साहित्यिक स्रष्टा प्रा.डा. यादवप्रकाश लामिछानेबाट लेखिएका नियात्रा, निबन्ध, समालोचना र कथाहरू विभिन्न साहित्यिक पत्रिकाहरूमा प्रकाशित हुँदै आएका छन् । तिनीहरूको रुचिपूर्वक अध्ययन गर्ने सुअवसर मिले पनि स्वयम् स्रष्टासँग भने साक्षात्कार हुने अवसर भने जुरेको थिएन । साहित्यिक कार्यव्रmमहरूमा भाग लिने सिलसिलामा हाम्रो भेटघाट मात्र भएन आ–आफ्ना कृतिहरू साटासात गरेर आत्मीयता गाँस्ने सौभाग्य मिल्यो । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति भई आफ्नो प्राज्ञिक तथा बौद्धिक प्राध्यापकीय सेवाबाट सेवानिवृत्त भइसकेका विद्वान् मित्रको परिचय साहित्यिक जगतमा चिरपरिचित भइसकेको छ । उहाँले २०८० सालमा प्रकाशित गर्नुभएको ‘संयोग’ नामक कथासङ्ग्रह मेरा हातमा परेको छ । यही कृतिमा सङ्ग्रहित १२ वटा कथाहरूमा केन्द्रित भई कथाका विशिष्ट पक्षहरूको विशेषताहरू केलाउन पाउँदा म आफैँ हर्षित भएको छु ।
कथाकारका दुईवटा कथाबाहेक अरू १० वटा पत्रिकाहरूमा प्रकाशित भएका देखिन्छन् । तिनीहरूको प्रकाशित मिति हेर्दा २०७६ देखि २०७८ सम्म तीन वर्षको समयभित्र लेखिएका भए तापनि कथाको कथानकको अवधि दशकौँ पुराना सार्वकालिक छन् । पहिलो कथा ‘फ्ल्यासब्याक’ मा करिब ४५ वर्ष अघिको घटना र वस्तुस्थितिको दृश्य प्रस्तुत भएको छ । ‘फ्ल्यासब्याज’ अङ्ग्रेजी शब्द हो । नाटक, फिल्ममा अतीतको घटना प्रस्तुत गर्ने यो शैलीले दर्शक वा पाठकलाई भूतकालतिर फर्काएर सोच्न बाध्य बनाउँछ । स्तब्ध पार्छ । कथाकारले अन्त्यमा शीर्षकको सार्थकता खुलाएका छन् ।
कथाको सुरुवातमा कथाकारले चिसाङ खोलाको वरपर बस्ने विपन्न सतार (सन्थाल) जातिको धर्म, संस्कृति, परम्परा, बसोबासको, आर्थिक अवस्थाको परिवेशको राम्रो चित्रण गरेका छन् । सोझो इमान्दार तर कुलतमा फसेका अन्धविश्वासी यो जातिमाथि भएका अन्याय, शोषण, यौन शोषण, जालझेल, काइते प्रवृत्तिले भण्डाफोर गर्दै न्याय, प्रशासन, पुलिस सबै पैसामुखी भएको सामाजिक यथार्थलाई चित्रण गरेर उनीहरूमाथि सामाजिक न्यायको प्रश्नलाई उठाउनुपर्ने सन्देश कथाले प्रवाह गरेको छ । मिश्रित जनजातिको भाषाको बोलीलाई टपक्क कथाकारले टिपेका छन् । संवादात्मक शैलीमा म पात्रले आन्तरिक दृष्टिबिन्दुमा आफ्ना दुखेसाको कथाहरू बताएको छ । उता परिवेश र चरित्रचित्रण बाह्य दृष्टिबिन्दुमा लेखकले नै प्रयोग गरेका छन् । यसरी यो कथामा आन्तरिक द्वन्द्व पात्रले नै ओकलेको छ । छोटा वाक्यको संरचना, सङ्क्षिप्त कथनभित्र आफूमाथि भएका अन्याय र शोषणको सङ्गठित भएर प्रतिरोध गर्नुपर्ने प्रगतिवादी चेतनालाई कथाले सङ्केत गरेको छ ।
