यात्राको बीजारोपण : एउटा आकस्मिक निम्तो
जीवनमा कतिपय यात्राहरू लामो समयको योजना र तयारीपछि तय हुन्छन् । कतिपय यात्राहरू भने कुनै आकस्मिक निम्तो, मनको एउटा सानो इच्छा र संयोगले जन्म लिन्छन् । हाम्रो पाथीभरा यात्रा पनि यस्तै एउटा संयोगको उपज थियो ।
कार्तिक ३ गते साँझ करिब ७ः३० बजेको थियो । म बिरामीको सेवासुश्रूषामा व्यस्त थिएँ । फार्मेसिमा चन्द्रा थिइन् । त्यत्तिकैमा शालिकराम सापकोटा दाजु आउनुभयो । दशैँको भोलिपल्ट पाथीभरा जाने कार्यक्रम रहेको र हामी पनि जाने भए सल्लाह गर्न उहाँले प्रस्ताव राख्नुभयो । प्रस्ताव सामान्य थियो, तर त्यसले हाम्रो मनमा एउटा असाधारण यात्राको सम्भावना जगाइसकेको थियो ।
राति करिब ९ः३० बजे खाना खाइसकेपछि हामी सल्लाहमा जुट्यौँ । छोरा अभिनव र अनिरुद्र पनि घरमै थिए । उनीहरूले पनि हामीलाई सहजै जाने अनुमति दिए । चन्द्रालाई अलि हिँड्न गाह्रो थियो । तर पाथीभरा जाने उनकोे इच्छा भने निकै प्रबल थियो । मैले सोधेँ, “के छ विचार ? तिमी जान सक्छौ त ? जाने हो भने जाँदा करिब पाँच घण्टा र फर्किँदा पनि पाँच घण्टा उकालो–ओरालो हिँड्नुपर्छ ।” चन्द्राले सहजै भनिन्, “हुन्छ, जान्छु ।” उनको त्यो आत्मविश्वासले मलाई पनि उत्साहित बनायो । त्यसपछि दशैँको साँझ आमासँग कुराकानी भयो । आमाले पनि सहजै भन्नुभयो, “हुन्छ नि त, जाओ ।” आमालाई पनि पाथीभरा जाने इच्छा नभएको होइन । तर उहाँ ८० वर्ष लाग्नुभएको थियो । इच्छा र शारीरिक क्षमताबीचको अन्तर हामीले बुझिरहेका थियौँ । मुक्तिनाथ यात्राका क्रममा उहाँले केही असहज महसुस गर्नुभएको अनुभव पनि हाम्रो मनमा थियो । मुक्तिनाथ मन्दिर समुद्र सतहबाट करिब ३,७१० मिटर उचाइमा छ भने पाथीभरा मन्दिर करिब ३,७९४ मिटर उचाइमा रहेको छ । त्यसैले आमालाई यसपटक सँगै लैजानु कठिन हुने निष्कर्षमा हामी पुगेका थियौँ । हामीले यी सबै कुरा आमासँग विस्तारमा गरेनौँ । उहाँसँग अनुमति माग्यौँ र यात्राको तयारीमा लाग्यौँ ।
तयारीका लागि समय अत्यन्त कम थियो । दशैँको टीका र साँझको भोजनपछि झोला मिलाउन थाल्यौँ । गुगलमा पाथीभराको तापक्रम हेर्दा १८ डिग्री सेल्सियस देखिएको थियो । मलाई लाग्यो, “त्यति धेरै जाडोको कपडा लैजानुपर्दैन होला ।” तर चन्द्राले मेरो तर्क स्वीकारिनन् । उनले ज्याकेट र अन्य न्यानो कपडाहरू मिलाउन थालिन । पाँच–छ दिनको यात्राका लागि आवश्यक पर्ने कपडाहरू राति ११ बजेसम्ममा तयार भए ।
भोलिपल्ट बिहान ४ बजे हिँड्नुपर्ने सल्लाह शान्ति भाउजुको थियो । हामीले पनि त्यसैअनुसार तयारी पूरा गर्यौँ र विश्रामतिर लाग्यौँ ।
गैंडाकोटबाट पाथीभरातर्फ : आस्थाको लामो यात्रा
