क्षितीजको कुनकुनामा वादलका हिमश्रृङ्खला ठाउँठाउँमा देखिईरहेका थिए । कुनैकुनै बादलका टुक्रा बिरुवा, गाछीको रूपमा, कुनै मानव छायाँको रूपमा त कुनै पशु पंक्षिको आकृतिमा देखिँदै थिए । आकाशको मध्ये भाग प्राय नीलो देखिँदै थियो । नीलो आकाशमा चिलहरू फनफन घुमिरहेका थिए । पूर्वपट्टीको घरको बरण्डामा कुर्सीमा बसेर म त्यो दृश्य हेरिरहेकी थिएँ । शनिवारको दिन क्याम्पस पढाउन जानु थिएन । बादलको एउटा दृश्य हेर्दाहेर्दै घुम्टो ओढेकी बेहुलीको रूपमा परिवर्तित भयो । त्यो दृश्यले आफ्नो अतीत तिर मलाई धकेली रहेको थियो । म त्यसबखत बी.ए.को तेस्रो वर्षमा अध्ययन गर्दै थिएँ । त्यसरी नै घुम्टो ओढेकी बेहुली हुने थिएँ होला तर मैले नै बेहुला पक्षसँग अनौठो प्रस्ताव राखेकी थिएँ । मेरो प्रस्तावलाई स्वाभिमानी नेपाली युवाहरूले स्वीकार गर्न सक्दैनन् । सायद त्यस्तो प्रस्ताव बेहुला पक्षसँग अहिलेसम्म कुनै बेहुली हुनेले राखेका छैनन् होला र राख्नु पर्ने आवश्यकता पनि महशुस गरेका छैनन् होला ।
अस्ति मैले एउटा कथा हेरेकी थिएँ । (गरिमाःअसार २०६७, सुषमा मानन्धर “आ–आफ्नो धरातल” । कथाकी म पात्रले बेहुला पक्षसँग मैले राखेकोजस्तै प्रस्ताव राखेर कथा टुङ्गीएको रहेछ ।)
मेरो अतीतको कथा र त्यस कथाको घटना मिलेपनि पात्रहरूको नाम फरक थियो । साहित्यकारहरूको कल्पना बेजोडको हुँदो रहेछ । देवकोटाको चन्द्र धरातल टेक्ने उद्देश्य उहाँको मृत्युको दिन साकार भएको थियो । यो अचम्म होइन?
अजर अमेरिका फर्केपछि पनि मलाई फोन गरेका थिए मेरो मोवाइलमा । “म अजर बोलेको..... ।” भन्ने वित्तिकै मैले फोन काटिदिएको थिएँ । मलाई उनीसँग बोल्नु थिएन .....। उनले बारम्बार फोन गरेर मलाई हैरान पारिरहेका थिए । उनी मसँग के भन्न खोजिरहेका थिए, मैले बुझ्न आवश्यक ठानिनँ .... । उनले गरेको फोनको घण्टि बारम्बार मोवाइलमा आइरहन्थ्यो.....। मैले हैरान भएर सिम नै बदल्नु परेको थियो । इमेलको पनि अवस्था त्यस्तै थियो । म आफूलाई दोषी रहेकी थिएँ । इमेल आई.डी.र फोन नम्बर उनलाई दिएकोमा.......। एकदुई पटकको बोलचालमै उनले इमेल आइ.डी. र फोन नम्बर मागेका थिए, मैले लाजले माग्न सकेकी थिइनँ । इमेलको हैरानीलाई सहन नसकेर इमेल नै बन्द गरिदिएकी थिएँ......। लगातारको हैरानीलाई सहन निकै कठिन हुँदो रहेछ । केही नलागेर उनले चिठ्ठी पठाएका थिए । मैले नहेरिनै ड्रेसिङको घर्रामा खाँदिदिएकी थिएँ । जुन बस्तुको आफूलाई आवश्यकता छैन त्यतातिर ध्यान दिनुभन्दा म पढाइमा व्यस्त रहन थालेकी थिएँ ...........।
म यसरी नै अतीतमा डुबेर वर्तमान भुलिरहेकी थिएँ । अचानक घर अगाडि एउटा ट्याक्सी रोकिएकोले तन्द्रा भङ्ग भयो । ट्याक्सीबाट अन्दाजी तीस वर्ष मेरै उमेरकी एउटी युवती ओर्लिन । जूनु मेरी साथी ... । मैले उनलाई माथि नै आउने इशारा गरेँ ।
“हैन ..., जूनु तिमी त विवाहको पाँच वर्षपछि मात्र पो झुल्कियौ त ?” नजिकैको कुर्सीमा बस्ने सङ्केत गर्दै मैले भने ।
“घरिघरि माइतसम्म आउँथे केही क्षणका लागि,......... आज चाहीँ माइत बस्नेगरि आएकीले तिमीसँग भेट्न आएकी.........।”
“राम्रो लोग्ने पाए .......साथीलाई किन सम्झने ?”
