19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गरौंम् गरौम

हास्यव्यङ्ग्य राजेन्द्र थापा January 17, 2009, 6:41 am

अस्तिको कुरा हो क्यार, श्रीमतीले हिरो बनोस् भनेर मलाई बर्थडे गिफ्टाँ द्याको चस्मो टिलिक्क टल्काएर, परमोसन होस् भनेर जोगीले ल्याको कालोे टिको निधारमा छडके छड्काएर, आँखा छलेर चोरेर ला'को श्रीमतीको बायोटेक किरिमको रस गालामा छल्काएर, कोसेली सोसेलीमा पा'को टाई टनक्क टन्काएर, नेपालका वनजस्तै करिब चारदशकसम्म सिपाही हुँदा ठूटा बनाइएका कपाल पनि, हाल हलक्कै बढाइएर, निप्पोनी कलपको जलपले चम्काइएका कालाकाला केसरासीलाई स्टाइलमा गर्दनमा लर्काएर, निप्पोनी राजदूते दैलाका दिनदहाडे भोजभत्तेरमा गिलाँसाँ रातो झोल छल्काएर, आफू पनि गिलासकै सिको गरेर अलिअलि छल्किँदै अलिअलि ढल्किँदै, लस्सलस्स गफ्फा चुट्दै, ठस्सठस्स यता कन्दै, छ्वास्सछ्वास्स उता भन्दै, कुराउटे बुहारीजस्तै यताबाट उता, उताबाट यता सरक् सरक् सर्दै थिएँ, म याने कि राजेन्द्र थ्ाापा।

जो भेट्यो वाल्ल पर्दथे, ट्वाल्ल हेर्दथे, कमेन्टमाथि कमेन्ट गर्दै थिए, मेरो जोवन फरक्क फर्केर आएको देखेर। नेताहरु, पत्रकारहरु, बुद्धिजीवीहरु, कर्मचारीहरु, व्यापारीहरु, हरेकका मुखारवृन्दबाट यस्तो कमेन्ट आइराथ्यो, 'वाह, पेन्सनाँँ जाँदा अरुलाई त टेन्सन र हाइपरटेन्सन, तपाईँलाई भने जोवनले किन दि राछ, यस्तो एटेन्सन? रिटायर भा भोलिपल्टै फिरिजबाट झिकेपछि, फतक्क फत्क्या केराजस्तो देखिँदै आएको हो, विशेष गरी सत्ताको भत्ता खाँदा आफूहरुलाई मात्र मंगलग्रहबाट आएका छुट्टै जीवजस्तै गर्ने गरेका बडाबडा जर्सापसर्साप र तलका निम्ति भने तर्सापहरुलाई त, तर थापाजी तपाईं त झन्झन् ताजा माल्पुवा केराजस्तो तरुनो पो कसरी?' मान्छे पनि माल्पुवा केरा जस्तो तरुनो हुन्छ भन्ने उपमा यो कविको कल्पना बाहिरै भएपनि, खुसी त भइयो नै मस्तसँग, बूढालाई तरुनो भनेपछि खुसी नहुने बूढो को होला र यो जगताँँ? अब उसै त भूईँमा खुट्टै नटेक्ने कविको मस्ती, भर्खरै छोड्या आफैलाई मात्र राष्ट्रको ठेकेदार ठान्नेहरुको बस्ती, त्यसमाथि उमेरको हदले रिटायर बूढालाई तरुनो भनेपछि राजेन्द्र थापा मख्ख नपरे को पर्ने? आफ्नो हातमा समुनपातिकको कोटा भा'भे, म तीं नै मलाई तरुनो र हैन्डसम देख्ने सबलाई ठ्याम्ठ्याम् माननीयमा मनोनित गर्दिन्थें हुँला, खल्तीबाट चेलीबेटी, चेलाचपेटा, खुराकीसुराकी, चम्चु र थर मिल्ने बन्धू तथा भर् दिने दाताहरुलाई (भरोसा दिने पनि खल्ती मा भर्दिने (भर्दिने) पनि) मनोनित गर्दिने सानाठूला दलका ठूलाठूला नेताहरुजस्तै दलसँग सल्लाहै नगरी आफैले नकचरो भएरै बीच सडकमै छ्वाल्लै गर्ने गरेजस्तै (आखिर सिक्ने त ठूलैसँग त हो नि )। तर आफू ठूला नेता भइएन, कोटा बाँड्न सकिएन, म क्यारुम् त?

