14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

प्रश्न

कविता गिरि श्रीस मगर January 25, 2009, 10:47 pm

लग्यो पानी विदेशीले हाम्रो धरा उजाड छ।

न जिउमा लुगालत्ता मुखमा त्यो न माड छ।।

बिजुली सपना झैं भो देश नै अन्धकार भो।

सोध्दछ आज नेपाली यो कस्को सरकार हो?

दुखेको जनवस्तीमा सधैं हारगुहार छ।

चल्दैछ रक्तको होली सर्वत्र काटमार छ।।

बुद्धको देशमा आज युद्धको घरबार भो।

सोध्दछ आज नेपाली यो कस्को सरकार हो ?

चढ्यो नभ महङ्गी यो देश पाताल भासियो।

वीरले ती बचाएको गौरव सब मासियो।।

गोोली थापेर छातीमा ल्याएको जीत हार भो।

सोध्दछ आज नेपाली यो कस्को सरकार हो ?

भ‌क्कै मर्दैछ कर्णाली दिन्दिनै अनिकालले।

आकांक्षा जनका सारा मार्छ शकुनि चालले।।

बोली अमृतको बोल्दै विषको व्यवहार भो।

सोध्दछ आज नेपाली यो कस्को सरकार हो ?

फोहरमा डुबेको त्यो काठमान्डौ गनाउछ।

रक्तरन्जित सत्ताको खेल्दै खेल रमाउछ।।

नया नेपालको नारा नेतृत्वको डकार भो।

सोध्दछ आज नेपाली यो कस्को सरकार हो ?

अस्पताल बिरामी छ शिक्षा व्यापार बन्दछ।

बन्द गरेर नेपाल 'नगरौ बन्द' भन्दछ।।

गरीब दीन दुःखीका इच्छामा अतिचार भो।

सोध्दछ आज नेपाली यो कस्को सरकार हो?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।