19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अनन्त ब्रह्माण्ड

कविता डा. गोपाल भण्डारी December 31, 2008, 4:53 am

धेरैलाई सरम लाग्छ–

आजभोलि नेपालबाट आएको भन्दा

अनपेक्षित फन्दामा फसिने डरले

अन्तर्राष्ट्रिय क्षेत्रमा जातै गए जस्तो लाग्छ,

नेपालीले नेपालीलाई

बिना कसुर हत्या गर्दै जाँदा

कैयौँ अरनिको र बुद्धहरु मर्छन्

अनि मर्छन् निर्दोष सीता र जनकहरु

मर्छन् कलमै नतिखारी भानुभक्तहरु

आँखै नउघारेका शिशु मोतीरामहरु,

यसरी मार्दै जाँदा–

कति सिरिजङ्गा र शङ्खधरहरु

अनि कति विद्यापति र देवकोटाहरु

असमयमै घाँटी निमोठिँदै परमधाम जाँदै छन्

ती बिचराहरु–

निहत्था बन्दै सहिद बन्दै छन्।

ए मुक्तिकामी मान्छेहरु!

एकपटक, मात्र एकपटक

यस धरतीको एक मुठी माटो लेऊ

र एकान्त मनले सोच त ...

फिरङ्गीहरुलाई

नेपाली भूभागमा टेक्नै नदिन

संवत् अठार सय एकहत्तरमा

नालापानीको युद्धमा

बलभद्र कुँवरले कसका लागि लडेका थिए!

सात सय वीराङ्गना र केटाकेटीहरु

किल्लाको पानी थुनिँदा पनि

कुन तागतले घुँएत्रो हानिरहेका थिए

जर्नेल जिलेस्पीलाई

ढङ्गामुढा गरी समाप्त पार्ने

ती सहयोद्धाहरुले

किन एकै ठाउँ डल्लो परी

आफ्नो प्यारो प्राण आहुति गरे?

के तिमीलाई थाहा छैन

जङ्गबहादुरले पनि

नयाँ मुलुक भनिने बाँके बर्दियालाई

बक्सिस लिएरै जोगाएका थिए,

आज हामीले भन्नै पर्छ–

एक्लो पृथ्वीनारायण केही होइनन्

एक्ला बहादुर शाह पनि केही होइनन्

यो मुलुक चार जात छत्तीसै वर्णको

साझा फूलवारी हुँदै हो

यो मुलुक प्रत्येक नेपालीको हुँदै हो,

भन्नै पर्छ–

यहाँ हाम्रा पुर्खाले रगत बगाएकै थिए

यहाँ प्रत्येक नेपालीका

बाबुबराजुले श्रम पोखाएकै थिए,

आज

हामी त्यो इतिहास बिर्संदै छौँ

आज हामी त्यो दस्तावेज डढाउँदै छौँ!

हामी मनुलाई गाली गर्दै छौँ

उनको सङ्कीर्णतालाई सराप्तै छौँ

ब्राह्मणवादको उछितो काढेर

दिनहुँ दारा किट्तै छौँ,

अर्कातिर तिनै मनुले बाँधेको

जातजातिको व्यवस्था ओढ्दै छौँ

मान्छे–मान्छेका बीच

नयाँ विभेदक रेखा कोर्दै छौँ,

हाम्रै पुर्खाहरुले

रगतले सिँचेको भूमिलाई

आ–आफैँमा चिरा पार्दै छौँ

जातजाति र भाषाभाषीका

चर्का नारा घन्काउँदै छौँ

उत्तेजनाले आवेष्टित हुँदै

वल्ला घर र पल्ला घरलाई

धृणाको आँखाले हेर्दै छौँ,

आफूलाई शक्तिशाली सम्झँदै–

निमुखाहरुप्रति जाइ लाग्दै छौँ,

एक्काइसौँ शताब्दीमा

दुवै पाइताला टेकेर पृथ्वीमा

हामीले खुलस्त भन्नै पर्छ–

यो जातजातिको विभेदक युग होइन

यो सङ्कीर्णतातर्फ फर्कने–

मध्ययुगीन समाज होइन!

हामी अग्रगति चाहन्छौँ

हामी प्रगतिमार्ग ल्याउँछौँ

हाम्रा सन्ततिलाई भन्छौँ–

'उठ, जाग र अगाडि बढ!'

(उत्तिष्ठत जाग्रत प्राप्य वरान्निवोधत!)

यो राष्ट्र तिम्रै हो!

यो विश्व हाम्रै हो!

यो ब्रह्माण्ड साझा हो

यो अन्तरिक्ष हाम्रै हो!

यो मन नखुम्च्याऊ

यो तन नबङ्ग्याऊ

यो धरती फराकिलो छ

एउटै चोक्टामा नअलमलिऊँ!

यो ब्रह्माण्ड अनन्त छ

एउटै कुनामा मात्र नथन्किऊँ!

'असतो मा सद्गमय!'

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।