म खोजि रहेछु
उज्यालो औशी
पूर्णिमाको रात चपाएर
मेरो पागलपन देखेर
घाम ठुस्कि दिन्छे
र म प्रार्थना गर्छु घामको दीर्घ जीवनको ।
मैले भेटेको छैन
दन्त्यकथाका परी
भेटेको छैन
सुनकेस्रा रानी
र भेटेको छैन
राजकुमार दिक्पाल ।
राक्षसहरु
फलामको चिउरा हैन
मान्छेको मासु चपाउँछन
पिउँछन रगत
मदमत्त भएर
मानवता लुट्छन ।
अहो !
मान्छेहरु भ्रम पालि रहेछन
राक्षस राजा हुन्छ भनेर
मलाई लाग्दैन
राक्षस राजा हुन्छ
र प्रजालाई न्याय दिन्छ ।
बर्षौ देखिको उत्पीडनले थलिएर
राक्षसी प्रवृत्तिले दलिएर
प्रताडित छन मान्छेहरु
मान्छेहरुको मान्छेत्व गुमेको छ
मान्छेहरु जिजीविषा कोट्याइ रहेछन
मुक्त जीवनको खोजी गर्दै ।
मैले खोजिरहें
मान्छेको खोसिएको जिजीविषा
खोजिरहे जीवनको हाँसो
मान्छेहरु कष्टले बाँचि रहेका थिए
दुःख पीडा चपाएर
जीवनलाई सुजेरेमा तुन्दै ।
मैले पढाइरहें
मान्छेका सपना
पढाइरहें राक्षसी मनोवृत्ति
वर्ग विभेदले विभक्त गराइएका थिए मान्छेहरु
जातीय उत्पीडनले सताइएका थिए मान्छेहरु
म वर्गीय मुक्तिको आन्दोलन बोकेर
जातीय उत्पीडन बिरुद्ध लडिरहेको थिएँ
मान्छेहरु मलाई पछ्याउँदै
मुक्ति आन्दोलनमा होमिएका थिए
जीवनको उत्सव मनाउनलाई ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