19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘मै हुँ औला नकाटिएको एकलव्य’लाई सरसर्ती हेर्दा

कृति/समीक्षा डा.कृष्णराज अधिकारी November 26, 2026, 7:24 pm
डा.कृष्णराज अधिकारी
डा.कृष्णराज अधिकारी

नेपाली साहित्यको समालोचना र सृजनामा विशिष्ट स्थान बनाएका राजेन्द्र सुवेदीको सृजनात्मक वैशिष्ट्य निबन्धात्मक कृतिहरूमा पाइन्छ । करिव एक दर्जन समालोचना र झन्डै त्यति नै निबन्धात्मक कृतिहरूको प्रकाशन गरिसकेका सुवेदीका निबन्ध–कृतिहरूमध्ये ‘म हुँ औला नकाटिएको एकलव्य’ पनि एउटा प्रमुख हो । २०६५ सालमा पहिलोपटक प्रकाशित भएको यो कृति २०७२ मै दोस्रो सस्करणका रूपमा आउनुलाई पनि यसको प्रभावका रूपमा बुझ्न सकिन्छ । समकालीन नेपाली साहित्यमा निबन्ध विधालाई कम लेखिने र पढिने विधाका रूपमा लिने गरिन्छ । तर, लेखकलाई आफ्ना विचार, भावना र चिन्तनलाई कलात्मक रूपमा पस्कन सहज हुने विधा भने यही नै हो । कविता–काव्यमा भावना र आख्यानमा कल्पनातŒवले प्रशस्त चलखेल गर्न पाएझैं निबन्धमा विचार वा चिन्तनले चलखेल गर्न पाउँछ । यसैले आफ्नो सृजनामा बौद्धिकता र चिन्तनको भरपूर प्रयोग गर्न खोज्ने लेखकहरूले निबन्ध विधा रोज्न पुग्दछन् । देवकोटा, सम, हृदयचन्द्र, श्यामप्रसाद, शङ्कर लामिछाने जस्ता लेखकहरूले विकास र विस्तार गर्दै लगेको नेपाली निबन्धलाई रुद्र खरेल, मनु ब्राजाकी, माधवप्रसाद पोखरेल, राजेन्द्र सुवेदी जस्ता थुप्रै लेखकहरूले अघि बढाएको हुँदा नेपाली निबन्ध आजको अवस्थामा पुगेको हो ।

चालिसको दशकबाट नेपाली निबन्धको क्षेत्रमा पाइला चालेका राजेन्द्र सुवेदी मूलतः आत्मपरक निबन्धकार हुन् र निबन्धमा विविध विषय–क्षेत्रलाई प्रवेश गराए पनि सांस्कृतिक, वैचारिक तथा ऐतिहासिक विषय–सन्दर्भलाई बढी समेटिएको पाइन्छ । जम्मा चौधवटा निबन्धहरू सङ्गृहीत रहेको प्रस्तुत कृतिभित्रको एउटा निबन्ध ‘म हुँ औंला नकाटिएको एकलव्य’ लाई नै सिङ्गो कृतिको नाम दिइएबाट पनि लेखकले यो निबन्धलाई विशेष महत्व दिएको बुझ्न सकिन्छ । चौधवटा निबन्धमध्ये अधिकांश निबन्धमा हाम्रो संस्कृतिमा परेको पश्चिमा प्रभाव, सांस्कृतिक अन्तर्मिश्रण र त्यसको विसङ्गत अवस्था, भूमण्डलीकरण र त्यसको प्रभाव, सूचना प्रविधिले भित्र्याएका सकारात्मक र नकारात्मक पक्षहरू, हाम्रो गुरूपरम्परामा आएको नकारात्मक प्रवृत्ति अनि जीवन र मृत्युका बारेमा पनि आफ्ना विचार प्रस्तुत गरिएको छ । केही संस्मरणात्मक र कतिपय प्रबन्धात्मक शैलीका भएपनि अधिकांश निबन्धहरू आत्मपरक शैलीमा प्रवाहित भएको पाइन्छ । लेखकले प्राक्कथनमै २०५५ पछिको समयमा लेखिएका निबन्धहरूलाई यसमा समाहित गरेको भनेबाट पनि निबन्धको विषय नेपालको तत्कालीन राजनीतिक अवस्था विशेषतः माओवादी जनयुद्ध र त्यसको आडमा भएको जनआन्दोलन अनि सङ्घीयता र धर्मनिरपेक्षतासहितको गणतन्त्र स्थापनासँग जोडिएका सन्दर्भहरूलाई पनि निबन्धमा समेटिएको पाइन्छ ।

