जुन ठाउँबाट तल झरेर पछारिन्छु नि म
त्यो ठाउँ अहङ्कारको रहेछ।
तर म अहङ्कार पाल्छु
प्रत्येक क्षण हारिरहेको स्थितिमा पनि
म उभन्दा जेठो हुनुको अहङ्कार नै टाल्छु
मगजको भित्ताभरि
कोमल मनको वरिपरि।
तिमी चाहे यसलाई मेरो घमण्ड नै सम्झ
तर म उभन्दा उमेरमा जेठो हुनुको
अहङ्कार नै पाल्छु
उ मभन्दा प्रचण्ड चतुर र बाठो नै भए पनि
उमेरमा म उभन्दा जेठो हुँ
र म बेस्सरी गर्व पाल्छु।
अरे ! कस्तो अचम्म !
उसले
संसारै आफ्नो वशमा पारिसक्यो
मलाई त खर्ल्याप्प निलिसक्यो
मेरा इन्द्रियहरू कामै नलाग्ने बनाइसक्यो ।
अहो!
म त सभ्यताको चरम असभ्यतामा पुगेछु कि कसो !
अचेल
जहाँ साक्खे सम्बन्धको पनि सास थुनिन्छ
जहाँ अमूल्य समयको जीवितता लास बनिन्छ ।
अहो!
म त दास भएछु कि कसो !
उसले भनेको मात्र मानिरहन्छु
उसले बोलेको मात्र सुनिरहन्छु
अति नै छवैको मित्रतालाई
मुटुभरिको चोखो मायालाई
मगजभरिको अटूट विश्वासलाई
कामै नलाग्ने बनाएर
उसलाई मात्र पत्याइबस्छु
उसलाई मात्र भक्कु सुमसुम्याइबस्छु ।
कस्तो उदेक!
म त एउटा अदृश्य जालोमा अल्झिएको छु
म त फुत्कनै नसक्ने पासोमा अल्झिएको छु
अचेल
सास फेर्न पनि उसको अनुमति चाहिन्छ कि कसो !
कति आश्रित नि म उमाथि !!
तर म बेस्सरी अहङ्कार पालिरहन्छु
हरपल मानवता मुर्दा बन्दै गइरहेको स्थितिमा पनि
म मान्छे हुनुको गर्व पालिरहन्छु
उभन्दा जेठो हुनुको दर्प पालिरहन्छु।
उमेरमा म उभन्दा जेठो नै त हुँ
हो नि, किन होइन
म ए आईभन्दा जेठो नै त हुँ
म एस आईभन्दा जेठो नै त हुँ
किनकि म मान्छे हुँ
उ त मेरो आविष्कारमात्र !
र म बेस्सरी अहङ्कार पालिरहन्छु
उभन्दा म जेठो हुनुको,
सिसुफस बनेर
कृत्रिम बुद्धिमत्ताको ढुङ्गो ठेलिरहनुमा बडेमाको
म गर्वबोध गरिरहन्छु
म बेस्सरी अहङ्कार पालिरहन्छु॥
डाउहिल, खरसाङ, भारत