पहिले आफ्नो जग्गाजमिन प्रशस्त भए पनि अन्याय र जालझेलबाट हली गोठालामा रूपान्तरित भएका ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्न पुगेका कालीभक्त तर अन्धविश्वासी यही सतार जातिको विषयमा लेखिएको अर्को कथा छ – ‘अलविदा ढेना दाइ अलविदा’ । हैजा लाग्दा पानी पिउन नदिने, अस्पताल नजाने, रक्तवमन र रातै दिसालाई बोक्सीले मुटु, कलेजो खाएकाले नबाँच्ने ठह¥याउने, झारफुकमा विश्वास गर्ने ढेनाको पारिवारिक चित्रण, परिवेश, बोलीको लवज यथार्थ छ । यो कारुणिक कथाले सामाजिक रूपान्तरण हुन नसकेकोमा सामाजिक दृष्टि यतातिर परोस् भन्ने लेखकको चाहना देखिन्छ । केही मात्रामा अहिले सुधारोन्मुख कार्यहरू भएका छन् । यतिले मात्र यी आदिबासी भुइँमान्छेहरूको स्थितिमा सुधार आउन सकेको छैन । कथामा निराशा देखिए पनि वस्तुस्थितिप्रति सुधार हुनुपर्ने चेतना भने कथाले दिएको छ ।
‘द्विविधा’ कथाले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको डायस्पोरिक जीवनको यथार्थलाई उजागर गरेको छ । रमेश पढ्न गएको, पढ्न नसकेर अवैध किसिमले लुकेर अमेरिकाको डेनभर शहरमा बङ्गाली रेस्टुरेन्टमा काम गरेर सिक्किमे केटीसँग गेट टुगेदर हुँदै एउटै कोठामा बसोबास गर्दै आएको पात्र हो । चारबिसे बा भारतीय सेनाका अवकाश प्राप्त सिपाही तर बेरामी । खबर काकाबाट पाए पनि यता आउन नसक्ने द्विविधात्मक मनस्थितिको आन्तरिक द्वन्द्व अहिले धेरै नेपालीले भोगेको भोगाइ हो । हुने खाने परिवारको सदस्य, पेन्सनवालाको छोरो, जग्गा जमिन भएको तर विदेशी हावाले परदेशमा भोगेको मानसिक तनाव अत्यन्तै टीठ लाग्दो छ । अशुभमय सङ्केतका नमुनासँगै बाबुको मृत्युमा आउन नसक्ने परिस्थिति बन्नु, देखिनु अहिलेका विदेशिएका सन्तानहरूकै निम्ति अभिसाप भएको यथार्थताप्रति सचेत रहन जरुरी छ भन्ने सन्देश कथाले दिएको छ ।
कथासङ्ग्रहकै न्वारान गरिएको ‘संयोग’ कथा माओवादी द्वन्द्वकालीन समयको कथा हो । शिक्षण पेसाका ‘म’ पात्र कानेपोखरीदेखि धरान आउँदा तरहरा आमगाछीदेखि एउटै सिटमा बसमा यात्री हुन आइपुगेकी महिलाले आफूलाई पछ्याउँदै डेरासम्म आएको घटनामा मनोविज्ञान कस्तो रह्यो भन्ने चित्रण रोचक छ । एकै रातमात्र बिताएर फर्केकी उनै पात्रसँग संयोगले पुनः भेट हुँदा आफूलाई चिनेर आश्रय दिएको र पूर्व प्रसङ्गमा आफू किन त्यसरी उनीसँग जानु परेको भूमिगत जीवनको यथार्थ थाहा पाउँदा छक्क परेको घटनासँग केन्द्रित छ । राज्यसत्तासँगको विद्रोहको मुद्दा, तत्कालीन डर, त्रास, धम्कीको मनोवैज्ञानिक असर, अनुशासन बारे र आफ्नो पारिपारिक विखण्डनको स्थिति बोधलाई तीन दशकपछि बताउने महिला पात्रले गरेको उन्नति, प्रगति पनि कथाले प्रस्तुत गरेको छ । लामो समयपछिको भेट रहस्यमय संयोगमा टुङ्गिएको छ ।
