पृष्ठभूमि:
साहित्यको सबैभन्दा गाह्रो विधा हास्यव्यङ्ग्य लेखन हो । मानिसलाई रुवाउन सजिलो हुन्छ तर हसाँउन गाह्रो छ । समाजमा सामाजिक कुरीति र मानवीय कमजोरीलाई हाँस्यका माध्यमबाट जात्रा र प्रहसनमा मौखिक परम्पराबाट प्रस्तुत गर्ने प्राचीन परम्परा रहेको छ । नेपालीमा मुद्रित साहित्यको विकाससँगै हाँस्य र व्यङ्ग्यले छुट्टै साहित्यिक स्वरूप लिन थाल्यो। यसको मूल उद्देश्य पाठकलाई केवल हँसाउनुमात्र नभएर हँसाउँदै समाजका विसङ्गति र विकृतिलाई देखाएर सचेत बनाउनु पनि हो। प्रारम्भमा राणा शासनकालमा सामाजिक–राजनीतिक परिवेशमा परेको प्रभावलाई सत्ताको प्रत्यक्ष नाम नलिई त्यसका प्रवृत्ति र विसङ्गतिमाथि प्रहार गरिन्थ्यो । त्यसपछि पञ्चायतकालमा सामाजिक–राजनीतिक विषयलाई प्रतीक र संकेतबाट हास्यव्यङ्ग्यमार्फत अभिव्यक्त गर्ने क्रम शुरु भयो । प्रज्ञा प्रतिष्ठानले गाईजात्रा महोत्सवको आयोजना गरेर हास्यव्यङ्ग्य कार्यक्रमको प्रस्तुतिले निरन्तरता दिदै गएको थियो । बहुदलको आगमनपछि अभिव्यक्ति स्वतन्त्रताको विस्तारसँगै हास्यव्यङ्ग्यले प्रत्यक्ष सामाजिक–राजनीतिक विषयमा बोल्न र लेख्न पायो। अनि हास्यव्यङ्ग्यको क्षेत्र साहित्यमा मात्र सीमित नरहेर रेडियो, टेलिभिजन र पत्रपत्रिकाका स्तम्भहरूसँगै व्यङ्ग्यचित्रसम्म विस्तार गर्यो । प्रारम्भमा नेपाली हास्यव्यङ्ग्य लेखनमा नरदेव पाण्डे, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ आदिले लेखनको आधार तयार गरे भने भैरव अर्यालको आगमनसँगै हास्यव्यङ्ग्य विधा लोकप्रियतासँगै विशिष्ट साहित्यिक विधाका रूपमा स्थापित भयो। यस विधामा कलम चलाउने केशवराप पिँडाली, वासुदेव लुईटेल, श्याम गोतामे, रामकुमार पाँडे, श्रीधर खनाल, नरनाथ लुईटेल, मोहनराज शर्मा, लक्ष्मण लोहनी, मनु बाज्राकी आदिसँग प्रज्ञा प्रतिष्ठानको गाईजात्रा महोत्वसमा सहभागी हुँदा सम्बन्ध राख्ने मौका पाएको थिए । रेडियोको रसरङ्ग कार्यक्रममा सहभागीता जनाएको केही समयपछि व्यङ्ग्य पचाउन नसकेर पञ्चायती सरकारले रसरङ्ग प्रशारण बन्द गरी दियो । प्रजातन्त्रपछि आफैले रेडियोबाट दिनप्रतिदिन हास्यव्यङ्ग्य कार्यक्रम एघार वर्षसम्म संचालन गर्दा सयौं हास्यव्यङ्ग्य स्कृप्ट तयार परियो । अझ मेरो पहिलो प्रकाशित रचना पनि हास्यव्यङ्ग्य निबन्ध “लामखुट्टे उपिया एण्ड द रेट”(जुनकिरी ः सन् १९८०) नै थियो । तर लेखनभन्दा बढी समय रङ्गमञ्चलाई दिएपछि हास्यव्यङ्ग्यमा केही नाटक मात्र लेख्न पाए ।
विषय प्रवेश:
नेपाली हास्यव्यङ्ग्यका कृतिको इतिहास खोतल्दै प्रमोद प्रधानको “नेपाली हास्यव्यङ्ग्य निबन्ध ः इतिहासदेखि वर्तमानसम्म” लाई आधार बनाएर अध्ययन गर्दा सन् १९२६ मा वेदनिधि शर्माको “जातीय रोगको अचूक औषधि” देखि २०२३ मा राजेन्द्र कार्कीको “खाइराइड” सम्म आई पुग्दा १०६ वटा हास्यव्यङ्ग्य सङ्ग्रह प्रकाशित भएको देखिन्छ । यिनमा रामकुमार पाँडेको मात्रै १८ वटा हास्यव्यङ्ग्य सङ्ग्रह प्रकाशित भएका छन्। नेपाली हास्यव्यङ्ग्य लेखनको विकासमा भैरव अर्याललगायतका स्रष्टाको योगदान महत्त्वपूर्ण रहेको छ। विशेषतः भैरव अर्यालले यस विधालाई लोकप्रिय र विशिष्ट साहित्यिक पहिचान दिलाए। त्यसपछि अनेक स्रष्टाले हास्यव्यङ्ग्यलाई समृद्ध बनाउँदै आएका छन्। यसै परम्परामा क्यानडामा बसोबास गर्दै नेपाली साहित्यमा सक्रिय राजेन्द्र कार्की जोडिन पगेका छन् । सन् २०२३ मा यस कृतिको प्रकाशनसम्बन्धी समाचार सार्वजनिक भएको थियो। अझ एकै वर्षमा दोस्रो संस्करण पनि आयो भनेको सुने । अझ खाइराइड हास्यव्यङ्ग्य पुरस्कार घोषणा गरेर हास्यव्यङ्ग्य विधालाई संवृद्ध पार्ने तिर लागेको समाचारमा पनि कानमा नठोक्किएको हैन । पुस्तकले पाठकको ध्यान आकर्षित गर्नुका साथै क्यानडामा विकसित हुँदै गएको नेपाली साहित्यको पहिचान विस्तार गर्न पनि योगदान पुर्याएको छ। संख्याका हिसाबले अहिलेसम्म क्यानडाबाट नेपाली लेखकका ५९ वटा कृति प्रकाशित भई सकेका छन् भने राजेन्द्रको खाइराइड बयालिसौं कृतिका रुपमा प्रकाशित भएको थियो ।
