादी कोणबाट हेर्दा यस सङ्ग्रहले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी जीवनदृष्टिलाई आफ्नो मूल आधार बनाएको छ । सङ्गृहीत कविताहरूमा विद्यमान शोषणकारी संरचनालाई ढालेर नयाँ, समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्ने क्रान्तिकारी आशावाद र विद्रोहको स्वर गुन्जिएको छ । कविले हाम्रो देशको राजनीतिक शक्तिकेन्द्र मानिने ‘सिंहदरबार’ लाई श्रमजीवी जनताको सपनाको हत्या गर्ने, संवेदनाहीन र चेतनाशून्य मुर्दाघरको रूपमा परिभाषित गरेर राजनीतिक सत्ताको मुकुण्डो उतारिदिएका छन् । यस लेखमा अनिल श्रेष्ठको उपर्युक्त कविता सङ्ग्रहलाई प्रगतिवादी सिद्धान्तका आधारमा विश्लेषणको प्रयत्न गरिएको छ ।
२. श्रमजीवी वर्गको पक्षधरता र वर्गसङ्घर्षः
मार्क्सवादी सिद्धान्तको मुख्य चुरो भनेकै वर्गसङ्घर्ष र सर्वहारा वर्गको पक्षधरता हो । साहित्यले कुन वर्गको हित गर्छ र कसको पक्षमा बोल्छ भन्ने प्रश्न नै प्रगतिवादी साहित्यमा बढी महत्वपूर्ण हुन्छ । अनिल श्रेष्ठका कविताहरू स्पष्ट रूपमा श्रमजीवी, सर्वहारा, भूमिहीन, सुकुम्बासी, मजदुर र सीमान्तकृत वर्गको पक्षमा सिर्जित छन् । कविले ठूलाठूला महलमा बस्ने शोषक, नोकरशाह र दलाल वर्गको निष्ठुरीपनका विरुद्ध सडकमा ठेलागाडा गुडाउने, दिनभरि खेतबारीमा पसिना बगाउने र नाङ्गो ठिहीमा जाडाले कठाङ्ग्रिने श्रमजीवी जनताको कारुणिक यथार्थलाई काव्यको केन्द्रीय विषयका रुपमा संयोजन गरेका छन् ।
सङ्ग्रहको शीर्षक जुराइएको कविता ‘यो देशको सबैभन्दा ठुलो मुर्दाघर हो सिंहदरबार’ मा कवि अनिलले श्रमजीवी वर्गको अभाव, गरिबी र राज्यद्वारा गरिएको चरम उपेक्षालाई यसरी उजागर गरेका छन्;
आधा अङ्गालो बाल्ने दाउरा
आधा किलो चामल
आधा किलो आलु
आधा किलो दाल,
आधा पाउच तेल
आधा पसर नुन
पानी ?
भो त्यो चाहिएन
हामीसँगै आँसुहरू प्रशस्त छन्
त्यसैबाट यो एक छाक
जाउलो उमालौँला...
यो देशको सबैभन्दा ठूलो
मुर्दाघर हो–
सिंहदरबार ।
यी पङ्क्तिहरू माार्फत कविले श्रमजीवी वर्गको दैनिकीमा देखापरेका चरम अभाव र गरिबीको कारुणिक चित्र उतारेका छन् । राज्यको ढुकुटी र शक्ति कब्जा गरेर बसेका शासकहरू ऐसआराममा मग्न रहँदा जनता भने आधा किलो चामल र आधा पाउच तेलका लागि तड्पिनुपरेको छ । श्रमजीवी वर्ग आफ्ना आँसु र पसिनाबाटै जिउने तागत राख्छ भन्ने मार्क्सवादी आत्मसम्मानको भाव पनि यहाँ यी पङ्क्तिमा अभिव्यक्त छ ।
त्यस्तै, ‘अश्रुसिक्त घाम’ कवितामा शहरको सडकमा ठेलागाडी चलाएर आफ्नो र बालबच्चाको पेट पाल्न सङ्घर्ष गरिरहेकी एक गरिब बूढी आमामाथि नगर प्रहरी र राज्यसत्ताले गरेको बर्बरताको चित्रण छः
सडकको एउटा पेटीबाट
आफ्नो खोसिएको
ठेलागाडा बोकेर
पर पुगेको
नगरपालिकाको गाडीतिर
अश्रुसिक्त
आँखा दौडाउँदै
ती बूढी आमैले भनिन्–
म यो गरिब बूढीलाई तिमीहरूले
लात्ती हिर्काएर
हिँडेको त म सहुँला
तर तिमी
सरकारमा बस्नेका
छोराछोरीहरूले
मेरा केटाकेटीहरूले झैँ
कहिल्यै भोकै नपरून्
सधैँ अघाऊन्
... ...
तिमीहरूले मलाई
लात्ती हिर्काएर गए पनि
मेरा केटाकेटीहरू
भोकले रुँदै गरे पनि
मैले कहिल्यै तिमीहरूका
छोराछोरीहरू भोकै रहून्
भनेर गाली गरिनँ...
एउटी आमा
कसरी विवेकहीन हुन सक्छे ?