द्वन्द्वकालीन अवस्थाकै अर्को कथा हो – ‘सुनौलो किरण’ । द्वन्द्वकालमा सबैभन्दा बढी राज्यको तर्फबाट पीडित हुन पुगेका वर्ग हुन् – बौद्धिक प्राध्यापक तथा शिक्षक । चेतनशील यो वर्गको बौद्धिक खुराक हुन् – पुस्तक । तिनीहरूलाई देखि नसहने हतियारधारी आर्मीले आतङ्ककारीको नाममा गणतन्त्रवादीहरूलाई दिएको यातना, सास्तीको चित्रण हृदयविदारक छ । पट्टी बाँधेर गाडीमा राख्ने, बुटले भित्तामा उभ्याएर हान्ने, बिजुलीको झड्का दिने, नङसिरी घोच्ने, पोखरीमा डुबाउँदै– निकाल्दै कायलकाबु पार्ने जस्ता कुकृत्यको जति निन्दा गरे पनि पुग्दैन ।
मनोविज्ञान बिग्रेर पव्रmाउ परेका प्राध्यापककी श्रीमती बेरामी परेकी छिन् । केटाकेटी घर, क्याम्पसको चिन्ताले र यातनाले आफू ग्रस्त भए पनि निरङ्कुशताको विरुद्धको बोली नरोकिने पात्रले हिमालमा परेको सुनौलो किरणलाई भविष्यमा उज्यालो आउने सन्देशका रूपमा देखेका छन् । देश बनाउने अठोट गरेर दृढ सङ्कल्पित व्यक्तिहरू निराश हुँदैनन्, डराउँदैनन् बरु इस्पातजस्तै आगोमा जलेर पनि झन् दरो भएर निस्कन्छन् भन्ने सन्देश कथाले दिएको छ ।
द्वन्द्वकालमा राज्य तथा माओवादी दुवैतर्फबाट यस्ता ज्यादतीहरू धेरै भएका छन् । कति त बेपत्ता नै छन् । यो घाउ सजिलै पुरिनेवाला पनि छैन । सत्ताको उन्मादमा मात्तिएका सैनिकहरूको ज्यादती व्रmूर अमानवतावादी छँदै थियो । यसैमा यो कथा केन्द्रित छ ।
‘शुभकामना’ कथा व्यङ्ग्यात्मक नियति भोगिएको दोहोरो व्यङ्ग्य कथा हो । म पात्र र गणेश बाल्यकालदेखिकै साथी–साथी भए पनि म पात्र आफ्नै व्यावहारिक उल्झनमा अल्झिएको छ भने गणेश पढेर गाउँभन्दा टाढा मास्टर जागिरमा रुमल्लिएको छ । आफ्नो घर–परिवार, संस्कार सबै छोडेर एक्लो निरस, आत्मीयताविनाको संसारमा ट्युसने जीवन व्यतीत गरिरहेको छ । ऊ एकलकाँटे, अन्तर्मुखी, शङ्कालु पनि छ । शिक्षक साथीहरूमध्ये सरु नामकी शिक्षिकासँग नजिक भए पनि उनको चाहनालाई उसले बुझेन । अन्य साथीहरूका लहैलहैमा लागेर अर्कै गाउँकी महिलासँग बिहे गर्न पुग्छ । विवाहको निम्ता दिँदा सरुले दिएको शुभकामना व्यङ्ग्यात्मक बन्न पुग्छ त्यतिबेला जतिबेला उसकै श्रीमतीले आफ्नो रस रङ्ग नबुझ्ने, समय नदिने एकोहोरो पतिलाई त्यागेर अर्कैसँग सम्पर्क मात्र होइन बिहे गर्न नै तयार भएको अभिव्यक्ति दिएपछि ऊ पनि तिम्रो जीवन सफल होस् भन्ने शुभकामना दिन बाध्य हुन्छ । हार्दिकता, आत्मीयता विनाको जीवन, परिवारबाट विमुख हुनाको परिणाम कति घातक हुन्छ भन्ने उदाहरण यो कथाबाट पाइन्छ ।
