19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ : यात्रामा भेटिएको नेपाली मन

कृति/समीक्षा डा. शरद पराशर मरहट्टा November 15, 2026, 1:42 pm
डा. शरद पराशर मरहट्टा
डा. शरद पराशर मरहट्टा

प्रा. शिवहरि मरहट्टाको यात्रा–संस्मरणात्मक कृति ‘परदेश र अनुभूति’ पढ्ने अवसर पाएँ । पुस्तक पढिसकेपछि मनमा उठेका विचार र अनुभूतिलाई लिपिबद्ध गर्न मन लाग्यो । यो कुनै औपचारिक समीक्षा होइन; बरु एक पाठकका रूपमा कृति पढ्दा अनुभूत गरेका कुरा, मनमा उठेका प्रश्न र देखेका सम्भावनालाई अभिव्यक्त गर्ने प्रयास हो ।

यात्राको वर्णनदेखि कवितात्मक अनुभूतिसम्म
सबैभन्दा पहिले, यात्राका अनुभवलाई कवितामार्फत अभिव्यक्त गर्ने यस कृतिमा रहेको कृतिकारको आफ्नोपनले मलाई आकर्षित गर्‍यो । कृतिकारले यसलाई यात्रा–संस्मरण भनेका छन्, तर पढ्दै जाँदा यसमा कविता–सङ्ग्रहको स्वरूप पनि उत्तिकै प्रबल देखिन्छ । आफ्नो जीवनको ऊर्जाशील समय संस्कृत साहित्यका पढेर कहिल्यै नसकिने विविध स्वाद र प्रवृत्तिका कृतिहरूको अध्ययन–अध्यापनमा बिताएका प्रा. मरहट्टाले सम्भवतः यस सङ्ग्रहका रचनालाई ‘कविता’ भन्न हिचकिचाउँदै आफ्नो साहित्यिक ‘सुदामा’पन देखाएका हुन् कि ! यद्यपि, पाठकको दृष्टिमा यो कृति कविता–सङ्ग्रहकै रूपमा बढी प्रभावशाली देखिन्छ ।

यसका अतिरिक्त, यात्राका घटना, दृश्य र अनुभूतिलाई कवितामा रूपान्तरण गरिनुले यस कृतिलाई सामान्य यात्रा–विवरणभन्दा पृथक् बनाएको छ । सङ्ग्रहमा रहेका ४४ वटा कवितामध्ये ४२ वटा यात्रा र यात्रासँग सम्बन्धित छन् भने बाँकी दुईवटा फरक विषयमा केन्द्रित छन् ।

सङ्ग्रहको सुरुकै कविताले मलाई केही बेर सोच्न बाध्य बनायो । त्यसको एउटा कवितांशले अमेरिकामा बसोबास गरिरहेका हामी नेपालीलाई आफ्नै जीवनशैली र सोचतर्फ फर्केर हेर्न प्रेरित गरेको अनुभूति भयो । मलाई लाग्छ, अमेरिका लगायत प्रवासका विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपालीका लागि आफू बसेको ठाउँको आकर्षण, त्यहाँको जीवनशैली र जन्मभूमिसँगको सम्बन्धबारे यो कविताले आत्मसमीक्षाको अवसर दिन्छ । सम्भवतः अमेरिका, अस्ट्रेलिया, क्यानडा आदि मुलुकमा बस्ने अन्य प्रवासी नेपाली पाठकले पनि यी पङ्क्ति पढ्दा आ–आफ्ना अनुभव सम्झनेछन्।
कृतिकार लेख्छन् :
“अमेरिका जानु सुयोग ठान्छन्
जो जो गए धेर उतै रमाउँछन् ।
जादू छ के त्यो अति दूर देशमा
न स्वर्ग हो त्यो न छ त्यो अकाशमा ।।”
(पहिलो यात्रा परदेशको; श्लोक ३; पृष्ठ ३)
यी पङ्क्तिले पश्चिमी मुलुकप्रतिको आकर्षणलाई प्रश्न गर्ने मात्र होइन, प्रवासलाई स्वर्ग ठान्ने हाम्रो मानसिकतामाथि पनि सोच्न बाध्य बनाउँछन् । प्रवासको वास्तविकता र त्यसप्रतिको हाम्रो कल्पनाबीचको दूरीलाई कृतिकारले सरल अभिव्यक्तिमार्फत प्रस्तुत गरेका छन् ।