तिमीहरू झैँ
म कहिल्यै
अविवेकी हुन सकिनँ ।
यस कविताले पूँजीवादी र दलाल राज्यसत्ता कसरी श्रमजीवी गरिबहरूप्रति निर्दयी, क्रूर र कठोर बन्छ भन्ने कुरालाई छर्लङ्ग पारेको छ । कवितामा सडकका साना व्यापारी र श्रमजीवीलाई लात्तीले हान्ने राज्यसत्ताको विवेकहीनताका अगाडि एउटी श्रमजीवी बूढी आमाको मानवीय चेतना र भाइचारा कति उच्च छ भन्ने कुराको द्वन्द्वात्मक तुलना गरिएको छ ।
यसै गरी, ‘छिनेको चप्पल’ पनि वैचारिक रूपमा शक्तिशाली कविता हो । यस कवितामा कविले विगतमा सर्वहारा वर्गको मुक्तिका लागि सँगै क्रान्तिमा होमिएका, एउटै चप्पल र गाढा सम्बन्ध बाँडेका कमरेडहरूले सत्तामा पुगेपछि कसरी उपल्लो वर्गमा रुपान्तरित भएर सर्वहारा वर्गलाई धोका दिए भन्ने तीतो यथार्थलाई प्रस्तुत गरेका छन्ः
सपनामै मलाई याद आयो मलाई छाडेर
कमरेड डा. बाबुराम भट्टराईको निकै अघि हिँडिरहेको
खुट्टाको चप्पल
... ...
मेरा धेरै सहयात्री कमरेडहरू
यसै गरी लगाएर हिँड्थे
खुट्टाको चप्पल
आजकल उनीहरू
महलमा बस्छन्
मलाई फेरि
सम्झना भो’ आफ्नै छिनेको चप्पल
उपर्युक्त कवितांशमा नेपाली क्रान्तिको ऐतिहासिक विचलन प्रतिबिम्बित छ । हिजो खुट्टामा छिनेको चप्पल लगाएर जनयुद्धमा हिँडेका एकथरी कमरेडहरू आज पूँजीवादी चिन्तन, भव्य प्रासाद र सत्ताको विलासितामा लीन भएका छन् भने अर्काथरी क्रान्तिका निष्ठावान् सिपाही र सर्वहारा जनता भने अझै पनि त्यही छिनेको चप्पल बोकेर सडकमा भौँतारिन बाध्य छन् । यस कवितामा क्रान्तिपछि बनेका नयाँ शासक वर्गको बुर्जुवाकरणमाथि व्यङ्ग्य गरिएको छ ।
प्राकृतिक विपत्ति र ग्रामीण गरिबीको द्वन्द्वलाई दर्साउँदै ‘पहिरोमा बा’को तस्बिर’ कवितामा कवि लेख्छन्ः
पहिरोमा एकदिन
घरसँगै
उसको बा बग्यो
...
सधैँ
उसको आँखामा
खेलिरह्यो
पहिरोले बगाइरहेको
बा’को तस्बिर
यहाँ बाढीपहिरो र प्राकृतिक प्रकोपबाट विनाश हुने पनि गरिब र सुकुम्बासीकै बस्ती हो भन्ने यथार्थलाई प्रस्तुत गरिएको छ । त्यस्तै ‘सुकुम्बासी’ कवितामा स्कुलबाट फर्केकी छोरीले नेपालको नक्सामा आफ्नो घर खोज्दा आमाले “हामी बेघर मान्छेको \ देशको यो नक्साभित्र कुनै घर हुन्न नानू” भन्दा व्यक्त हुने शून्यताले राज्यविहीन सर्वहाराको दारुण कथा बोलेको छ । ‘दलिनको घाम’, ‘अगेनुको राप’ र ‘दैनिकी’ जस्ता कविताहरूमा पनि सुकुम्बासी बस्तीमाथि राज्यको डोजर, जग्गा दलालहरूले सोझा किसानको घरबारी हडपेको दृश्य र श्रमजीवी जनताको बिहानदेखि बेलुकासम्मको अन्तहीन सङ्घर्षको जीवन्त चित्र उतारिएको छ ।
३. सिंहदरबारको विघटनकारी स्वरूप, शासकीय सत्ता र राज्यव्यवस्थाः
मार्क्सवादका अनुसार राज्यसत्ता एक वर्गले अर्को वर्गमाथि शासन र दमन गर्ने औजार हो । पूँजीवादी राज्यसत्ताले न्याय, प्रजातन्त्र र लोकतन्त्रका सुन्दर नारा त दिन्छ तर व्यवहारमा यो दलाल, नोकरशाह र पूँजीपति वर्गको हितरक्षक मात्र हुन्छ । कवि अनिल श्रेष्ठले नेपालको वर्तमान राजनीतिक सत्ता, त्यसको केन्द्रविन्दु ‘सिंहदरबार’ र सिङ्गो राज्यप्रणालीको विकृत तथा विघटनकारी स्वरूपमाथि वैचारिक आक्रमण गरेका छन् ।
सङ्ग्रहको शीर्षक नै ‘यो देशको सबैभन्दा ठूलो मुर्दाघर हो सिंहदरबार’ राखिनु आफैमा पनि शासकीय सत्ताप्रतिको तीव्र घृणा र विद्रोह हो । सिंहदरबार जहाँ देशका नीति–नियम बन्छन्, जहाँबाट जनताका आँसु पुछिनुपर्ने हो, त्यो ठाउँ जनताका लागि केवल एउटा संवेदनाहीन, प्राणहीन र लाशहरू राखिने ‘मुर्दाघर’ मा परिणत छः
त्यो बिजुलीबत्ती
त्यो चुल्हो बाल्ने ग्यास
त्यो गाडी गुड्ने इन्धन
त्यो पूर्णिमाको जून
... ......
