१. कृतिकार लीलाम्बर ढुङ्गाना र उनको साहित्यिक धरातलः
स्याङ्जाको भीरकोट नगरपालिका– ४, छाङछाङ्दीका लीलाम्बर ढुङ्गाना (वि.सं. २०२४) स्याङ्जाली परिवेशमा कविका रूपमा परिचित छन् । यसपूर्व ढुङ्गानाका ‘भावमञ्जरी’ (कविता सङ्ग्रह– २०६०), ‘महामिलन’ (कविता, गीत र हाइकु सङ्ग्रह– २०६५) लगायतका कृतिहरू प्रकाशित छन् भने यसपटक उनी ‘स्मृतिका पाना र साहित्यका आयाम’ (संस्मरण, निबन्ध र समीक्षाहरूको सङ्ग्रह– २०८३) लिएर हामी पाठकहरूका सामु उपस्थित भएका छन् । सानै उमेरदेखि सामाजिक विषमता, आर्थिक जर्जरता र अमानवी दमनको चक्रव्युहभित्र पिल्सिएर पनि आफ्नो कलमलाई कहिल्यै कुण्ठित हुन नदिने उनको साहित्यिक सङ्कल्प प्रशंसनीय रहेको छ । बाल्यकालमा कापी, कलम र झोला किन्ने पैसा समेत नहुँदा अमला र खल्लुका दाना साथीहरूलाई दिएर सट्टामा कलमको ठुटो र कापीका पाना जुटाउँदै अक्षरारम्भ गरेका ढुङ्गानाको साहित्यिक यात्रा आफ्नै सङ्घर्षको बलियो जगमा ठडिएको छ । ढुङ्गानाको लगभग पचासको दशकदेखिको साहित्यिक यात्रा २०८३ सालसम्म आइपुग्दा पछिल्लो चरणमा अझ परिपक्व, गम्भीर र समाजसापेक्ष बनेको छ ।
तीन दशकभन्दा बढी समय साहित्यिक साधनामा क्रियाशील स्रष्टा लीलाम्बर ढुङ्गानाको यस कृतिभित्रका रचनाहरू अध्ययन गर्दा उनलाई प्रगतिशील, यथार्थवादी र जनमुखी चेतनाका निबन्धकारका रूपमा चिन्न सकिन्छ । साहित्य मानव जीवनको प्रतिबिम्बन हो जहाँ जीवनकै सौन्दर्य, ऐतिहासिक सत्य, स्मृतिका तरङ्ग र चेतनाका आयामिक अभिव्यक्तिहरू सङ्गृहीत हुन्छन् । कुनै पनि युगको वास्तविकतालाई जीवन्त रूपमा बुझ्न तथा महसुस गर्न त्यस युगका लेखकहरूको संस्मरणात्मक टिपोट एवम् स्रष्टाकेन्द्रित समालोचकीय दृष्टिकोण प्रभावकारी माध्यम बन्दछन् । संस्मरणात्मक निबन्धको क्षितिजमा उभिएर केही समीक्षात्मक चेतका साथ ढुङ्गानाले यस कृतिमा आफ्नो जीवनको भोगाइ र समाजको यथार्थलाई पाठकका सामु प्रस्तुत गरेका छन् । प्रस्तुत ‘स्मृतिका पाना र साहित्यका आयाम’ नामक कृति संस्मरणात्मक लेख, वैचारिक निबन्ध र केही ऐतिहासिक साहित्यकारहरूको व्यक्तित्व तथा कृतित्वको उद्घाटन गर्ने एउटा महत्वपूर्ण दस्तावेजका रूपमा हामी पाठकहरूका सामु आएको छ । ढुङ्गानाको स्मृतिको गहिराइबाट निस्किएका भावहरूलाई बौद्धिक अन्तर्घुलनका साथ तयार गरिएको यस कृतिले नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, समसामयिक वर्तमान, मोफसलको साहित्यिक सङ्घर्षलाई उजिल्याउनाका साथै समाजका विकृत पक्षहरूमाथि व्यङ्ग्य गरेको छ । उनको लेखनमा प्रगतिशील चिन्तन मुखरित छ जसले हाम्रै समाज र जनजीविकाका यावत् पक्षहरूलाई उजागर गरेको छ ।