‘द्वन्द्व, जीवन र मान्छे’ मार्क्सको द्वन्द्वात्मक भौतिकवादी चिन्तनबाट प्रभावित वैचारिक–दार्शनिक चिन्तन बोकेको निबन्ध हो । यसमा संसारका हरेक वस्तु र घटना, जीवन, समाज र विश्व द्वन्द्वको कारणले नै घटित र अस्तित्ववान् छन् भन्दै विनाद्वन्द्व कुनै पनि वस्तु गतिशील र अस्तित्ववान् रहन सक्तैन भन्ने विभिन्न दृष्टान्त अघि सारिएको छ । लेखकले हरेक लडाइँ, सङ्घर्ष र आक्रमण पनि द्वन्द्वकै उपज भएको र वर्गविभक्त समाजमा वर्गद्वन्द्व चल्नु स्वाभाविक भएको भाव व्यक्त गरेका छन् । राम र रावण, कृष्ण र कंश, महिषासुर र दुर्गा, बुद्ध र अङ्गुलीमाल जस्ता परस्पर विरोधी चरित्रका पौराणिक तथा ऐतिहासिक पात्रको द्वन्द्वात्मक दृष्टान्त अघि सार्दै तत्कालीन समयमा सञ्चालित विद्रोही माओवादी र सरकारी पक्षका बिचको युद्धलाई पनि नयाँ र पुरानो मान्यताका बिचको द्वन्द्वका रूपमा औंल्याएका छन् । यसरी एकातिर विद्रोही र सरकारी पक्षका बिचको युद्धलाई नयाँ र पुरानो मान्यता बिचको द्वन्द्वका रूपमा उल्लेख गर्दै ‘‘२०५२–०६२ को एक दशकमा नेपाली परिवेशमा द्वन्द्वहरू चले, युगौंदेखि मान्छेका संवेदनागत जगत्मा द्वन्द्वहरू भौतिक रूपमा पनि देखा परे ...शताब्दीऔंदेखि निर्माण भएका केन्द्रहरू धर्मराए भनिएको छ भने अर्कातिर फेरि ‘‘म आफैं र मेरा अरु कथित जनयुद्ध सत्तासंरक्षणको मोर्चामा विभाजित बन्न विवश छौं’’ भन्दै जनयुद्धलाई वर्गद्वन्द्व मान्न इक्कार गरी ‘कथित’ भनिएको छ । लेखकको द्वन्द्वसम्बन्धी माक्र्सवादी दृष्टिकोण र जनयुद्धलाई हेर्ने दृष्टिकोणमा केही विरोधाभास देखिएपनि द्वन्द्वको अपरिहार्य नियमलाई विभिन्न पौराणिक, ऐतिहासिक, सामाजिक र राजनीतिक सन्दर्भसहित विश्लेषण गर्नुलाई निबन्धको महत्वपूर्ण पक्ष मान्न सकिन्छ ।

‘यसलाई पनि सांस्कृतिक निबन्ध मान्छु म’ सङ्ग्रहभित्रको अर्को निबन्ध हो । यसमा लेखकले उत्तरआधुनिकतावादी प्रवृत्ति, केन्द्र निर्माण र विधा भञ्जन तथा सवाल्टर्न जस्ता सन्दर्भ अनि त्यसले नेपालमा पारेको प्रभावलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेको पाइन्छ । एकातिर संस्कृति जोगाउने नाउँमा पुरानै परम्परा जोगाउन खोज्ने अनि अर्कातिर आधुनिक बन्ने बहानामा परम्परागत सुन्दर पक्षहरूलाई पनि मेट्न खोज्ने आजको हाम्रो विसङ्गत अवस्थाप्रति व्यङ्ग्य गरिएको छ । आधुनिक बन्ने नाउँमा गाउँमा उत्पादित मकै, कोदो, गहुँ र फापर खान छोडेर प्याकेटमा तयार बनेर आएका चाउचाउ, बिस्कुट, कुरकुरे, लेज जस्ता प्रशोधित र तयारी वस्तुहरूको उपभोग गर्ने प्रवृत्ति अनि पूजा वा श्राद्धको दक्षिणा बटुलेर रक्सी खाने हाम्रा पुरोहितहरूको अवस्थाप्रति लेखक चिन्ता प्रकट गर्दछन् । पुराना केन्द्र भत्काउनेहरू आफैंले नयाँ केन्द्र बनाउन थाल्नु विडम्बना हो भन्दै वर्तमान विदीर्ण र विकृत संस्कृतिप्रति व्यङ्ग्य गर्न पुग्छन् ।