लैजाऊ, ती सबै राहतमा
ऊ त्यो मुर्दाघरलाई नै चाहिन्छ,
चाहिँदैन हामीलाई...
यो देशको सबैभन्दा ठूलो मुर्दाघर हो सिंहदरबार ।
कविको दृष्टिमा सिंहदरबारभित्र बस्ने शासकहरू जीवित छैनन्, तिनीहरू त चेतना र संवेदनाशून्य लाशहरू जस्तै छन् । त्यसैले तिनीहरूलाई नै उज्यालो, ग्यास, इन्धन र राहतको खाँचो छ; जनतालाई त केवल तिनीहरूको दमनबाट मुक्ति आवश्यक छ ।
‘देश’ कवितामा कविले वर्तमानमा हाम्रो देशलाई दलाल, ठेकेदार र तस्करहरूले कसरी लिलाम गरिरहेका छन् भन्ने निर्भीक सत्य उजागर गरेका छन्ः
कहिले
दलालहरूका
गोजीभित्र उपेक्षापूर्वक
किचिएको छ
कहिले
ठेकेदारहरूको कोटेशनमा
बेढङ्गले थिचिएको छ
कहिले
तस्करहरूका
हातहरूले बेस्सरी
मिचिएको छ
सधैँ
दलाल,
ठेकेदार
र तस्करहरूले
चलाइरहेको सरकारको
कार्यसूचीहरू बोकेर
हिँडिरहेको छ
देश ।
मार्क्सवादी राजनीतिक अर्थशास्त्रले भनेझैँ दलाल पूँजीवादले राज्यका सम्पूर्ण अङ्गहरू कब्जा गर्दा देश कसरी नीतिगत भ्रष्टाचारी, ठेकेदार र तस्करहरूको क्रीडास्थल बन्छ भन्ने कुरालाई यस कविताले पुष्टि गरेको छ ।
त्यस्तै, ‘ब्राण्ड एम्बेसेडर सत्ता’ कवितामा कविले राज्यसत्तालाई कण्डमको व्यापार गर्ने निर्लज्ज चटकेसँग तुलना गर्दै उपभोक्तावादी र अनैतिक सत्ताको कुरूप अनुहार देखाइदिएका छन्ः
खल्तीबाट निकालेर प्लेजरेबल कण्डम
ती व्यापारीहरूले हामीलाई
हात–हातमा बाँडिरहेका छन्
सुनौला सपनाहरू
... ...
हम्रा छायाहरूलाई कुल्चिएर
क्सरी मुस्कुराइरहेका छन्
ती कण्डम व्यापारीहरू
निर्लज्ज
र कसरी कण्डमको
ब्राण्ड एम्बेसेडर बनेको छ यो सत्ता ?
राज्यसत्ता जब जनताको गास, बास, कपास, शिक्षा र स्वास्थ्य जस्ता मौलिक अधिकार पूरा गर्न असक्षम हुन्छ तब यसले जनताका मस्तिष्कलाई भुत्ते बनाउन रङ्गीन भ्रम र अश्लील उपभोक्तावादको प्रचार गर्छ भन्ने कुरा उपर्युक्त बिम्बमार्फत प्रस्तुत छ ।
न्यायप्रणालीको स्खलनलाई उजागर गर्दै ‘गुलुबको उज्यालो’ कवितामा कविले न्यायालयलाई जुवाको खाल वा मल्लयुद्ध हुने मैदानको रूपमा चित्रण गरेका छन्ः
न्यायालयको
मुख्य प्रवेशद्वारमा
घरि निभ्दै
र बल्दै गरेको
रातो र पहेँलो गुलुबको उज्यालो
फैलिरहेको छ माइतीघर मण्डलासम्म
... ...
गुलुबको उज्यालामा
खस्दै गइरहेको छ सिंहदरबारको साँझ
र बार एसोसिएसनको सडकहरूमा
निस्फिक्रीसँग खेलिरहेका छन्
चमेराहरू
... ...
