गजल

गजल डिल्लीप्रसाद अधिकारी February 27, 2023, 1:33 pm

डिल्लीप्रसाद अधिकारी
डिल्लीप्रसाद अधिकारी
बाँचिदिन्छु थोरैमात्र माम भए पुग्छ

भज्नलाई मनभित्रको राम भए पुग्छ।।

खाँचो बेसी छैन अचेल बैँस सकेपछि

अलिकति न्यानो न्यानो याम भए पुग्छ।।

सङ्गत खाँचो पर्छ मान्छे बूढो भएपछि

आफन्तको राम्रो इन्तजाम भए पुग्छ।।

छिमेकीमा सेवाभाव राख्नलाई पनि

सहयोगी थोरै थोरै काम भए पुग्छ।।

होसै नभै बिगारेका अतीतका कर्म

हेलाँ ह‍ोचो गरेको बदनाम भए पुग्छ।।

इच्छाहरू कम्ति भए सजिलो छ बाँच्न

आपद् पर्दा अलिकति दाम भए पुग्छ।।

जाडो भगाउन जत्ति आगो बाले पनि

सेकिनलाई दिनैभरी घाम भए पुग्छ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।