आफ्नो तारिफले त्यसै भूईँ न भाँडा भैरा'बेलाँ, अचानक एभरग्रिन मुसुमुसु मोहनी रुप भे'का, दृष्टीका प्रोड्युसर कम् डाइरेक्टर मित्र शम्भु श्रेष्ठ पनि मलाई देख्नासाथ भन्केर मेरा छेऊ आइहाले। (एभरग्रिनको अर्थ यता सदाबहार लगाए पनि मिल्छ र उता अंग्रेजीको ग्रिनिंग अर्थात मुसुक्क मुस्कानको मानेमा लगाए पनि मिल्छ, इन्का हकमा)। त यिनी मुसुमुसु गिरिनिंग गर्दै एक जोसले खै कुन्नी के जाति हिमालसिमाल तोड्फोड्सोड्फोड् भन्दै गरेका एक आक्रोसित जीवबाट उछिट्टिएर, मतिर लस्क्या देख्दा मलाई कन्फ्युजन भो, यी मित्र मेरो गिलाँसको झोलका गन्धले भ्रमित भएर झिङ्गोजस्तै भन्केर आ'हुन् कि, (किनभने इन्को आफ्नो भने हात खाली थियो, थोरैमात्र प्युने भए पनि गिलाँसलाई पार्टीभरी निरन्तर नबोक्ने बानी भने इन्को छैन) या योे बुढेसकालमा प्रजातन्त्रको अस्ति नै एकपटक पुनर्स्थापना भएकै जस्तो पलभरलाई नै भए पनि पुनर्स्थापित भएको मेरो तरुनो स्वरुपका कारण दृष्टिका दृष्टिनायकका दृष्टि नै पो भ्रमित भएर माहुरीजस्तै तन्केर आ'हुन्, या कसैले रिस उठाउने कुरो गरेका कारण उता रिस पोखिएला कि भन्ने डरले सन्किएर आ'हुन्? मित्र शम्भुको विशेषता भनेको नै मनभित्र 'तों बोजियां तोंलाई' भन्ने चित्कार गुन्जे पनि किटेको दन्त लुकाउँदै मुखमा मुसुमुसु गिरिनिंग पस्किंदै सामुन्ने शान्त बन्दिहाल्छन्। बाठा छन् नि शम्भु त, नाम पनि शम्भु, काम पनि शम्भु। लौ शम्भुजीबाट पनि सेम डायलग फुत्किहाल्यो, साबिक गिरिनिंगसहित “ओहो गजब चम्क्या छ नि राजेन्द्रजी?” फुरुक्क फुर्केर मैले पनि हानिहालेँ “यस्तै छ, के गर्नु चम्क्या पनि छ, (गिलाँस हल्लाउँदै) यी यो छम्क्या पनि छ, अनि तपाईं पनि त गजब गम्क्या छ नि, हुन त तपाईं त एभरगिरिन।” आफनो तारिफमा मख्ख पर्दै उनले कुरोको इँजारको गाँठो फुकाउन थाले, गरांैम् न। के गर्ने हो भनेको नबुझी मैले भने, गरौंम् न गरौंम्, तर गर्ने चाहिँ के नि? उनले भने दृष्टिमा गरौंम् न, मैले पनि भनेँ, गर्ने भेपछि दृष्टिमै गरौंम्। र सोही बेला पल्याकपुलुक हेर्दै अघिको त्यो जीव बिलाएको ग्यारेन्टी गर्दै मलाई गरौंम्गरौंम्मा अलमलाउँदै शम्भुजी अचानक बिलाए, सायद बारतर्फ, बानी अनुसार खाली नै भे पनि गिलाँस बोक्न।

तर शम्भु त जम्बु पो रहेछन्, भोलिपल्टै दृष्टिमा समाचार संयोजन गर्ने काभ्रेली भाइ दीपक सापकोटा, जसले मेरो भूर्इँ मान्छे एकलवाचनको रिपोर्टिङ्मा 'राजेन्द्र थापाको नेतृत्वमा नयाँपुस्ता अघि बढेर नयाँ क्रान्ति गर्नुपरेको छ' भनी यही दृष्टिमा उद्घोष छापेका थिए मेरा कविताका रगतमा चुर्लुम्म डुबेर। हो, उनै दीपक भाइले टिपिहाले फोनमा, खै त सर आएन नि, ल ल पठाइहालम् भनेर पेलिहाले, सोच्न पनि देनन्, अरे भाइ! खाना पच्न त एक रात लाग्छ, अनि शम्भुका बात पच्न चाहिँ एक रात पनि नपर्खने? के उनी जंगबहादूर? भैगो जे भए नि यस्तै जंगे शैलीमा पेल्या कारण यो यस्तै भो र जन्म्यो यो स्तम्भ। यही हो यो स्तम्भको मिलन, सुहागरात, गर्भाधारण र जन्मको कथा। न्वारन पनि त गरेँ नै, तर प्रतिक्रियाका आधारमा यो स्तम्भको बामे सराइ इत्यादि हुँदै जानेछ। र सत्य चाहिँ यो हो, एभरगिरिन शम्भु श्रेष्ठले मुसुमुसु गिरिनिंग गर्दै पेलेर ठेलेपछि, पुनर्स्थापित तरुने राजेन्द्र थापा भित्रभित्रै थर्किन्छन्, कतै गोदाइ पो खाइन्छ कि भनेर अनि बिस्तारै भन्छन्, “शम्भुले गरौंम् भन्या बेला सुरुक्क नगरेर, म क्यारुम् त?” के म कुटाइ खाम् त? अन्तमा एक सान्दर्भिक मुक्तक।

फुल्यो फुल्यो

गुराँस फुल्यो, पलाँस फुल्यो, रानीवनमा वसन्त आएछ,

गुलाफ फुल्यो, चमेली फुल्यो, बँगैचावनमा वसन्त आएछ,

अहा! मेरो शिरमा नि केश फुल्यो, जताततै सब थोक फुल्यो,

लौ अब पो तनमा, मनमा, जीवनजोवनमा वसन्त आएछ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।