“तिमीलाई पनि अमेरिका बस्दै गरेको हाम्रै गाउँको असल परिवारको केटाले मागेकै थियो ।”
“तिमीले अजर इन्जिनियरको कुरा गरेको ?
“.........।” जूनुले होमा शिर हल्लाइन् ।
“त्यतिबेला तिमीले नै भनेको होइन ? अजर तिमीलाई मन पराउँछ र तिमी अजरलाई .........। अजर र तिमीबीच विवाह पछाडि हुने सम्बन्ध पनि भईसकेको भनेर तिमीले नै भनेको होइन मसँग ?” मैले बिस्फारित नेत्रले उनलाई हेर्दै प्रश्नको वाण वर्षाएँ ।
“त्यो सबै मित्थ्या कुरा थियो । अजरले तिमीलाई मन पराएको थाहा पाएपछि उसप्रति तिमीभित्र घृणा उत्पन्न गराउन मैले त्यसो भनेकी थिएँ । तिमीले उसलाई केन्सिल गर्दा कतै उसले आफूलाई मागि पो हाल्छ कि भन्ने लालच पनि मभित्र उब्जेको थियो । खैर .........छाडौँ......बितेको कुरा ........... ।”
जूनुको कुराले एकपटक म छाँगाबाट खसेकी थिएँ । मैले उनलाई शीरदेखि पैतालासम्म गौड गरेर हेरेँ । मेरो त्यस प्रकारको हेराइले उनी सकपकाएकी थिइन् । वास्तविकता मुखबाट फुत्केकोमा उनलाई पछुतो पनि लागिरहेको थियो क्यार ! आफ्नो अभिन्न उनी साथी भएकीले म उनका कुरामा विश्वास गर्दथेँ । त्यो विश्वासको उनले नाजायज फाइदा उठाइ सकेकी थिइन् । वास्तविकताबाट जब परिचित भएँ ....., उनलाई आदर गर्ने कुरा मैले बिर्सिएँ । मेरो परिवर्तित रूपको सायद उनले पनि अड्कल काटिसकेकी थिइन् क्यार । उनले जाने कुराको हतारो गरिन् । मैले चियासम्म पिउने औपचारिकता देखाउँन सकिन । उनको व्यवहारले मभित्र उनीप्रति घृणा जन्मिसकेको थियो । उनी मसँग विदा मागेर गइन् तर अनौठो पीडा छाडेर...। इष्र्याले गाँजेको बेला मान्छेको विवेक शून्य हुन्छ क्यार ! इष्र्या र डाहले वेष्ठित प्राप्तिकोलागि लालची मान्छेले घिनलाग्दो व्यवहार गर्दछ । मेरी साथी जूनुले त्यो कुरालाई प्रमाणित गरेकी थिइन् । उनीप्रतिको स्नेहमा मभित्र खडेरी परिसकेको थियो । “यस्ता घटिया साथी हुनुभन्दा त नहुनु बेस ।” जूनुसँग झगडा गरेर पनि कुनै प्राप्ति थिएन । “मरिहेर्नु मान्छे चिन्नु ।” “कुकुरले खुट्टा टोक्यो भन्दैमा कुकुरको खुट्टा टोक्नु बुद्धिमानी हुँदैन ।”यस्तो मनोसम्बादद्वारा आफूले आफैलाई सम्झाउने प्रयासमा केहिसमय खेर फ्याकेँ ।
“अजरले मसँग विवाहगर्ने हो भने मैले भनेको डाक्टरबाट चेक गरेको मेडिकल सर्टि्फिकेट पेश गर्नु पर्नेछ ।” मेरो यस्तो प्रस्तावले अजर र उनको परिवारमा भुइँचालो नै गएछ । मलाई आमा र आफन्तले धेरै सम्झाउँदा पनि मैले आफ्नो प्रश्ताव फिर्ता गर्न मानिनँ । उनी बुवाआमा सहित विवाह नगरी अमेरिका फर्केका थिए ।