विदेश यात्राका साझा अनुभव र विडम्बना
नेपाली राहदानी बोकेर संसारका विभिन्न ठाउँमा यात्रा गर्दा भोग्नुपर्ने असहजता, पीडा, आकर्षण र विडम्बनालाई कृतिकारले सरल ढङ्गले कवितामा उतारेका छन् । यसरी हेर्दा यी अनुभव कविका निजी अनुभूतिमा मात्र सीमित रहँदैनन्; विदेश यात्रा गरेका धेरै नेपालीका साझा अनुभूतिसमेत बन्छन् ।
उदाहरणका लागि, हङकङ पुगेर पनि प्रवेशाज्ञा नभएका कारण त्यहाँको बजार घुम्न नपाएको प्रसङ्गलाई उनले यसरी व्यक्त गरेका छन् :
“बयान जस्को जति नै सुने पनि
घुम्ने सदिच्छा मनमा लिए पनि ।
प्रवेश आज्ञा नभएर हङकङ –
बजारको गर्न मिलेन दर्शन ।।”
(पहिलो यात्रा परदेशको; श्लोक५५ पृष्ठ १२)

यात्रा गर्नु र कुनै ठाउँमा पुग्नु मात्र पर्याप्त हुँदैन; त्यहाँको अनुभव लिन पाउने अवसर पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने कुरा यस प्रसङ्गले सम्झाउँछ । यात्राको योजना, चाहना र वास्तविक परिस्थितिबीचको अन्तरलाई प्रा. मरहट्टाले कविताको विषय बनाएका छन् । नेपाली राहदानी बोकेर अन्तर्राष्ट्रिय यात्रा गर्ने धेरैले यस किसिमको अनुभव गरेको हुनुपर्छ ।
नेपाल र परदेशबीचको तुलना पनि सङ्ग्रहमा स्वाभाविक रूपमा आएको छ । विशेषतः सार्वजनिक यातायात, बस सञ्चालन र यात्राका क्रममा देखिएका व्यवहारलाई कविले सामाजिक तुलना र चिन्तनसँग जोडेका छन् । शिकागो भ्रमणको प्रसङ्गमा आएको निम्न कवितांशले यस पक्षलाई देखाउँछ :
“यात्री जहाँ चालक एक केवल
तथापि गुड्छन् बस छैन खलबल ।
नेपालमा यो चलनै कहाँ त छ
यो राज्य यति झन्झटबाट मुक्त छ ।।”
(शिकागो भ्रमण; श्लोक १५६; पृष्ठ ३३)
सामान्य देखिने दृश्यबाट पनि सामाजिक व्यवस्था र हाम्रो सार्वजनिक जीवनबारे प्रश्न उठाउन सक्नु यात्रावर्णनको महत्त्वपूर्ण पक्ष हो । यस्ता तुलनाले पाठकलाई आफूले देखेको र भोगेको समाजलाई अर्को समाजको अनुभवसँग दाँजेर हेर्ने अवसर दिन्छन् ।

संस्कृत साहित्यको प्रभाव र जीवनदर्शन
प्रा. मरहट्टाको संस्कृत साहित्यसँगको लामो सम्बन्धको प्रभाव पनि पुस्तकमा भेटिन्छ । संस्कृत साहित्यको अध्ययन र अध्यापनमा संलग्न व्यक्तिका रूपमा त्यो प्रभाव उनको लेखनीमा देखिनु स्वाभाविक हो । तर मलाई रमाइलो लागेको पक्ष के हो भने उनले साहित्यिक सन्दर्भलाई बोझिलो विद्वत्ताका रूपमा प्रस्तुत गरेका छैनन्; बरु सहज नेपाली भाषामार्फत पाठकसमक्ष ल्याएका छन् ।

