19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कामना

कविता गायत्रीकुमार चापागाईं November 25, 2026, 4:09 pm
गायत्रीकुमार चापागाईं
गायत्रीकुमार चापागाईं

कालोमैलो अझ सगरमा हट्छ झै थ्यो तुँवालो
मैलोधैलो तल बगरमा देख्छु पानी धमीलो
छाम्दा आफ्नै मनबिच अझै उठ्छ राँको दियालो
भै दे हुन्थ्यो यस शरदमा दीन रातै उज्यालो

रोपौँ भन्छौँ अब त जमरा छैन आस्था मरेको
लाऔँ भन्छौँ जय विजयको मान सम्मान टीको
काली दुर्गा घर घर सकून् रक्तको अल्प जालो
भै दे हुन्थ्यो यस शरदमा जून घामै उज्यालो

उर्ल्यो भेलै जब सडकमा किन्नु पर्ने विचार
अग्लो भारी अधिक करले छाम्नु पर्ने निधार
आयो खायो हठ नियतिले च्यात पर्दा उघार
भै दे हुन्थ्यो यस शरदमा देश हाम्रो सुधार

चेली गन्छिन् दिन दिन कठै ! माइती सम्झि रून्छन्‌
पर्देशीले पल पल कठै आँगनी पुग्छु भन्छन्‌
बाटोघाटो सकल जनको हुन्न गन्तव्य देऊ
भै दे हुन्थ्यो यस शरदका माझ उभ्भिन देऊ

द्यौरालीमा अब समयको भाकलै भाक्न देऊ
चौतारीमा रमझम गरी कामना साट्न देऊ
दौँतेरीमा बस उठ गरी भावना पोख्न देऊ
भै दे हुन्थ्यो यस शरदमा फैसला मागि देऊ

नानी हेर्छन् सब झिलिमिली आसको याम सम्झी
लक्ष्मी हिड्छिन् चपल गतिमा हात सर्दै उजेली
फूलैमाला उनन सखि हो ! स्वागतै गर्नुपर्ला
भै दे हुन्थ्यो यस शरदमा गाउँ बेँसी उज्याला

माटो आफ्नो अझ छ कसरी बढ्नु पर्ने स्वदेश
बाटो के हो जित छ कसरी होश राखे विवेक
व्यर्थै जाला घडि समयको बिघ्न टार्ने प्रचार
सुन्दे हुन्थ्यो यस शरदले शान्ति हाम्रो पुकार

फुल्नै देऊ सबल सपनी देवीका शक्तिसाथ
पुज्नै देऊ अब त जननी फूलमा राखिमाथ
आशीष् देऊ गति मति बढेस् देश बन्दी नराख
भै दे हुन्थ्यो यस शरदमा चाहनाको निकास

मेला खेला लत समरले देश पारे धराप
भेँडाजस्ता सकल जनता सोच्न थाले सराप
देशै हाम्रो मुटु ढकढकी फेर्नु पर्ने मुहार
फुल्दे हुन्थ्यो यस शरदमा फूल स्नेहोपहार

(मन्दाक्रान्ता छन्द)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।