अजरको चाहना नेपालमै बसोबास गरिरहेकी केटीसँग बिवाह गर्ने रहेको हुनाले उनका बुवाआमा पनि खुसी नै देखिन्थेँ । इन्जिनियर केटो त्यो पनि अमेरिकाको बासिन्दा......। गाउँले केटीहरूका बुवाआमा उनलाई ज्वाइँ बनाउने कुरामा आ–आफ्नो ढङ्गले प्रतिस्पर्धा गरिरहेका थिए । गाउँका पढन्ते युवतीहरू पनि त्यो कुरामा कम देखिँदैन थे । उनी हेन्ड्सम, मिजासिलो, हँसिलो स्वभावका धनी थिए । केटीहरूसँग उनी धाप मार्दै फ्रि फ्रेङ्क तरिकाले बोल्दथे । त्यो उनको बानी नै हो या केटीहरूको जाँच गर्ने तरिका, म यकिन साथ छुट्याउन सकिरहेकी थिइनँ । उनी मसँग पनि त्यसरी नै बोल्न खोज्दथे तर म सतर्क हुन्थेँ । म उनीबाट टाढिन प्रयासरत हुन्थेँ भने उनी नजिकिन.......। मभित्र पनि उनीसँग विवाह गर्ने रहर नपलाएको चाहीँ होइन । म मात्र होइन सबै युवतीहरू उनीलाई लोग्ने बनाउँन तँछाडमछाड गरिरहेका थिए । आखिर विवाह पछि अमेरिकाको बासिन्दा होइन्थ्यो । मेरी आमालाई पनि उनलाई ज्वाईँ बनाउने हतारो थियो । मलाई उहाँको हतारो अस्वाभाविक पनि लागिरहेको थिएन । आखिर सबैका बावुआमाले छोराछोरीको भलो नै चाहन्छन् । जूनु र अजर एक अर्कासँग प्रेम गर्छन् र विवाह पछाडि हुने सम्बन्ध पनि उनीहरूमा भै सकेको कुराले अजरप्रति रहेको मभित्रको सहानुभूति पनि रित्तिएको थियो । जूनुसँग त्यस्तो सम्बन्ध हुँदाहुँदै पनि उनको मलाई माग्ने साहस मेरा लागि अपत्यारिलो र अनौठो थियो । जीवन र जगतको मर्यादालाई ख्यालै नगरी शरीरलाई आनन्द प्राप्तिको उद्देश्यले प्रयोग गर्ने उनको बानी असह्य र घिनलाग्दो पाटो थियो मेरा लागि । उनको सभ्यता संस्कारसँग म पृथक थिएँ । हाम्रो मेल भनेको आकाश र धर्तिको झैँ मलाई लागिरहेको थियो । उनी आफ्नै धरातलमा थिए भने म आफ्नै । हाम्रो आ–आफ्नो धरातल थियो । उनको धरातल माथि थियो मेरो तल, मैले हात लम्काएर छुन सक्दिनथेँ । उनी मलाई मेरो धरातलबाट उठाएर माथि लान पनि सक्दैनथे । म उनको धरातलसँग आफूलाई समाहित गर्न चाहन्नथेँ । उनीसँग मेडिकल सर्टि्फिकेट माग्नु विवाह केन्सिल गर्ने मेरो वाहना मात्र थियो । आफ्नो साथी जूनुसँग त्यस्तो सम्बन्ध राख्ने यूवकसँग म कसरी विवाह गर्न सक्दथेँ र ? समय आफ्नै पाराले चिप्लिरहेको थियो ।