‘खाइराइड’ शीर्षक आफैँमा शब्दखेलको उत्कृष्ट उदाहरण हो। सामान्यतः रोगका रूपमा चिनिने ‘थाइराइड’ शब्दलाई रूपान्तरण गरेर लेखकले समाजमा व्याप्त भ्रष्टाचार, स्वार्थ, अनियमितता र खाने प्रवृत्तिलाई ‘खाइराइड’का रूपमा प्रस्तुत गरेका छन्। यसरी एउटा परिचित शब्दलाई नयाँ अर्थ दिएर सामाजिक तथा राजनीतिक विकृतिमाथि व्यङ्ग्य गरिएको छ। यस सङ्ग्रहका निबन्धले राजनीति, भ्रष्टाचार, सामाजिक कुरीति, पारिवारिक सम्बन्ध, जातीय विभेद, विदेशमोह, साहित्यिक क्षेत्रका विकृति, पद र पैसाप्रतिको आकर्षण तथा मानवीय कमजोरीलाई विषय बनाएको छ । सामान्य जीवनका घटना र प्रसङ्गबाट गम्भीर सामाजिक प्रश्न उठाउनु यस कृतिको प्रमुख विशेषता रहेको छ।
निबन्धभित्रको घोत्ल्याई
सङ्ग्रहको पहिलो निबन्ध ‘कुकुरको भाग्य’ मा मानिस र जनावरको जीवनस्थितिको तुलना गर्दै मानवीय महत्त्वाकाङ्क्षा र जीवनप्रतिको असन्तुष्टिमाथि व्यङ्ग्य गरिएको छ। विदेशका कुकुरले पाउने सुविधा र मानिसले भोग्नुपर्ने सङ्घर्षको तुलना गर्दै लेखकले भाग्य, सुख र सामाजिक प्रतिष्ठाबारे सोच्न बाध्य बनाएका छन्। ‘भाग्दाभाग्दै’ निबन्धमा मानिसको जीवन निरन्तर भागदौडमै बित्ने यथार्थलाई उजागर गरेको छ। मानिस केही पाउनका लागि जीवनभर अन्धो दौडमा दौंडी रहेको अवस्था देखाउन मानिसको जन्मलाई एउटा प्रक्रिया अन्तर्गत प्रस्तुत गर्दै उनी लेख्छन् : “ बाउलाई घाउ नलाई चुपचाप बसिरहेको थिएँ । कसरी भागेँ, त्यो थाहा भएन । तर भाग्दाभाग्दै आमाको गर्भमा पुगेँ । त्यहाँबाट कता भाग्नु । चुपचाप बसेँ । नौ महिना जति बसेपछि त्यहाँबाट भागे । भाग्दाभाग्दै धर्तीमा आएँ ।“ भन्दै जीवनका सार पोखेका छन् । किनभने युवाहरु भाग्दा भाग्दै गाँउ खाली भएर मलामी पाईदैन । यस्तै जीवनको यथार्थ उनको निबन्धमा पाइन्छ । मानिसले आफ्ना कमजोरी लुकाउन जनावरका नामबाट अरूलाई गाली गर्ने प्रवृत्तिमाथि ‘जनावरलाई गाली किन?’ निबन्धले प्रहार गरेको छ। कुकुर, गधा, गिद्ध र भेडाजस्ता जनावरका गुनासामार्फत लेखकले मानवीय दोहोरो चरित्रलाई उदाङ्गो पारेका छन्। जनावरले मानिसको सेवा गरे पनि मानिसले तिनै जनावरलाई अपमानको प्रतीक बनाउने विरोधाभास निबन्धको प्रमुख व्यङ्ग्य रहेको देखिन्छ । ‘घाँडो बूढो’ निबन्धले समाजको उमेर अनुसार मानिसलाई हेर्ने सामाजिक दृष्टिकोणले वृद्धप्रतिको उपेक्षालाई प्रस्तुत गरेको छ । वृद्धप्रतिको सामाजिक उपेक्षा र उमेरका आधारमा मानिसको मूल्याङ्कन गर्ने प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको छ। अनुभवको भण्डार मानिनु पर्ने वृद्धलाई बोझ ठान्ने मानसिकता परिवर्तन हुनुपर्ने सन्देश निबन्धले दिएको छ । त्यस्तै, ‘बिहे किन?’