उदाहरणका लागि, हितोपदेशीय भावसँग सम्बन्धित एउटा प्रसङ्गले मलाई पनि पहिले पढेका कुरा सम्झायो । “आहार, निद्रा, भय, मैथुनं च…” भन्ने प्रसिद्ध श्लोकको भावलाई आधार बनाएर मानिस र पशुबीचको भिन्नताबारे उनले गम्भीर प्रश्न उठाएका छन् ।
उनको अभिव्यक्ति यस्तो छ :
“खानु, सुत्नु, भय, त्रास, रतिराग सबै त यी
पशुमा पनि पाइन्छन् मान्छे भिन्न छ के गरी ?”
(सत्कर्म; श्लोक २; पृष्ठ ८०)
यसको मूल आशय मानिसको विशिष्टता केवल शारीरिक आवश्यकतामा नभई विवेक, आचरण र सत्कर्ममा खोजिनुपर्छ भन्ने हो भन्ने मलाई लाग्छ । यस्तो जीवनदर्शनले यात्राका अनुभवलाई तत्कालीन दृश्यको वर्णनभन्दा माथि उठाएर पाठकलाई आत्मचिन्तनतर्फ डोर्‍याउँछ ।
त्यस्तै, संयोग र वियोग जीवनका स्वाभाविक पक्ष हुन् भन्ने भाव पनि कवि मरहट्टाका कवितामा भेटिन्छ । कवि लेख्छन् :
“संसार संयोग वियोगको घर
बियोगमा चित्त दुखि रहन्न र ?”
(शिकागो भ्रमण; श्लोक १२१; पृष्ठ ४८)

यात्रामा देखिएका ठाउँ र मानिसको वर्णन गर्दागर्दै जीवनका गहिरा प्रश्नसम्म पुग्नु यो सङ्ग्रहको उल्लेखनीय पक्ष हो । यसले ‘परदेश र अनुभूति’ लाई यात्राका घटनाहरूको अभिलेखमा मात्र सीमित हुन दिएको छैन ।

नेपाली काव्यपरम्पराको झल्को
प्रा. मरहट्टाका केही पङ्क्ति पढ्दा आदिकवि भानुभक्त आचार्यको काव्यको पनि सम्झना आउँछ । यसले उनको लेखनीलाई नेपाली काव्यपरम्परासँग जोडेको अनुभूति हुन्छ ।
उदाहरणका लागि, कवि मरहट्टा लेख्छन् :
“अलकापुरका युवतीसरी
फुल औं जमरा सिरमा धरी ।
युवतीहरू गीत र नृत्यमा
कति रम्न पुगे नवरात्रमा। । “
(बन्दना सम्झना नेपालको; श्लोक ८; पृष्ठ ७८)
यस्ता पङ्क्तिमा नेपाली समाज, संस्कृति र परम्पराप्रतिको आत्मीयता प्रकट भएको छ । सरल लय र वर्णनात्मक शैलीले पाठकलाई परिचित नेपाली परिवेशसँग जोड्छ ।

व्यङ्ग्य : सामान्य घटनाभित्रको सामाजिक चित्र
‘परदेश र अनुभूति’ कृतिको अर्को आकर्षक पक्ष व्यङ्ग्य हो । हाम्रो व्यवहार र बोलीबीचको अन्तरलाई कृतिकारले रोचक ढङ्गले टिपेका छन् र व्यङ्ग्यको लेप लगाएर कविताको रुपमा पस्किएका छन् । यात्राका क्रममा विमानस्थलको आगमन कक्षमा देखिएको एउटा घटनाको वर्णनले यो कुरा स्पष्ट पार्छ । एक पात्रले आफ्नो सुटकेसमा ‘अवैध केही छैन’ भने पनि सुटकेस खोल्दा अमेरिकामा लैजान प्रतिबन्धित सुकुटी भेटिएको प्रसङ्गले हाम्रो सामाजिक प्रवृत्तिको एउटा पाटोलाई व्यङ्ग्यात्मक रूपमा उजागर गरेको छ ।
सम्बन्धित कवितांश यस्तो छ :
“ती निर्मला सोझी थिइन समातिइन
तुरुन्त झुटो व्यवहारमा परिन् ।
अवैध क्यै छैन यहाँ भनिन् तर
सुट्केस खोल्दा सुकुटी कुनातिर ।।”
(पहिलो यात्रा परदेशको ; श्लोक७४; पृष्ठ १५)
यस्ता प्रसङ्गमा कृतिकारले देखेको घटना सुनाउनुका साथै त्यसपछाडि रहेको व्यवहारलाई पनि देखाउन खोजेका छन् । यस किसिमको विशेष दृष्टिले सामान्य यात्राविवरणलाई सामाजिक व्यङ्ग्यको विषय बनाउँछ ।