सरुले विवाह गरिनन् । उसैलाई मनमा राखेर बसेकी छन् । छोरो जन्मेर बाह्र वर्ष बितिसकेको वैवाहिक जीवनको दुर्घटनायुक्त बन्न पुगेको यथार्थ गणेशले आफ्नो साथीलाई लामो समयपछि बताएको आन्तरिक दृष्टिबिन्दुमा बुनिएको यो कथाले मनोविज्ञानलाई, आन्तरिक छटपटी र द्वन्द्वलाई राम्ररी चित्रण गरेको छ । एक–अर्काको भावना, विचार र मनोविज्ञान बुझ्न सकेन भने दाम्पत्यजीवन पनि दुर्घटित हुन सक्ने यथार्थ कथाले प्रस्तुत गरेको छ । यो अत्यन्तै मननीय र गहन विषय हो । समाजमा यस्ता धेरै घटनाहरू घटेका पनि छन् ।
‘सँधियार’ शीर्षकको कथामा पात्र अमूर्त भए पनि ‘म’ पात्रले आफ्ना छिमेकी राष्ट्रले सीमावर्ती क्षेत्रमा देखाएको हेपाहा, मिचाहा प्रवृत्तिप्रति कटाक्ष गर्दै आफ्नो राष्ट्रियताप्रति सचेत रहने सन्देश प्रवाह गरेको छ । सँधियारले सधैँ सन्धि–सम्झौता गरे पनि त्यसको उल्लङ्घन गर्ने गरेको, शान्तिप्रिय हाम्रो सह अस्तित्वलाई नस्वीकार्ने उल्टो अगस्तिपन देखाउने गरेकोले हाम्रा प्राकृतिक स्रोत, नदी, जङ्गल, हिमाल, पहाड, तराईका विविध पक्ष र जनजातिका संस्कृतिको संरक्षण गर्नुपर्ने सन्देश पनि सँगसँगै आएको छ । निबन्धात्मक शैलीमा बुनिएको यो कथा प्रतीकात्मक तथा विम्बात्मक प्रयोगवादी कथा हो ।
‘अविरल यात्री’ कथा पनि निबन्धात्मक शैलीमा लेखिएको कथा देखिन्छ । छोटा वाक्य अनुप्रासीय एकै प्रकारका शब्दहरूको संयोजन तथा ग्रामीण तथा तराईको परिवेशको सुन्दर चित्रण, संस्कारयुक्त नेपाली समाज, जातीय एकता, मेलमिलाप तथा संस्कृतिको सम्मिश्रण गरिएको सन्दर्भले कथाको ओज बढेको छ । तृतीय बाह्य दृष्टिबिन्दुमा बुनिएको यो कथा वैचारिक कथा हो । जसको पात्र हरि जसलाई विदेशीले ह्यारी पनि भनेका छन् उसको शिक्षा–दीक्षा ग्रहणपश्चात् आफूले प्राप्त गरेको ज्ञानलाई सदुपयोग गर्दै देशोन्नतिका निम्ति बाटोहरू पहिल्याउँदै चेतनाको बीउ छर्ने पात्रको रूपमा चित्रण गरिएको छ । घरपरिवारका निम्ति वैरागी जस्तो देखिए पनि ऊ सामाजिक यस्तो अभियन्ता हो जसले परिवार, समाज र देशकै रूपान्तरणका निम्ति जीवन समर्पण गरेको छ । आय–आर्जन, शिक्षा–दीक्षा, उन्नतिको चाहनामा केन्द्रित भई देशको विभिन्न