त्यस मानिसकी बहिनी भर्खरै पैतृक सम्पत्तिमा आफ्नो हिस्सा माग्न आएकी थिई र दुई–चारवटा तिखा कुरा सुनाएर गएकी थिई। उसले त त्यसै पनि बहिनीलाई उसको हिस्सा दिनेवाला नै थियो, तर उसलाई बहिनीले आफ्नो हिस्सा मागेको कुरा मन परेको थिएन। आफ्नो मुड ठीक पार्न उसलाई चिया पिउनैपर्ने भयो। उसले आफ्नी परित्यक्ता कामदार महिलालाई आवाज लगायो।
त्यसो त ऊ साना मानिसहरूसँग कुरा गर्दैनथ्यो, तैपनि कामदार महिला आएपछि उसले त्यसै सोधिहाल्यो, “तिम्रो पतिले तिमीलाई गुजाराभत्ता दिइरहेको छ कि छैन? तिम्रो बुबाको सम्पत्तिमा पनि तिम्रो हक लाग्छ नि! तिमीले आफ्नो दाइसँग पनि हिस्सा मागिरहेकी छ्यौ कि छैनौ?”
“साहेब, मेरा दुईवटा बच्चा भए, तर दुवै मरे। त्यसपछि मेरो लोग्नेले ‘तेरा बच्चाहरू त बाँच्दै बाँच्दैनन्, अब मेरो वंश कसरी चल्छ?’ भन्दै अर्की बिहे गर्यो। अर्की स्वास्नीबाट उसका दुईवटा बच्चा छन्। दुवै जीवित छन्। म त यति कुरामै खुसी छु कि मेरो लोग्नेको वंश चलाउने सन्तानहरू जीवित छन्। रह्यो दाइसँग हिस्सा माग्ने कुरा, मेरो दाइको पनि एउटा छोरा छ, जसले मेरो बुबाको वंशलाई अगाडि बढाउनेछ। म आफ्नो दाइलाई पनि खुसी देख्न चाहन्छु। साहेब, नारी त वंशलाई जोगाइराख्ने प्राणी नै हो नि!” कामदार महिलाले नारीको व्याख्या गर्दै भनी।
रायपुर, भारत