हरिहर रेग्मी ‘सविता’लाई मैले पहिलोपटक संभवतः २०६३ मा भेटेको थिएँ । प्र.ले.स.चितवनले गरेको दुई दिने अन्तरक्रिया कार्यक्रममा सहभागी हुन नारायणघाट जाँदा त्यसै कार्यक्रममा भेट भई सामान्य परिचय भएको थियो । त्यति धेरै नसुनेको र नपढेको नाम हुनाले राम्ररी हेक्का राखिएन । पछि २०६४ मा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको आयोजनामा भिमादमा भएको ‘शारदा घरदैलो प्रतिभा प्रवाह’ कार्यक्रममा भेट भएपछि मात्र राम्ररी देख्ने, सुन्ने र चिन्ने अवसर मिलेको थियो । काठमाडौंदेखि चितवन, गोरखा, तनहूँ, लमजुङ, कास्की र स्याङ्जाको समेत सहभागिता रहेको उक्त कार्यक्रममा धेरै कविहरूले कविता वाचन गरेका थिए । पोखराबाट मसहित भीम रानाभाट, नारायण मरासिनी, यादवराज उपाध्याय, फडिन्द्र अकिञ्चन, मदन भण्डारी, राजेन्द्र पौडेल र विभास गएका थियौं । चितवनबाट खुसीराम पाख्रिन, पोषराज पौडेल, चेतकान्त चापागाईँ, हरिहर सविता, रह शर्मा, मोदनाथ मरहट्टा, राजेन्द्र घायल लगायतका धेरै कविहरूको उपस्थिति थियो । तनहुँका कवि अनिल श्रेष्ठले संयोजन गर्नुभएको उक्त कार्यक्रममा वाचित कवितामाथि टिप्पणी गर्न ईश्वरचन्द्र ज्ञवाली र मलाई जिम्मा दिइएको थियो ।
त्यहाँ वाचित अधिकांश कविताहरू छन्दका थिए र कविहरूको सुमधुर स्वरले हलभित्रको मात्र होइन बाहिरको बातावरण पनि कवितामय भई गुञ्जिएको थियो । त्यसमा पनि चेतकान्त चापागाईं र हरिहर सविताका कविताको मार्मिक भाव र हावभावसहितको वाचनले संपूर्ण हल तरङ्गित बनाइदिएको थियो । राजनीतिले सही दिशा लिन नसकेको, नेताहरूमा सुविधाभोगी प्रवृत्ति बढेको र जनताका अपेक्षा र सहिदका सपनामाथि तुषारापात हुन थालेको कुरा अधिकांश कविताहरूमा व्यक्त भएको पाइन्थ्यो । समग्रमा भन्ने हो भने सबैजसो कवितामा तीव्र असन्तुष्टि र आक्रोश पाइन्थ्यो । सविताले त्यहाँ वाचन गरेको कविता ‘शारदा ! दुख्छ घाउ’ ले सांस्कृतिक क्षेत्रकी एक होनहार प्रतिभा सहिद शारदा श्रेष्ठलाई संबोधन गर्दै देश र जनताको अवस्थामा कुनै सुधार आउन नसकेको हुँदा सहिदको रगत त्यसै खेर जाने हो कि भन्ने चिन्ता व्यक्त गरेको थियो । मन्दाक्रान्ता छन्दको उक्त कविताले मलाई धेरै पछिसम्म झंकृत पारिरह्यो । कार्यक्रम सकिएपछि थोरै बेर कुराकानी भयो । समयको चापले गर्दा धेरै कुराकानी हुन सकेन ।
चेतकान्त र सविताका बीच धेरै कुरामा तादात्म्य देखिन्थ्यो । दुवै पहाडबाट चितवन झरेका, दुवैमा उन्नत राजनीतिक चेतना भरिएको, दुवैका कविताको भाव उत्तिकै सुन्दर, सशक्त र प्रगतिशील चेतनाले युक्त । चेतकान्तकोभन्दा सविताको आर्थिक अवस्था केही राम्रो भएपनि दुवै एउटै वर्गका । दुवैजना दुब्लो–पातलो शरीरका, प्रगतिशील साहित्यिक–सांस्कृतिक आन्दोलनमा लाग्दा दुवैले राज्यबाट जेल–नेल र यातना भोगेका अनि जेल र हिरासतभित्रको यातनाले दुवैको शरीर निकै कमजोर । त्यसमाथि चेतकान्तको शरीरलाई दमले र सविताको शरीरलाई सुगर–प्रेसरले दुःख दिइरहेको थियो । दुवैको निधन ६५ वर्षकै हाराहारीमा भयो । चेतकान्तको निधन भएको करिव दुई वर्षमा सविताको पनि अप्रत्यासित निधन हुन पुग्यो ।
