कुँडोले पानी जमेको अँगेनामा
पानी चुहेका दाउरा हेर्छ,
पुरानो कछाडको एउटा धजोमा
लँगौटी अल्झाएर
लाजको पोको छोप्दै
आगो फू फू गर्ने
एउटा सिङ्गो पात्रलाई हेर्छ ।
फत्फत् पाकेको कुँडो
घर, गोठ र आँगन वरिपरि घुम्छ,
यो सानो क्षेत्रमा ।
न यसले संचार माध्यम र छापा
भेटेको छ,
न यसले संघसंस्था चिनेको छ,
न विचार, विमर्श र
प्रस्तुतिको गोष्ठी हेरेको छ ।
कुँडोले
जाँतो, ढिकी, ताउलो र अँगेनो हुदै
गोठसम्म देखेको छ,
भैँसी, गाई वा पशु आहार बनेर ।
कुँडो आखिर,
चपाएको घाँससँगै गोबर बन्ने त हो ।
गोबरै बन्नु छ भने
मानी फुस्केको जाँतोसँग किन लड्नु
ओखल बिनाको ढिकरीसँग किन जुध्नु ।
कुँडो, कुँडो न हो
न यसले कहिल्यै दोसल्ला ओढेको छ,
न प्रमाणपत्र, सम्मान र पुरस्कार पाएको छ ।
तर पनि
कुँडो पशु सेवामा
निरन्तर अगाडि बढ्छ,
ढिकी, जाँतो, अँगेनो हुदै
पशुको मुख ,पेट र मलखादसम्म्म ।
कुँडोभित्रको अस्तित्व दुहुन
कुँडोको श्रोत, प्रयोग र उपलब्धिभित्र छिर्नुपर्छ ।
यहाँ त,
बाहिर–बाहिर
तछाड–मछाड गर्छन्
कुँडोको लाभ र
कुँडोभित्रको कुँडो पाउन त
कुँडोलाई हातमा लिएर केलाउनुपर्छ,
मकै,कोदो,चना,चामल,ब्रान वा
भुस्पिठो र चौलानीलाई खेलाउनुपर्छ ।
जे भए पनि यी सबै कुँडै हुन् ।
कुँडो कुम्ल्याउँने पशु
लैनो नभएर थारै रहे
कुँडो पनि थारै हुन्छ, व्याउँदैन ।
भीरकोट-४ स्याङ्जा