‘ह्लोसार, सन्तबहादुर र लोकतान्त्रिक गणतन्त्र’ मा नयाँ संविधानले व्यवस्था भएको जातीय, क्षेत्रीय र लैङ्गिक आधारमा गरिने आरक्षण व्यवस्था र प्रान्तीय विभाजनका सन्दर्भलाई खोतलिएको छ । प्रान्तीय विभाजनलाई आत्मनिर्णयको अधिकारसँग जोड्न उपयुक्त नहुने लेखकको ठहर छ । प्रादेशिक संरचना र आरक्षण व्यवस्था लेखकलाई उपयुक्त लाग्दैन र भन्छन् —‘‘सानो मुलुकको साँघुरो बाटोबाट आउने जाने गरेका प्रजातन्त्रले यसपल्ट धर्म र लिङ्गको अधिकारको विषयमा कुरा गरिरहेछ ।...लामो समयको वर्गीयता र लिङ्गीययताको प्रभावबाट दमित मानसिकता प्रतिशतको आरक्षण खोजेर अधिकारको उद्घोष गरिरहेछ ।’’ राज्यको पुनर्संरचना गर्दा आउने गरेका विभिन्न स्वरमध्ये आत्मनिर्णयको अधिकार पनि थियो । केही जनजाति र विशेष गरी मधेसकेन्द्रित पार्टीहरूले यसलाई उठाउँदै आएका थिए । प्रदेश विभाजन वा सङ्घीय संरचनाका सकारात्मक र नकारात्मक पक्षहरू, नेपालमा त्यसको आवश्यकता र औचित्य, सङ्घीयताको स्वरूप र ढाँचाका बारेमा प्रशस्त छलफल, राम्ररी विमर्श र अध्ययन नगरी अघि बढाइएको भन्ने धेरैको धारणा रहेको थियो । संघीयताका बारेमा धेरैको बुझाइ अस्पष्ट र अपूर्ण रहेको थियो । एकथरीमा सङ्घीय संरचनाले कतै देशलाई नै विखण्डन गर्ने हो कि भन्ने चिन्ता र भय थियो भने अर्काथरीमा सङ्घीयता आएपछि धेरै समस्याको समाधान हुन्छ भन्ने थियो अनि कतिपयमा त आत्मनिर्णयको अधिकारसहितको (जसमा प्रदेशलाई छुट्टिने अधिकारसमेत हुन्छ) सङ्घीयताको पैरवी गरिरहेका थिए । प्रस्तुत निबन्ध त्यसै पृष्ठभूमिमा लेखिएको देखिन्छ । यसैले यहाँ लेखक सङ्घीयताले कतै देशलाई विखण्डनतिर लैजाने हो कि भन्ने चिन्ता राख्दछन् । तर वास्तविकता के हो भने न त सङ्घीयता हुने वित्तिकै देश विखण्डन हुने हो न त सङ्घीयता लागु हुनेवित्तिकै धेरै समस्याको समाधान हुने नै हो । देश टुक्रिने र जोडिने भन्ने कुरा खालि भावनाले मात्र हुने होइन, त्यसमा विभिन्न पक्षहरू जोडिएका हुन्छन् । यहाँ लेखक आरक्षण व्यवस्थाको पनि विरुद्धमा देखिन्छन् । आरक्षणको व्यवस्था गरिँदैमा किनारामा परेका वा पारिएका सबै जाति, क्षेत्र र लिङगको उत्थान हुने होइन, केवल त्यो वर्गका केही व्यक्तिविशेषको मात्र उत्थान हुने हो भन्ने लेखकको धारणा रहेको छ । हुन पनि नेपालको सन्दर्भमा जाति, क्षेत्र र लिङ्गको आरक्षणमा त्यस वर्गमा पिँधका मानिस नभएर माथिल्लो वर्ग र तहका व्यक्ति आउने गरेको तितो यथार्थ देखिन्छ । यसैले पिँध वा किनारामा पारिएका जाति, क्षेत्र वा लिङ्गका लागि आरक्षणको व्यवस्था गरिनु आफैंमा गलत अभ्यास होइन नेपाल जस्तो सदियौंदेखि विभेदमा पारिएका क्षेत्र, लिङ्ग, जात तथा समुदायका लागि केही निश्चत समयावधिका लागि र केही निश्चित क्षेत्रमा लागु गरिनुचाहिँ आवश्यक हुन्छ । तर, सबै क्षेत्रमा र अनन्त कालसम्म लागु गरिनुचाहिँ उपयुक्त होइन ।

