19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उसले आकाशमा विष घोलिरहँदा

कविता कृष्ण बाउसे November 25, 2026, 4:12 pm
कृष्ण बाउसे
कृष्ण बाउसे

वन मासेर
हामी चराहरूलाई बेघर बनाउने ऊ ।
कालो धुवाँ उडाएर
प्राणवायुको मुहानलाई विषाक्त बनाउने ऊ ।
जथाभावी विषादी छरेर
परागसेचन कर्ममा जुटिरहेका
हामी पुतली र मौरीहरूलाई सोत्तर बनाउने ऊ ।


कतै आफैँले बनाएको आणविक भट्टीसँगै
आफैँ फुट्ने ऊ ।
कतै
युद्ध–विश्वयुद्धका नाममा
आफैँ राँगो बन्दै
आफ्नै सिङ फुकाल्न एकआपसमा जुध्ने ऊ ।
आफू पनि घर नबनाउने
र
अर्काको घर पनि भत्काइदिने प्राणीको
वंशवृक्षको नयाँ पुस्ता हो ऊ ।

तर, अचम्म !

उसैले घोषित गरेको छ आफूलाई
जगतको ‘सर्वश्रेष्ठ प्राणी’ !
जब कि
उसको कृत्यको मूल्याङ्कन गर्ने जसले पनि
उसलाई भन्नैपर्ने हुन्छ – ‘प्राणीको नाउँमा कलङ्क !’

जगत मेरै लागि मात्र बनेको हो भन्ने त्यो भोगी नै
मुखले फलाकिरहेको हुन्छ सहअस्तित्वको मन्त्र !

हामी त उसले भन्ने गरेका
– वनस्पति
– पशु
– पन्छी
– तुच्छ जीवाणु ।
हामी त उसको प्रतिकार गर्न नसकेरै
उसले गरेका हरेक पापहरूको सजाय भोगिरहेछौँ ।

ए, हजुर !
तपाईं त
उसको आन्द्राभुँडी सबै थाहा भएको
उसकै प्रतिरूप !
जवाफ दिनुहोस् हामीलाई
उसले धुन्धुकारी भएर
तपाईंको आकाशमा विष घोलिरहँदा
तपाईं
कसरी रमिते भएर बस्न सकेको ?
तपाईंले
मेटिँदै गएको आफ्नै भविष्यलाई समेत
कसरी यसरी टुलुटुलु हेर्न सकेको ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।