दिसम्बर महिनाको त्यो एउटा आइतबारको दिन मलाई कोठामा बसिरहन वाक्क लागेर आयो, र मैले बजार घुम्न जाने निर्णय लिएँ। आफूलाई चाहिएका केही सानातिना सामानहरू किनेर म कालेबुङ सहरको डम्बर चोक नजिकैको इन्ड्रस्ट्रियल पार्कमा गएर बसेँ। त्यो दिन सधैँको भन्दा अलिक जाडो थियो।
केही क्षणपछि पार्कबाहिरको क्याफेबाट चिया लिई पिउँदै बसिरहेको थिएँ कि मेरो नजर एकजना मुखमा माक्स लगाएर बसिरहेकी केटीसित जुझ्न पुग्यो। मैले अप्ठ्यारो मान्दै नजर अलिकति घुमाएँ र चिया पिउन व्यस्त भएको जस्तो गरेँ। मैले उसलाई देख्न चाहिँ देखिरहेको थिएँ—मुसुक्क मुस्कुराई, र झुरुक्क उठेर मतिर आउन थाली। मैले घोप्टेर भुईँतिर हेरेँ। तर उसले “सर!” भनेर सम्बोधन गर्दा म झसङ्ग भएँ। उसले नमस्कार गरी। मैले पनि दुई हात जोडेर उसको नमस्कार फर्काउँदै भने, “मैले तिमीलाई चिनिन त!”
“सर, म प्रिया विश्वकर्मा!” तपाईँले मलाई कक्षा सातमा पढाउनुभएको। त्यसपछि मैले स्कुल छोडेँ। यसपालिले पाँच वर्ष भइसक्यो।” उसको उत्तर सुनेर मैले सम्झिने अनेक कोसिस गर्दा पनि उसको अनुहार सम्झन सकिनँ। आफैसित अलिकति असजिलो मान्दै मैले उसलाई सोधेँ, “अहिले के गर्दै छ्यौ?”
“म अहिले घरमा नै छु।” भनी सकेपछि ऊ अझै बोल्न थाली, “सर, म तपाईँका कविताहरू पढ्ने गर्छु। तपाईँको “आज आमाको याद आयो” शीर्षक कविता मलाई खूब मन पर्छ। त्यो कविता मैले धेरैचोटि पढिसकेँ।” मैले “ए हो, धन्यवाद!” भनेँ। उसले अप्ठ्यारो मान्दै एउटा आग्रह बढाई, “सर, बाबाका बारेमा पनि एउटा कविता लेखेर पोस्ट गर्नुहोस् न!” मैले “हुन्छ” भन्दै उसलाई प्रश्न गरेँ, “आमा हुनुहुन्छ?” उसले गम्भीर आवाजमा उत्तर दिई, “हुनुहुन्न। आमाले हामीलाई सानामा नै छोडेर अर्को बिहे गर्नुभयो।” उसको उत्तर सुनेर म एकछिन स्तब्ध भएँ। उसले चाहिँ मनमा के-के कुरा खेलाएको जस्तो गर्दै दाहिने खुट्टाले भुईँको माटो कोट्याउन थाली। त्यसपछि मैले एकपल्ट लामो सुस्केर लिँदा-नलिँदा उसको फोनको रिङटोन बज्न थाल्यो। त्यसपछि उसले हत्तारिँदै भनी, “सर! मलाई बढीले बोलाउनुभयो, म जान्छु।”
मैले मात्रै मुन्टो हल्लाएँ। त्यसपछि मैले उसलाई कुन कक्षामा पढाएको थिएँ भन्ने सम्झिने कोसिस गर्न थालेँ। कोठामा आइपुग्दा पनि मैले उसलाई एक समय पढाएको थिएँ भन्ने कुरामा आफैसित स्पष्ट हुन सकिनँ।
अर्को वर्षको अप्रिल महिनाको एउटा छुट्टीको दिन कालेबुङ कलेजदेखि अलिक माथिको पार्कमा बसेर पढिरहेको थिएँ। त्यतिबेला पनि कसो-कसो गर्दा मेरो नजर अलिक परको एउटा लामो बेन्चीमा बसेर केही लेख्दै बसिरहेकी एउटी केटीमाथि पर्न गयो। म झस्किँदै आफैलाई भनेँ, “ऊ त प्रिया होइन? अरे! यस्तो एकान्तमा एकलै के गर्दै छे?” पहिले त मलाई सपनाजस्तो पनि लाग्यो तर ठिम्माएर हेर्दा पत्याउन कर लाग्यो। यस पार्कको भोगोलिक अवस्थिति यस्तो छ कि यहाँ मान्छेहरू ज्यादा आउँदैनन्। अलिक जङ्गलबिच र एकान्तमा पर्छ।
मैले एकछिन् उसलाई लेख्न दिने साथै बाधा नदिने निर्णय लिएँ र म चुपचाप आफू बसेको ठाउँबाटै उसलाई हेरिरहेँ। एक-दुई मिनटपछि उसले आफ्नो कलम, कागज र मोबाइल फोन झोलामा हाली र बोतलको पानी पिउन थाली। पानी पिइसकेपछि ऊ झुरुक्क उठी र त्यहाँबाट हिँड्न थाली। मलाई देख्नसाथ ऊ झसङ्ग भई। “अरे! सर, तपाई!” भन्दै नमस्कार गरी। मैले उसलाई सिधै सोधेँ, “तिमी, यहाँ कविता लेख्न आएकी?” “होइन, सर! मलाई कविता लेख्न आउँदैन।”
“केही त लेख्दै थियौ?”