माइतीघर मण्डलामा उभिएर
यो गुलुबको उज्यालामा
तपाईं र म पनि
एउटा बेटिङ लगाऊँ
यहाँ न्याय बिक्रीमा राखिएको छ जहाँ माइतीघरमा न्याय माग्न आउने पीडित नागरिकहरू त्रस्त छन् भने न्यायालयभित्र चमेरारूपी दलालहरू घिनलाग्दा खेलहरू खेलिरहेका छन् ।
यस्तै ‘एउटा अप्रिय साँझ’, ‘सन्त्रस्त टोल’, ‘ओ ! शासकहरू’, ‘सालिक’, ‘हिउँको गुइँठा’ र ‘कृष्ण कहो भन् पट्टु’ जस्ता कवितामा संसद्भित्र हुने निरर्थक र अप्राकृतिक अट्टहास, मूर्ति ढलाउने तर सत्ता नफेर्ने राजनीतिक नौटङ्की र शासकहरूले नागरिकलाई पिँजडाको सुगा जस्तै ‘कृष्ण कहो’ भन्न लगाएर वैचारिक रूपमा पाल्तु बनाउन खोजेको प्रवृत्तिको प्रस्तुति छ । ‘बाँस’ कवितामा राज्यसत्ताले नागरिकलाई कहिले बाँसुरी, कहिले लौरो, कहिले अगेनुको दाउरा त कहिले लास बोक्ने अर्थी बनाएर स्वेच्छाचारी प्रयोग गरिरहेको यथार्थ छ ।
४. युद्ध, साम्राज्यवाद र भूमण्डलीकृत पूँजीवादको विरोधः
साम्राज्यवादी शक्तिहरूले विश्वभरि एकाधिकार पूँजीवादको विस्तार गर्न युद्ध, हातहतियारको होडबाजी, सैन्य हस्तक्षेप र प्राकृतिक स्रोतसाधनको दोहन गरेका छन् । कवि अनिल श्रेष्ठका कविताहरूमा केवल नेपालभित्रको आन्तरिक शोषण र राजनीतिक विकृतिविरुद्ध मात्र होइन, अन्तर्राष्ट्रिय साम्राज्यवाद, विस्तारवाद र युद्धले उन्मत्त शक्तिहरूका विरुद्ध पनि आवाज छ । ‘ओ ! अमेरिकी बड्डा’ कवितामा कविले अमेरिकी साम्राज्यवादको दम्भ, साम्राज्यवादी शासकको सनक, तिनीहरुको सैन्यवादी नीति र हतियारको व्यापारमाथि दह्रोसँग प्रहार गरेका छन्ः
तिम्रा हतियार
सधैँ अरूका निम्ति पड्किन्छ भन्ने हुन्न
ओ ! अमेरिकी बड्डा
कहिलेकाहीँ
तिम्रा आफ्नै हतियार
तिमी आफूसँगै पड्किन सक्छ
हतियार हो
हतियारले को आफ्नो, को पराइ चिन्दैन
ओ ! बड्डा, हतियारसँग धेरै नखेल ।
प्रस्तुत साक्ष्यमा साम्राज्यवादी शक्तिहरूले अरू देशमा विनाश फैलाउन उत्पादन गरेका हतियारहरू अन्ततः तिनकै लागि आत्मघाती बन्न सक्छन् भन्ने चेतावनी छ । यसमा भूपरिवेष्ठित र साना राष्ट्रहरूमाथि साम्राज्यवादी हस्तक्षेपविरुद्धको स्वाभिमानी चेतना छ ।
यसै गरी ‘गाजाका नानीहरू’ कवितामा कविले मध्यपूर्वमा अमेरिकी साम्राज्यवाद र इजरायली विस्तारवादद्वारा गाजाका निर्दोष बालबालिकामाथि गरिएको नरसंहार र युद्ध अपराधप्रति गहिरो सहानुभूति प्रकट गरेका छन्ः
तिम्रो युद्धले भत्काएको
गजाको आकाशलाई नियालिरहेका
ऊ ती बेघरबार
र, आफन्त गुमाएका
नानीहरूलाई हेर
भोकभन्दा बढी
अहिले तिनीहरूका आँखाले
कसरी तिमीहरूप्रति
घृणाको आगो ओकलिरहेका छन् !
ओ ! युद्धका सम्राटहरू
तिम्रा युद्धहरूभन्दा
खतरनाक हुन्छ तिनीहरूका आँखाले
ओकलिरहेको घृणाको आगो ।
युद्धपिपासु साम्राज्यवादी सम्राटहरूलाई सचेत गराउनमा यो साक्ष्य बलशाली छ । युद्धले घरबारविहीन र अनाथ बनाएका गाजाका बालबालिकाका आँखामा बलेको घृणाको आगो नै भोलि साम्राज्यवादीहरूलाई भस्म पार्ने क्रान्तिको ज्वाला बन्नेछ भन्नेमा कविको दृढ विश्वास छ ।
यसरी नै ‘युद्ध’ कवितामा कविले पूँजीवादी व्यवस्थामा युद्धलाई कसरी मानव जीवन र रगतको सेयर बजार बनाइन्छ भन्ने आर्थिक–राजनीतिक सत्यलाई प्रस्तुत गरेका छन्ः
युद्ध व्यापार हो
साम्राज्यवादीहरू
युद्धको व्यापार गरिरहन्छन्
र युद्धमा निहत्थाहरू
मारिइन्छन्
युद्ध विनिमय हो
साम्राज्यवादीहरू
युद्धमा मान्छेको मूल्य साटिरहन्छन्
र, रगतको धितोपत्र जारी गरिरहन्छन्
युद्ध सेयरबजार हो
सेयरबजारमा
अहिले सबैभन्दा सस्तोमा छ
मान्छेको मूल्यको सेयर भाउ ।
मार्क्सवादी विचारअनुसार पूँजीवादले मानवीय संवेदना र जीवनलाई समेत बजारको मालमा परिणत गरिदिन्छ । ‘दुःखको वर्णमाला’, ‘दुःस्वप्न’ र ‘अगेनुको राप’ जस्ता कवितामा भूमण्डलीकरण र अन्धाधुन्ध पूँजीवादी विकासले गाउँका चौतारा, रोधी, मौलिक संस्कृति, पर्यावरण र प्राकृतिक जलस्रोतलाई कसरी विनाश गरिरहेको छ भन्ने कुराको आलोचनात्मक चेत छ । यी कवितामा साम्राज्यवादविरोधी चेतना प्रबल छ ।