कार्तिक ५ गते बिहान ३ बजे शान्ति भाउजुको फोन आयो । निद्राबाट उठेर हामी तयारीमा लाग्यौँ । बिहान करिब ४ बजे “जय पाथीभरा देवी !” भन्दै गैंडाकोटबाट हाम्रो यात्रा सुरु भयो ।
हामीसँग निजी गाडी थियो । घरबाटै लगेका फलफूल तथा अन्य खानेकुरा खाँदै, बाटोका दृश्य नियाल्दै यात्रा अघि बढिरहेको थियो । रातको अँध्यारो विस्तारै उज्यालोमा परिणत हुँदै थियो । यात्राको उत्साहले थकानलाई धेरै पछाडि छोडिसकेको थियो ।
बरमझियाको पुरानो बुढो बाजेको पेडा बजारमा पुगी केही समय विश्राम गर्यौँ । विभिन्न नाममा सञ्चालित पेडा पसलहरूको चहलपहलका बीच नजिकैको जङ्गलछेउमा गाडी रोकेर केही खानपिन ग¥यौँ । शरीरलाई ताजा बनायौँ र पुनः यात्रामा लाग्यौँ ।
लामो सडक यात्रा, बदलिँदो भूगोल र नयाँ ठाउँहरू हेर्ने उत्सुकताले समय बितेको पत्तै भएन । करिब साँझ ८ बजे हामी झापाको चाराली हुँदै इलामको कन्याम पुग्यौँ । त्यहीँ बास बस्ने व्यवस्था मिलायौँ ।
खानपिनपछि करिब ९ः३० बजे विश्राम ग¥यौँ । भोलिपल्ट बिहान ४ बजे उठेर ४ः३० देखि ५ बजेसम्ममा अन्तु डाँडा पुग्ने सल्लाह थियो । हाम्रो मनमा एउटा छुट्टै उत्सुकता थियो—पूर्वको प्रसिद्ध सूर्योदयलाई नजिकबाट नियाल्ने ।
अन्तु डाँडाको सूर्योदय : प्रकृतिको गर्भबाट जन्मिएको सुनौलो चमत्कार
बिहान शरीरले केही बढी विश्राम खोजेछ । हामी अलि अबेर ब्युँझियौँ । हतारहतार तयार भएर अन्तु डाँडाको बाटो समात्यौँ । करिब ५ः५३ बजे हामी त्यहाँ पुग्यौँ । नजिकै एकजना अनजान दिदीले हामीलाई देखेर भन्नुभयो, “भाइहरू, सूर्योदय अवलोकन गर्न आउनुभएको होला । छिटो यता आउनुहोस् ।” हामी दौडिँदै उहाँले देखाउनुभएको ठाउँतिर लाग्यौँ । अनि देखियो—प्रकृतिको अनुपम चमत्कार !
क्षितिजको गर्भबाट सूर्य बिस्तारै बाहिर निस्कँदै थियो । लाग्थ्यो, भर्खरै गर्भबाट जन्मिएको शिशु सालनालसहित बाहिर आएको हो । रातको अँध्यारो चिर्दै रक्तिम सूर्यले आफ्नो उपस्थिति जनाइरहेको थियो । त्यो दृश्यमा एउटा अनौठो पवित्रता थियो, एउटा अद्भुत सौन्दर्य थियो । हामी खुसीले भावविभोर भयौँ । केही क्षण त हेरिरह्यौँ, बोल्नै सकेनौँ । सूर्यको बाहिरी पत्रमा देखिएको धमिलोपन पानीका फोका फुटेझैँ विस्तारै हराउँदै गयो । अनि सूर्यको तेज चमत्कारिक रूपमा फैलिन थाल्यो । क्षितिजमा देखिएको रातो रङ विस्तारै सुनौलो प्रकाशमा परिणत हुँदै थियो । प्रकृतिले आफ्नै हातले रङ भरेको एउटा विशाल चित्रजस्तो लागिरहेको थियो । यसअघि दार्जिलिङ, म्याग्दीको पुनहिल, चितवनको सिराहीचुली डाँडा र मुगुको रारा लगायत विभिन्न ठाउँबाट सूर्योदयको दृश्यावलोकन गरिसकेको थिएँ । नेपालका पहाडी डाँडाहरूबाट सूर्योदय हेर्न सकिन्छ भन्ने कुरा नौलो थिएन । तर अन्तु डाँडाको त्यो बिहानको अनुभूति भने साँच्चै भिन्न थियो । सायद लामो समयपछि प्रकृतिसँग यसरी साक्षात्कार भएको भएर होला, त्यो रक्तिम सूर्यको छाप मनको गहिराइमा बस्यो ।