अमेरिकामा बन्दुक राख्ने र बोक्ने सहजतासँग जोडिएको संस्कृतिप्रति गरिएको कृतिकारको व्यङ्ग्य पनि उल्लेखनीय छ :
“बन्दुक राख्ने विधि नै खुला हुँदा
सन्कीहरु बन्धन मुक्त बन्दिँदा
बन्दुकले मानिस झट्ट मारिने
भन्दा त आफ्नै घर रम्य मानिने।”
(स्वदेशमै देख्दछु किर्ति गौरव !; श्लोक १४; पृष्ठ ८४)
बन्दुकजन्य हिंसा अमेरिकाको गम्भीर सामाजिक समस्यामध्ये एक हो । कृतिकारले यस विषयलाई कवितामार्फत उठाउनु उनको सामाजिक सरोकारको परिचायक हो । व्यङ्ग्यात्मक अभिव्यक्तिमार्फत गम्भीर सामाजिक समस्यातर्फ पाठकको ध्यान आकर्षित गरेकोमा कृतिकारको प्रयास सराहनीय छ ।

साहित्यिक पुरस्कार तथा सम्मानको लेनदेन हुने गरेको चर्चाप्रति पनि कृतिकारले व्यङ्ग्य गरेका छन् । आफ्नै खर्चमा दोसल्ला ओढेर सम्मानित हुने र त्यसलाई विद्वत्ताको प्रमाणजस्तो प्रस्तुत गर्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै लेखक लेख्छन् :
“आफ्नै खर्च लगानीमा
दोसल्ला पनि लाउन ।
सङ्कोच किन गर्दैनन्
विज्ञ मानिसका मन ।।”
(भन लौ तिमी; श्लोक ७; पृष्ठ १०२)
यो प्रसङ्गले साहित्यिक क्षेत्रमा सम्मानको वास्तविक अर्थ, त्यसको विश्वसनीयता र सम्मान पाउने प्रक्रियाको औचित्यबारे सोच्न बाध्य बनाउँछ । व्यङ्ग्यको शक्ति यही हो—यसले हँसाउने वा चिमोट्ने मात्र होइन, पाठकलाई कुनै प्रवृत्तिको औचित्यमाथि प्रश्न गर्न पनि प्रेरित गर्छ ।
त्यस्तै, बालबालिका हुर्काउने क्रममा प्रविधिमा बढ्दो निर्भरताप्रति पनि उनले व्यङ्ग्य गरेका छन् :
“”हो पाठशालासाला नव” भाव यो लिँदै
आइप्याडमा सन्तति नै भुलाउँदै ।
आमाबुवा मित्र नयाँ बनाउँछन्
घरै बसेरै धरती चहार्दछन् ।।”
(कस्तो संसार ?; श्लोक ११; पृष्ठ १३४)
कृतिकार मरहट्टाको यो व्यङ्ग्य कविताले पछिल्लो समयमा झ्याँगिदै गएको आधुनिक अभिभावकत्व, बालबालिकाको जीवनशैली र प्रविधिको प्रयोगबारे प्रश्न उठाउँछ । यस्ता विषयमा व्यङ्ग्य प्रस्तुत गर्दा समस्याको चित्रणसँगै त्यसको सामाजिक परिणामतर्फ पनि सङ्केत गर्न सकियो भने कविताको प्रभाव अझ गहिरो हुन सक्छ ।