मा विवाहलाई जीवनको अनिवार्य उपलब्धि ठान्ने सामाजिक मान्यता, पारिवारिक दबाब र सम्बन्धभित्रका जटिलतामाथि प्रश्न उठाइएको छ। निबन्धले सामाजिक परम्परालाई अन्धानुकरण गर्नुभन्दा विवेकपूर्ण दृष्टिकोण अपनाउन प्रेरित गर्छन्। विवाहलाई रोमानी आदर्श मात्र नभई सामाजिक र मानवीय व्यवहारका रूपमा हेर्न प्रेरित गर्दै विहेलाई उनले जीवनको आवश्यकता भन्दै त्यसको वरीपरीका विसङ्गत परिस्थितिलाई व्यग्ङ्य शैलीबाट उदाङ्गो पारी दिएका छन् । ‘कामी’ निबन्धमा उनले जातीय विभेद र श्रमलाई हेप्ने मानसिकतामाथि प्रश्न उठाउँदै जात, पेसा र सामाजिक विभेदसँग जोडिएको ‘कामी’ शब्द तथा त्यसप्रतिको सामाजिक दृष्टिकोणलाई व्यङ्ग्यको विषय बनाएका छन्। श्रमको सम्मानस्वरूप नयाँ जातिको नामकरण गर्दै युरोपले फलामबाट बन्दुक बनाएर संसारभर शासन गरेको उदाहरण प्रस्तुत गरेका छन्। साथै, सुनको काम गर्नेलाई ‘स्वर्णमुनि’, फलामको काम गर्नेलाई ‘लोहमुनि’ र छालाको काम गर्नेलाई ‘चर्ममुनि’ भनेर सम्बोधन गर्नुपर्ने विचार व्यक्त गरेका छन्। यसरी उनले श्रमको सम्मान गर्दै पेसा र जातका आधारमा मानिसको मूल्याङ्कन गर्ने विभेदपूर्ण मानसिकताभन्दा माथि उठ्नुपर्ने सन्देश दिएका छन्।
हामी देशमा स्वतन्त्रता आएको ठान्छौँ, तर व्यवहारमा विभिन्न सामाजिक, आर्थिक तथा मानसिक बन्धनसँग जुध्नुपरिरहेको यथार्थलाई उनले ‘कहाँ छ स्वतन्त्रता’ मार्फत स्पष्ट पारेका छन्। उनले स्वतन्त्रतालाई नागरिक स्वाधीनतासँग जोड्दै कागज र नारामा मात्र सीमित स्वतन्त्रता तथा नागरिकको वास्तविक जीवनबीचको गहिरो दूरीलाई उजागर गरेका छन्। ‘धारा तथा शौचालय महात्म्य’मा शौचालय अर्थात् चर्पी वा बाथरुम, जुनसुकै नामले चिनिए पनि यसको इतिहास र महत्त्वलाई यस निबन्धमा रोचक ढङ्गले चित्रण गरिएको छ। बिहान सबेरै सबैले जानैपर्ने र नगए स्वास्थ्य समस्याका कारण डाक्टरकहाँ धाउनुपर्ने स्थानका रूपमा शौचालयलाई हाँस्यपूर्ण शैलीमा प्रस्तुत गरिएको छ। खुला मैदानबाट सुरु भएको हाम्रो शौच व्यवस्थापनको प्रवृत्तिमा समयसँगै परिवर्तन आएको छ। पहिले भुइँमा बसेर शौच गर्ने हामी आज कमोडमा आरामसँग दिसा विसर्जन गर्छौँ, तर आधुनिक जीवनशैलीसँगै कतिपय मानिसलाई परम्परागत रूपमा बसेर शौच गर्नसमेत कठिन हुन थालेको छ। शौचालयको इतिहास, उपयोगिता र मानिसको दैनिक जीवनसँग यसको अभिन्न सम्बन्धलाई रोचक ढङ्गले प्रस्तुत गर्दै सामान्य ठानिने शौचालय मानव सभ्यताका महत्त्वपूर्ण आविष्कार हुन् भन्ने तथ्यलाई निबन्धले हाँस्य र व्यङ्ग्यका माध्यमबाट उजागर गरेको छ। साइनोको सन्दर्भलाई माध्यम बनाएर लेखिएको ‘सोल्टिनी’ निबन्धमा सम्बन्धका नागबेली मोडहरूलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ। यसमा साली–भिनाजुको सम्बन्धमा देखिने ठट्टा, आकर्षण र सामाजिक मर्यादालाई हाँस्य तथा व्यङ्ग्यको विषय बनाइएको छ। सम्बन्धका सीमारेखा र मानवीय मनोविज्ञानलाई रमाइलो शैलीमा प्रस्तुत गर्दै निबन्धकारले सामाजिक मान्यता र मानिसको व्यवहारबीचको विरोधाभासलाई उजागर गर्दै लेख्छन् : “...... सोल्टिनी जस्तो स्वादको नाता यो लोकमा अरू कुन होला र ! सोल्टिनीसँग भित्रभित्रै सल्के पनि भयो । पल्के पनि भयो । मन मिलेपछि जता जतिखेर जता पल्टे पनि भयो । न खत लाग्छ, न बात लाग्छ । करणीको अभियोग लागे पनि वरणीको साइत जुर्छ ।” निबन्धकारले सोल्टिनीको नातालाई केन्द्रमा राखेर पारिवारिक सम्बन्धभित्र लुकेका आकर्षण, सामाजिक मर्यादाका सीमारेखा र मानिसको दोहोरो व्यवहारलाई हाँस्यपूर्ण तथा व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेका छन्।