२. लेख–निबन्ध तथा संस्मरणात्मक खण्डमा विचार पक्षः
प्रस्तुत कृतिको पहिलो खण्ड अर्थात् खण्ड ‘क’ मा विभिन्न पत्रपत्रिकाहरूमा पूर्वप्रकाशित एघारवटा संस्मरणात्मक लेख तथा निबन्धहरू सङ्कलित छन् । यी लेख तथा निबन्धहरूले हाम्रो नेपाली समाजका विविध विषयगत आयामसँगै समसामयिक बेथितिहरूमाथि व्यङ्ग्य प्रहार गरेका छन् । यस खण्डको पहिलो निबन्ध ‘बकपत्र’ ले सामाजिक र शैक्षिक क्षेत्रमा व्याप्त चरम अराजकता र राजनीतिक हस्तक्षेपमाथि तीखो प्रहार गरेको छ । विद्यालयमा राष्ट्रिय उद्देश्य र भावी सन्ततिको उज्ज्वल भविष्य निर्माण गर्नुको साटो दलीय राजनीति घुसारी शिक्षकहरूले ‘लाल सलाम’ र ‘जय नेपाल’ को नारा सिकाएको दृश्यप्रति लेखकले आक्रोश पोखेका छन् । लेखक ढुङ्गानाका अनुसार गुरुको कुर्सीमा छेपाराले घोचो समाए झैँ टाँसिनु मात्र जागिर होइन, विद्यालयमा अध्यापन गर्ने गुरुको जागिर भनेको त ती अभिभावकहरूको रगत र पसिनाको सम्मान गर्नु पनि हो जसले विद्यालय निर्माणका लागि ईंटाढुङ्गाहरू बोकेका थिए ।
‘यौटा पागल अर्को बन्द’ निबन्धमा सडकमा कमिला झैँ गुड्ने सवारी साधनहरू बन्द हुँदा र मानिसहरू घरभित्र थुनिँदाको पीडालाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ । नेपाल बन्दको चक्काजाममा निबन्धकारकै घरपरिवेशको आँधीखोलाको किनारैकिनार पोखरादेखि सुनौली जाने मार्ग सिद्धार्थ राजमार्ग जब शून्य देखिन्छ तब लेखकले प्रकृतिको गतिशीलतालाई देखाउँदै प्रश्न गरेका छन्– ‘मानिसका गतिविधि बन्द भए पनि आँधीखोला सुसाउन बन्द हुँदैन, चराचरुङ्गीको गीत बन्द हुँदैन, चूल्हो र कौवाको काँ–काँ बन्द हुँदैन भने यो मानवनिर्मित बन्दको के अर्थ ?’ यो निबन्ध सामाजिक चेतनाको सुन्दर नमुनाको रूपमा आएको छ । ‘हाजिरी रजिष्टर’ निबन्धमा लेखकले निर्जीव हाजिरी रजिष्टरलाई पात्रीकरण गरी त्यसको आत्मकथा बताएका छन् । निबन्धमा हाजिरी रजिष्टरले भनेको छ— ‘मेरा निर्जीव पानाहरूमा सजीव राष्ट्र सेवकहरूको हस्ताक्षर परेको हुन्छ ।’ कार्यालय समयमा दश बजे उपस्थित भई काममा लाग्ने कर्मचारी र हस्ताक्षर गरेर भट्टीमा औँला पड्काएर गफ चुट्ने कर्मचारीको व्यवहारप्रति रजिष्टर ठुस्सिएको छ । यस निबन्धले हाम्रो देशको प्रशासनिक क्षेत्रभित्रको बाहिर बाक्लो देखिने तर भित्र खोक्रो भएको प्रवृत्तिलाई उजागर गरेको छ ।