‘काभ्रोमा हुर्किएको बरको रुख’ लेखकले आफ्नो बाल्यकालदेखि पछिल्ला केही वर्षका सन्दर्भहरूलाई समेट्दै नेपालको तत्कालीन सामाजिक–राजनीतिक अवस्थालाई नियाल्न खोजिएको संस्मरणात्मक निबन्ध हो । यहाँ खासै महत्व नराख्ने सामान्य कुरालाई बडो तामझामका साथ प्रचारप्रशार गर्ने तर मुख्य र महत्वपूर्ण विषयमा कुनै ध्यान नदिने हाम्रो राजनितिक–सामाजिक नेतृत्वप्रति हलुका व्यङ्ग्य र असन्तुष्टि व्यक्त गरिएको छ । नेपालमा केही दशकअघि आफ्नो गाउँ वा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने होड नै चलेको थियो । खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तर ठाउँ–ठाउँमा शौचालयको व्यवस्था नगर्ने परिपाटीले उक्त घोषणाको उपहास गरिरहेको थियो । उता, त्योभन्दा महŒवपूर्ण काम जनतालाई निरक्षरताबाट मुक्त गर्ने, गाउँ वा जिल्लाबाट गरिवी मुक्त गर्ने, देशबाट वेरोजगारी मुक्त गर्ने जस्ता जनसरोकारका कुनै कार्यक्रम नल्याउने तर खुला दिसामुक्त क्षेत्र घोषणा गरेर छाड्ने परिपाटीप्रति लेखक हलुका व्यङ्ग्यसमेत गर्न पुग्दछन् । लेखक आफ्नो गाउँ जाने बाटोको भालुचोकले खुला दिसामुक्त क्षेत्र भनेर बोर्ड टाँगेकोप्रति सङ्केत गर्दै निरक्षरता मुक्त, वेरोजगार मुक्त, अशान्ति र असुरक्षारहित, अभावरहित भनेर सबै जिल्लाले घोषणा गर्नुपर्नेमा त्यस्तो हुन नसकेकोमा चिन्ता व्यक्त गर्दछन् । काभ्रोको एउटा बूढो रुखमा बरको रुख उम्रिएकोप्रति सङ्केत गर्दै लेखकले पुरानाको आड र भरोसामा नै नयाँ पुस्ता र तिनका विचारहरू हुर्किने गरेको तथ्यलाई औंल्याउन पुगेका छन् ।

‘भूमण्डलीकरण, आन्दोलन र संवेदना’ शीर्षकको निबन्धमा लेखकले भूमण्डलीकरणले गर्दा संपूर्ण विश्व नै एउटा गाउँ जस्तो भएकाले एउटा देशको संस्कृति अर्को देशमा पर्न गई नेपाल जस्तो आफ्नै सम्पन्न संस्कृति भएको देशमा त्यसको नकारात्मक प्रभाव पर्न गएको कुरा उल्लेख गरेका छन् । हाम्रो मौलिक सभ्यता, संस्कृति र सबै खाले असल परम्पराहरू मेटिँदै र हराउँदै जान थालेकोप्रति लेखक चिन्ता व्यक्त गर्न पुग्छन् । यहाँको भाषिक र जातीय आन्दोलनले एकातिर आफ्नोपन र स्वत्वको खोजी गरिरहेको छ भने अर्कातिर विश्वका अन्य भाषा, धर्म र संस्कृतिको बढ्दो प्रभावले नेपाली मौलिकता र पहिचान नै मेटिँदै गएको अवस्थालाई प्रस्तुत गरिएको छ । आफूलाई पृथ्वीको सर्वश्रेष्ठ प्राणी भन्दै आएको मानिसले विज्ञान र सूचना प्रविधिलगायतका क्षेत्रमा ठुलो उपलब्धि हासिल गर्दै आएको भए तापनि मानिसकै कारण अन्ततः पृथ्वीनै ध्वस्त हुन सक्ने अवस्था उत्पन्न भएको कुरा ‘अधिकार प्रत्यायोजन’ निबन्धमा व्यक्त गरिएको छ । यसका लागि लेखकले ब्रह्माद्वारा जगत्को सृष्टि गरिएको पौराणिक कथालाई अघि सारेका छन् । आफूले सृष्टि गरेका प्राणीहरू एकले अर्कालाई खाइरहेको अवस्था देखेर दिक्क भएका ब्रह्माले त्यस्तो अवस्था रोक्न नसकेपछि मानिसलाई त्यस्तो अवस्था रोकेर सबैको सुरक्षित व्यवस्था गर्न विशेष जिम्मा दिन पुग्छन् । तर मानिसले विभिन्न प्रयोग गर्दै जाँदा आखिर स्वयं ब्रह्माकै मस्तिष्कलाई भू–उपग्रह मार्फत नियन्त्रण गर्न थालेको र त्यसको असरबाट सृष्टिकर्ता ब्रह्माजी नै ढल्न पुगेको कथानक प्रस्तुत गर्दै अधिकार प्रत्यायोजनको दुरूपयोगले निम्त्याउने दुर्भाग्यप्रति सचेत गराएका छन् ।

