19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जेल

कविता कृष्णदेव इच्छुक February 3, 2009, 7:58 am

म पर्खालभित्र छु

तिमी पर्खालबाहिर छौ

म पहराभित्र छु, तिमी पहराबाहिर छौ

म यातना–गृहमा छु

तिमी खुल्ला शिविरमा छौ

सिकारीले बाँधेको छाँद होस्

अथवा त्यो उसको फाँद होस्

के फरक पर्‍यो र?

मित्र, अर्काको मुठ्ठीभित्र पराधीन जिन्दगी

जहाँ काटनु परे पनि त्यो जेल हुन्छ।

जहाँ जीवन बन्धनहरूभित्र कैद हुन्छ

जहाँ सुन्दर सपना सधैँ अवैध हुन्छ

जहाँ मुक्त आकाङ्क्षाहरू बन्देज हुन्छन्

जहाँ हार्दिक भावहरूमा ठेस लाग्छ

अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि

निर्धक्क सास फेर्न प्रतिबन्ध हुन्छ

बन्दुकको पहरा होस्

अथवा त्यो कानुनको घेरा होस्

के फरक पर्‍यो र?

मित्र, भयभीत परिवेशमा त्रसित जिन्दगी

जहाँ बाँच्नु परे पनि त्यो जेल हुन्छ।

जहाँ बेला–कुबेला रमन घुमिरहन्छ

जहाँ कारण–अकारण साइरन बजिरहन्छ

सडकमाथि बेलगाम घोडाको टापजस्तै

जहाँ चर्को आवाज गरी मार्च–पास चलिरहन्छ

अनि जहाँ मौसम बेमौसम बारुदहरू गर्जेर

सधैँ रगतको झरी परिरहन्छ

पर्खालभित्र होस्

अथवा त्यो पर्खालबाहिर होस्

के फरक पर्‍यो र?

मित्र, सधैँ छातीमा चाँदमारी थापेको जिन्दगी

जहाँ गुजार्नु परे पनि त्यो जेल हुन्छ।

उही दिन सधैँ, उही रात सधैँ

उही बिहान र साँझ साथ छ

उही स्वप्नभङ्ग विवश जिन्दगी

उही गतिहीन समय साल छ

निकासबिनाको बन्द तालजस्तै

जहाँ गन्दा समाजसाथ अँधेरो बास छ

कुनै अनाम देश होस्

अथवा त्यो प्रिय स्वदेश होस्

के फरक पर्‍यो र?

मित्र, उत्पीडित समाजमा पददलित जिन्दगी

जहाँ बिताउनु परे पनि त्यो जेल हुन्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।