‘छाङछाङ्दी कि छायाँक्षेत्र ?’ स्याङ्जाको ऐतिहासिक र पवित्र धार्मिक स्थल छाङछाङ्दीको ऐतिहासिक एवम् मौलिक पक्षलाई प्रकाशमा ल्याउने उद्देश्यले लेखिएको निबन्ध हो । निबन्धमा छाङछाङ्दीको मौलिकतामाथि प्रहार गरी त्यसलाई ‘छायाँक्षेत्र’ नामकरण गरिएका प्रति लेखकको विमति छ । प्राचीन मगरहरूको ओठबाट जन्मिएको तोते बोली जस्तो मिठो ‘छाङछाङ्दी’ नामलाई आधुनिक पण्डितहरूले वि.सं. २०४९ पछि स्वस्थानी व्रत कथाको एउटा शब्द टिपेर जबरजस्ती परिवर्तन गर्न खोज्नु सूर्यलाई हत्केलाले छेक्न खोज्नु जस्तै हो भन्दै यसको मौलिकता रक्षाका पक्षमा लेखकले दह्रोसँग तर्क पेस गरेका छन् । ‘फोस्रो प्रेमपिण्ड’ निबन्धमा फूल र भमराको बिम्ब प्रयोग गरी मानव जीवनमा बढ्दै गएको स्वार्थी र घाती प्रेमलीलालाई चिरफार गरिएको छ । निबन्धकारका अनुसार शरीर भौतिक र क्षणिक हुन्छ तर भावना अभौतिक र अपार हुन्छ । स्वार्थी र कामवासनामा आधारित फोस्रो प्रेमले अन्ततः जीवनको विनाश निम्त्याउँछ भन्ने चेत यस निबन्धमा छ ।
‘खुल्ला प्रतियोगिताको आयोजना र मूल्याङ्कन’ विधागत विज्ञता बिना नै न्यायाधीशको पगरी गुथाउने आयोजक र सस्तो लोकप्रियता खोज्ने साहित्यिक झुण्डहरूमाथि तीव्र व्यङ्ग्य गरिएको निबन्ध हो । निबन्धकारका अनुसार विशेष साहित्यिक कार्यक्रमहरूमा विधागत विशेषज्ञ तय नगरी कार्यक्रम गर्नु साहित्यकै उपहास गर्नु हो । ‘साहित्य र राजनीतिको अन्तरसम्बन्ध’ निबन्धमा राजनीति बिना राज्य चल्दैन र साहित्य बिना समाज चल्दैन भनिएको छ । जब निरङ्कुश राजनीतिले साहित्यलाई सङ्कुचित गुटको घेराभित्र कैद गर्न खोज्छ, तब साहित्यको आत्मा मर्छ । लेखक ढुङ्गानाले दलीय राजनीतिभन्दा माथि उठेर यथार्थवादलाई केन्द्रविन्दु बनाई प्रगतिशीलता अँगाल्नुपर्दछ भनेका छन् । यस सन्दर्भमा हामी लेखकहरू सबै के कुरामा स्पष्ट हुनु आवश्यक छ भने लेखकहरू कुनै न कुनै विचारबाट प्रभावित भएकै हुन्छन्; निर्देशित भएकै हुन्छन्– कुनै लेखक यथास्थितिवादी हुन्छन् भने कुनै निराशावादी हुन्छन् । कुनै लेखक प्रगतिशील हुन्छन् भने कुनै लेखक अप्रगतिशील हुन्छन् । अप्रगतिशील लेखकहरू भ्रमको खेती गर्छन्; तिनीहरू जनजीविकाको सरोकारबाट टाढिएका हुन्छन् । समाजलाई पश्चगमनतर्फ धकेल्न उद्यत यस किसिमका लेखकहरू सामन्ती तथा पुँजीवादी दलहरूको विचारसँग सम्बन्धित भएर लेख्छन् भने समाजको प्रगतिशील रुपान्तरण चाहने लेखकहरूले माक्र्सवादी विचारको प्रभावमा लेखेका हुन्छन् । समाजको रुपान्तरण नै प्रगतिशील लेखकहरूको लेखनको मूल उद्देश्य रहेको हुन्छ ।
