गीत

गीत सतीश छेत्री November 28, 2022, 4:50 am

सतीश छेत्री
सतीश छेत्री
भाषामा लँडाई गर्छ मान्छे, गर्नलाई भने कुरा छैन

बर्बराइरहन्छन् ओठहरू, मनैमा भने भाव पूरा छैन

बोल्यो कि ए भाइ, भाषा हुन्न, भाषाको मुटु हुन्छ

इकार र उकार मात्र होइन, भाषाको परिवार हुन्छ

यो यहाँको, यो त्यहाँको भन्दै शब्द फ्याँकिसक्यौ

यसलाई यता, यसलाई उता भन्दै अर्थ घुमाइसक्यौ

न बोल्ने रहयो, न सुन्ने रहयो, सम्प्रेषण शून्य भयो

भाषाको किताप छ तिमीसित, यही तिमीलाई पुण्य भयो

के गर्छौ जानेर चोखो भाषा, उच्चारण गर्नै 'जुठो' छ भने

के गर्छौ जानेर ठेट शब्द, उच्चारण गर्नै 'ठुटो' छ भने

व्याकरण पर्दैन, वनजङ्गललाई भाषा हेर कति छ।

भाषा लिएर हिँडेको तिमी, भुइँ हेर, के कति छ !

चिन्ता नगर भाषाको तिमी, भाषा बनाउने कोही छन्

तिमीले बोले /नबोलेको सब् सुन्ने, ज्ञाता कोही छन्

भाषा होइन चालीस दिनको, युगौंमा आइपुगेको

तिमी नहुँदा नि, जिवित उसले, छ आफूलाई राखेको

थाह गर्नू भाषा जनको, नबोले नि हुने हुन्छ

आँखा हेरयौ भाषा मनको, भाव उर्ली रूने हुन्छ

जब भाषा प्रौढ हुन्छ, निश:ब्द उसको गीत हुन्छ

भाव सङ्लोस् मनको खोली, भाषा आफैं शुद्ध हुन्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।