परदेशबाट स्वदेशतर्फ फर्किरहने दृष्टि
‘परदेश र अनुभूति’ पढ्दै जादा परदेशमा बस्ने नेपालीहरूलाई कृतिकारले दिएको सन्देश पनि अर्थपूर्ण लाग्यो मलाई । उदाहरणको रुपमा जापानमा बस्ने एक नेपालीलाई सम्बोधन गरेर लेखिएको कवितामा परदेशमा रहे पनि आफ्नो उद्देश्य, कर्म र स्वदेशसँगको सम्बन्ध नबिर्सन आग्रह गरिएको छ ।
कृतिकार लेख्छन् :
“हे दण्डपाणि परदेश तिरै भुलेर
हुन्थ्यो र बिर्सन कदापि मित्र ।”
(शुभकामना जापानवासी भाइलाई; श्लोक २८; पृष्ठ १०७)
कृतिकारको दृष्टिमा परदेश बस्ने ठाउँ मात्र होइन; आफ्नो देश, पहिचान र जिम्मेवारीलाई अझ गहिरोसँग सम्झने ठाउँ पनि हो भन्ने अनुभूति हुन्छ । विदेशमा रहँदा स्वदेशको सम्झना भावनात्मक विषय मात्र रहँदैन; त्यो भाषा, संस्कृति र सामाजिक उत्तरदायित्वसँग पनि जोडिन्छ ।

यात्रा–संस्मरण ‘परदेश र अनुभूति’ मा रहेका कवितामा मुलुकप्रतिको प्रेम ठाउँठाउँमा प्रकट भएको छ । विदेशिन बाध्य भएका नेपालीका पीडा, स्वदेशमा अवसरको कमी, युवाहरूको विदेश पलायन र बदलिँदो सामाजिक अवस्थाप्रतिको चिन्ता कविताका पङ्क्तिमा भेटिन्छ । यात्राको क्रममा नै सही, विदेशमा रहेर पनि कृतिकारको दृष्टि निरन्तर नेपालतिर फर्किरहन्छ । त्यसैले यात्रा विदेशको भए पनि कविताको ठूलो हिस्सा नेपालसँग संवाद गरिरहेको अनुभूति हुन्छ ।
विदेशिन बाध्य भएका नेपालीका पीडामध्ये मलाई विशेष छोएका केही पङ्क्ति यस्ता छन् :
“कस्ले इज्जत सम्झलान् घरघरै भोका र नाङ्गा भए
कस्को पेट भरिन्छ भाषण तथा नारा सुनौला दिए
जग्गा बिक्री गरेर वा ऋण लिई प्रदेशका बन्धन
कल्पेरै युवपङ्क्ति दिन्दिन सयौँ जहाज चढ्छन् किन ?”
(पीडा; श्लोक १; पृष्ठ १४१)
यी पङ्क्तिमा व्यक्तिगत पीडाभन्दा व्यापक सामाजिक प्रश्न उपस्थित छ—आफ्नै देशमा जीवन धान्न कठिन भएपछि मानिस किन घरजग्गा बेचेर वा ऋण लिएर विदेश जान बाध्य हुन्छन् भन्ने प्रश्न तथा भाषण र आश्वासनले मात्र नागरिकको पेट भरिँदैन भन्ने सन्देश यहाँ स्पष्ट सुनिन्छ ।

