19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सम्झनामा आमाहरु

कविता हरिहर दाहाल February 8, 2009, 6:44 am

मैले आमा को आबाज भुल्न थालेको छु

मैले आफ्नै आमालाई पिरोल्न थालेको छु

आमा सँग लुट्पुटिदाका स्‍मृतिहरु

दिन दिनै क्षिण हुँदै जाँदै छन

कती सुन्दर थिए ति भोगाइहरु!

बिर्सि नसक्नुका ति संबन्धका सम्झनाहरु!

जबरजस्ती घ्यु थप्ने दयालु हात

अनि- ज्वरो,खोकी र पखालाहरुमा

सुम्सुम्याउने कोमल स्पर्शहरु!

ओभानो ढुँगामा बसाएर

घाँसका भारिहरु भरिदिन्थ्यौ

र मुक्त कन्ठले सुनाउथौ -

मोराले बिछट्टै घाँस काट्यो आज|

कती आत्मिय थिए ति पुल्पुल्याँईहरु !

मेरा छुल्याई र हुर्मत हरुलाई

सपक्क शब्दले ढाकिदिन्थ्यौ

र निशंकोच भन्थ्यौ- उसले तेसो कदापी गरेन|

कती उत्कृष्ट थिए ति ढाकछोपहरु !

अभाब र गरीबिले बिरक्तिएका मनहरुलाइ

मुटुभित्र दबाउथ्यौ र संपन्नता को ढिंडों पस्किन्थ्यौ|

कती स्वादिस्ट हुन्थे ति भोकहरु !

थर्थरी काँप्ने हीउँदे जाडोहरुमा

आफु जाडोले चिसिन्थौ

र मलाई छाती भित्र गुट्मुट्याएर न्यानो दिन्थ्यौ|

केशरासि भित्र लिखा र चम्कानाहरु खोज्दै गर्दा,

म भुसुक्कै निदाउथें|

कति निस्फिक्री थिए ति निदहरु!

घाँस, दाउरा,मेलापत र चुला-चौका संहाल्दै

उकाली ओरालीहरुमा निरन्तर कुदिरहन्थ्यौ

सहनशिलताकी नमुना थियौ तिमी|

कती निर्मल मुस्कुराउथ्यौ अभाबहरुमा !

आफु भोकै बस्थ्यौ र पोल्टा भित्र खाजा उबार्थ्यौ

रक्तअल्पता ले गलेको आफ्नो जिर्ण शरीर भुलेर

मेरा भोकहरुमा फिक्री गर्थ्यौ|

कती महान थिए ति समर्पणहरु !

मनै- मन ले भरिएको

सगरमाथा जत्रो मन बोकेर

आफु भित्र- भित्रै रुन्थ्यौ र अरुलाइ हँसाउथ्यौ

कती सहजै हाँस्थ्यौ पिंडाहरुमा !

माया नै मायामा लपेटिएर पुल्पुलिएको

मेरो बाल्य जीवन का भोगाइहरु

स्‍मृतिको मानसपटल बाट

दिनदिनै बिलाउदै छन आजकल|

हो आमा,

दिनदिनै बिलाउदै जाँदै छन हरपल|

तिम्रो त्यो पुल्पुलिएको, लाचारी छोरो

बिबेक शुन्य भएको छ भिडहरुमा |

खालि-खोक्रा मनहरु बोकेर

"हाउ मे आइ हेल्प यू" को यान्त्रिक आवाजहरुमा

क्रिस्टिना र जुली हरुलाई

लाचारी- फिक्का मुस्कान बमन गर्दै

कहिल्यै नभरिएको मन- भर्न

कहिल्यै नकमाइएको धन- कमाउन

अहोरात्र लागिपरेको छ|

आउछु र फर्कन्छु को तारतम्य मिलाउदै,

पराधिनता को जीवन बिताउदो छ|

गन्तब्यहिन यात्रामा लम्कदो छ|

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।