मानिसका सम्बन्धहरू जीवनको हरेक दिनसँगै विस्तार हुँदै जान्छन्। एउटै मानिसले आफ्नो जीवनकालमा कति मानिस भेट्छ र तीमध्ये कसलाई चिन्ने, कसलाई नचिन्ने भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। यही जिज्ञासालाई ‘चिनिनँ’ निबन्धले विषय बनाएको छ। आफ्नै समाज, वरपरका मानिस र सम्बन्धलाई चिन्न नसक्ने वा चिनेर पनि नचिनेझैँ गर्ने मानवीय प्रवृत्तिमाथि यस निबन्धले व्यङ्ग्य गरेको छ। यसै यथार्थका बीच स्वार्थअनुसार मानिस चिन्ने र नचिन्ने सामाजिक चरित्रलाई निबन्धकारले पर्दाफास गरेका छन्। सामाजिक व्यवहारभित्रको यही विरोधाभास देखाउँदै उनले सम्बन्ध स्वार्थमा होइन, मानवीयतामा आधारित हुनुपर्छ भन्ने सन्देश दिन खोजेका छन्। ‘त्यो नेपाली होइन’मा नेपाली समाजमा देखिने विरोधाभासी व्यवहार, राजनीतिक गफ, सामाजिक सञ्जालमा गरिने प्रदर्शन र आफ्नो पहिचानप्रतिको खोक्रो गर्वमाथि कटाक्ष गर्दै राष्ट्रिय पहिचानको नाममा देखिने आडम्बर र व्यवहारबीचको दूरीलाई उजागर पारी दिएका छन् । ‘चुनाउ पुराण’ निबन्धमा चुनाव शब्दका विविध अर्थ, स्वरूप र प्रवृत्तिमाथि चर्चा गर्दै निर्वाचन र राजनीतिलाई पुराणको कथात्मक शैलीमा प्रस्तुत गरिएको छ। निर्वाचनका क्रममा गरिने आश्वासन, सत्ता प्राप्तिका लागि हुने प्रतिस्पर्धा, राजनीतिक दाउपेच र नेताहरूको व्यवहारलाई हाँस्य तथा व्यङ्ग्यको विषय बनाइएको छ। देश–विदेशका राजनीतिक प्रसङ्गलाई पुराणका कथात्मक उदाहरणसँग जोडेर निबन्धकारले चुनावी संस्कार र राजनीतिक विसङ्गतिमाथि तीखो व्यङ्ग्य गर्दै लेख्छन् : “सिधा कुरा जनतासँग” नामक टेलिभिजन कार्यक्रमका सञ्चालक र प्रस्तोता रविको छवि चम्किन दश वर्ष त के, दश महिना पनि लागेन । न क्रान्तिका कुरा, न डर, त्रास र धम्की । न ज्यानको क्षति, न धनको खती । वाचनकलाको अगाडि अरू कुनै कलाको केही नलाग्ने रहेछ ।” यस भनाइमार्फत निबन्धकारले वाक्पटुता र प्रभावकारी वाचनकलाको राजनीतिक प्रभावलाई उजागर गरेका छन्। नेपालमा मात्र नभई विश्व राजनीतिमा समेत बोल्ने कला र जनतालाई प्रभावित पार्ने क्षमताले राजनीतिक सफलता हासिल गर्न महत्त्वपूर्ण भूमिका खेल्ने यथार्थलाई उदाहरणसहित प्रस्तुत गरेका छन्। यसरी पुराणको शैलीलाई माध्यम बनाएर समकालीन राजनीतिका चरित्र र प्रवृत्तिलाई रोचक ढङ्गले उजागर गर्नु यस निबन्धको विशेषता हो। ‘लेखकको कन्दनी’ निबन्धले आप्रवासी नेपाली साहित्यमा देखापरेका विसङ्गति र साहित्यिक संस्थाहरूमा मौलाउँदै गएको सिण्डिकेट प्रवृत्तिमाथि सटीक व्यङ्ग्य प्रहार गरेको छ। विदेशमा भइपरी लेखक बन्ने प्रवृत्ति, साहित्यिक संस्थाहरू गठन गरेर आफूखुसी सञ्चालन गर्ने चलन तथा पुरस्कारको लेनदेनजस्ता विषयलाई निबन्धकारले व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरेका छन्। लाहुरे लेखकको सङ्ख्या बढेको बेला साहित्यिक क्षेत्रमा बढ्दै गएको प्रकाशन मोह, प्रतिष्ठाको होड र व्यावसायिक स्वार्थका कारण उत्पन्न विसङ्गतिमाथि तीखो व्यङ्ग्य गरेको छ।नेपाली साहित्यमा पुस्तक लेख्ने, छाप्ने र लोकार्पण गर्ने लेखकहरूको सङ्ख्या बढ्दै गए पनि पाठकको सङ्ख्या र पुस्तक बिक्रीको अवस्था कमजोर रहनु साहित्यिक क्षेत्रको एउटा विरोधाभास हो। यस निबन्धमा साहित्यिक क्षेत्रमा देखिने आत्मप्रशंसा र कृत्रिम प्रतिष्ठा आर्जन गर्ने प्रवृत्तिमाथि ‘कन्दनी’ को प्रतीकात्मक प्रयोगमार्फत प्रहार गर्दै साहित्यिक संस्थाभित्रका विकृतिमाथि व्यङ्ग्य गरिएको छ। ‘लिङ्गपुराण’ निबन्धमा निबन्धकारले आजको समाजमा ‘लिङ्ग’ शब्दका विभिन्न अर्थ तथा त्यससँग जोडिएका धार्मिक, सांस्कृतिक र जैविक सन्दर्भलाई हास्यव्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेका छन्। शिवलिङ्गको धार्मिक सन्दर्भदेखि पुरुष र महिलाबीचको जैविक भिन्नतासम्मका विषयलाई जोड्दै उनले लिङ्गका आधारमा समाजमा निर्मित विभेद, सामाजिक बन्देज र दोहोरो मापदण्डमाथि व्यङ्ग्य गरेका छन्। लिङ्गकै आधारमा