19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सन्तानब्बे साल : एक शब्दचित्र

कविता मोहन सिटौला January 26, 2009, 4:39 am
मोहन सिटौला
मोहन सिटौला

आर्य घाट बडो भीड शोकाकूल समूहले

भेला भएर पर्खेका छोरो आउला घाटमा

प्रभात आँसुले ल्याप्फै भिजेर दिवसै पनि

साँझ र रजनी रुन्थे गए विष्णुचरण भनी

सम्पादन उनी गर्थे पत्रिका भीड–भेलको

पहिलो चिन्तना डाको नेपाली मुटुको सिपी

खिपेर चिन्तना नौलो, टिपेर रोशनी–लिपी

'आवाज' नै थियो त्यस्को–स्वतन्त्र कसरी बनूँ ?

समुन्नत धराव्यापी नेपाली कसरी बनुँ?

विश्वको रङ्गमञ्चैमा शुभ्र संस्कृति सिञ्चनु!

कलाकृति थिए जस्का गद्यपद्य मिठासमा–

बग्दथे, पढ्थे पे्रय, श्रेय एकान्त कान्तमा

‘सुमती' हैन दोस्रो त्यो नेपाली उपन्यासको

श्रीगणेश थियो साँच्चै पियारो इतिहासको

समाजको खुला ऐना नव्य दृष्टि सुलोचना

उद्धार र सुधारैका पाठ पढ्छन् सबैजना

सन्तानब्बे थियो कालो, काल लाल नेपालको

उग्र विद्रोहको साल, कालजयी कमालको

तन्नेरी, तरुणी धेरै हराए ,ध्.वस पारिए

लघारिए, कति मारे,कति पाशोमा बाँधिए

होम्मिए प्रौढ र बूढा युगान्तर गरौ भनी

मरेनन् ती सबै बोचे काल–खाल पसे पनि

मृत्युको व्दारमा पुग्दा मृत्यु दौडेर भाग्दथ्यो

गाथा अमरको गाई नवधुन बजाउँथ्यो!

पृथिवी कुरुक्षेत्रै हो नवचिन्तन–भेषको

योद्धाको युद्ध हो गाह्रो, नव निर्माण देशको

युग–पुरुषको उच्च अठोट, पुण्य कर्मको

गरौँ कि त मरौँ साँच्चो ! लीला कर्मठ पात्रको

सन्सार कार्यशाला हो लक्ष्य,प्रयोग,प्राप्तिको

उत्सर्ग जीवनी गर्ने मृत्युञ्जयी शहीदको

चौतारी उच्चमा बस्ने, महिमाको ,सुवासको

गौरव–गानमा बाँच्ने, मान, सन्मान सानको!

काललाई अँगालेर कालकै फूल भै फुले

नवयुग बनाएर, नव्य मौलो खड भए

सभ्यता सर्छ मौलेर चेतना–दीप पाउँदा

बलिदानी, तपस्वी र त्यागवीर पलाउँदा

इतिहास त्यहीँ बन्छन् जब नव्य अठोटका

एकै निमेष र स्थान ब्यूँझन्छन् दूर दृष्टिका

उठ्तछन् ,जुट्तछन् गाँठे!सशक्त भई चल्दछन्

दूर भविष्यका द्रष्टा बनेर जब बल्दछन्!

जीवन्त पान्थ हो मान्छे इतिहास बनाउँछ

उर्ध्व निकास नै खोज्दै नित्यै ऊ सुवसाउँछ

सतासी वर्षमा पुग्दा जेल झेलेर यातना

खपेर देशकानिम्ति, जेलबाट छुटे पनि

रोगी र बृद्ध थे तै'नि विद्रोह किन छोड्दथे?

लडी रहे दिए, हाले, भरे जोस र होस नै

वीरत्व हात पारेका विष्णुचरण उच्च हुन्

सपुत हुन् ,ठूला ज्ञानी, शुभ चिन्तक देशका

सद्बुद्धि, सूचना नौला नवयुगीन भेषका

स्वतन्त्रता र क्रान्तिका धन्य सेवी! समाजका―

बूढा–खाडा,कडा,काढा, खडा पीडा प्रगाडका,

अन्यायका सदा द्रोही, दूर दृष्टि भविष्यका

चित्तका, चेतका उच्च, जोसला, मुक्ति–मार्गका

बढारी तिस्कला,काँढा, उठाई रणका खुँडा

मडारी जोस, घम्सान, द्रोह, विद्रोह–खातिर

दुष्ट ,दुस्शासनी, दम्भी, हिङ्स्रक जन–मारक

हटाएर नयाँ ल्याउँक्ष्क, सभ्य शासक, पालक

समान न्याय,सन्मान, राष्ट्रिय, विश्व–भावना

रचना–रागका नाना,मानवीपन–चाहना

टेक अठोटको लिन्थे, टेका ,बोली, विचारले

आड पहाडझैँ दिन्थे, कहाँ काँतर टिक्दथे?

टिक्नेले कविता पाए एलिजिका मिठासमा,

सुवासमा,प्रशंसामा, मान्छेको इतिहासमा

पुनःपुनः नयाँ पुस्ता आउँछन् मृदु गानमा

तानमा ,धुनमा नौला, गुन्जाई स्वर लोकमा

दुःखको जीवनीबाट उठ्न दुःख सँगाल्नु छ

शत्रुता हैन मायाँको मधुर धार प्यूँनु छ

भुत्भुते बालुवाबाट उद्यानतिर लम्कन

ताप,सन्ताप तोड्नु छ ,सघंर्षशील बन्नु छ

व्देष,क्लेष,तीता डाहा सारा ध्वंस गराइद्यौ

प्रदूषण, खुराफाती सृष्टिबाटै पठाइद्यौ

मनको निम्नगाबाट म्लानभाव हठाइद्यौ

दिलको वागमा सङ्लो पे्रमधारा बहाइद्यौ

भुल्भुले मुटुका मूल सुवासित हुँदै बहुन्

हृदय–तालमा भाव–ताराहरू फुलि रहुन्।

यस्ता सद्भाव ती राख्थे,यस्तै नै पनि बोल्दथे

कार्यका क्षेत्रमा सारा उतारिकन छाड्दथे

यिनकै स्निग्ध अन्तेष्टि गर्न पवित्र पुत्रले

उज्यालो मार्गको दीप्ति बाल्न सुपुत्र रोकिए

अनन्त छुट्टिँदो आत्मालाई निहाल्न छेकिए

प्राणयाम महायान भनी विकल भैरहे

थुनिएका थिए भित्रै सिद्धि एकान्तमा रहे

दागबत्ती र अन्तेष्टि सारा अरुले पो गरे

–प्रकाशोन्मुख 'सिद्धिसुधा' बाट

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।