अन्तु डाँडा र वरपरको पर्यटकीय क्षेत्र अत्यन्त सुन्दर, सफा र आकर्षक लाग्यो । स्थानीयवासीको स्वागत सत्कार, उनीहरूको आत्मीय व्यवहार, सरसफाइ, प्राकृतिक सौन्दर्य, फूलबारी, स्थानीय खाना र संस्कारले मन लोभ्यायो । पूर्वको उर्वर भूमि र त्यहाँको जीवनशैली देख्दा जोसुकै स्वदेशी वा विदेशी पर्यटकको मन फुरुङ्ग हुने अनुमान गर्न सकिन्थ्यो । हाम्रो मन पनि त्यही अवस्थामा थियो । केही तस्बिर र भिडियो लिएपछि त्यहाँबाट निस्कने क्रममा स्थानीय खाना ‘भक्कु’ ले मनै लोभ्यायो । तर समयको पाबन्दीका कारण त्यहाँ रोकिएर स्वाद लिन सकेनौँ । इलामको फिक्कलमा चिया पियौँ र पुनः यात्रालाई निरन्तरता दियौँ । कहिलेकाहीँ यात्रामा कुनै ठाउँमा धेरै समय बिताउन नसके पनि त्यहाँको एउटा दृश्य, एउटा स्वाद वा एउटा आत्मीय व्यवहारले जीवनभरका लागि स्मृति बनिदिन्छ । अन्तु डाँडाको सूर्योदय हाम्रो यात्राको त्यस्तै अमूल्य स्मृति बन्यो ।
इलामको हरियाली र कृषि सम्भावना : माटोको सुगन्धसँगको संवाद
हामीसँग जे थियो, त्यसैले बिहानको खाना टार्दै यात्रा अघि बढायौँ । आफ्नै सवारीमा यात्रा गरिरहेका थियौँ । इलामका साँघुरा सडकमा स्थानीयवासीले अलि बढी गतिमा सवारी चलाउँदा कहिलेकाहीँ हामी झसङ्ग हुन्थ्यौँ । तर सडकको दुवैतर्फ देखिने हरियालीले मनलाई आनन्दित बनाइरहेको थियो । इलामका विभिन्न भूभाग हुँदै यात्रा गर्दा चिया, अम्रिसो, अलैँची, सुपारी, इस्कुस, अकबरे खुर्सानी, तथा अन्य कृषि उत्पादनका हरिया बारीहरू प्रशस्त देखिए । पहाडका पाखाहरूमा लहरै फैलिएका चियाबारी, बारीमा लहलहाएका बाली र व्यवस्थित खेती प्रणालीले मन लोभ्यायो । त्यहाँको उब्जाउ माटो र कृषि उत्पादन देख्दा मनमा एउटा प्रश्न उठ्यो—यस्तो उर्वरता र व्यावसायिक कृषि प्रणाली हामीकहाँ किन अझै पर्याप्त रूपमा विकास हुन सकेन ? हुन त मौसमअनुसारका विभिन्न कृषि उत्पादन गैंडाकोटमा पनि सम्भव छन् । तर बसाइँसराइ र वैदेशिक रोजगारीका कारण गाउँघरमा हिजो जति खेतीपाती हुन्थ्यो, आज त्यति हुन सकेको पाइँदैन । खेतीयोग्य जमिन बाँझो रहने क्रम र घडेरीका नाममा टुक्रिदा उत्पादनमा परेको असर प्रष्ट देख्न समिन्छ । समय र व्यावसायिकताको मागअनुसार परम्परागत खेती प्रणालीमा परिवर्तन ल्याउन आवश्यक छ । आधुनिक प्रविधि, उन्नत बीउ, सिँचाइ, उत्पादन व्यवस्थापन र बजारको सुनिश्चिततासहित व्यावसायिक खेती प्रणालीमा प्रवेश गर्नु आजको आवश्यकता हो । हुन त हामीकहाँ बीउदेखि बजारसम्मका समस्या छन् । तर ती समस्यालाई चुनौतीका रूपमा स्वीकार गर्दै आधुनिक कृषि प्रणालीमा अगाडि बढ्नुको विकल्प छैन ।
