19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म हुनुको अर्थ

कविता राजकुमार कार्की January 5, 2009, 6:38 am

यो ब्रम्हाण्ड

मेरो लागि “अब्र्स्टयाक आर्ट” जस्तै भएको छ

म फगत एक्लो

ग्याँस च्याम्बरको नियती भोग्दैछु

मान्छेहरु एक हुल

पूर्व जान्छन्

अर्को हुल

पश्चिम जान्छन्

निरुद्देश्य,

म फुटबलजस्तै

कहिले ओल्लो गोल पोष्टमा

कहिले पल्लो गोल पोष्टमा

निरन्तर ठोक्किरहेको छु

हो,

मेरा दिनचर्याहरु यसरी नै

व्यतित भइरहेका छन्

म हुनुको अर्थ

यही कोलाहल, भीँड र बजारमा

खोजिरहेको छु

मेरो अस्तित्वमाथि

धावा बोलेर

कुलंगारहरुले

युद्ध जितिरहेका छन्

म भन्नु एउटा

फगत, विरोधको पर्याय बनेको छ

मेरो अस्तित्व भन्नु

फगत, रोमाञ्चक अतित बनेको छ

मैले होस गुमाएको बेला

मेरा जिजिविसाहरु विकेन्द्रीकृत हुन्छन्

जब होस् आउँछ

वर्तमानमा भोग्नुपरेको पीडा सम्झेर

कठै यी आँखाहरुबाट अविरल बग्छ इन्द्रावती

म पल प्रतिपल

मुर्दातुल्य भएको छु

यसैले हेरिरहन्छु निर्निमेष

म आफ्नै मृत्युको

मलामीमा सामेल भएको दृश्य।

धरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।