नेपालको प्राकृतिक परिवेशको जीवन्त चित्रणबाट सुरु गरिएको ‘सम्पन्न दरिद्रता’ को शैली औपन्यासिक प्रकृतिको रहेको छ । प्राकृतिक र सांस्कृतिक संपदाले सम्पन्न मुलुक हुँदाहुँदै पनि नेपालले आफूलाई सधैं गरिव देशका रूपमा प्रस्तुत गर्नु हाम्रो आफ्नै मानसिक दरिद्रता हो भन्ने लेखकको ठहर छ । देशबाट गरिवी हट्न नसक्नुमा उसको गरिव मानसिकता मुख्य कारक हो भन्दै यसका लागि सबैभन्दा पहिले नेपालीले आफ्नो मानसपटलबाट नै गरिवीलाई हटाउनुपर्ने लेखकको सल्लाह छ । तर, लेखकको यो विचार सिद्धान्ततः सही भएपनि व्यावहारिक नभएर भावुक अभिव्यक्ति मात्र हो । देश प्राकृतिक र सांस्कृतिक दृष्टिले मात्र धनी भएर पुग्दैन, जवसम्म प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको अत्यधिक प्रयोग, संरक्षण अनि देश र जनताको हितमा समुचित सदुपयोग गरिँदैन र आम जनताले नभएर केही मुठ्ठीभर व्यक्तिहरूले मात्र त्यसबाट लाभ लिन पुग्दछन् भने त्यस्तो सम्पदाको कुनै अर्थ र महत्व रहँदैन । असल शासक र सोही अनुरूपको शासन व्यवस्था भएमा मात्र देशको स्रोत–साधनको सही उपयोग भई देश सम्मन्न हुन पुग्ने हो । यस निबन्धमा ‘‘अविच्छिन्नताका चूर्ण कुन्तलहरूसँग शरदको शीतल समीर चल्दा नरम लतिकाहरू लहराए’ जस्ता संस्कृत शब्दहरूको प्रचुर प्रयोग भएको र अलि क्लिष्ट लाग्ने शैलीले निबन्ध अलि जटिल बन्न पुगेको छ ।

‘वर्तमान र गुरु परम्परा’ निबन्धमा हाम्रो समृद्ध गुरु–परम्परा भित्रको नकारात्मक पक्षलाई प्रस्तुत गरिएको छ । पौराणिक कालदेखि वर्तमानसम्मको हाम्रो गुरु परम्परा खोतल्दै जाने हो भने आदर्श गुरु–शिष्य परम्पराभित्र पनि ईष्र्या र दुराग्रहले कतै न कतै ग्रस्त पारिरहेको देख्न सकिन्छ भन्ने लेखकको धारणा रहेको छ । आफ्नो तुष्टि पूरा गर्न एकलव्यको औंलो काट्न लगाउने द्रोणाचार्यदेखि ठुला ऋषि भनिएका विश्वामित्र, वशिष्ठ र दुर्वाशाहरूले पनि कुनै न रूपमा आफ्ना शिष्यहरूसँग गुरु–दक्षिणा स्वरूप तिनको प्रतिभालाई कुण्ठित गर्ने, आफ्नो शिष्यलाई कहिल्यै पनि आफूभन्दा श्रेष्ठ नहोस् भन्ने तुष्टि पाल्ने गरेको पौराणिक सन्दर्भलाई हाम्रा वर्तमानका गुरुहरूले पनि सिको गर्ने गरेको भन्ने भाव निबन्धमा व्यक्त भएको छ । शिष्यले कुनै नयाँ प्रश्न नगरोस्, नयाँ ज्ञानको खोजीमा अग्रसर नहोस् र आफूभन्दा बढी जान्ने र बढी ज्ञानी हुन नसकोस् भन्ने भित्री ईष्र्या पालेर बस्ने द्रोणाचार्यको परम्परा वर्तमान समयमा पनि रहिरहेको छ, जसले गर्दा कतिपय प्रतिभाशाली शिष्यहरूको प्रतिभा कुण्ठित हुने गरेको छ । कतिपय गुरुहरूमा त्यस्तो प्रवृत्ति भएपनि सबै गुरुहरूमा चाहिँ त्यस्तो प्रवृत्ति हुँदैन । सबै गुरुहरुले ईष्र्या र आग्रह पालेर बस्दैनन् । शिष्यहरू आफूभन्दा बढी ज्ञानी होऊन्, आफूले जान्न, बुझ्न र खोज्न नसकेको ज्ञान आफ्ना उत्तम शिष्यहरूले भेटाउन सकून् भन्ने गुरुहरू पनि हुन्छन् । त्यस्ता गुरुहरूकै कारणले मानव जातिले निरन्तर नयाँ नयाँ ज्ञान र आविष्कार गर्दै अघि बढिरहेको हो । हाम्रो पौरस्त्य सभ्यताभित्र केही त्यस्ता द्रोणाचार्य प्रवृत्तिका गुरुहरू भए पनि अन्यत्र भने त्यस्तो प्रवृत्ति कमै पाइन्छ । शिष्यहरूले जति धेरै प्रश्न ग¥यो, जति धेरै जिज्ञासा राख्यो, जति धेरै सन्देह जन्माएर गुरुलाई हैरान पा¥यो र जति आफूभन्दा बढी ज्ञानी भएर निस्क्यो त्यति नै प्रशन्न हुने गुरुहरूकै कारण पश्चिमा जगत्ले विज्ञान–प्रविधिलगायतका विभिन्न क्षेत्रमा हामीलेभन्दा बढी उन्नति गर्न सकेका हुन् । यहाँ लेखकले आफूलाई विश्वविद्यालयमा पढाएका कुनै आदर्श गुरुको उदाहरण दिँदै तिनको भनाइलाई उद्धरण गरेका छन् तर कतिपय शिष्यलेचाहिँ तिनै गुरुलाई द्रोणाचार्यसँग जोडेर हेर्ने गरेको पनि पाइन्छ । जे होस्, प्रस्तुत निबन्धले हाम्रो गुरु–शिष्य परम्पराभित्र अझै पनि द्रोणाचार्य प्रवृत्ति पाइने यथार्थलाई पौराणिक सन्दर्भसहित सुन्दर शैलीमा प्रस्तुत गरेको छ जुन यस निबन्धको सबल पक्ष हो ।