निर्वाहमुखी खेती प्रणालीले मात्र समृद्धिको बाटो खोल्न सक्दैन भन्ने कुरा टीका टुल्की कृषि फार्मका गुप्तप्रसाद रेग्मी दाजु बताउनुहुन्छ । उहाँले गैंडाकोट–१८, बसेनीमा आधुनिक खेती प्रणालीअनुसार सुन्तला तथा साईट्रस जातका अन्य विभिन्न फलफूल उत्पादन गरी बजारीकरण गर्दै आउनुभएको छ । उहाँको अनुभव र प्रयासले पनि कृषि क्षेत्रमा सम्भावना प्रशस्त रहेको देखाउँछ । उहाँ आफ्नो व्यवसायबाट कति सन्तुष्ट हुनुहुन्छ भन्ने कुरा भने सोध्न बाँकी नै छ ।
इलामको यात्राले मलाई एउटा कुरा पुनः सम्झायो—प्रकृति र माटोले अवसर दिन्छन्, तर त्यस अवसरलाई समृद्धिमा बदल्न श्रम, प्रविधि, लगानी र व्यावसायिक सोच आवश्यक हुन्छ ।
मेचीदेखि ताप्लेजुङसम्म ः बदलिँदो भूगोल, बढ्दो उत्साह
इलामको हरियाली र कृषि उत्पादनको अवलोकन गर्दै हाम्रो सवारी मेची राजमार्गमा अघि बढिरह्यो ।
इलामको बिब्ल्याँटे, बारबोटे, छ्यारेछ्यारे, गैराघर, पुवा खोला बजार, साखेजुङ, नेपालटार, त्रिवेणी बजार, भालुपानी बजार, राँके र निबुखोला पुल हुँदै हामी पाँचथरको सिमानातर्फ लाग्यौँ ।
त्यसपछि साँघुटार, फिदिम बजार, रमिते, टारी बजार, भारपा, जोरपोखरी, आगेजुङ, कालोपानी, नागी, भालुचोक र सिङ्गापुर बजार हुँदै काबेली खोला पुल तरेर ताप्लेजुङतर्फ प्रवेश गर्यौँ ।
ताप्लेजुङको थाचेम्बु, मेवाखा, सेसेम्बु, संसारी डाँडा, तक्लु डाँडा, हिटी बजार, मेवा खोला र तोक्मे डाँडाको बाटो हुँदै हामी सदरमुकाम पुग्यौँ ।
पहाडका घुमाउरा सडक, खोलानाला, बस्ती, हरियाली र उचाइसँगै बदलिँदो मौसमले यात्रालाई रोमाञ्चक बनाइरहेको थियो । सडकको प्रत्येक मोडले नयाँ दृश्य देखाउँथ्यो । कतै हरिया पहाडहरू एकअर्कासँग जोडिएझैँ देखिन्थे, कतै गहिरा खोँच र खोलाहरूले भूगोलको विशालता सम्झाउँथे ।
ताप्लेजुङ सदरमुकाममा रहेको द होटल माउन्टेनमा हाम्रो निजी सवारीलाई विश्राम गरायौँ । त्यहाँबाट तल्लो फेदीसम्म पुग्न पुनः त्यहीँ चल्ने बोलेरो जिपको व्यवस्था मिलायौँ ।
पाथीभरा यात्राको सबैभन्दा कठिन र रोमाञ्चक चरण अब सुरु हुँदै थियो ।
सुकेटार विमानस्थल, सानो पाथीभरा र एप्री अलैँची कृषि फार्म हुँदै हामी तल्लो फेदीतर्फ लाग्यौँ । पहाडको उकालो, साँघुरो बाटो र बदलिँदो मौसमका बीच जिप यात्रा आफैँमा एउटा अनुभव थियो ।
राति करिब ८ बजे हामी तल्लो फेदी पुग्यौँ ।
