19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जिबाको जन्तर

कविता लीलाम्बर ढुङ्गाना November 27, 2026, 2:15 pm
लीलाम्बर ढुङ्गाना
लीलाम्बर ढुङ्गाना

(१)
जिबा बोल्थे “जीँ जीँ” गरिकन कठै “सज्जन धन”
घृणा ईर्ष्या त्याग्दै जगत भरमा “अब्बल बन” ।
उही दौरा–भोटो असल सुखको आँचल भिरी
जिबा ब्यूँझेका छन् नर–विपतको खाडल चिरी ।।
(२)
पगालिन्थे गाली नव–नव कडा झञ्झट बल
कतै छर्थे फर्फर् सकस पथको कञ्चन जल ।
जिबा यौटा द्यौता जगत भरका “नन्दन” बने
जहाँ बोल्थे पुर्खा सकस वसमा “चन्दन” बने
(३)
जपी आस्था छर्ने हर–पुरुषका चन्दन जन
कतै हाँक्छन् भाक्छन् नर–भरणका बन्धन मन ।।
लुके निर्धा–दुब्ला वय–नयनका लालच छडी
चुमेका छन् गाथा चमचम गरी सुन्दर मणि ।।
(४)
जहाँ बास्थ्यो न्यौली, चिरबिर चरो श्रव्य मसिना
निशा हाँस्दै रुन्थी भ्रम र श्रमको द्रव्य कसिमा ।
घुमेका छन् पुर्खा भुवन भरको पातल तल
जिबा खोज्दै हिँड्थ्यो वरपर कतै निर्मल जल ।।
(५)
उदाए मौलाए सरस रसका जन्तर धनी
फुरे नौला बाणी जगत भरको “मन्तर” बनी ।
उठे नौला–नौला शिर–पुरुषका आखर बनी
जुटे धर्ती फोर्दै सकस पथमा तन्दन बनी ।।
(६)
करोडौँको सत्ता पद समरले जर्जर नहोस्
यहाँ वास्ना छर्ने सुमधुर हवा सर्सर बगोस् ।
विदेशीका नौला रहर गतिमा देश नचलोस्
सबै आत्मा देख्ने अबिरल टुकी धप्धप बलोस् ।।
(७)
जिबा दौरालीका विजन पथमा बाँधिन पुगे
तिनेै पुस्ता बोक्ने अमर यशमा साँचिन पुगे ।
विधा पोख्ने जोख्ने मधुर रसले जन्तर बन्यो
तिनै बान्की छर्दै सुललित हुँदै मन्तर बन्यो ।।
(८)
जुटेका छन् सच्चा तन मन सबै गागर भरी
उठेका छन् हस्ती नरम सुखको सागर तरी ।
जिबा बा–बा भन्थे हिम–शिखरमा गाभिन पुगे
लता झेल्दै खेल्दै अमर गतिमा साँधिन पुगे ।।
(९)
कतै चम्केका छन् शिखर–तिरका चन्दन बनी
उनै गर्जेका छन् शठ–मनुजको बन्धन बनी ।।
छचल्किन्थे लेख्थे मधुर सपना काव्य रसमा
हजारौ छन् लाखौँ भ्रमर मसिना दिव्य वसमा ।।
(छन्दः शिखरिणी)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।