19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हामीलाई हाम्रो रगत प्यारो छ

कविता गायत्री लम्साल November 29, 2026, 6:24 am
गायत्री लम्साल
गायत्री लम्साल

तिमीले दिएको एक धर्सो सिन्दुरले
मेरो जीवन किनेको नसोच प्रिय ।
तिमीले दिएको सोह्र श्रृंगार र
किनेका गहनाहरुलाई ।
पत्नीलाई वस्तु सरह आजीवन कैद गर्ने
पक्की कारागार नसोच्नु हजुर ।
भो चाहिँदैन अब ,
पल पल मारिरहने तिम्रो माया ।
हाम्रो अस्तित्व नदेख्ने
तिम्रो अघोरी संस्कार ।
चौबिसै घण्टा काँचो मासुको स्वादमा रमाउने
तिम्रो शालिनता, भद्रता, मर्दको पहिचान ।
छ्या, कतिसम्म गिर्नुहुन्छ ?
बलात्कार गरेर मारेको लाशलाई समेत
आहा कति राम्री भन्दै, फेरि बलात्कार गर्नुहुन्छ ।
अचम्म छ हजुर, समाजले उहाँलाई नै
गतिलो र सभ्य मान्छे भन्नुहुन्छ ।
प्यारा दिदी बहिनीहरु हो,
यस्तै नरभक्षी लोग्नेहरुलाई
कसरी पति परमेश्वर देख्नुहुन्छ ?

भो चाहिँदैन मलाई
आडम्बरी र ढोँगी समाज जसले एक थाल
मासुको झोल र भात खान पाएपछि ।
परिवारलाई ज्यूँदै मारेर
अर्की श्रीमती ल्याउने लोग्नेलाई
स्यावास् भन्दै बधाईको वर्षा गराउँछ ।
पीडिडतको घाउमा नूनचुक छर्केर
पीडकलाई सँधै राजा बनाउँछ ।
भो चाहिँदैन मलाई
आफैलाई जन्म दिएको घर परिवार
जसले आफ्नो छोरीको अस्तित्व
नामेट पार्ने ज्वाइँले जे जे भन्छ
सबै पत्याउँछ, पूजा गर्छ अनि
छ भने उपहारमा अर्की छोरी टक्रयाउँछ ।

प्रिय म माने, नारी सृष्ट्रिका समान हिस्सेदार
एउटा अचाक्लीको भ्रमबाट माथि उठौँ ।
आफ्नो पहिचान, आफ्नो अस्तित्व खोजौँ
अन्याय र अच्याचारमा युगौँ युग बलि नचढौँ
समानताको साझेदारी व्यवहारमा चाहियो ।
हमो सोच, संस्कार र चेतनामा चाहियो ।
भो अब अरुलाई होइन, आफूलाई माया गरौँ
संस्कारी भएर सिकारीको जालमा नपरौँ ।
किन कि हामीले हाम्रो जीवनलाई
हाम्रो रगतलाई सबैभन्दा प्यारो मान्नुपर्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।