५. शैक्षिक–सांस्कृतिक स्खलन, सामाजिक विकृति र लैङ्गिक विभेदविरोधी स्वरः
अनिलका कवितामा समकालीन नेपाली समाजमा व्याप्त बौद्धिक–प्राज्ञिक स्खलन, बजारिया अध्यात्मको ढोंग र पितृसत्तात्मक लैङ्गिक विभेदमाथि प्रहार छ । समाजका बुद्धिजीवी र प्राज्ञहरू जब राज्यसत्ताको चाकरीबाज वा चाटुकार बन्छन् र आफ्ना निष्ठालाई लिलाम गर्छन् तब समाज वैचारिक रूपमा भुत्तो बन्न पुग्छ । ‘बुद्धिजीवी’ कवितामा कविले सत्ताको दलाली गर्ने विकृत बुद्धिजीवीहरूको चरित्रलाई यसरी नङ्ग्याएका छन्ः
आऊ
मेरो मस्तिष्कलाई
सम्भोग गर
मेरो मस्तिष्कसँग
तिमीलाई निस्फिक्री
खेल्न छुट छ
म तिम्रो सत्ताका
अवैध भ्रुणहरूलाई
जन्म दिइरहन्छु
म यो राज्यको
एक निकृष्ट बुद्धिजीवी हुँ
म लिलाममा छु ।
यहाँ राज्यसत्ताको प्रलोभनमा परेर आफ्नो विवेक र इमान बेच्ने शासकका हनुमान र हनुमानहरूका पनि हनुमान बुद्धिजीवीहरूमाथि व्यङ्ग्य छ ।
‘गुरु ब्रह्मा’ कवितामा शैक्षिक क्षेत्रमा देखापरेको नैतिक र वैचारिक स्खलनलाई देखाउँदै रातभरि भट्टीमा बसेर मदिरापान गर्ने र भोलिपल्ट विश्वविद्यालयमा छिरेर विद्यार्थीलाई ‘एकलव्य’ को पाठ पढाउने ढोंगी प्राध्यापकहरूको आन्द्राभुँडी निकालिएको छ । ‘एक पफ कविता’ मा बुर्जुवा, चाटुकार तथा चम्चा कविहरूले शासकलाई खुसी पार्न लेख्ने खोक्रा कविताहरूमाथि व्यङ्ग्य छ । ‘निधारको टीका’ कविता सामाजिक–सांस्कृतिक र लैङ्गिक विभेदको विषयमा छ । यस कवितामा कविले पितृसत्तात्मक समाजले महिलाको वैवाहिक स्थितिअनुसार रातो र कालो टीकाको विभेद थोपरेर उनीहरूको जीवनलाई नियन्त्रण गर्न खोजेको परम्परामाथि औँला ठड्याएका छन्ः
‘तिम्रो निधारमा
सधैँ यो कालो टीका
किन कान्छु ?’
कालो टीका अविवाहित
र रातो टीका विवाहितले मात्र लगाउँछन्
अहँ, मलाई यो कहिल्यै
थाहा थिएन
... ...
अहो छोरी मान्छेहरूले
निधारमा लाउने टीकाको रङमा पनि
कसले ल्याइदियो यो विभेद ?
र, कसरी उनीहरूको मनमा
अप्रकट रूपमा लुकेर बस्छन् यस्ता
विश्वासहरू ?
उपर्युक्त पंक्तिहरूमार्फत महिलाको अस्मिता र पहिचानलाई पुरुषको उपस्थिति वा अनुपस्थितिसँग जोडेर हेर्ने सामन्ती–पितृसत्तात्मक सोचमाथि प्रश्न उठाइएको छ ।
‘यादहरूको विसर्जन’ कवितामा गरिबी र श्रीमान्को कुटपिटबाट पीडित आमाले अँध्यारामा चुरोट पिएर आफ्नो फोक्सो र पीडा जलाउनुपरेको कथा छ । ‘संशय’ र ‘सेल्फी योग’ जस्ता कवितामा धर्मका नाममा गरिने व्यापार र सामाजिक सन्जालका गरिने प्रदर्शनकारी बजारिया योगमाथि व्यङ्ग्य छ । यसरी कवि अनिलले सांस्कृतिक र सामाजिक उपरीसंरचनामा रहेका सबै किसिमका कुरुपताहरूका विरुद्ध वैचारिक जेहाद छेडेका छन् ।
६. विद्रोह र रूपान्तरणको आशावादी चेतः
प्रगतिवादी साहित्यको उद्देश्य विकृत व्यवस्थालाई हटाएर न्यायपूर्ण समाज निर्माणका लागि क्रान्ति र रूपान्तरणको बाटो देखाउनु हो । द्वन्द्वात्मक भौतिकवादले हरेक विनाशभित्र नयाँ निर्माणको सम्भावना देख्छ । अनिल श्रेष्ठका कवितामा शोषणका पर्खालहरू भत्काउने, आगो बाल्ने र क्रान्तिका मसालहरू बोकेर शहरतिर अघि बढ्ने क्रान्तिकारी द्वन्द्व र आशावादी चेतना पाइन्छ । ‘नोट अफ डिसेन्ट’ प्रगतिवादी विद्रोह तथा क्रान्ति आह्वान गरिएको कविताको एउटा नमुना हो । कविले यस कवितामा शोषण र अन्यायका सम्पूर्ण अखडाहरू भत्काउन क्रान्तिकारीहरूलाई आह्वान गरेका छन्ः
भत्काऊ
अब भत्काउनु जरुरी छ
धर्मका अखडाहरू भत्काऊ
पार्टीका हेडक्वाटरहरू भत्काऊ
यहाँ ‘पार्टीका हेडक्वार्टरहरू भत्काऊ’ भन्नुको तात्पर्य क्रान्तिबाट विचलित भएर पूँजीवादी दलदलमा फसेका संशोधनवादी र अवसरवादी नेतृत्वका किल्लाहरूलाई भत्काएर नयाँ क्रान्तिकारी विचार पुनर्गठन गर्नु हो ।
त्यस्तै, ‘फूलमायासँग’ कवितामा कविले श्रमजीवी महिला र पुरुष मिलेर क्रान्तिको आँधी र वर्षा ल्याउने सङ्कल्प व्यक्त गरेका छन्ः
आऊ, फूलमाया !
