“हाफा अदाइ !”
ड्यानियलले मतिर हेर्दै मुस्कुराएर अभिवादन गर्यो ।
बिहानको साढे सात बजेको थियो । कार्यस्थलको चमेना गृहमा म आफ्नो नियमित बिहानको चिया तयार गर्दै थिएँ । झ्यालबाहिर सडककिनारमा लहरै उभिएका रूखका पातहरू पहेँलो र रातो रङमा फेरिँदै, झर्दै थिए । नर्थ क्यारोलाइनामा नोभेम्बरको अन्तिम साता नजिकिँदै गर्दा प्रकृति पनि हिउँदको स्वागतमा तम्तयार देखिन्थ्यो ।
म नेपालबाट चिया पिउने बानीसँगै अमेरिका आएको चियाप्रेमी थिएँ भने ड्यानियल पुएर्टो रिकोबाट आएर मसँगै काम गर्ने पशुस्वास्थ्य विज्ञ तथा कफीको पारखी थियो । चिया र कफीको स्वाद लिने क्रममा हाम्रो भेट प्रायः चमेना गृहमा हुन्थ्यो । फरक देश र संस्कृतिबाट आएका हामीबीच पेय पदार्थको रुचि फरक भए पनि आत्मीयता भने बढ्दै गएको थियो ।
अघिल्लो दिनको कुरा हो । चिया पिउँदै गर्दा मैले ड्यानियललाई करिब पाँच वर्षअघि अमेरिकी टेरिटोरी गुवामको भ्रमण गर्दा सिकेको एउटा अभिवादन सुनाएको थिएँ । गुवाममा प्रचलित चामोर्रो भाषाको ‘Håfa Adai’ त्यहाँका मानिसहरूले एकअर्कालाई आत्मीयतापूर्वक अभिवादन गर्दा प्रयोग गर्दा रहेछन् । यसको सामान्य अर्थ अंग्रेजीको ‘हेलो’ वा नेपालीको ‘नमस्कार’ सँग मिल्दोजुल्दो हुन्छ भनेर पनि बुझाएको थिएँ । उसले त्यो अभिवादन चाख मानेर दोहोर्याएको थियो ।
आज बिहान उसले मलाई त्यही अभिवादनले स्वागत गर्दा म एकछिन अचम्मित भएँ । अघिल्लो दिन मात्रै सिकाएको अभिवादन उसले सम्झिएर प्रयोग गरेको देख्दा मेरो अनुहारमा पनि मुस्कान छरियो ।
मैले पनि उसलाई हेर्दै मुस्कुराएर प्रत्युत्तर दिएँ, “हाफा अदाइ !”
त्यसपछि मैले अमेरिकामा नोभेम्बरको चौथो बिहीबार मनाइने थ्याङ्क्सगिभिङ पर्वको शुभकामना दिँदै भनेँ, “ह्यापी थ्याङ्क्सगिभिङ !” उसले पनि हात मिलाउँदै आत्मीयतापूर्वक जवाफ दियो, “यू टु !”
चमेना गृहको त्यो बिहान दुई फरक अभिवादनले थप आत्मीयता पाएको थियो । नेपालबाट आएको म, पुएर्टो रिकोबाट आएको ड्यानियल र गुवामबाट सिकेको एउटा अभिवादन—तीन भिन्न भूगोल र संस्कृतिका यी सन्दर्भहरू थ्याङ्क्सगिभिङको शुभकामना आदानप्रदानसँगै एउटै आत्मीय क्षणमा जोडिएका थिए । कहिलेकाहीँ एउटा सानो अभिवादनले पनि मानिसहरूबीचको दूरी घटाउन र मित्रताको सम्बन्धलाई अझ नजिक ल्याउन सक्दो रहेछ ।