समाज विभाजित हुने, अपराधका प्रसङ्गमा लैङ्गिक पक्ष जोडिने र धार्मिक आस्थासमेत लिङ्गको प्रतीकसँग सम्बन्धित हुने अवस्थालाई उनले आलोचनात्मक दृष्टिले प्रस्तुत गरेका छन्। विशेषतः लिङ्ग छोप्ने र नछोप्ने प्रसङ्गलाई बलात्कार जस्तो गम्भीर सामाजिक अपराधसँग जोडेर उनले सभ्यताको दाबी गर्ने मानिसको व्यवहारमाथि प्रश्न उठाएका छन्। बलात्कारको कारण लिङ्ग छोप्नु हो भन्ने शाब्दिक निष्कर्षका रूपमा नभई मानिसको कथित सभ्यता र वास्तविक आचरणबीचको विरोधाभासमाथि गरिएको व्यङ्ग्यका रूपमा बुझ्नु उपयुक्त हुन्छ। समग्रमा, ‘लिङ्गपुराण’ निबन्धले धार्मिक आस्था, लैङ्गिक विभेद र सामाजिक नैतिकताका स्थापित मान्यतामाथि प्रश्न उठाउँदै समाजका विरोधाभासलाई उजागर गरेको छ। ‘खाइराइड’ सङ्ग्रहको शीर्ष निबन्धले भ्रष्टाचारलाई सामाजिक रोगका रूपमा चित्रण गरेको छ। थाइराइडले व्यक्तिको स्वास्थ्यमा पार्ने असर र ‘खाइराइड’ले देशको अवस्था बिगार्ने प्रवृत्तिबीच शब्दगत तथा अर्थगत सम्बन्ध स्थापित गरिएको छ। राणाकालदेखि विभिन्न राजनीतिक व्यवस्थासम्म भ्रष्टाचार र अनियमितताले निरन्तरता पाएको यथार्थलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ। यस निबन्धको मूल सन्देश भ्रष्टाचार कुनै व्यक्तिमा सीमित समस्या नभई समाज र राष्ट्रलाई नै कमजोर बनाउने प्रवृत्ति हो भन्ने हो। शब्दखेल, हाँस्य र सामाजिक यथार्थको संयोजनले शीर्ष निबन्धलाई विशेष प्रभावकारी बनाएको छ।
‘देश डुब्यो’ निबन्धमा लेखकले जनताको नजरमा देश डुब्यो होला तर नेताहरुका नजरमा त देशमा विकास भई रहेको भन्दै गणतन्त्रको नाममा भए गरिएका क्रियाकलापहरुको पर्दा उघार्ने काम गरेको छ । विदेशी ऋण बढेर देश डुबेको नेतागण मान्दैनन् । उनीहरु “यसरी बढ्नु भनेको डुब्नु होइन। डुब्नु भनेको त सकिनु हो, बिलाउनु हो “ भन्दै नेताहरु आश्वासनको भाषणमा जनता अल्मलाउने काम गर्दै रहेको यथार्थमाथि प्रकाश पारेका छन् । नेपाली समाजमा सासू–बुहारीको सम्बन्धलाई नकारात्मक र सकारात्मक दुवै दृष्टिले हेर्ने गरिन्छ। यही सम्बन्धभित्र विद्यमान परम्परागत तनाव, पारस्परिक अपेक्षा, पुस्तागत सोच र पारिवारिक शक्ति–सम्बन्धलाई ‘बुहारी सासू’ निबन्धमा हास्यव्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ। पुस्तौँदेखि चल्दै आएको सासू–बुहारीबीचको मनमुटाव, रूढिवादी सोच र एकअर्काप्रतिको पूर्वाग्रह आज पनि समाजमा देख्न र सुन्न पाइन्छ। यस्ता सम्बन्धमा समयअनुसार सोच र व्यवहारमा परिवर्तन देखाउँदै आधुनिक सम्बन्धका बारेमा लेख्छन् : “...तर बिहे भएको तीन महिना पनि नहुँदै ती भाउजुले पारापुक्केको मुद्दा दायर गरिन्। सम्पत्तिको कञ्चटमा पन्चड हानेर पुरानै ब्वाइफ्रेन्डसँग लिभिङ टुगेदरमा फिरिन्। ...” यस प्रसङ्गमार्फत निबन्धकारले वैवाहिक सम्बन्धमा प्रेम, विश्वास र पारिवारिक जिम्मेवारीभन्दा सम्पत्ति तथा व्यक्तिगत स्वार्थ हाबी हुँदै गएको प्रवृत्तिमाथि व्यङ्ग्य गरेका छन्। त्यस्तै, आजका बुहारीहरु बुहार्तनबाट जोगिन सासुहरुलाई वृद्धाश्रमको शरणमा पुर्याउने आधुनिक पारिवारिक सम्बन्धको बदलिँदो स्वरूपमाथि पनि मीठो व्यङ्ग्य गरेका छन्। शिक्षक–विद्यार्थी सम्बन्ध र ‘सर’ सम्बोधनप्रतिको डर तथा सम्मानलाई केन्द्रमा राखेर लेखिएको ‘सरको डर’ निबन्धमा लेखकले ‘सर’ शब्दको आडमा मौलाउँदै गएको चाकरीप्रथा र कृत्रिम प्रतिष्ठामाथि तीखो व्यङ्ग्य गरेका छन्। यसलाई ‘मपाईँ’ प्रवृत्तिमाथिको व्यङ्ग्यका रूपमा पनि लिन सकिन्छ। नामको पछाडि ‘सर’ सम्बोधन खोज्नेहरूको वर्गीकरण गर्दै तनमारा, धनमारा र