‘रविसँगै कवि मन’ निबन्धमा गुरुभन्दा रवि र रविभन्दा सच्चा कवि झन् टाढा पुग्न सक्छन् भन्ने विचार छ । रवि नपुगेको ओसिला र चेपिला स्थानमा च्यापिएका दुःखका कथाहरूलाई कविले कवितांशमा दुरुस्त उतार्छन् र दुःखीका पीडाहरूमा मलम लगाउने प्रयत्न गर्छन् । कवि र रविको यही तादात्म्यलाई केही ठट्यौली र रोचक संवादका मार्फत प्रस्तुत गरिएको छ । ‘आरक्षणको आँखाभित्र गैर–दलितको नजर’ शीर्षकको लेखमा देशमा विद्यमान आरक्षण र समावेशी नीतिको मिहिन समीक्षा गर्दै लेखकले असक्षम र अव्यवस्थित आरक्षणले कतै दक्ष जनशक्तिलाई अल्पमतमा पार्ने पो हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । लेखकको धारणा आरक्षण जाति वा क्षेत्रका आधारमा मात्र छुट्टाछुट्टै गराउनुभन्दा भौगोलिक, आर्थिक र शैक्षिक रूपमा पिछडिएको वर्गको बौद्धिक स्तर उकासेर सामूहिक खुल्ला प्रतिस्पर्धालाई सक्षम बनाउनुपर्ने रहेको छ ।
‘बाल विकासका पाटा र बाल अधिकारको सन्दर्भ’ लेखमा गर्भावस्थादेखि सोह्र वर्षसम्मका बालबालिकाको व्यक्तित्व विकासमा घर–परिवार, समाज, राष्ट्र र विश्व समुदायको दायित्वलाई चाणक्य नीति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महासन्धिको आलोकमा व्याख्या तथा विश्लेषण गरिएको छ । यस खण्डको अन्तिम निबन्ध ‘कर्म ‘क’ देखि ज्ञानी ‘ज्ञ’ सम्म पढ’ मा बालमस्तिष्कमा पुरानो कपुरी ‘क’ को सट्टा ‘कर्म’ को ‘क’, खरी ‘ख’ को सट्टा अडिग खम्बा ‘ख’, गाईगोडे ‘ग’ को सट्टा गगन ‘ग’ र थोप्ली ‘ङ’ को सट्टा अजङ ‘ङ’ सिकाउनुपर्ने नवीन र क्रान्तिकारी अवधारणा लेखकबाट प्रस्तुत भएको छ जसले बालबालिकामा सकारात्मक चेतना र जीवनोपयोगी मूल्य स्थापना गरोस् ।
३. साहित्यिक व्यक्तित्व, सिर्जना र साहित्यकारहरूको मूल्यबोधः
पुस्तकको दोस्रो खण्डमा लेखक लीलाम्बर ढुङ्गानाले नेपाली वाङ्मयका शिखर व्यक्तित्वहरूका साथै मोफसलमा रहेर निरन्तर साधना गर्ने विशिष्ट स्रष्टाहरूको निष्पक्ष र गहन समीक्षा प्रस्तुत गरेका छन् । यस खण्डको पहिलो समीक्षा ‘पारिजातको जीवनभित्र छिर्दा’ रहेको छ । साहित्यकार पारिजातको सङ्घर्षमय जीवनयात्रालाई यस निबन्धमा प्रस्तुत गरिएको छ । देशकै गौरवशाली प्रतिभा भएर पनि नेपाली नागरिकता प्राप्त गर्न नसक्दा उनमा उब्जिएको विद्रोहको चेत, शारीरिक अशक्तता र कलिलो उमेरको असफल प्रेमले निम्त्याएको नैराश्य कसरी ‘शिरीषको फूल’ उपन्यासका रूपमा प्रकट भयो भन्ने कुरालाई लेखकले केलाएका छन् । यसमा पारिजातका सिर्जनाहरूको चिनारीका साथ उनको साहित्यिक व्यक्तित्वमाथि प्रकाश पारिएको छ ।