विप्रेषणमा निर्भर अर्थव्यवस्था र विदेशमा ज्यान गुमाएका नेपालीप्रति राज्यको उदासीनताबारे पनि कृतिकारले प्रश्न उठाएका छन् :
“जान्थेनन् यदि देशभित्र खरबौँ वर्षेनि विप्रेषण
गर्थे हुन् कसरी प्रशासकहरु अर्थव्यवस्थापन ।
फर्की वाकसमा विसर्जित हुँदा नेपालका घाटमा
चासो कत्ति दिँदैन शासन भने यो हैन के वञ्चना ?”
(वेदना र सन्देश; श्लोक १९; पृष्ठ १४७)
यी कवितांशले वैदेशिक रोजगारी, विप्रेषणमाथिको निर्भरता र विदेशमा ज्यान गुमाउने नेपालीप्रति राज्यको जिम्मेवारीबारे गम्भीर प्रश्न उठाउँछन् । यस अर्थमा कवि मरहट्टाका कविता निजी यात्राका विवरण मात्र होइनन्; ती समकालीन नेपाली समाजका समस्या र विरोधाभासप्रतिको प्रतिक्रिया पनि हुन् ।

भाषा, संस्कार र नेपालीपन
पीडा र विडम्बनाको चर्चासँगै प्रा. मरहट्टाका कवितामा नेपालीपनको प्रश्न पनि महत्त्वपूर्ण रूपमा आएको छ । विदेशमा रहेका नेपालीले भाषा, संस्कार, साहित्य र सामुदायिक गतिविधिमार्फत आफ्नो पहिचानलाई कसरी जीवन्त राख्न सक्छन् वा राखेका छन् भन्ने विचार उनका कवितामा भेटिन्छ । परदेशमा बस्दा आफ्नो माटोबाट टाढा हुन सकिएला, तर भाषा र संस्कारबाट टाढा हुनैपर्छ भन्ने छैन भन्ने सन्देश यसमा निहित छ ।
उदाहरणका लागि, कृतिकार लेख्छन् :
“श्रद्धा नमर्दा परदेश बासमा
आमाबुवाको पनि प्रेरणामा
वृक्षावलीका बिच गर्छ तर्पण
नेपालको सन्तति हुन्न त्यो किन ?”
(नेपाली किन हैन म?, खण्ड क; श्लोक १७: पृष्ठ १७४)

अर्को कवितांशमा नेपाली भाषा, संस्कार र साहित्यिक संस्थाको भूमिकालाई यसरी प्रस्तुत गरिएको छ :
“नेपालीपन हुन्छ जीवित सदा भाषा र संस्कारमा
गोष्ठी भाषण काव्यचिन्तन हुने संस्थाहरू छन् यहाँ ।
नेपालोत्सव साथ लेख रचना रच्नै झिकुन जाँगर
भन्ने सज्जन जो जतातिर रहुन् नेपालकै हुन्न र ?”
(नेपाली किन हैन म?, खण्ड ख; श्लोक २: पृष्ठ १७६)
यी पङ्क्तिले नेपालीपनलाई जन्मभूमिको भौगोलिक सीमाभित्र मात्र राख्दैनन्; भाषा, संस्कार, साहित्य र सामुदायिक अभ्याससँग जोड्छन् । साथै, प्रवासमा नेपाली पहिचान जोगाइराख्न साहित्यिक संस्था र सांस्कृतिक गतिविधिले खेल्न सक्ने भूमिकातर्फ पनि ध्यान खिच्छन् । यसका अतिरिक्त, लेखक मरहट्टाका कविताले पछिल्लो समय बहसमा आउने गरेको नेपालबाहिर रहेका नेपालीहरू नेपालभित्रका नेपालीसरह नै नेपाली हुन् कि होइनन् भन्ने प्रश्नको उत्तर पनि दिन्छन् ।