तिमी
र, म
अब सँगै मिलेर
एउटा आँधी जन्माऊँ
... ...
बाली काटेर यी डाम्नाहरूलाई
हामीले कतिन्जेल पोस्नुपर्ने हो ?
कि राँको बालेर
यसका थुतुनाहरूलाई झोस्नुपर्ने हो ?
आऊ, फूलमाया !
तिमी
र, म
अब सँगै मिलेर
एउटा मसाल बनाऊँ
र, शहर जाऊँ ।
उल्लिखित कवितांशमा क्रान्ति सामूहिक प्रयत्नबाट मात्र सम्भव हुन्छ भन्ने मार्क्सवादी चेतनालाई जोड दिएको छ । उद्धृतांशमा प्रयोग भएका ‘आँधी’, ‘राँको’ र ‘मसाल’ शब्दहरूले सर्वहारा वर्गको क्रान्तिकारी विस्फोटलाई सङ्केत गरेका छन् ।
‘एक सलाई काँटी’ कवितामा अँध्यारो र नागरिकता हराएको मुलुकमा एउटा सानो सलाईको काँटी अर्थात् चेतनाको झिल्काले अँध्यारालाई चिरेर क्रान्तिको ज्वाला दन्काउन सक्छ भन्ने क्रान्तिकारी आशावाद छ । ‘ओ ! शासकहरू’ कवितामा कविले शासकहरूलाई चेतावनी दिँदै जब जनताको आक्रोशको ढल र नदी बग्न थाल्छ, त्यसले सिंहदरबार र राजदरबारका भग्नावशेषहरूलाई समेत बगाएर लैजानेछ भनेका छन् । ‘उपसंहार’ कवितामा लोकतन्त्रका नाममा जेल हालिएका कविले जेलर र शासकहरूका अगाडि झुक्नुको साटो आफ्नो पकेटमा कविता बोकेर निरङ्कुशताका विरुद्ध लडिरहने दृढता व्यक्त गरेका छन्ः
मैले गरेकै हुँ
हस्ताक्षर
सालिकका
श्रीपेचहरूमाथि
र, कोरेको हुँ
यो देशलाई
श्रीपेचहरूको
दासताबाट
मुक्त गर्ने
कविता
...
सत्ता
सधैँ
तिम्रो भयो
र, सडक
सधैँ
हाम्रो भयो
यसै गरी ‘बीसहजारी तालको किनारमा सुकिरहेको एउटा रुख’, ‘स्ट्राइकर’ र ‘प्रतीक्षा’ कवितामा पनि जस्तै दमन र कठिनाइ आए पनि साहस, सङ्घर्ष र आत्मविश्वाशका साथ उभिएर उज्यालाको प्रतीक्षा गर्ने क्रान्तिकारी जीवन्तता पाइन्छ । यसरी अनिलको यस सङ्ग्रहका कविताहरू क्रान्तिकारी आशावाद र सामाजिक रूपान्तरणका संवाहक बनेका छन् ।
७. बिम्ब र प्रतीकहरूको संयोजनः
कवितामार्फत विचारलाई पाठकसमक्ष प्रभावकारी र सौन्दर्यपूर्ण तरिकाले सम्प्रेषण गर्न कलात्मक बिम्ब र प्रतीकहरूको महत्वपूर्ण भूमिका हुन्छ । अनिलका कविताहरूको सबैभन्दा सबल र आकर्षक पक्ष भनेकै यी कवितामा प्रयोग गरिएका जीवन्त, मौलिक र बहुआयामिक बिम्ब तथा प्रतीकहरू हुन् । कविले दैनिक जीवनका साधारण वस्तुहरूदेखि लिएर ऐतिहासिक, राजनीतिक र सामाजिक घटनाहरूलाई प्रतीकका रूपमा ढालेर वैचारिक अभिव्यक्ति दिएका छन् । यिनले यस सङ्ग्रहमा दृश्य, श्रव्य, स्पर्शलगायतका बिम्बहरूको संयोजन गरेका छन् ।
कवितामामा प्रयुक्त ‘ठेलागाडी बोकेकी बूढी आमा’, ‘सडकमा छिनेको चप्पल’, ‘नगरपालिकाको गाडी’, ‘नाङ्गो ठिहीमा जाडाले कठाङ्ग्रिएका बालबालिका’, ‘माइतीघर मण्डलामा बलेको रातो र पहेँलो गुलुबको उज्यालो’, ‘कण्डमका प्याकेटहरू बाँड्ने चटके’, ‘जेलभित्रको हतकडी र पकेटमा रहेको कविताको कागज’ जस्ता दृश्य बिम्बहरूले पाठकको मानसपटमा वर्तमान नेपालको कुरूप र कारुणिक दृश्यलाई जीवन्त बनाएका छन् । ‘भुइँचालोमा घण्टाघर’ कवितामा समयको सुइका साथै घण्टाघरले बजाउने ‘ट्वाङ... ट्वाङ’ को आवाज श्रव्य बिम्बका रूपमा आएको छ जसले इतिहास र समयको कठोर न्यायलाई सङ्केत गरेको छ । ‘अश्रुसिक्त घाम’ र ’यो देशको सबैभन्दा ठुलो मुर्दाघर हो सिंहदरबार’ मा प्रयोग भएका ‘नाङ्गो ठिही’, ‘चिसो सिरेटो’, ‘लात्तीको प्रहार’ र ‘अगेनुको राप’ जस्ता शब्दहरूले श्रमजीवी जनताले भोग्नुपरेको शारीरिक र मानसिक पीडालाई स्पर्श बिम्बका माध्यमबाट व्यक्त गरेका छन् ।