यथार्थताको ज्ञान भएपछि आफूले उनीप्रति गरेको व्यवहारलाई सम्झँदा पछुतो लागिरहेको थियो । मैले पछुतो मान्दा हुनेवाला केही थिएन । मलाई भित्री मनले फोनमै भएपनि एकपटक उनीसँग क्षमा माग्न घच्घच्याईरहेको थियो । मसँग उनको फोन नम्बर थिएन । म पानी बिनाको माछाझैँ छट्पपट्याइरहेकी थिएँ । पश्चातापले मानिस भित्रभित्रै गल्दोरहेछ । अचानक मलाई चार वर्ष अगाडि उनले पठाएको चिठ्ठीको सम्झना भयो । हत्तारिँदै ड्रेसिङ भएतिर दौडिएँ, कति सुन्दर खाम झन् त्यसमा लेखिएका अक्षर अति सुन्दर लाग्थे । खामलाई हेर्दै नहेरी घर्रामा राखेकोमा थक्थकी पनि लाग्दै थियो । खाममा लेखिएका सुन्दर अक्षरहरूले आकर्षित गरिरहेका थिए । “खै...? मान्छेको मन पनि कस्तो ? ”म आफू आफैँसँग लजाउँछु ।
“निष्ठा”
तिम्रो मनले निष्ठापूर्वक गरेको निर्णयमा खलल पु¥याउने मेरो कुनै अभिप्राय होइन । तिम्रो सर्तलाई पालन गर्न चाहँदा चाहँदै पनि मभित्र रहेको नेपालीपनको स्वाभिमानले रोक लगाएकोले इच्छा अधुरै रह्यो । नेपाली तन, मन र संस्कार भएकी जीवन साथी सायद मेरो भाग्यमा जुरेको थिएन क्यार ! तिम्रो साथी जूनुसँग तिमीलाई मैले जीवन साथीको रूपमा चैन गरेको कुरा सुनाएको थिएँ र त्यसमा सहयोग पु¥याउन अनुरोध पनि गरेको थिएँ । सायद तिमीलाई सुनाइन पनि होला । तिमीले सिधै मलाइ मन नपराएको कुरा राख्दा भईहाल्थ्यो । सर्त राख्यौं । तिम्रो त्यो सर्तले मेरो नजरमा झन तिमीलाई उजिल्याईदिएको छ ।
तिमीले सर्त राख्नुको कारण बुझ्न सकिनँ ! फोन र इमेलबाट पनि बञ्चित गरायौँ । सायद इमेल पनि पढिनौँ होला । यो चिठ्ठी पनि नहेरी फालिदिने पो हौ कि ? चिठ्ठी लेख्न गलत भए माफ पाउँ । तिम्रो मनले कुनै दिन सम्झना गरे फोन गर्नू, बाई ।
अभागी ‘अजर’
चिठ्ठीलाई ओर्काइ फर्काइ हेरेँ फोन नम्बर नभएकोले मन खिन्न भयो । जूनुदेखि औधि रिस उठिरहेको थियो । रिस उठ्नु स्वाभाविक थियो । उनले नै मेरो सुन्दर भविष्यलाई निमोठेकी थिईन् । “स्वार्थी” । म मनोसम्वाद गर्दै छट्पटाउँदै चिठ्ठीलाई दोहो¥याइ–तेहे¥याइ पढिरहेकी थिएँ । “तिम्रो सर्तले मेरो नजरमा झन तिमीलाई उजिल्याईदिएको छ ।” कति सुन्दर विचार, कति पवित्र भावना .। अजर मलाई माफ गर ..। म आफ्नो त्यो तुच्छ व्यवहारप्रति तिमीसँग क्षमा माग्न पनि नसक्ने भएँ । तिमीले चिठ्ठीमा फोन नं. लेखिदिएको भए ! शरीरका असङ्ख्य हिस्सामा सियोले घोचेझैँ आभाष भईरहेको थियो । पीडा बोधले म मर्माहत हुँदै थिएँ । आँखा रसाएर आइसकेका थिए । मेरो दिमागमा भूईंचालो नै गइरहेको थियो । मोवाइलको घण्टी कानमा ठोकिएकोले तन्द्रा भङ्ग भयो ।
“हेल्लो !”