क्षेत्रको भ्रमण गरेर त्यहाँ सम्भावित विकासका बाटाहरू पहिल्याएर त्यतै लाग्न प्रेरित गर्ने पात्र देशको पश्चिम, पूर्व सबैतिर पुगेको आफ्नो व्यक्तिगत चाहनाभन्दा राष्ट्रिय भावनामा केन्द्रित भई विकास तथा उन्नतिको मार्ग खोज्ने प्रयासमा पहाड, हिमाल, मधेसका सबै क्षेत्रमा पुगेको सचेत यो पात्रले अन्याय, अत्याचार, शोषण मात्र होइन सामन्तवादी, साम्राज्यवादी, प्रतिगामीहरूका विरुद्धमा लाग्ने प्रेरणा पनि दिएकोले यो प्रगतिवादी चिन्तन बोकेको वैचारिक कथा बन्न गएको छ ।
बिहेसम्म नगरी डुलन्ते यात्रीका रूपमा चित्रित ‘अविरल यात्री’ जस्ता पात्र विरलै पाइन्छन् । ती देशका गहना हुन् । पूर्वका त सबै क्षेत्रको विकासको पहिचान गर्न सक्ने यी पात्र राजनैतिक जस्तो देखिए पनि सामाजिक रूपान्तरणका पक्षपाती हुन् भन्न सकिन्छ । अहिलेको फोहोरी राजनीतिमा यस्ता पात्रहरू पाइनु असम्भव जस्तै छ ।
‘मुर्माटप’ रारादहको सुन्दरता हेर्ने उचाइको ठाउँ हो । यो कथा नियात्राको शैलीमा बुनिएको छ । यो कथा पढ्दा नियात्राकै झझल्को आउँछ । राराको भ्रमणको आनन्द लिनेहरूको यो ठाउँमा पुगेर रारा मात्र होइन डोटी, बाजुरा, अछाम, बझाङ, डोटी, जुम्ला, हुम्ला, मुगु र कालीकोट जिल्लाका ठाउँहरू पनि हेरेर आनन्द लिन सक्छन् । अपि, सैपाल, सिस्ने हिमालहरूको र खप्तड क्षेत्रको दृश्यावलोकन गर्न पाइने यो मुर्माटपमा पुग्नलाई घोडा चढ्नु पर्ने रहेछ । त्यसको व्यवस्थापन गर्ने स्कुले जीवनकालमै घोडाको सवारी गराएर जीवन निर्वाह गर्न बाध्य भएका पवन, गणेश, धनकेशर निर्मलसँग म पात्रले गरेका संवादात्मक प्रस्तुतिमा यो कथा केन्द्रित छ । हुने खाने कहलिएका ठकुरी बाबुसाहेबका सन्तानहरूको युवा पुस्ताको बिजोग कथा हो यो । पेटभरि खान नपाउनु, घोडालाई चरनकै भरमा पाल्नु, स्कुल जान नपाउनु, जीविकाको स्रोत खोज्नुपर्ने बाध्यता कथाले उजागर गरेको छ । ‘रारा राष्ट्रिय निकुञ्ज’ बनेपछि सरकारले त्यहाँका बासिन्दालाई सट्टा भर्ना दिएर मधेसतिर विस्थापित हुन बाध्य पारिएको रामकहानी पनि कथाले कहेको छ । मधेसमा बस्न नसकेर पुनः यतै फर्केर जीविकाको बाटो खोज्नुपर्ने दुःखद अवस्था पनि कथामा देखिन्छ । रातो गुराँस नपाइने यो क्षेत्रमा सेता, बैजनी, छिर्केमिर्के गुराँस पाइदा रहेछन् तर खान नहुने विषालु । यो सुन्दर ठाउँबाट देखिने दृश्यमा रमाएका पात्रले प्रतीकात्मक रूपमा रारा ताल रहे पनि जग भने त्यही रहेको भुइँको, भुइँमान्छेको कथासँग तुलना गरेको भान हुन्छ ।