तल्लो फेदीबाट पाथीभरा मन्दिरको दूरी करिब ५.१ किलोमिटर रहेछ । तर यो दूरी सामान्य सडकमा हिँडेजस्तो सहज थिएन । उकालो, उचाइ र शारीरिक सहनशीलताको परीक्षा लिने पदमार्ग थियो ।
त्यो रात हामी उपल्लो फेदीसम्म पुग्यौँ । करिब १० बजे त्यहाँ पुगेर खाना खायौँ र राति ११ बजे विश्राम गर्यौँ । भोलिपल्ट शनिबार बिहान ३ बजे हिँड्ने तयारी थियो ।
अँध्यारो उकालो : आस्थाले दिएको ऊर्जा
बिहान ३ बजे उठेर हामी पदयात्राका लागि तयार भयौँ । बाहिर अँध्यारो थियो । चिसो हावाले शरीरलाई छोइरहेको थियो । तर मनमा पाथीभरा माताको दर्शन गर्ने उत्कट चाहना थियो । “जय पाथीभरा देवी !” भन्दै हामीले पदयात्रा सुरु ग¥यौँ । बाटोमा पर्ने कान्छी थानमा धूप, धजा र श्रद्धा अर्पण गर्दै हामी अगाडि बढ्यौँ । शालिकराम दाजु र शान्ति भाउजु यसअघि पनि पाथीभरा पुगिसक्नुभएको थियो । उहाँहरूलाई बाटोको अनुभव थियो । उहाँहरू सहजै उकालो चढ्दै हुनुहुन्थ्यो र हामीलाई पनि निरन्तर उत्साह भरिरहनुभएको थियो । शान्ति भाउजु भन्दै हुनुहुन्थ्यो, “रातमा दायाँबायाँ धेरै देखिँदैन । त्यसैले उकालो चढ्न केही सहज हुन्छ ।” चन्द्रा र म विस्तारै उकालो उक्लिरहेका थियौँ । बिस्तारै पाइला चाल्यौँ । कहिलेकाहीँ रोकिएर सास फेथ्र्यौँ । फेरि अगाडि बढ्थ्यौँ ।
मिलन चौतारी, चौतारी, पी.एफ. चौतारी र याक्थुङ पार्क हुँदै हामी पाथीभरा मन्दिरतर्फ उक्लिरहेका थियौँ । पदयात्रामा शारीरिक थकान त थियो नै, तर मनमा एउटा छुट्टै उत्साह पनि थियो । प्रत्येक पाइला हामीलाई आस्थाको केन्द्रतर्फ नजिक पु¥याइरहेको थियो । अँध्यारोमा देखिने पदयात्रीका टर्चका उज्याला, बाटोमा सुनिने “जय पाथीभरा माता” का स्वर र उकालो चढ्दै गरेका श्रद्धालुहरूको उत्साहले वातावरणलाई आध्यात्मिक बनाइरहेको थियो । चन्द्राको पाइला कहिलेकाहीँ सुस्त हुन्थ्यो । तर उनको मन भने निरन्तर अगाडि बढिरहेको थियो । कठिनाइलाई स्वीकार गर्दै, आफ्नै गतिमा यात्रा अघि बढाउनु नै सफलताको आधार रहेछ भन्ने अनुभूति भइरहेको थियो । बिहान करिब ६ बजे हामी मुक्कुमलुङ अर्थात् पाथीभरा माताको मन्दिर पुग्यौँ ।
पाथीभरा माताको दर्शन : थकान बिर्साउने आनन्दानुभूति
मन्दिरको नजिक पुग्दै गर्दा मनमा एउटा अनौठो भाव जागिरहेको थियो । लामो सडक यात्रा, रातको विश्राम, चिसो मौसम र कठिन उकालो पार गरेर हामी अन्ततः पाथीभरा माताको पवित्र धाममा आइपुगेका थियौँ ।
त्यहाँ पुग्दाको खुसी शब्दमा व्यक्त गर्न कठिन छ । पाथीभरा मन्दिरको धार्मिक महत्वबारे धेरै सुनेको थिएँ । हजारौँ श्रद्धालुहरू मनोकामना लिएर यहाँ आउँछन् । कठिन यात्रा पार गर्दै माताको दर्शन गर्छन् । तर आफैँले त्यो अनुभव गर्नु र अरूले सुनाएको कुरा सुन्नुमा धेरै अन्तर रहेछ ।