“हजुर! आमालाई चिट्ठी।”
मैले मनमनमा सोचेँ, “ए! आमासित अझै पनि सम्बन्ध रहेछ।” मैले फेरि भनेँ, “चिट्ठी किन लेख्नु पर्यो फोनद्वारा बात गरे भइगयो नि!” उसले मुसुक्क मुस्कुराउँदै भनी, “होइन, यो चिट्ठी पहिलो पनि हो, अन्तिम पनि हो।”
“तिमी जिस्किएकी?”
“होइन, सर! मलाई बाँच्न मन छैन। म आज मर्दैछु।” भन्दै हाँस्न लागी। मलाई उसको मानसिक स्थिति त्यति ठीक नलागेपछि मैले उसलाई बसेर एकछिन गफ गर्ने आग्रह गरेँ, तर ऊ मान्दै मानिन। जाने बेलामा आँखाभरि आँसु बनाउँदै “सर! जानुभन्दा अघि एउटा कुरा भनूँ” भनेर भनी। मैले डराउँदै “भन न” भनेर भनेँ। “सर! तपाईँले कक्षा सातमा पढाउनुहुँदा सुनाउनुभएको त्यो कथा मैले अझै पनि भुलेको छैनँ। कथा सुनेर हामी सबै रोएका थियौँ।” म सोच्न थाले कि कहिले र कुन कथा मैले सुनाए भनेर। म अकमकिएको देखेर ऊ मरिमरि हाँसी। त्यसपछि “सरलाई केही याद रहँदैन रहेछ!” भनिराखी ऊ आफ्नो बाटो फटाफट लागी।` त्यसपछि मलाई पनि त्यहाँ बस्न मन लागेन र म एकछिनपछि त्यहाँबाट निस्किएँ।
राती मलाई प्रियाले पोहोर साल बाबाका बारेमा कविता लेख्ने प्रेरणा स्वरूप आग्रह गरेकी सम्झना भयो र मैले केही समय कोसिस गरिरहेँ। तर अनेक गर्दा पनि मैले कविता कोर्न सकिनँ। राति बाह्र बजिसकेको थियो कि मेरो मोबाइलको वट्सएपमा एउटा नयाँ नम्बरबाट मेसेज आयो। लेखेको रहेछ—“गुड बाई, सर!” मैले प्रोफाइल पिक्चर हेरेँ—प्रियाको रहेछ। मलाई एकपल्ट झ्वास्स रिस पनि उठेर आयो, र नम्बर डिलिट गरिदिऊँ कि जस्तो पनि लाग्यो। केही समयपछि फेरि अर्को मेसेज फोनमा आयो तर मैले त्यसलाई हेरिनँ। त्यसपछि म कति बेला निदाइपठाए थाहै भएन।
भोलि बिहान उठ्नेबित्तिकै मेसेज चेक गरेको त प्रियाले पठाएको रहेछ, खोलेर हेरेको त लेखेकी रहिछे—
‘बा कविता’
सरी,
मलाई माफ गरिदिनुहोस्!
त्यो मेसेज पढिसकेपछि मैले मनमनमा अठोट गरे कि आज म ‘बा’ शीर्षकमाथि कविता कोरिछाड्छु भनेर। विद्यालय जाने बेलामा मैले खबर पाएँ कि प्रियाले हिज राति यस संसारलाई छोडी भनेर। त्यो खबर सुनेर म केही समय अचल भए।
मैले उसको घर चिन्ने साथीसित उसको घर पुग्ने निर्णय लिएँ। उसको घर पुगेर साहै दु:ख लागेर आयो। उसको सानो माटाको घर रहेछ। उसको बाबा पनि मन्दबुद्धिको हुनुहुँदो रहेछ। मैले उसका बारे एक-दुई जना छिमेकीहरूसँग कुरा गरेर बुझ्दा झन् मनै कटकट भएर आयो। उसको शव पोस्टमार्टम गरेर ल्याएको केही समयपछि नै खोलामा जलाउन लगे। त्यसरी मृत्यु प्राप्त गरेकालाई घरमा ज्यादा नराख्ने उनीहरूको चलन रहेछ। त्यस सानो खोलाछेउको घाटमा उसको लाश जल्दा-जल्दै मैले एउटा छोटो ‘बा कविता’ शीर्षक कविता कोरेँ, र आँसुले पर्सेर उसको जलिरहेको चितामा श्रद्धाञ्जली स्वरूप अर्पण गरेँ। मनमनमा भने, “हे सर्वशक्तिमान! तिमीले मान्छे बनाएर मान्छेको संसार बनायौ तर मान्छेहरूले चाहिँ जात बनाएर कतिका जीवन बिगारे।”
दार्जीलिङ