प्रस्तुत सङ्ग्रहका कवितामा प्रयुक्त प्रतीकहरू राजनीतिक र सामाजिक सत्ताको चरित्र उदाङ्गो पार्न र क्रान्तिकारी चेतना जगाउन आएका हुन् । यस सङ्ग्रहमा ‘सिंहदरबार’ भ्रष्ट र जनविरोधी सत्ताको प्रतीकको रूपमा प्रयोग भएको छ । नेपालको सन्दर्भमा ‘सिंहदरबार’ केन्द्रीय राज्यसत्ता, प्रशासनिक शक्ति र शासक वर्गको सर्वोच्च थलो हो । तर कविले यसलाई जनताको हित गर्ने थलोका रूपमा नभई दलाल पूँजीपति, भ्रष्ट राजनीतिज्ञ र जनविरोधी शासकहरूको मुख्य कार्यालयको प्रतीकका रूपमा प्रयोग गरेका छन् ।
‘मुर्दाघर’ संवेदनाहीन र चेतनाशून्य राज्यव्यवस्थाको प्रतीकका रूपमा संयोजित छ । जहाँ मृत शरीरहरू राखिन्छन्, जसभित्र कुनै जीवन, संवेदना, दया वा चेतना हुँदैन त्यही सिंहदरबारलाई कविले ‘मुर्दाघर’ को प्रतीक बनाएर त्यहाँ बस्ने शासकहरू जीवित नभई चेतना मरिसकेका लाशहरू हुन् भन्ने व्यक्त गरेका छन् । ‘छिनेको चप्पल’ श्रमजीवी सर्वहारा वर्गको पहिचान, क्रान्तिको सुरुवाती निष्ठा र पसिनाको प्रतीक हो । सत्ताको रसास्वादन गरेपछि महलमा बस्ने नेताहरूले विगतको छिनेको चप्पल बिर्सनु भनेको सर्वहारा वर्गप्रति गरिएको विश्वासघातको सङ्केत हो ।
अँध्यारामा एउटा सानो ‘सलाई काँटी’ ले उज्यालाको बाटो देखाउँछ भने ‘राँको’ र ‘मसाल’ ले शोषणका पर्खालहरू जलाउने र क्रान्तिको ज्वाला दन्काउने द्वन्द्वात्मक क्रान्तिकारी चेतनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन् । ‘गुलुबको उज्यालो’ मा प्रयोग भएको ‘चमेरो’ र ‘सन्त्रस्त टोल’ मा प्रयोग भएको ‘भुस्याहा कुकुर’ हरू सत्ताको जुठोपुरो खाएर जनतालाई त्रसित पार्ने, दलाली गर्ने र न्याय व्यवस्थालाई विकृत बनाउने अवसरवादी, बिचौलिया र दलालहरूका प्रतीक हुन् ।
‘ढुङ्गा १’ र ‘ढुङ्गा २’ कवितामा ‘ढुङ्गा’ लाई मानिसको घरको जग, मूर्ति, विद्रोहको हतियार र मानव सभ्यताको प्राचीन साक्षीका रूपमा प्रयोग गरिएको छ । ढुङ्गा सिर्जना र विद्रोह दुवैको प्रतीक बनेर आएको छ । ‘कण्डम’ र ‘ब्राण्ड एम्बेसेडर’ दलाल पूँजीवाद र बजारिया अश्लीलताका प्रतीक हुन् । ‘ब्राण्ड एम्बेसेडर सत्ता’ मा प्रयोग भएको ‘कण्डम’ ले जनताका आधारभूत आवश्यकतालाई पन्छाएर बजारवादी अश्लीलता, भ्रम र चेतनालाई शून्य बनाउने पूँजीवादी विकृतिको सङ्केत गरेको छ । ‘कृष्ण कहो भन् पट्टु’ कवितामा पिँजडाको सुगालाई राज्यसत्ताले नागरिकलाई आफ्नो अनुकूल ‘कृष्ण कहो’ भन्न लगाएर वैचारिक दासको प्रतीकका रूपमा ढालिएको छ ।
कवि अनिलका कवितामा प्रयुक्त बिम्ब र प्रतीकहरू वस्तुपरक, सान्दर्भिक, विचारोत्तेजक र प्रगतिवादी सौन्दर्यको अनुकूल रहेका छन् । प्रयुक्त यी बिम्ब एवम् प्रतीकहरूले कवितालाई कलात्मक उचाइमा पु¥याएका छन्, कविको वैचारिक स्पष्टतालाई थप उजिल्याएका छन् ।
८. कवितामा प्रयुक्त भाषाशैली तथा काव्यशिल्पः