सरल भाषा र कवित्व
प्रा. मरहट्टाका कवितामा गम्भीर साहित्यिक सन्दर्भ, जीवनदर्शन र सामाजिक विषयवस्तु भए पनि भाषा अनावश्यक रूपमा जटिल छैन । संस्कृत साहित्यको गहिरो अध्ययन गरेका व्यक्तिको लेखनीमा कठिन शब्द र जटिल वाक्य संरचना आउन सक्ने सम्भावना भए पनि उनले धेरै ठाउँमा सहज अभिव्यक्तिलाई प्राथमिकता दिएका छन् । यसले आम पाठकलाई कविताको भावसँग जोडिन मद्दत गर्छ । उनको कवितामा रहेको सरलतालाई कृतिकार आफैँले पनि सहज ढङ्गले स्वीकार गरेका छन् ।
कृतिकार लेख्छन् :
“जता जता जान र हेर्न भ्याइयो
संक्षेपमा शाब्दिक चित्र कोरियो ।
सामान्य छन् वर्णन वस्तु चित्रण
सौन्दर्यको छैन यहाँ प्रदर्शन ।।”
(स्मरण अष्ट्रेलियाको; श्लोक ५५; पृष्ठ ७२)
“उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?” भन्ने कविशिरोमणि लेखनाथ पौड्यालको प्रसिद्ध कवितांशले व्यक्त गरेजस्तै कवि मरहट्टाको लेखनमा पनि सरलता र विनम्रताको झलक भेटिन्छ । त्यसका लागि उनको लेखनी स्तुत्य छ ।

यात्रा–संस्मरणकै हकमा पनि यात्रामा देखिएका दृश्यलाई शब्दचित्रमा उतार्नुका साथै ती दृश्यले मनमा पारेको प्रभाव, तिनले उठाएका प्रश्न र तिनबाट जन्मिएको मौलिक अनुभूतिलाई अझ सघन रूपमा प्रस्तुत गर्न सकिए कविताहरूको प्रभाव दीर्घकालीन बन्न सक्छ भन्ने मेरो ठम्याइ छ । यही दिशामा कृतिकारको लेखन अझ परिष्कृत र सशक्त हुँदै जाओस् भन्ने हार्दिक शुभकामना !

अर्को कुरा, यात्रा–संस्मरणभन्दा पृथक् यस सङ्ग्रहका अन्तिम दुई कविता विशेष प्रभावशाली छन् । ‘बास्छ भाले कुनामा’ र ‘भाले बास्छन् किन र कसरी चूप बस्छन् र पोथी’ शीर्षकका यी कविताले सङ्ग्रह यात्राका घटना र दृश्यको वर्णनमा मात्र सीमित छैन भन्ने स्पष्ट पार्छन् । यी दुई कविताले जीवनदर्शनको सुगन्ध पनि बोकेका छन् ।

सुधारका केही सम्भावना
कृतिका सबल पक्षहरू उल्लेख गरिसकेपछि पाठकका रूपमा केही सुधारका सम्भावनाबारे पनि भन्न चाहन्छु । यी सुझाव कृतिको महत्त्व घटाउन होइन, आगामी संस्करण अझ कसिलो र प्रभावकारी बनोस् भन्ने सदाशयबाट प्रस्तुत गरिएका हुन् ।

पहिलो, भाव र संरचनामा पुनरावृत्ति :
पृष्ठ १५९ को श्लोक ४२ र पृष्ठ १६२ को श्लोक ७ का कवितांशमा भावको पुनरावृत्ति भएको अनुभूति भयो । दुवैमा भूकम्पको पीडा र हिमपातको डर नहुने तथा कङ्गारुको देशमा घरहरू बार्दलीसहित सुन्दर देखिने भाव लगभग उस्तै रूपमा आएको छ ।
पहिलो कवितांश :
“भूकम्पका पीर न छन् यतातिर
नछन् कसैमा हिमपातको डर ।
कङ्गारुको देश जताततै घर
छन् बार्दलीमा सजीई मनोहर ।।”
(कुइन्सल्याण्ड यात्रा, श्लोक ४२, पृष्ठ १५९)
दोस्रो कवितांश :
“भूकम्पको छैन यहाँ कुनै पीर
छैनन् कसैमा हिमपातको डर ।
कङ्गारुको देश जताततै घर
छन् बार्दलीमा सजिएर सुन्दर ।।”
(वाट्सन वे र सिटी, श्लोक ७, पृष्ठ १६२)
दुवै कवितांशका आ–आफ्नै मिठास भए पनि भाव र संरचनाका दृष्टिले यी निकै निकट छन् । त्यसैले, यी दुई प्रसङ्गमध्ये कुनै एउटालाई यथावत् राखेर अर्कोलाई परिमार्जन गर्न सकिन्छ । अथवा, दुवैमा वर्णित दृश्यलाई फरक अनुभूति, दृष्टिकोण वा बिम्बका माध्यमबाट प्रस्तुत गर्न सकिन्छ । यसो गर्न सके सङ्ग्रहमा भावको पुनरावृत्ति कम हुनुका साथै आगामी संस्करण अझ कसिलो र प्रभावकारी बन्नेछ ।