मन्दिर परिसरमा पुग्दा मनमा एउटा गहिरो शान्ति छायो । शरीर थाकेको थियो, तर मन हलुका भएको थियो । लामो उकालो चढ्दा लागेको थकान एकाएक कम भएको महसुस भयो । सायद त्यो आस्थाको प्रभाव थियो । सायद लामो समयदेखि मनमा रहेको एउटा चाहना पूरा भएको आनन्द थियो । अथवा प्रकृतिको काखमा पुगेर आफूलाई समर्पित गर्न पाएको आत्मिक सुख थियो । जे भए पनि त्यो अनुभूति अविस्मरणीय थियो । हामीले पाथीभरा माताको दर्शन ग¥यौँ । पूजामा सहभागी भयौँ । श्रद्धापूर्वक धूप, फूल र भेटी अर्पण ग¥यौँ । माताको चरणमा शिर झुकाउँदा मनमा अनेक भावहरू एकैपटक उर्लिए ।
परिवारको सुख, स्वास्थ्य, शान्ति र समृद्धिको कामना ग¥यौँ । जीवनमा देखिएका चुनौतीहरू सामना गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना ग¥यौँ । यात्रामा सहभागी सबैको कल्याण होस् भन्ने कामना पनि मनमनै ग¥यौँ । पूजामा सामेल हुँदाको आनन्दानुभूति साँच्चै अद्भुत थियो । बाहिरको चिसो वातावरण, मन्दिरको आध्यात्मिक परिवेश, श्रद्धालुहरूको भक्तिभाव र माताको दर्शनले मनमा एउटा छुट्टै ऊर्जा सञ्चार गरेको थियो ।
त्यहाँ पुगेपछि एउटा कुरा गहिरोसँग महसुस भयो—धार्मिक यात्राको वास्तविक आनन्द गन्तव्यमा पुग्नु मात्र होइन, त्यस गन्तव्यसम्म पुग्न गरिएको संघर्ष, त्याग, धैर्य र आस्थामा पनि रहेछ । हामीले पाथीभरा माताको दर्शन गरिरहँदा मनमा एउटा गहिरो कृतज्ञता थियो । यात्रा सफल भएको खुसी थियो । चन्द्राले कठिन उकालो पार गर्न सकेकोेमा विशेष सन्तोष थियो । शालिक दाजु र शान्ति भाउजुको साथ, सहयोग र उत्साहले यात्रालाई अझ सहज बनाएको थियो । त्यो क्षणमा हामीलाई लागेको थियो—जीवनमा केही यात्राहरू केवल शरीरले होइन, मन र आत्माले पनि तय गरिन्छन् ।
पाथीभराको शिखरबाट : हिमाल, पहाड र प्रकृतिको अनुपम दृश्य
पाथीभरा माताको दर्शनपछि मन्दिर परिसर र आसपासको दृश्यावलोकन गर्ने अवसर मिल्यो । त्यहाँबाट देखिने प्राकृतिक सौन्दर्यले मनलाई मन्त्रमुग्ध बनायो । हामीले कल्पना गरेको भन्दा धेरै विशाल र भव्य दृश्य आँखाअगाडि फैलिएको थियो ।
“पाथीभरा माताको पवित्र मन्दिरबाट आँखा उठाउँदा कञ्चनजङ्घा र कुम्भकर्ण हिमालका हिमाच्छादित शिखरहरू आकाशसँग संवाद गरिरहेका देखिन्थे । प्रकृतिको त्यो दिव्य दृश्यले मनलाई श्रद्धा, शान्ति र आनन्दले भरिदियो ।” क्षितिजमा लहरै उभिएका कुम्भकर्ण हिमशृङ्खला, एकअर्कासँग जोडिएका पहाड, गहिरा उपत्यका र टाढाटाढासम्म फैलिएको भूगोलले प्रकृतिको