“हेल्लो .......म अजर बोलेको अमेरिकाबाट .....।”
“..............” उताबाट आएको स्वरले म अचम्भित भएँ ।
मलाई पत्यारै लागिरहेको थिएन । म जुन मान्छेको फोन आउँदा काटिदिन्थेँ आज त्यही मान्छेको फोनलाई त्यसो गर्न सकिरहेकी थिइनँ । मलाई बोल्न असजिलो भईरहेको थियो ।
“निष्ठा ! तिमी किन बोलिरहेकी छैनौ ? अझै तिम्रो म प्रतिको रिस मरेको छैन ?
उनको प्रश्नले मलाई मर्माहत पारिरहेको थियो । म बोल्न खोजिरहेकी थिएँ तर मुखबाट स्वर बाहिरिन सकिरहेको थिएन । आफूलाई संयम बनाउने प्रयास गर्दै भनेँ (“अजर ! तिमीसँग रिसाएकी छैन ....... म के भनौ, मलाई रिसाउन बाध्य पारिएको थियो । बरु तिमी पो मसँग रिसाउनु पर्ने । म त्यो दिनको आफ्नो प्रस्तुतिप्रति दुखित छु । क्षमा गर ........ ।” यतिभन्दाभन्दै झण्डै म रोएकी थिएँ ।
“निष्ठा ! तिमीले गरेको यो याचनाले तिम्रो कोमल मनको सुन्दरतालाई चार चाँद लगाइ दिएको छ । म त्यसलाई टाढैबाट भएपनि महसुस गर्ने चेष्टा गरिरहेको छु ।”
“धन्यवाद ! म सन्तुष्ट भएँ । तिमीले मेरो मोवाइल नम्बर कसरी पायौ ?
“............................”
“मैले सोधेको कुराको तिमीले जवाफ त दिएनौ त ?”
“हिजो फोन गरेर जूनुले तिम्रो नम्बर दिएकी थिइन् । आफ्नो बिगतको दुव्र्यवहारप्रति माफ मागेकी थिइन् ।”
“जूनुले ..........!” आश्चर्यचकित मेरो स्वर बाहिरियो ।
“हो....हो .....जूनुले ।”
“अरु उनले केके भनिन् ?” मैले उत्सुकता दर्साएँ ।
“बिगतका सबै कुरा भनिन् .....। तिमीले पनि उनलाई माफ गर्नका लागि मैलै सिफारिस गरिदेउ है भन्दै थिइन् ..।”
“.......” जूनुले आफ्नो भूलप्रति प्रायश्चित गरेर असल साथीको भूमिका निर्वाह गरेको देख्दा खुसी पनि लागिरहेको थियो । कुण्ठित भएको मेरो मनभित्र उनीप्रति मायाका टुसाहरू पलाउँदै थिए ।
“निष्ठा ! मेरो मरिसकेको आश पुनः बौरिरहेको छ ....। तिमी के भन्छ्याै ?”
“तिम्रो विचार म के भनौँ ।” भित्रभित्रै लजाउँदै मैले भनेँ ।
“फेरि मेडिकल सर्टि्फिकेट माग्दिनौँ ? उनको ठट्यौली स्वर मेरो कानमा ठोकियो ।
“अझै पनि ममाथि भरोशा छैन र ? कहिले आउने ?”
“एक हप्ता जति लाग्छ होला ?”
“मलाई प्रतिक्षारत पाउने छौ........बाई ।”
“बाइ......।” उताबाट फोन काटियो । अजरले पछाडि उभिएर कुत्कुती लगाएको मलाइ आभाष भइरहेको थियो । मैले उनले लेखेको चिठ्ठीलाई म्वाइ खाँदै छातिमा टाँसेर आँखा चिम्म गरेँ ।