दोस्रो, व्यक्तिगत अनुभूतिबाट व्यापक भावबोधतर्फ :
यस सङ्ग्रहका कविताहरू व्यक्तिगत अनुभूति र यात्राजन्य अनुभवहरूको सङ्गालो हुन् । तथापि, ती अनुभूतिलाई अझ व्यापक मानवीय संवेदना र सर्वकालीन भावबोधसँग जोड्न सकिने सम्भावना पनि देखिन्छ । यात्राका क्रममा देखिएका दृश्य र भोगिएका घटनालाई व्यक्तिगत अनुभवको सीमाभन्दा माथि उठाएर तिनले जन्माउने जीवनबोध, मानवीय सम्बन्ध, सामाजिक यथार्थ वा अस्तित्वसम्बन्धी प्रश्नहरूसँग जोड्न सकिए कविताहरूको प्रभाव अझ गहिरो र दीर्घकालीन बन्न सक्छ ।
यी सुझाव कृतिमा रहेका सम्भावनालाई अझ उजागर गर्ने उद्देश्यले प्रस्तुत गरिएका हुन् । यस्ता सूक्ष्म सम्पादनले कृतिकारको मौलिक अभिव्यक्तिलाई थप स्पष्ट, सघन र प्रभावकारी बनाउन मद्दत पुग्नेछ भन्ने मेरो विश्वास छ । साथै, यी टिप्पणी पाठकीय अनुभूति र दृष्टिकोणमा आधारित छन् । यिनको उद्देश्य कृतिको समग्र प्रभावलाई कम आँक्नु होइन; बरु, यसमा अन्तर्निहित साहित्यिक सम्भावनालाई आगामी संस्करणमा अझ सशक्त रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गर्नु हो ।

अन्त्यमा
‘परदेश र अनुभूति’ पढ्दै गर्दा कृतिकारका यात्रा मात्र पढिँदैनन्; कृतिकारले यात्रा गरेका ठाउँहरूबाट नेपाललाई हेर्ने दृष्टिकोण पनि पढिन्छ । विदेशका सडक, बस, विमानस्थल, मानिस र दृश्य हुँदै कृतिकार अन्ततः आफ्नै देश, भाषा, संस्कार, समाज र जीवनका प्रश्नतर्फ फर्किएको अनुभूति हुन्छ ।
त्यसैले, यस कृतिलाई केवल यात्रा–संस्मरणको साँघुरो घेरामा मात्र राख्न सकिँदैन । बरु, यो कृति यात्राबाट जन्मिएका अनुभूति, अनुभूतिबाट सिर्जित कविता र कवितामार्फत अभिव्यक्त नेपाली मनको संवेदनशील अभिव्यक्ति पनि हो । यसमा यात्राको आकर्षण छ, परदेशप्रतिको चुम्बकीयता छ, प्रवासको पीडा छ, सामाजिक विसङ्गतिमाथिको व्यङ्ग्य छ र स्वदेशप्रतिको आत्मीयता पनि छ ।

कवि मरहट्टाका आगामी लेखनमा यात्राका क्रममा देखिएका दृश्य र भोगिएका घटनासँगै तिनले जन्माउने व्यक्तिगत अनुभूति, मौलिक दृष्टिकोण र काव्यात्मक गहनता अझ परिष्कृत हुँदै जाऊन् । उनको कलमले अझ धेरै यात्रा गरोस्, अझ धेरै अनुभूति बटुलोस् र ती अनुभूतिहरू नेपाली साहित्यका पाठकमाझ निरन्तर पुगिरहून् भन्ने हार्दिक शुभकामना !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।