19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिम्रो अस्तित्व खै

कविता हिमा शर्मा January 17, 2009, 6:45 am

तिमी त्यही नारी

जहाँ तिम्रो सिरमा सगरमाथा छ

पहाडका लेकबेंसीमा गुराँस फुलेको छ।

तराइका हरिया फाँटहरुमा धान झुलेको छ।

तिमी त्यही नारी तर

तिम्रो अस्तित्व खै?

प्रत्येक पाइलै पाइलामा बाध्यता छ।

हरेक भावमा पीडा लुकेको छ।

तिम्रो चाहना दबिएको छ।

तिमी... खै?

जहाँ तिम्रो गर्भबाट सहिदहरु जन्मेका छन्

यही देशका लागि आफूलाई बली चढाएका छन्

आफ्नो रगत बगाएर देशलाई अमर बनाएका छन्।

तिमी... खै?

जुठोपुरो तिमीलाई टत्र््कयाइएको छ।

दाउरा घाँसमा तिम्रो जीवन सुम्प्याइएको छ।

रिसमा पुरुषको नाना भाँतीका उपनामले सम्याइएको छ।

तिमी... खै?

तिम्रै हातबाट हुर्किएका राम बुद्धले

संसारमा ज्योति फैलाएका छन्।

हरेक शब्दमा उनका नाम जपिएका छन्।

तिमी... खै?

सीता भृकुटीले त आफ्नो नारीत्व बचाएथे

आफू जलेर भए पनि आफ्नो नाम सजाएथें

तिमी त्यही नारी आज किन बस्छौ पछी

उनीहरु जस्तै त छौं तिमीमा छैन केही घटी

तिमी... खै?

आज तिम्रा सन्तानहरु एक आपसमा लडी रा'छन्।

दाजुभाइ नै आपसमा एकाएक मरी रा'छन्।

तिम्रो काख रित्तो बनाइ सन्तान आज के गरिरा'छन्।

सन्तान जन्माएकोमा माफी माग्ने बेला आ'को हो कि?

ती सन्तानलाई हुर्काएथ्यौ आपसमा मिली बाँच है भनी!

तिमी... खै?

तिमी त्यही नारी तिम्रो अस्तित्व मेटिँदैछ यहाँ

कसले भाँजो हाल्यो कुन्नी सन्तान रित्तिँदैछन् यहाँ

आफन्तबाटै आफन्तमा रगतको खोला बग्दैछ यहाँ

तिमी... खै

तिमीले बज्र सहेर बसेको त धेरै भो

तिमी चुप बसेर देश बचाउने अब को?

एकै साथ भएर नारी अघि बढ्नुपर्छ।

अशान्तिको जरो उखेल्दै अब शान्ति छर्नुपर्छ।

सुनसरी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।