‘म हुँ औंला नकाटिएको एकलव्य’ पनि अघिल्लो निबन्ध ‘वर्तमान र गुरु परम्परा’ कै विषय–सन्दर्भसँग मिल्दो रहेको छ । पौराणिक कथामा गुरु द्रोणाचार्यले आफ्ना उत्तम शिष्य एकलव्यसँग गुरु दक्षिणावापत औंला मागेका थिए जसबाट एकलव्यलाई सर्वश्रेष्ठ धनुर्धर हुनबाट वञ्चित गर्न सकियोस् । यसैगरी विश्वामित्रले गालवसँग, शुक्राचार्यले कचसँग पनि आफ्नो तुष्टि पूरा गर्न गुरु–दक्षिणावापत तिनका प्रतिभालाई कुण्ठित गरेको पाइन्छ । त्यही परम्परा अहिले पनि कायम रहेको भन्ने लेखकको भनाइ छ । कुनै पनि शिष्यलाई आफूभन्दा माथि जान नदिन गुरुहरूले शिष्यहरूमाथि सीमाबन्दी गर्ने गरेका विभिन्न दृष्टान्त यहाँ प्रस्तुत गरिएको छ । यहाँ लेखकले पौराणिक सन्दर्भलाई सामाजिक–राजनीतिक सन्दर्भसँग पनि जोड्दै बुद्ध, अरनिको, शिवाजी जस्ता प्रतिभाहरूमाथि पनि विभिन्न षड्यन्त्र र घात हुँदै आएको, इतिहासमा हिटलर, मुसोलिनी, अलेक्जेन्डर, बुस, ब्लेयर र इदि अमिनहरूबाट जनतामाथि ठुलो आघात भएको तथा नेपालका सन्दर्भमा पुष्पलाल, विश्वेश्वर र मदन भण्डारीको पनि औंला काट्न वा तिनको विचार कुण्ठित पार्न खोजिएको कुरा औंल्याइएको छ । साहित्य र संस्कृतिमा मात्र होइन जीवन र जगत्का हरेक पक्षमा द्रोणाचार्यहरू आफूलाई चुनौति दिने प्रतिभाहरूको ज्ञान, सीप वा विचारको औंंला काट्न निस्केका हुन्छन्, यसैले आफ्नो औंला वा स्वत्वलाई मजबुत बनाउनु आवश्यक छ भन्ने लेखकको निष्कर्ष रहेको छ ।

२०६२÷०६३ को जनआन्दोलनपश्चात् राजसंस्था उन्मूलन भएर लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि ‘राज’ जोडिएका सबै निकाय, संस्था–प्रतिष्ठानलगायत राजमार्गका नामहरूसमेत फेर्ने लहर चलेको अवस्थालाई लिएर लेखिएको निबन्ध हो— ‘मरेपछि सबै लोकेन्द्र ।’ राजसंस्था उन्मूलन गर्नु भनेको ‘राज’ जोडिएका शब्द हटाउने होइन, निरङ्कुशता, शासनमा वंश परम्परा र सामन्तवादको उन्मूलन गर्नु हो । यस्ता कुराहरूलाई लेखकले तत्कालीन अवस्थासँग जोड्दै कतै ‘राज’ जोडिएका वैदिक मन्त्रहरू पनि हटाउनु पर्ने हो ? भन्ने व्यङ्य र विरोध जनाउन पुगेका छन् । तर, त्यसरी ‘राज’ जोडिएका नाम फेर्दै जाने सोच गलत भएको कुरा केही वर्षपछि भने धेरैले महसुस गर्न थालेको पाइन्छ । ‘नाममा के छ ? गुलाफको फूललाई गुलाफ नभनेर अरु नै नाम भनिए पनि त्यसबाट आउने बास्नामा कुनै फरक आउँदैन’ भन्ने सेक्सपियरको भनाइझैं बाटो, पुल वा कुनै निकायको नाममा ‘राज’ जोडिएकै भरमा त्यसलाई राजा र राजसंस्थासँग जोड्दै हटाउन खोज्नु गलत चिन्तन वा अभ्यास हो । लोकतान्त्रिक गणतन्त्रको भावनाअनुसार काम नगर्ने तर सतहमा मात्र चर्का कुरा गर्ने प्रवृत्तिप्रति लेखको असहमति रहेको छ ।

