19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जून !

कविता डिल्लीराम कट्टेल November 27, 2026, 2:12 pm
डिल्लीराम कट्टेल
डिल्लीराम कट्टेल

आज समय तिम्रो अधीनमा छ,
पूजा कोठामा हरेक दिन
तिम्रो आरती उत्रिरहेकोछ ,
तर,
जब तिम्रो मालिकले
शालिग्राम भेट्नेछ,
हुत्याउनेछ तिमीलाई फुत्त
झ्यालबाट रछ्यानमा ।

त्यसपछि थाहा पाउनेछ्यौ
खुकुरी बज्रिएको शिरको पिर ।
चट्याङ पर्नेछ तिम्रो शिरमा ,
छियाछिया परेको तिम्रो तालुमा
आलु फल्नु त कता हो कता,
खुकुरीका डोबले
भस्मेमा कोरिएका
खोरियाका नसा बन्नेछन् ।

अझ समयले पिल्स्याएपछि
बन्चरो पनि बजृनेछ,
बज्र पर्नेछ तिम्रो शरीरमा ।
हुन त,
तिमी ठान्छ्यौ आफूलाई बज्राठ,
तर बन्चरो बजारिएको बज्राँठले,
जब तिम्रो मस्तिष्क मथेलिन्छ,
बन्चरोको घाउले
बाटोमा बनेका
ट्याक्टरका छाप बन्नेछन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।