ज्यानमारासमेत सम्मानित शिक्षक, प्राध्यापक र विद्वान्हरूले पाउने सम्बोधनको लोभ गर्ने बहुरूपी चरित्रलाई लेखकले व्यङ्ग्यात्मक ढङ्गले उदाङ्गो पारेका छन्। ‘पद पैसा’ निबन्धमा पैसाको महिमा र पदको प्रभाव प्रस्तुत गर्दै आजको समाजमा खुम्चिँदै गएको मानवीयता र नैतिक मूल्यहरूमाथि व्यङ्ग्य गरिएको छ। योग्यता र चरित्रभन्दा पद तथा आर्थिक हैसियतलाई महत्त्व दिने प्रवृत्तिले सामाजिक सम्बन्धमा समेत दूरी बढाएको यथार्थलाई निबन्धकारले उजागर गरेका छन्। डोनाल्ड ट्रम्प, ऋषि सुनक र नेपालका उद्योगपति विनोद चौधरीजस्ता पात्रको राजनीतिक सन्दर्भ जोड्दै पद र पैसाबीचको सम्बन्धमाथि व्यङ्ग्यात्मक प्रश्न उठाएका छन्। यसै सन्दर्भमा उनी लेख्छन् : “ ............... तर हिमालय प्रदेशको नेपाल देशमा पदले पैसा बनाउँछ । पदमा पुगेपछि पैसा बनाएर धनी नभएको को होला ?” भन्दै पदको आडमा आर्थिक लाभ लिने प्रवृत्तिमाथि तीखो व्यङ्ग्य गर्दै मानिसको वास्तविक मूल्य पद र पैसाले होइन, कर्म र चरित्रले निर्धारण हुनुपर्छ भन्ने सन्देश दिएका छन्। नैतिकता र चरित्रभन्दा धनसम्पत्तिलाई प्राथमिकता दिने मानसिकताले मानवीय सम्बन्ध कमजोर बनाएको यथार्थ यसमा देखिन्छ।
सामाजिक विकृतिमाथि व्यङ्ग्य गर्दै ‘बूढो गोरु कि बहर’ निबन्धमा लेखकले परस्त्री गमन, यौन विकृति र विसङ्गतिका विविध रूपलाई रोचक शैलीमा प्रस्तुत गरेका छन्। पादरीदेखि पण्डितसम्म र घरबारीदेखि व्यापारीसम्म फैलिएको मान्छे र मान्छीको स्वार्थपूर्ण खेल, धनको लोभमा अर्को बोको खोज्नेदेखि हनी ट्रयापसम्मका प्रसङ्गमार्फत लेखकले आधुनिक समाजको यौन विकृतिमाथि तीखो व्यङ्ग्य गरेका छन्। ‘जिन्दगीः खाना पाइखाना’ निबन्धमा लेखकले खाना र शौचलाई जीवनको प्राकृतिक चक्र तथा आधारभूत आवश्यकताका रूपमा प्रस्तुत गर्दै मानवीय जीवनको यथार्थलाई हास्यात्मक र दार्शनिक शैलीमा उजागर गरेका छन्। मानिसको जीवन खानाकै जोहोमा बित्ने र खानाकै लागि भ्रष्टाचार, लुटपाटदेखि युद्धसम्म हुने यथार्थ प्रस्तुत गर्दै लेखकले सामान्य शारीरिक क्रियामार्फत समाजको स्वार्थ, लोभ र विकृतिमाथि तीखो व्यङ्ग्य गरेका छन्। ‘लाहुरे’ निबन्धमा लेखकले बेलायती भर्तीबाट सुरु भएको नेपाली पलायनको इतिहासदेखि डिभी, पीआर, विद्यार्थी, कामदार र शरणार्थीका रूपमा विदेशिने प्रवृत्तिसम्मको चित्रण गरेका छन्। विदेश जानुलाई प्रतिष्ठा र सफलताको प्रतीक मान्ने नेपाली मानसिकता तथा युवालाई विदेश पठाउने राजनीतिक प्रवृत्तिमाथि व्यङ्ग्य गर्दै देशको अस्थिरता र विदेशमोहलाई उजागर गरेका छन्। साथै, विदेशमा सफल भएका नेपालीका उदाहरणले लाहुरे बन्नुलाई नै सफलताको सुरुवात ठान्ने सामाजिक मनोवृत्तिमाथि प्रकाश पारेका छन्। ‘नेपालीलाई सबै काम आउँछ’ भन्ने प्रवृत्तिलाई व्यङ्ग्यको विषय बनाइएको नेपालीले गर्छ निबन्धमा आफूलाई सर्वज्ञानी ठान्ने तर कामको गुणस्तर र जिम्मेवारीप्रति कमजोर रहने नेपाली मानसिकतामाथि कटाक्ष गरिएको छ। लेखकका अनुसार नेपालीहरू जहाँ गए पनि आफूलाई जान्ने र अरूलाई कम आँक्दै आफ्नै प्रशंसा गर्न रुचाउने प्रवृत्तिको हुने गरेको देखाउँदै त्यसको आत्मालोचनात्मक चित्रण गरेका छन्। यस सन्दर्भमा उनी लेख्छन्, “पाँच केजी चामल पाँचजनाको दश हातले एकैपटक बाँड्दै गरेको फोटो सञ्जालमा भाइरल बनाएर वाह वाह ! कमाउँछ।” त्यस्तै, नेपालीको ठगी प्रवृत्तिमाथि कटाक्ष गर्दै आफ्नै नागरिकलाई शरणार्थी भनेर बेच्न सक्छ भन्दै निबन्धले आफूलाई सर्वज्ञानी ठान्ने र आफ्नो प्रशंसामा रमाउने प्रवृत्तिको आलोचना गर्दै विशेषज्ञता, कार्यकुशलता र जिम्मेवारीको सम्मान गर्नुपर्ने सन्देश दिएका छन्।