विराटता अनुभूत गराइरहेको थियो । हिमालका सेता चुचुराहरू आकाशसँग संवाद गरिरहेका जस्ता देखिन्थे । कतै बादलका टुक्राहरू पहाडका काँधमा अडिएका थिए, कतै घामको उज्यालोले हिमालका शिखरहरूलाई सुनौलो बनाइरहेको थियो । त्यहाँ उभिएर हेर्दा मानिसले बनाएका सीमा, सहर र बस्तीहरूभन्दा प्रकृति कति विशाल छ भन्ने अनुभूति हुन्थ्यो । पाथीभराको उचाइबाट देखिने दृश्य केवल आँखाले हेर्ने दृश्य मात्र थिएन । त्यो मनले महसुस गर्ने दृश्य थियो । हिमालको विशालता, पहाडको गहिराइ र आकाशको अनन्तताले मानिसलाई आफ्नै अस्तित्वबारे सोच्न बाध्य बनाउँथ्यो । हामी केही समय त्यहीँ उभिएर दृश्यावलोकन गरिरह्यौँ । कहिले तस्बिर खिच्यौँ, कहिले भिडियो बनायौँ । तर केही दृश्यहरू क्यामेरामा कैद गर्न सकिँदैनन् । तिनलाई मनको स्मृतिमा मात्र सुरक्षित राख्न सकिन्छ । पाथीभराको त्यो दृश्य पनि त्यस्तै थियो । प्रकृतिको अनुपम सौन्दर्यसँगै धार्मिक आस्थाको गहिरो अनुभूति मिसिँदा त्यहाँको वातावरण अझ दिव्य लागिरहेको थियो । मनमा आनन्द, शान्ति र कृतज्ञताको भाव एकसाथ जागिरहेको थियो ।
कुम्भकर्ण हिमाल ट्रेल : प्रकृतिको विराटता र पदयात्राको रोमाञ्च
पाथीभरा क्षेत्रको प्राकृतिक सौन्दर्यलाई नजिकबाट नियाल्ने क्रममा कुम्भकर्ण हिमाल ट्रेलको चर्चा र त्यससँग जोडिएको भूगोलले पनि हाम्रो ध्यान आकर्षित ग¥यो । कुम्भकर्ण हिमाल, जसलाई फक्ताङलुङ पनि भनिन्छ, पूर्वी नेपालको हिमाली भूगोलको एउटा विशिष्ट पहिचान हो । यसको आसपासको भूभाग प्रकृतिप्रेमी, पदयात्री र हिमाल अवलोकन गर्न चाहनेहरूका लागि विशेष आकर्षणको केन्द्र हो । कुम्भकर्ण हिमाल ट्रेलको कल्पना गर्दा मनमा हिमाली पदमार्गको एउटा भव्य चित्र उभिन्छ—उकालो र ओरालोले भरिएका बाटाहरू, घना वनस्पति, हिमाली बस्तीहरू, खोलानाला, चट्टानी भूभाग र टाढाबाट देखिने हिमशिखरहरू । त्यहाँको पदयात्रा केवल एउटा गन्तव्यमा पुग्ने माध्यम होइन, प्रकृतिसँग नजिक हुने अवसर पनि हो । प्रत्येक मोडमा बदलिने दृश्य, उचाइसँगै बदलिने मौसम र बाटोमा भेटिने स्थानीय जीवनशैलीले यात्रालाई अझ अर्थपूर्ण बनाउँछन् । कुम्भकर्ण हिमाल ट्रेलले पूर्वी नेपालको पर्यटन सम्भावनालाई पनि उजागर गर्छ । पाथीभरा दर्शनका लागि आउने श्रद्धालुहरूलाई यस क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमाली भूगोल र पदयात्राका सम्भावनाबारे थप जानकारी दिन सके पर्यटनको दायरा अझ फराकिलो हुन सक्छ । पाथीभरा क्षेत्रको प्राकृतिक भव्यता नियाल्दा हामीलाई पनि यस्तो हिमाली पदयात्राको आकर्षणले छोयो । प्रकृतिको नजिक पुग्ने, हिमाललाई नजिकबाट नियाल्ने र जीवनका व्यस्तताबाट केही समय टाढा रहने इच्छा मनमा जाग्यो । हिमाल केवल हिउँले ढाकिएको भूभाग होइन रहेछ । त्यो हाम्रो प्रकृति, संस्कृति, आस्था र जीवनशैलीसँग जोडिएको एउटा विराट संसार रहेछ ।