‘अन्तरपीडा’ नारीकेन्द्रित कथा हो । अनु पढेलेखेकी महिला भए पनि आफन्तहरूबाटै बलात्कृत भएकीले आत्महत्या गर्ने प्रयास गर्दा अस्पताल पुगेकी छन् । उनको प्रेमी अजय, म पात्रले अस्पतालमा पुगेर आइसियूमा भेन्टिलेटर खोलेपछि अनुसँगै गरिएका कुराकानीका आधारमा कथाको बुनोट भएको छ । गुण्डा, ब्बाँसा, यौनपिपासु आफन्त नातेदारबाटै कुकृत्य भएपछि आत्मसम्मानका लागि उनले आत्महत्या गर्ने प्रयत्न गरेकी रहिछन् । यो सबै थाहा पाएपछि पनि उनलाई नछाड्ने, स्वीकार्ने अजयप्रति घरपरिवार सबै खनिएका छन् । ‘आमा पनि आमा रहिनन् बाबुकी पत्नी मात्र भइन्’ भन्ने भनाइ मार्मिक लाग्दछ । महिलाले नै महिलाको समस्या नबुझ्ने, निर्दयी भनाइले क्षोभ प्रकट गरेको छ । आन्तरिक पीडा, प्रेम, भावनामा बगेर हुँदैन स्थितिबोध गरेर सुधारात्मक चेतना हुनुपर्ने सन्देश कथाबाट पाइन्छ । हृदयको प्रेम दिगो र सर्वमान्य हुन्छ । यही नै कथाको उपलब्धि हुन पुगेको छ । आफन्तबाटै बलात्कृत हुने नारीहरूका आन्तरिक पीडा खोजिनु पर्दछ । यसले निम्त्याउने द्वन्द्व कति घातक हुन्छ – पीडितका लागि । यही द्वन्द्वमा आफूले जित्ने सङ्कल्प लिने अजयको महानता प्रशंसनीय लाग्दछ ।
‘ऐँठन’ कथा पनि माओवादी द्वन्द्वकालीन कथा हो । गोली चलेको आतङ्क फैलिएको बेला जङ्गलीहरूको चन्दा आतङ्क, छोराछोरी लाने स्थिति एकातिर छ भने अर्कोतर्फ सेनाको धरपकड उस्तै छ । दोहोरो मारमा परेका निरीह जनताहरूको अवस्था मार्मिक मात्र होइन ऐँठनयुक्त रहेको सामाजिक यथार्थलाई कथाकारले टपक्कै टिपेका छन् । गाउँमा जुवातास, रक्सी, लफडाबाजी हराए पनि शान्ति आउन नसकेको, किसानहरू झोसपोलमा परेर सशस्त्रको हतकडीमा जाकिएका – उनीहरूका पत्नीहरू पति भेट्न नपाएर, मरे–बाँचेको खुट खबर नपाएर मानसिक द्वन्द्वमा परेको यथार्थ चित्रण कथामा आएको छ । छिमेकी आफन्त डराएका, आफन्तसँग कुरा गर्न पनि डराउने, मानवीय संवेदना हराएको, अनिष्टका सूचकहरू मडारिएको स्थितिमा को ढुक्कले सुत्न सक्छ । निद्रामै ऐँठन पर्नेहरूको मानसिक स्थिति कस्तो होला ? यही बर्बरताको भण्डाफोर गर्ने उद्देश्यमा कथा केन्द्रित छ ।
तत्कालीन परिस्थितिजन्य अवस्थाको, सामाजिक दुर्दशाको चित्रण यथार्थपरक ढङ्गले आएको छ । सामाजिक, राजनैतिक परिवर्तनका लागि भएको यो सशस्त्र द्वन्द्वले निरीह जनताहरू पिल्सिनसम्म पिल्सिए । तिनीहरूकै मनोविज्ञानलाई समेटेर लेखिएको यो कथाले उनीहरूको द्वन्द्वात्मक दोहोरो आन्तरिक र बाह्य अवस्थालाई छर्लङ्ग पारेको छ ।