‘प्रधानमन्त्री कि वरदानमन्त्री?’ निबन्धबाट उनले नेपालको राजनैतिक प्रवृतिको नागबेली कोट्याउँदै निर्वाचनमा दिईने आश्वासन, सत्ता प्राप्तिको होडबाजि र जालझेल अनि पदका लागि हुने अस्वस्थ प्रतिस्पर्धामाथि व्यङ्ग्य गरिएको छ। ‘चुनाउ पुराण’मा राजनीतिक प्रसङ्गलाई पुराणको शैलीमा प्रस्तुत गरेर हाँस्य सिर्जना गरिएको थियो भने ‘प्रधानमन्त्री कि वरदानमन्त्री?’मा पद प्राप्तिका लागि गरिने चलखेल र स्वार्थकेन्द्रित राजनीतिलाई निशाना बनाइएको छ। त्यस्तै, ‘हाइ हाइ अमेरिका’मा अमेरिकालाई सुख, समृद्धि र सफलताको अन्तिम गन्तव्य ठान्ने प्रवृत्तिको आलोचना गरिएको छ। विदेशी मुलुकप्रतिको आकर्षण र विकाससम्बन्धी अतिरञ्जित धारणामाथि व्यङ्ग्य गर्दै लेखकले वास्तविकता बुझ्न आग्रह गरेका छन्। अमेरिकालाई जिउँदै स्वर्ग पुग्ने ठाँउका रुपमा चर्चा गर्दै उनले पाठकलाई अमेरिकाको सयर गराउँदै विदेशप्रतिको आकर्षणभित्र रहेको आर्थिक, सामाजिक र मनोवैज्ञानिक पक्षबारे सोच्न बाध्य बनाउँछ। ‘नामको चाम’ निबन्धमा लेखकले नाम, पद र प्रतिष्ठालाई वास्तविक क्षमता ठान्ने प्रवृत्तिमाथि व्यङ्ग्य गरेका छन्। शर्मादेखि ब्रह्मासम्मका नाम र कामबीचको अन्तर देखाउँदै प्रतिष्ठाको आडमा वास्तविकता लुकाउने सामाजिक प्रवृत्तिको आलोचना गरिएको छ। नामको इतिहासलाई मेसोपोटामियासम्म जोड्दै लेखकले राजतन्त्र, पञ्चायत, बहुदल हुँदै गणतन्त्रसम्म नाम र प्रतिष्ठाको बदलिँदो चामलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका छन्। ‘कुरा गरेर खानु’ निबन्धमा दशैँको आशीर्वादमा प्रयोग हुने शब्द र आशिषको औपचारिकतामाथि व्यङ्ग्य गर्दै कामभन्दा कुरा र गफबाटै फाइदा लिन खोज्ने प्रवृत्तिको चित्रण गरिएको छ। आशीर्वादका शब्दहरूको चिरफार गर्दै लेखकले बोली बेचेर लाभ लिन खोज्ने अवसरवादी मानसिकता र श्रमभन्दा कुरालाई महत्त्व दिने सामाजिक संस्कृतिमाथि मीठो व्यङ्ग्य गरेका छन्। अझ वर्तमान अवस्थामा जतात्यतै ‘गुट फुट झुट’को खेती गर्नेहरु व्याप्त रहेको देखाउन यो निबन्ध उर्पयुक्त देखिन्छ । वर्तमान नेपाली समाजमा व्याप्त राजनीतिक, सामाजिक, जातीय, धार्मिक, सांस्कृतिक, भाषिक, साहित्यिक तथा पेसागत गुटबन्दीको यथार्थलाई यस निबन्धमा उजागर गरिएको छ। नेपालदेखि विदेशसम्म फैलिएको नेपाली समुदायमा एकता र सिद्धान्तको कुरा गर्ने तर व्यक्तिगत स्वार्थका लागि गुटबन्दी, फुट र झुटको सहारा लिने प्रवृत्तिमाथि लेखकले तीखो व्यङ्ग्य गरेका छन्। यसरी निबन्धले गुटबन्दी, फुट र झुटको चक्रलाई चित्रण गर्दै संस्था र समाजमा पारदर्शिता, सहकार्य तथा साझा उद्देश्यको आवश्यकतामाथि जोड दिएको छ।
राजेन्द्रको निबन्धसङ्ग्रह पढेपछि उनको शब्दचयन र अभिव्यक्ति शैली निकै प्रभावशाली लाग्यो। दलाल शीर्षकको निबन्धमा लेखकले वर्तमान युग कमिसन र बिचौलियाको खेलमा चलेको यथार्थलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका छन्। घरदेखि दलसम्म, सरकारी निकायदेखि व्यापारिक क्षेत्रसम्म तथा राजनीति, शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारीसम्म फैलिएको दलाली प्रवृत्तिमाथि उनले तीखो प्रहार गरेका छन्। दलाललाई केवल एउटा पेसा वा व्यक्तिका रूपमा नभई अरूको आवश्यकता, सम्बन्ध र अवसरबाट स्वार्थपूर्ति गर्ने सामाजिक प्रवृत्तिको प्रतीकका रूपमा चित्रण गर्दै यस्ता बिचौलियाले देशलाई खोक्रो बनाइरहेको यथार्थ उजागर गरेका छन्। दानी कि नादानी निबन्धमा लेखकले दानजस्तो पवित्र कार्यभित्र लुकेको