प्रगतिवादी कविताको भाषा सरल, सम्प्रेषणीय र जनबोलीमा हुनु राम्रो मानिन्छ । जटिल, दुर्बोध्य र पाण्डित्यपूर्ण भाषा श्रमजीवी मजदुर, किसानहरुलाई बुझ्न कठिन हुन्छ । अनिल श्रेष्ठको यस सङ्ग्रहका सबै कविता मुक्तछन्द वा गद्यशैलीमा सिर्जित छन् । यी कवितामा आन्तरिक सङ्गीत, भावपूर्ण प्रवाह र लयको उचित संयोजन पाइन्छ । कविले जनबोलीमा प्रयोग हुने तद्भव र आञ्चलिक शब्दहरू जस्तैः ‘जाउलो’, ‘डाम्ना’, ‘थुतुनो’, ‘छिनेको चप्पल’, ‘टुप्लुक्क’, ‘चटके’, ‘भुस्याहा कुकुर’, ‘बुढिया’ आदि शब्दहरूको सुन्दर प्रयोग गरेका छन् । अनिलको काव्यशिल्पको अर्को प्रमुख विशेषता भनेको व्यङ्ग्यात्मकता हो । कविले भ्रष्ट नेता, दलाल बुद्धिजीवी, साम्राज्यवादी, न्यायाधीश, ढोंगी स्वामीहरूलगायत खराब चरित्रहरूमाथि गरेको शब्दप्रहार व्यङ्ग्यात्मक छ । ‘ब्राण्ड एम्बेसेडर सत्ता’, ‘बुद्धिजीवी’, ‘गुलुबको उज्यालो’ र ‘एक पफ कविता’ जस्ता कविता व्यङ्ग्यशिल्पका उत्कृष्ट नमुना हुन् । यिनका कवितामा विचारले रूपलाई र रूपले विचारलाई समृद्ध बनाएका छन् । कविको सौन्दर्यबोध राजा–महाराजा लगायतका शासक–प्रशासकमा नभई श्रमजीवी जनताको पसिना, सुकुम्बासीको सङ्घर्ष र क्रान्तिको राँकोमा भेटिन्छ ।
९. केही प्राप्ति र केही सीमाहरूः
प्रस्तुत ‘यो देशको सबैभन्दा ठूलो मुर्दाघर हो सिंहदरबार’ कविता सङ्ग्रहको मुख्य प्राप्ति भनेको दृढ वर्गपक्षधरता, निडर भई गरिएको राजनीतिक प्रहार, विचारको स्पष्टता र कलात्मक बिम्ब र प्रतीकहरूको संयोजन हो । अधिकांश कविताहरू सुन्दर हुँदाहुँदै पनि केही कवितामा भने विचारको बाहुल्य भएको हुँदा काव्यात्मकता अलि ओझेलमा परेको महसुस हुन्छ र केही कविताका केही पङ्क्तिहरू नाराजस्ता पनि देखिन्छन् । यद्यपि वर्तमान सङ्कटपूर्ण राजनीति र सामाजिक यथार्थको परिप्रेक्ष्यमा यस्तो आक्रामक र स्पष्ट अभिव्यक्तिहरू प्रगतिवादी कविताका लागि जायज नै मानिन्छन् ।
१०. निष्कर्षः
अनिल श्रेष्ठको कविता सङ्ग्रह ‘यो देशको सबैभन्दा ठूलो मुर्दाघर हो सिंहदरबार’ वर्तमान नेपाली प्रगतिवादी साहित्यको एक महत्वपूर्ण उपलब्धि हो । प्रगतिवादी जीवनदृष्टिमा आधारित यस सङ्ग्रहले नेपालको समकालीन सामाजिक–राजनीतिक यथार्थलाई नङ्ग्याएको छ । कविले सिंहदरबार जस्ता राष्ट्रका प्रमुख शक्तिकेन्द्रहरूलाई जनविरोधी र मुर्दाघरका रूपमा परिभाषित गरेका छन् । यिनले यस सङ्ग्रहका कविता मार्फत दलाल पूँजीवाद, भ्रष्ट राजनीति, साम्राज्यवादी युद्ध, सामाजिक–सांस्कृतिक विकृतिको भण्डाफोर गरेका छन् । श्रमजीवी वर्ग, सुकुम्बासी, भूमिहीन र पीडित जनताको पक्षमा दृढतापूर्वक उभिएर उनीहरूलाई क्रान्ति, विद्रोह र रूपान्तरणको बाटोमा लाग्न आह्वान गरेका छन् । जीवन्त दृश्य बिम्बहरू; ‘छिनेको चप्पल’, ‘मुर्दाघर’, ‘सलाई काँटी’, ‘कण्डम सत्ता’, ‘राँको’ जस्ता प्रतीकहरूको सुन्दर तथा प्रभावकारी संयोजन, जनबोलीको सरल भाषा र तीक्ष्ण व्यङ्ग्यशिल्पले गर्दा यो कविता सङ्ग्रह कलात्मक र वैचारिक दुवै दृष्टिले उत्कृष्ट बन्न पुगेको छ । यस सङ्ग्रहले समकालीन नेपाली कविताको प्रगतिवादी धारालाई थप उचाइ प्रदान गरेको छ ।
हालः पोखरा– १७, कास्की

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।