‘अन्तद्र्वन्द्व’ सङ्ग्रहको अन्तिम कथाले पति–पत्नीको संवादबाट अन्तर्वस्तुको उद्घाटन गर्ने प्रयास गरेको छ । जागिरे अवस्थामा पनि नैतिकताका पक्षपाती आदर्श पुरुष देखिन्छन् । आफ्नो नैतिक चरित्रमा दृढ रहेका उनी गलत काम गरेर पैसा कमाउने धन्धामा लाग्दैनन् । दुई सन्तानका बाबु भइसकेका यिनै पतिमाथि पत्नीको आरोप छ – तिमी नामर्द हुतिहारा छौ । जमानाअनुसार चल्न नजान्ने, कमाउन नसक्ने नामर्द हौ । छिमेकी, तल्लो दर्जाको कर्मचारीको जगजगी देखेकी उनी भोजभतेरमा जाँदा घर–गहनाले सजिन नपाएकोमा, गाडी भएकोमा खिन्न मात्र भएकी छैनन् उल्टो लोग्नेलाई ह्याउ नभएको लाछी ठान्न पुग्छिन् । अररो सती सालको काठजस्तो जब्बर ठान्छिन् । यो पति–पत्नी बीचको अन्तद्र्वन्द्वले हाम्रो जागिरेहरूको, सरकारी कर्मचारीहरूको गृहकलहको कारण मात्रै उद्घाटित भएको छैन । यसले सामाजिक विकृतिका रूपमा रहेको घुसखोरी प्रवृत्तिको भण्डाफोर गर्नतिर पनि सङ्केत गरेको छ । जनताको सेवा गर्ने सेवक, नैतिक चरित्रवान पुरुष हुनुपर्ने हो जसको दायित्व पतिले निभाएका छन् तर पत्नीहरू विलासी, ऐयासी जीवन बिताउन नपाएर उल्टै आफ्नो परिवारलाई विखण्डनतिर लान खोज्दैछन् भन्ने सङ्केत कथाले गरेको छ । कथा छोटै भए पनि यसले दिएको सन्देश शिक्षाप्रद छ । चरित्र चित्रणका हिसाबले पति–पत्नी विपरीत दिसातर्फ उन्मुख हुनु सामाजिक विडम्बना हो ।
माथिका सबै कथाहरूको अन्तर्वस्तुको चर्चापछि अब लामिछानेका कथाहरूबाट उहाँको प्रवृत्तिगत विशेषताहरूलाई पनि बुझ्ने प्रयत्न गर्दा यस्तो देखिन्छ ः–
उहाँका सबै कथाहरूमा व्यक्ति, परिवार, जाति, समाज, देश उभिएकाले उहाँ सामाजिक यथार्थवादी कथाकारकै रूपमा देखिनु हुन्छ तथापि उहाँका कथाहरूमा निबन्ध, नियात्राका प्रारूपहरू पनि झल्किन्छन् । यथार्थभित्रै प्रयोगवादी उत्तर आधुनिक नवीन चेतनाले छोएको जस्तो पनि लाग्दछ । वैचारिक रूपमा सामाजिक रूपान्तरणका निम्ति प्रगतिवादी चिन्तन र प्रवृत्तिकै हावी भएको मूल प्रवृत्ति हो । नेपाली समाज बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिए पनि यिनीहरूमा रहेको सहनशीलता, सहिष्णुताको पक्षलाई भन्दा यिनीहरूका बीचमा देखिने अन्तद्र्वन्द्वमा कथाहरू बढी केन्द्रित भएका छन् । घटनाकेन्द्रित, पात्र केन्द्रित, परिवेशकेन्द्रित सबै किसिमको प्रयोग गर्न कथाकार सक्षम रहेको देखिन्छ । अझ कतै कतै आञ्चलिकताको झलक पनि पाइन्छ । संवादमा लोकबोलीकै कथनलाई टिपेर यथार्थपरक बनाउन सक्नु कथाकारको खुबी हो । सतार जाति केन्द्रित दुई कथाहरूको आदिबासी, जनजातिको