‘सफ्टवेयर, दसैं र मेरो कम्प्युटर माउस’ हास्यव्यङ्यात्मक रूपमा प्रस्तुत गरिएको सांस्कृतिक निबन्ध हो । यहाँ विश्वमा तीव्र रूपमा विकास र विस्तार हुँदै गरेको कम्युटर प्रविधि र त्यसमा अभ्यस्त हुँदै गरेका नेपालीको मनस्थिति र अवस्थालाई प्रस्तुत गरिएको छ । सूचना–प्रविधि मार्फत भित्रिएको पश्चिमा संस्कृति र त्यसले हाम्रो संस्कृतिमाथि पारेको जवर्जस्त प्रभावलाई यहाँ केही सन्दर्भसहित प्रस्तुत गरिएको छ । आधा नेपाली र आधा अङ्ग्रेजी मिसिएको भाषा, आधा नेपालका जनतातीय संस्कृति र आधा विदेशी संस्कृति मिसिएको क्वाँटी संस्कृति, अनि खाना, कपडा लगायतका हरेक कुरामा मौलिकता हराउँदै गएको वर्तमान अवस्थाप्रतिको चिन्तालाई लेखकले विभिन्न सन्दर्भसहित प्रस्तुत गरेका छन् । ‘मुसा, मृत्युु र शवयात्रा’ चाहि चिन्तनप्रधान निबन्ध हो । आफ्नो कोठामा पसेर पुस्तक र कपडाहरू काटेको मुसालाई मारेर परको खेतमा लगी फाल्दाको संस्मरणमा लेखिएको यस निबन्धको माध्यमबाट लेखकले जीवन र मृत्युका बारेमा सोच्न पुगेका छन् । कैयन् व्यक्तिहरूको दुर्घटनामा परेर असमयमै निधन भएको र अधिकांशको सामान्य अन्त्यष्टि कार्य समेत हुन नसकेको अवस्थाप्रति लेखक घोत्लिन पुग्दछन् र आफूले मुसालाई मारेपछि त्यसै बाहिरतिर नफाली परको खेतमा लगेर फाल्दा जतिको सम्मानजनक अन्त्यष्टि पनि कतिपय मृतक मानिसहरुले पाउन नसकेको अवस्था खोतल्छन् अनि ‘आफ्नै शव बोकेर म यात्रा गरिरहेछु’ भन्ने मृत्यु चिन्तन गर्न पुग्दछन् ।

‘दरिद्र नेपालीको चाडबाड सम्पन्नता’ पनि हाम्रो सांस्कृतिक पक्षलाई नै विषयवस्तु बनाएर लेखिएको निबन्ध हो र यसको शीर्षकबाट नै सबै कुराहरू स्पष्ट हुन पुग्छ । हामी नेपालीहरू चाडबाड र मेला–पर्व भनेपछि निकै हौसिने वा बढी महत्व दिने गर्दछौं । नेपालमा यस्ता चाडपर्व हरेक महिनाजसो आइरहने हुँदा कतिपय नेपालीहरूका लागि यस्ता पर्वहरू ठुलो बोझ बन्न पुगेका हुन्छन् । अझ आफ्नो औकातभन्दा बढी खर्च गर्ने, देखासिकी गर्ने र सामाजिक बन्ने नाउँमा पनि बढी खर्च गर्ने अवस्थाले गर्दा यस्ता पर्वहरूले गरिव नेपालीहरूका लागि ऋणको भारी बोकाएर जाने गर्दछन् । फेरि पछिल्लो समयमा आफ्नै घर–गाउँमा उत्पादन हुने सामग्रीको प्रयोग हुन छाडेको र विदेशबाट आयातित सामग्रीहरूले हाम्रा चाडपर्वहरूमाथि कब्जा जमाइरहेको अवस्था रहेको छ । यसैले चाडबाड मनाएर राष्ट्रिय संस्कृति जोगाउँछु भन्ने कथित राष्ट्रवादी सोच पनि आडम्बर मात्रै हो भन्ने भाव पनि निबन्धमा पाइन्छ ।