‘स्मरणका पाइलामा देवीप्रसाद वनवासी’ शीर्षकमा वि.सं. १९९७ मा जन्मेका देवीप्रसाद वनवासी स्याङ्जाली साहित्यिक आकाशका उज्ज्वल नक्षत्र हुन् भन्दै उनले नेपाली साहित्यको विकासमा पु¥याएको योगदानको चर्चा गरिएको छ । मोफसलमा रहेर आजीवन साहित्य सिर्जनामा समर्पित वनवासीका कृतिहरू सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले महत्वपूर्ण छन् भन्ने ढुङ्गानाको ठहर छ । ‘सपनाभित्र विपना’ शीर्षकको लेखमा स्याङ्जा, वालिङकै लेखनाथ काफ्लेद्वारा रचित सामाजिक उपन्यास ‘सपना’ को समीक्षा गर्दै ढुङ्गानाले काफ्लेको यस उपन्यासले बाढी–पहिराको कारुणिक यथार्थ र ग्रामीण विपन्नतालाई सुन्दर ढङ्गले चित्रण गरेको उल्लेख गरेका छन् । उपन्यासका पात्र लालबहादुर, बलबहादुर र सपनाका कमजोरी तथा सामाजिक मान्यताहरूलाई ढुङ्गानाले समालोचकीय कसीमा उतारेका छन् ।
‘देवकोटा महाकवि कि दार्शनिक ?’ शीर्षकको लेखमा देवकोटा दश वर्षको उमेरमा अर्थात् बाल्यकालमै दार्शनिक चिन्तनबाट प्रभावित थिए भन्ने तथ्यलाई पुष्टि गर्न लेखक ढुङ्गानाले देवकोटाकै ‘घनघोर दुःख सागर संसार जान भाइ’ जस्ता पङ्क्तिहरूलाई साक्ष्यका रूपमा प्रस्तुत गरका छन् । विविध साक्ष्यहरूको सहयोगमा उनले महाकवि देवकोटाको दार्शनिक चेत र मानवतावादी चिन्तनको विश्लेषण गरेका छन् । लेखक ढुङ्गानाका अनुसार देवकोटा महामानव र युगपुरुष हुन् भन्ने कुरा उनको तीन दर्जनभन्दा बढी प्रकाशित कृतिहरूले नै सावित गरेका छन् । अर्को समीक्षात्मक लेख ‘सम्झनाको चौघेरामा केदार शर्मा ढकाल’ शीर्षकमा वि.सं. १९८६ मा जन्मेका स्याङ्जाका अग्रज स्रष्टा केदार गुरुको जीवनी र कृतित्वको मूल्याङ्कन गरिएको छ । यसमा केदार शर्मा ढकालको निबन्ध सङ्ग्रह ‘केही रचना केही सम्झना’ को ऐतिहासिकता र निजात्मक सौन्दर्यमाथि प्रकाश पार्ने काम गरिएको छ ।
‘आदिकवि भानुभक्त र रामायणभित्रको लोकभाषा’ शीर्षकको लेखमा भानुभक्त आचार्यले ओझेलमा परेको नेपाली भाषालाई काव्यात्मक रूपमा उतारी भाषाको एकीकरण गरे भन्ने विषय छ । रामायणका बालकाण्डदेखि उत्तरकाण्डसम्मका पङ्क्तिहरू आजको भ्रष्ट राजनीतिक नेतृत्व र स्खलित सामाजिक मर्यादाका सन्दर्भमा कतिसम्म सान्दर्भिक छन् भनी लेखक ढुङ्गानाले तुलना गरेका छन् । ‘पेनाल महाकाव्यभित्र दृष्टिको नाल सोझ्याउँदा’ शीर्षकको लेखमा स्याङ्जाकै ज्याग्दीखोलाका महाकाव्यकार देवेन्द्र लम्सालको नवप्रवर्तनकारी गद्य महाकाव्य ‘पेनाल’ (२०७४) को शल्यक्रिया गरिएको छ । मोफसलमै रहेर साधनामा तल्लीन लम्सालको साहित्यिक योगदानको निरूपण गर्दै लेखक ढुङ्गानाले ‘पेनाल’ वर्तमान नेपालीहरूकै जनजिन्दगानीको विशाल चित्र उतारिएको महाकाव्यका रूपमा आएको उल्लेख गरेका छन् । ‘नेपाल’ शब्दलाई बिगारेर बनाइएको पाल्सी भाषाको ‘पेनाल’ शब्दले नेपालकै वर्तमानको दुर्दशालाई सङ्केत गरेको छ, जहाँ सत्ता सञ्चालकहरूको कुकर्मका कारण जनता प्रताडित छन् । महाकाव्यकारद्वारा थिर्पिवी (पृथ्वी), नामिस (मानिस), जूँपितपी (पूँजीपति) जस्ता विकृत शब्द निर्माण गरेर दादावादी शैलीमा समाजको वर्गद्वन्द्व र नारी उत्पीडनलाई सजीव रूपमा प्रस्तुत गरिएको छ भन्ने यथार्थलाई लेखक ढुङ्गानाले यस लेखमा प्रस्तुत गरेका छन् ।
‘रजस्थलका अङ्क र साहित्यकार विश्वप्रेम अधिकारी’ शीर्षकको लेखमा स्याङ्जाबाट प्रकाशन हुँदै आएको ‘रजस्थल’ त्रैमासिक पत्रिका र यसका मूल स्तम्भ विश्वप्रेम अधिकारी नेपाली लोकसाहित्यका अथक संरक्षक हुन् भन्दै उनको ‘आँधीखोले लोकसंस्कृति र लोकगीत’ नामक लोकसाहित्यसँग सम्बन्धित कृतिले हराउन लागेको हाम्रो मौलिक संस्कृति जोगाउने प्रयत्न गरेको छ भनिएको छ । यस लेखमा ‘रजस्थल’का देवकोटा, भीमनिधि तिवारी, भानु, वी.पी. र अन्तर्वार्ता विशेषाङ्कहरू नेपाली साहित्यिक इतिहासका अमूल्य निधि हुन् भन्ने उल्लेख छ । अर्को लेख ‘मेरा नजरमा स्व. नारायणप्रसाद ज्ञवाली’ मा २०१५ सालमा स्याङ्जाकै गल्याङमा जन्मेका र फोक्साको क्यान्सरका कारण २०८० सालमा यस धर्तीबाट बिदा लिएका कवि ज्ञवाली शालीन र नम्र व्यक्तित्वका धनी थिए भन्दै उनको शास्त्रीय छन्दका कविताहरूको सङ्ग्रह ‘कौमुदी’ (२०७८) मा शार्दूलविक्रीडितलगायत सोह्रवटा छन्दका सुन्दर कविताहरू सङ्कलित छन् भन्ने जानकारी गराइएको छ ।
‘कुवेरनाथ ढुङ्गानाको अप्रकाशित सिर्जनाभित्र छिर्दा’ लेखमा २००७ सालमा जन्मेर २०७८ सालमा भौतिक शरीर त्याग गरेका आफ्नै आदरणीय दाजु कुवेरनाथ ढुङ्गानाका अप्रकाशित गीति रचना ‘गृहस्थी जीवनका गीतहरू’ भित्रका ‘नेताका कुरा’ र ‘खोलाको डर’ जस्ता उत्कृष्ट गीतलाई लेखकले समेटेर उनको लोकभाका र राष्ट्रप्रेमप्रति आदरभाव व्यक्त गरेका छन् । ‘कवि भेषजराज शर्माको जीवनी र साहित्यिक यात्रा’ लेखमा भेषजराज शर्मा (वि.सं. १९८४–२०५९) माक्र्सवादी विचारबाट प्रभावित प्रगतिशील लेखक थिए भन्ने उल्लेख छ । शर्माको ‘आँधीखोलाको बगर’ (खण्डकाव्य) र ‘नारदमुनिको वालिङ यात्रा’ (निबन्ध सङ्ग्रह) जस्ता कृतिहरूले उनलाई नेपाली साहित्यमा युगबोधको चेत दिने उत्कृष्ट स्रष्टाका रूपमा स्थापित गराएका छन् भन्दै शर्माको योगदानको चर्चा गरिएको छ ।
४. विविध र आत्मपरक सौन्दर्यः