वर्तमान अवस्थालाई चित्रित गर्दै उनीहरूको संरक्षण र विकासमा राज्यको दायित्व बोध हुनुपर्ने देखिएको छ । यस्तै द्वन्द्वकालीन अवस्थाका तीन वटा कथाहरूले तत्कालीन परिस्थितिमा बौद्धिक प्राज्ञ व्यक्तिका साथै सामान्य नागरिकहरू कसरी दोहोरो द्वन्द्वमा प्रताडित हुन पुगे भन्ने यथार्थलाई दुरुस्तै उतारेको पाइन्छ । बलात्कृत नारी पात्रको एउटै कथा भए पनि त्यस्ता कार्यप्रति जति निन्दा गरे पनि पुग्दैन भन्ने सन्देशसँगै प्रेमीको सहृदयी मनको त्यसमा क्षमा दिन पुगेको, परिवारबाट विमुख भए पनि नछाड्ने सङ्कल्प गर्न पुग्नु नवीन चेतनाको प्रयोग मान्न सकिन्छ ।
कथाकारमा अङ्ग्रेजी भाषाको मोह पनि देखिन्छ । फ्ल्यासब्याक, लिगल्ली विक, इङ्गेज, एक्स्ट्रोभर्स, मेकअप जस्ता शब्द प्रयोग भएका छन् । यो पनि उत्तर आधुनिक चेत नै हो । यस्तै झर्रा ठेट नेपाली शब्द, उखान, टुक्काको प्रयोगले भाषाको विविधतालाई समेटेको पाइन्छ । भनाइलाई उत्कर्षमा पु¥याउन यस्ता प्रयोगहरू सार्थक हुन्छन् । रुवा बटुल्नु खोजेँ हात्ती उडाउने हावा, भुइँको टिप्न खोज्दा पोल्टाबाट झरेको थाहा नपाउने जस्ता उदाहरणीय राम्रा विशेषता छन् । वैदेशिक रोजगारीमा गएका व्यक्तिकेन्द्रित एउटै कथा भए पनि यस्ता घटनाहरू प्रायः सबैमा पर्ने द्विविधात्मक परिस्थितिजन्य बाध्यता आउनेतर्फ कथाको सङ्केत यथार्थपरक छ । नियात्रामय कथाको प्रयोगले रारादह र मुर्माटपका विशेषताहरूका साथै त्यहाँका जनताले भोगेका पीडाहरू एकात्म्य भएर आएका छन् । अन्य व्यक्तिकेन्द्रित सबै कथाहरूमा आन्तरिक द्वन्द्व र मनोविज्ञान, चरित्र केलाउने प्रयास भएको छ । देश, विचारकेन्द्रित संधियार र अविरल यात्री वैचारिक निबन्धात्मक कथा बन्न पुगेको छ ।
यति भएर पनि कथाभित्र केही सीमाहरू पनि देखिन्छन् । शब्दहरू नै बिग्रनु जस्तो धौ, धौ –द्यौ, द्यौ भएको छ । यस्ता कसरमसरले प्रकाशनमा हतारो भएजस्तो लाग्दछ । ह्रस्व, दीर्घ, चिन्ह आदिमा पनि कथाहरू मुक्त हुन सकेका छैनन् । कतै संवाद लामो, कतै परिवेश चित्रण लामो हुन गएको छ । पहिलो कथासङ्ग्रह भएकाले परिष्कार र परिमार्जन हुन नसकेको भान हुन्छ । नियात्रा, निबन्धबाट कथा मुक्त हुन नसकेजस्तो पनि देखिन्छ । प्रयोगवादी तथा उत्तर आधुनिक चिन्तनले कथाकार कथाभित्रको अन्तर्वस्तुतिर एकाकार हुन सकेका छैनन् । यति भएर पनि कथाहरू रोचक, पठनीय, चिन्तनीय देशप्रेमी भावनाले ओतप्रोत हुन सक्नु र सामाजिक रूपान्तरणका निम्ति प्रयत्नरत रहनु खास सामथ्र्य र विशेषता हुन् ।
विराटनगर