‘गर्न धेरै बाँकी छ’ सङ्ग्रहभित्रको अन्तिम निबन्ध हो । यस निबन्धमा गीतकार क्षेत्रप्रताप अधिकारीको गीत ‘जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठुलो कुरा मर्न बाँकी छ’ प्रति आलोचनात्मक धारणा राख्दै जीवनको बाँकी अवधिमा गर्नुपर्ने काम वा जिम्मेवारीलाई गीतकारले कम महत्व दिई मृत्युलाई महत्व दिएको भन्ने विचार व्यक्त गरिएको छ । निबन्धकार ‘मर्न बाँकी छ’ प्रति असहमत हुँदै छोटो तर अमूल्य जीवनमा गर्नुपर्ने धेरै काम हुन्छन्, तिनलाई पूरा गर्न नपाउँदै मृत्यु सन्मुख आइपुग्छ । यसैले जीवनको प्रत्येक क्षणको महत्व हुन्छ र त्यसलाई आफ्नो काम वा जिम्मेवारी पूरा गर्नमा सदुपयोग गर्नुपछ । यहाँ गीतकारले कर्मलाई कम महत्व र मृत्युलाई बढी महत्व दिएकोमा उनलाई लेखकले जीवनविरोधी र निराशावादी देख्नु स्वाभाविक हो । गीतको अंश ‘सबैभन्दा ठुलो कुरा मर्न बाँकी छ’ लाई सरसर्ती हेदा निबन्धकारले गरेको टिप्पणी उचित नै लाग्दछ । तर गीतको अघिल्लो पंक्ति नपढी पछिल्लो पंक्ति मात्रैका आधारमा टिप्पणी गर्नुचाहिँ अपूर्ण हुन जान्छ । कतिपय गीतमा र अझ विशेषतः लोकगीतमा दुवै पंक्ति नपढी पूर्ण भाव आउन सकेको हुँदैन । यहाँ पनि पहिलो पंक्तिमा गीतकारले ‘‘जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ’ भन्न पुगेका छन् जसले जीवनमा गर्नुपर्ने कामको जिम्मेवारीबोध गरेको छ । तर, दोस्रो पंक्तिले पहिलो पंक्तिको भावलाई अझ परिपुष्ट गर्नुपर्नेमा त्यसो हुन नसकी ‘‘सबैभन्दा ठुलो कुरा मर्न बाँकी छ’ भन्नुले मृत्युलाई महत्व दिएको देखिन्छ । पहिलो र दोस्रो पंक्तिबिचको सङ्गति नमिल्दाको परिणाम हो यो । यसैले निबन्धकार त्यही दोस्रो पंक्तिप्रति असहमत हुन पुग्छन् । मृत्यु त चाहेर वा नचाहेर पनि ढिलो–चाँडो आइनै हाल्छ । त्यसैले आफ्नो जीवन वा आयुलाई पूर्ण सदुपयोग गर्दै आफ्नो कर्म वा जिम्मेवारीलाई जतिसक्यो चाँडो पूरा गर्नतिर अग्रसर हुनुपर्छ भन्ने लेखकको मान्यता रहेको छ ।

समग्रमा ‘म हुँ औंला नकाटिएको एकलव्य’ भित्रका चौध निबन्धहरू २०५५ देखि २०६५ सम्मको दश वर्षको नेपालको तरल राजनीतिक–सामाजिक अवस्थाको समयमा लेखिएको पाइन्छ । यस समयावधि माओवादी जनयुद्धदेखि जनआन्दोलन, राजतन्त्रको अन्त्य, सङ्घीय गणतन्त्रको स्थापना र राज्य पुनर्संरचनाको बहस चलिरहेको समयावधि थियो । यसैले यसभित्रका कतिपय निबन्धमा त्यसको कुनै न कुनै प्रभाव पाइन्छ भने कतिपय निबन्धमा हाम्रो संस्कृतिमा आएको विकृति र विचलन, सूचना–प्रविधिले हाम्रो समाज र संस्कृतिमा पारेको प्रभाव, हाम्रो गुरु परम्पराका विकृति अनि केही जीवन, जगत् र मृत्युसम्बन्धी आफ्ना चिन्तन वा दृष्टिकोणलाई कतै सरल, कतै व्यङ्ग्यात्मक र कतै आलङ्कारिक शैलीमा प्रस्तुत गरिएको पाइन्छ । स्पष्ट प्रगतिवादी स्वर नभेटिए पनि कतिपय निबन्धहरूमा प्रगतिशील स्वर स्पष्ट मुखरित भएको पाइन्छ । यस सङ्ग्रहभित्रका निबन्धहरूले लेखक राजेन्द्र सुवेदीको निबन्धकारिता र उनको वैचारिक सांस्कृतिक दृष्टिकोणलाई बुझ्न धेरै हदसम्म सहयोग पुर्याउँछ । यसैले यस सङ्ग्रहलाई लेखकको विशिष्ट निबन्धात्मक प्राप्तिका रूपमा लिन सकिन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।