पुस्तकको अन्तिम खण्डमा लेखकको अन्तर्मनको गहिराइ, उनको आफ्नै बाल्यकालको सङ्घर्ष र सामाजिक भोगाइ व्यक्त भएको छ । पहिलो ‘साहित्यिक अन्तर्वार्ता’ शीर्षकमा साहित्यिक पत्रकार चेतनाथ धमलाद्वारा २०६५ सालमा लिइएको अन्तर्वार्तामा लेखकको आर्थिक विषमता, अर्धसामन्ती समाजको चेपाइ र काठमाडौँकेन्द्रित साहित्यिक प्रवृत्तिमाथि खरो असन्तुष्टि प्रकट छ । दोस्रो ‘शताब्दी पुरुषको सङ्घारमा सामाजिक व्यक्तित्व डण्डपानी न्यौपाने’ शीर्षकको जीवनीमूलक लेखमा रिमुवा, गुल्मीका समाजसेवी डण्डपानी न्यौपाने (वि.सं. १९९४) को जीवन र उनका तपस्वी पिता उमकान्त न्यौपानेको सादा जीवनको गाथाले आजको तडकभडकमय समाजलाई मितव्ययिताको उत्कृष्ट पाठ सिकाएको छ । तेस्रो ‘आफैलाई हेर्दा’ शीर्षकमा वि.सं. २०२४ कात्तिक २ मा जन्मेका लेखक स्वयम् लीलाम्बर ढुङ्गानाले आफ्नो ५८ औँ वर्ष प्रवेशको घडीमा उभिएर विगतका २१,१७० दिनहरूको जोडघटाउ गर्दै जीवन र जगतलाई आत्मपरक रूपमा नियालेका छन् ।
५. भाषाशैली तथा शिल्प–संरचनागत वैशिष्ट्यः
यो पुस्तक पढिसकेपछि स्पष्ट हुन्छ– लीलाम्बर ढुङ्गानाको भाषाशैली अत्यन्त सरस, सरल एवम् बिम्बात्मक र प्रवाहमयी छ । उनी छोटा र लामा वाक्यहरूको कुशल संयोजन गर्नमा सिपालु देखिन्छन् । पुस्तकमा सङ्कलित निबन्धहरूमा ग्रामीण परिवेशका रैथाने बिम्बहरूको प्रयोग पाइन्छ । निबन्धमा ‘छेपाराले घोचो समाए झैँ’, ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’, ‘तासको पाना पल्टाइन्छ’ आदि उखान एवम् टुक्काहरूको सुन्दर प्रयोग पाइन्छ । उनका गद्य शैलीका निबन्धमा पनि आन्तरिक लय र काव्यात्मकता सिर्जना भएको छ; जसले गर्दा पाठकहरू निबन्ध पढ्दै जाँदा कतै पनि अत्तालिँदैनन् र कतै रोकिँदैनन् पनि । व्यङ्ग्यको पुटमा निबन्धहरू आकर्षक र रोचक बनेका छन् । ढुङ्गानाको समालोचकीय पद्धति शास्त्रीय मात्र नभएर मानवतावादी र प्रगतिशील छ, जसले स्रष्टाको कमीकमजोरीलाई ढाकछोप नगरी निष्पक्षताका साथ उजागर गरेको छ ।
६. निष्कर्षः
अन्त्यमा, लीलाम्बर ढुङ्गानाजीको ‘स्मृतिका पाना र साहित्यका आयाम’ नेपाली संस्मरणात्मक निबन्ध र समीक्षाका क्षेत्रमा एउटा उपयोगी पुस्तक हो । यो पुस्तक स्याङ्जा जिल्लाको मात्र नभएर सिङ्गो देशकै साहित्यिक, सामाजिक र वैचारिक प्रतिनिधित्व गर्ने एउटा महत्वपूर्ण प्राप्ति हो । पुस्तकमा सङ्कलित निबन्धहरूले पाठकलाई केवल आनन्द मात्र दिएका छैनन्, समाजका विसङ्गति तथा विकृतिहरूका विरुद्ध उभिन वैचारिक ऊर्जा र चेतना समेत प्रदान गरेका छन् ।
ज्याग्दीखोला, स्याङ्जा