सामाजिक विसङ्गति, देखावटी उदारता र दानी बन्ने मनोवृत्तिमाथि रोचक व्यङ्ग्य गरेका छन्। दानको परम्परालाई जन्मदेखि नै जोड्दै उनी लेख्छन्, “दानको लामा फेहरिस्त छन्। हाम्रो जन्म नै वीर्यदानबाट भएको हो। जन्मदै वीर्यदानबाट जन्मिएका हामीले आमाको गर्भबाटै दान गर्न सिक्यौँ। हामीलाई जन्मदिने आमा नै हाम्रा बाले कन्यादानबाट पाएका हुन्।” यसरी हास्यात्मक शैलीमा दानको महत्त्व र त्यससँग जोडिएका सामाजिक मान्यतामाथि प्रश्न उठाउँदै लेखकले दानी बन्न खोज्दा नादानी हुने प्रवृत्तिको चित्रण गरेका छन्। साथै, स्वार्थका लागि देश नै दान दिन तत्पर हुने नेताहरूको प्रवृत्तिमाथि व्यङ्ग्य गर्दै जनतालाई आफ्नो मतदानको सही ठाँउमा दान गर्न सचेत गराएका छन्। सङ्ग्रहको अन्तिम निबन्ध ‘मृत्यु विज्ञापन’ मा लेखकले मृत्यु जीवनको स्वाभाविक सत्य र अन्तिम प्रक्रिया हो भन्ने दार्शनिक दृष्टिकोण प्रस्तुत गरेका छन्। मृत्युलाई शोकको विषयभन्दा पनि सामाजिक सञ्जालमा प्रचारप्रसारको माध्यम बनाउने वर्तमान प्रवृत्तिमाथि व्यङ्ग्य गरेका छन्। मृत्युको खबरलाई विज्ञापनजस्तै फैलाउने प्रवृत्तिले परिवारमा पार्ने प्रभावबारे प्रश्न उठाउँदै लेखकले मृत्युलाई पनि वस्तुका रूपमा प्रस्तुत गर्ने सामाजिक विकृतिको आलोचना गरेका छन्। यसरी जीवन र मृत्युलाई हेर्ने हाम्रो दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाउँदै निबन्धले सङ्ग्रहलाई अर्थपूर्ण दार्शनिक निष्कर्षका साथ टुङ्ग्याएका छन् ।
निष्कर्ष
‘खाइराइड’ निबन्ध सङ्ग्रहमा लेखकले राजनीतिमा मात्र सीमित नभई सामाजिक व्यवहार, पारिवारिक सम्बन्ध, जातीय सोच, साहित्यिक विसङ्गति, विदेशमोह, शिक्षाको व्यापार, पद–पैसा, भ्रष्टाचार र मानवीय कमजोरीजस्ता विविध विषयलाई व्यङ्ग्यको विषय बनाएका छन्। यस सङ्ग्रहको विशेषता कुनै व्यक्ति वा समूहविशेषलाई मात्र प्रहार गर्नु नभई समाजमा विद्यमान विकृति, विसङ्गति र मानवीय प्रवृत्तिमाथि चोटिलो व्यङ्ग्य गर्नु हो। हाँस्यका माध्यमबाट पाठकलाई मनोरञ्जन प्रदान गर्दै व्यङ्ग्यका माध्यमबाट गलत प्रवृत्तिप्रति सचेत गराउने प्रयास गरिएको छ।
लेखकले विसङ्गतिको चित्रण, विडम्बनाको प्रस्तुति र सामाजिक सुधारको चेतनालाई विषयवस्तु बनाउँदै व्यङ्ग्यका शब्दवाण प्रहार गरेका छन्। सरल, सहज, रोचक र मिठासपूर्ण भाषाशैलीका साथै उखान, टुक्का र अनुप्रासको प्रभावकारी प्रयोगले निबन्धहरूलाई थप आकर्षक बनाएको छ। वास्तविकता र अपेक्षाबीचको विरोधाभास देखाउन विडम्बनात्मक शैली, घुमाउरो तथा विपरीत अर्थ दिने अभिव्यक्तिका लागि व्यङ्ग्योक्ति शैली, प्रचलित भनाइ र साहित्यिक कमजोरीमाथि प्रहार गर्न पैरोडी शैली तथा पात्र र घटनाका विशेषतालाई बढाइचढाइ प्रस्तुत गर्न अतिशयोक्तिपूर्ण शैलीको प्रयोग गरिएको छ। त्यसैगरी, अनुकरणात्मक र प्रतीकात्मक शैलीमार्फत सामाजिक समस्या तथा मानवीय कमजोरीलाई रोचक ढङ्गले उजागर गरिएको छ। विशेषतः लेखकको अनुप्रासयुक्त शब्दचयन, ठट्यौली प्रस्तुति र सभ्य भाषामा वास्तविकतालाई उजागर गर्ने कलाले निबन्धहरूलाई प्रभावकारी बनाएको छ। हास्यव्यङ्ग्यात्मक अभिव्यक्तिभित्र जीवनदर्शनका विविध पक्ष र सामाजिक विसङ्गतिलाई समेट्दै सुधारको चेतना अभिव्यक्त गरिएको छ। विषयवस्तुको गहिराइ, सान्दर्भिक जानकारी र अनुसन्धानपूर्ण प्रस्तुतिले सङ्ग्रहलाई थप विश्वसनीय बनाएको छ। त्यसैले खाइराइड मनोरञ्जनका साथै सामाजिक यथार्थको बोध र आत्ममूल्याङ्कन गराउने पठनीय तथा रोचक हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह बनेको छ।
टोरन्टो