यात्राको अर्थ : गन्तव्यभन्दा ठूलो अनुभूति
पाथीभरा यात्रा हाम्रो लागि एउटा धार्मिक भ्रमण मात्र थिएन । यो परिवारसँग बिताएको आत्मीय समय थियो । प्रकृतिसँगको साक्षात्कार थियो । शरीरको क्षमताको परीक्षण थियो । आस्थाको अनुभूति थियो । अनि जीवनलाई नयाँ दृष्टिले हेर्ने एउटा अवसर पनि थियो ।
गैंडाकोटबाट सुरु भएको यात्राले हामीलाई इलामको सूर्योदय देखायो । पूर्वी नेपालको कृषि सम्भावनाबारे सोच्न प्रेरित ग¥यो । पहाडका घुमाउरा सडक र बदलिँदो भूगोलको रोमाञ्च अनुभूत गरायो । अन्ततः पाथीभरा माताको दर्शन गराएर मनमा गहिरो शान्ति र आनन्द भरिदियो ।
चन्द्राले कठिन उकालो पार गरेको क्षण मेरो लागि विशेष स्मरणीय रह्यो । अलि कठिनाइ भए पनि उनको दृढ इच्छाशक्तिले यात्रालाई सफल बनायो । जीवनमा इच्छाशक्ति र आत्मविश्वासको महत्व कति ठूलो हुन्छ भन्ने कुरा यस यात्राले पुनः प्रमाणित ग¥यो ।
शालिकराम दाजु र शान्ति भाउजुको साथ, सहयोग र आत्मीयताले यात्रालाई अझ सहज र रमाइलो बनायो । अभिनव र अनिरुद्रको सहज सहमतिले पनि हामीलाई यात्रामा निस्कन प्रेरित ग¥यो । आमाको आशीर्वादले यात्राको सुरुवात भएको थियो ।
हामीले पाथीभरा माताको दर्शन ग¥यौँ । हिमाल र पहाडको अनुपम दृश्यावलोकन ग¥यौँ । पूजामा सहभागी हुँदा प्राप्त आनन्दानुभूति शब्दमा व्यक्त गर्न कठिन छ । लामो उकालो चढ्दा लागेको थकान माताको दर्शनपछि विस्तारै हराउँदै गएको महसुस भयो ।
सायद यही नै यात्राको सुन्दरता हो । शरीर थाक्छ, तर मन ताजा हुन्छ । पाइला सुस्त हुन्छन्, तर अनुभूति तीव्र बन्छन् । बाटो कठिन हुन्छ, तर गन्तव्यको आनन्दले सबै कठिनाइ बिर्साइदिन्छ ।
पाथीभरा माताको पवित्र धाममा पुगेर हामीले केवल एउटा धार्मिक गन्तव्य प्राप्त गरेनौँ । हामीले प्रकृतिको विराटता, आत्मीयता, आस्थाको शक्ति र जीवनको सुन्दरतालाई अझ नजिकबाट अनुभूत गर्यौँ ।
यात्रा सकिएपछि पनि मनमा एउटा भाव निरन्तर रहिरह्यो—
“जीवनमा केही उकालाहरू कठिन हुन्छन्, तर ती उकालाहरू पार गरेपछि प्राप्त हुने आनन्द, शान्ति र अनुभूति नै जीवनका सबैभन्दा अमूल्य सम्पत्ति हुन् ।”
पाथीभरा माताको चरणमा शिर झुकाउँदा प्राप्त त्यो आत्मिक शान्ति, हिमालको भव्यता नियाल्दा जागेको रोमाञ्च र सँगसँगै बिताएका ती अविस्मरणीय क्षणहरू जीवनभर हाम्रो स्मृतिमा सुरक्षित रहनेछन् ।
जय पाथीभरा माता !
गैंडाकोट–२, नवलपरासी