कवि सवितासँग राम्ररी खुलेर कुराकानी गर्ने अवसर भने २०६९ मा भएको प्र.ले.स.को नवौं राष्ट्रिय सम्मेलनले जुराइदिएको थियो । कार्यक्रममा सहभागी हुन पोखराबाट गएकामध्ये नारायण मरासिनी, परशुराम कोइराला र म त्रि.वि.को कर्मचारी आवास गृहमा बस्न पुग्दा हरिहर सविता अघिल्लो दिनै त्यहाँ आएर बस्नुभएको रहेछ । उहाँ त्रि.वि.अन्तरगत रामपुर क्याम्पसको कर्मचारी भएकाले काठमाडौं आउँदा प्रायः यहीँ बस्नुहुँदोरहेछ । त्यस दिन बेलुका हामीले सँगै खाना खायौं । अबेरसम्म साहित्य र राजनीतिका बारेमा कुराकानी भए । ओहो ! उहाँ त जिउँदो सहिद पो हुनुहुँदो रहेछ । सङ्कटकालमा उहाँलाई सेनाले समातेर चरम यातना दिइ बेपत्ता पारेको रहेछ । पञ्चायतकालमा बहुदले भनेर र बहुदलकालमा माओवादीको आरोपमा निकै सास्ती र यातना दिएको रहेछ । त्यही यातनाका कारण दृष्टि मात्र होइन शरीर पनि निकै कमजोर बनेको रहेछ । सङ्कटकालको समयमा सेनाले एक दर्जन जति कृतिका पाण्डुलिपि जफत गरेर नष्ट गरिदिँदाको मानसिक पीडा सैनिक–हिरासतमा दिएको शारीरिक यातनाभन्दा कम थिएन । बषौंको मेहनतबाट जन्मेका ती कृतिहरू फेरि त्यही अवस्थामा निस्कन सम्भव थिएन । एउटा लेखकका लागि त्योभन्दा ठूलो पीडा के हुन सक्थ्यो ! कुरा गर्दैगर्दा सविताले आफ्नो डायरीबाट दुईवटा गद्य कविता सुनाउनुभयो, जसमध्ये एउटा हिजो बेलुका यहीँ आएपछि लेखिएको रहेछ । कवितामा तत्कालीन यथार्थलाई निकै सुन्दर बिम्बद्वारा प्रस्तुत गरिएको थियो । हामी उहाँको साहित्यिक–राजनीतिक योगदानका साथै सरल, निश्छल र हार्दिक व्यवहारबाट प्रभावित भयौं । भोलिपल्ट सँगै सम्मेलनमा गयौं । फर्किँदा रात परिसकेको थियो । आँखाको दृष्टि कमजोर भएका कारण उहाँलाई रातमा हिँड्न समस्या हुनेरहेछ । हामीले सँगै लिएर आयौं । सम्मेलनको भोलिपल्ट ने.क.पा.—माओवादी निकट लेखक सङ्घले आयोजना गरेको बृहत् काव्य गोष्ठिमा कवि सविताले हावभावका साथ छन्दमा वाचन गर्नुभएको कविता निकै प्रभावकारी थियो ।
यसपछि हाम्रो भेटघाट र फोन संपर्क बाक्लिँदै जान थाल्यो । ‘गण्डकी सङ्गम’मा उहाँका रचनाहरू मागेर छाप्ने गरियो । २०६७ फागुन १ गते साहित्यकार घनश्याम ढकालको मोटर दुर्घटनामा परी निधन भएको थाहा पाएर पोखराबाट भीम रानाभाट, नारायण मरासिनी र म काठमाडौं जाँदा चितवनबाट उहाँ पनि पुग्नुभएको रहेछ । घनश्याम ढकालप्रतिको निकटतालेभन्दा पनि साहित्यकारप्रतिको माया र सम्मान–भावले श्रद्धाञ्जली दिन त्यसरी काठमाडौं पुग्नुभएको थियो । आफ्नो कमजोर शरीरको पर्वाह नगरी बोलाएको जुनसुकै र जस्तोसुकै साहित्यिक कार्यक्रममा जहाँ पनि पुग्ने उहाँको स्वभावभित्र पनि यही साहित्यप्रतिको निष्ठा र अतिशय भावुकताले काम गर्दथ्यो । ‘गण्डकी सङ्गम’ को घनश्याम विशेषाङ्कमा पनि उहाँको संस्मरणात्मक लेख छापिएको थियो । विशेषाङ्क प्रकाशित भएपछि सङ्गमले पत्रिकाको विमोचन सहित श्रद्धाञ्जली कार्यक्रमको आयोजना ग¥यो । सो थाहा पाएपछि चितवनबाट उहाँ र पूर्णबहादुर अधिकारी पोखरामा कार्यक्रमस्थल खोज्दै आउनुभएको थियो । एउटा छोटो कार्यक्रममा सहभागी हुन त्यति टाढाबाट त्यस्तो कमजोर शरीरको व्यक्ति आइपुग्नुलाई सामान्य रूपमा लिन सकिँदैनथ्यो । कार्यक्रममा उहाँलाई कुनै जिम्मेवारी दिइएको थिएन र विशेष आग्रह गरिएको पनि थिएन । पोखरामा अन्य काम भएर आउनु भएको पनि थिएन । साहित्यप्रतिको निष्ठा र घनश्यामप्रतिको सम्मानभावले नै चितवनदेखि तानेर ल्याएको थियो । त्यहाँ उहाँहरूले एक–एकवटा कविता वाचन गर्नुभयो । त्यसैगरी गण्डकी साहित्य सङ्गम, पोखराद्वारा प्रकाशित कवि पोषराज पौडेलको आत्मकथा ‘अतितका पानाहरू’ को विमोचन कार्यक्रम २०७२ को माघमा साहित्य शृङ्खलाको आयोजनामा राखिएको थियो । कथाकार हरिहर खनाललाई प्रमुख अतिथि बनाइएको उक्त कार्यक्रममा पोषराज पौडेलका नजिकका मित्र भएकाले सवितालाई पनि विशेष अथितिका रूपमा बोलाइएको थियो । उहाँ उक्त कार्यक्रममा पनि सहभागी भएर आफ्नो मन्तव्य राख्नुभएको थियो ।
साहित्यमा लामो योगदान गरेका कवि तथा लेखक हरिहर सवितालाई पोखराका साहित्यकारहरूमाझ उपस्थित गराउन पाए हुन्थ्यो भन्ने हामीलाई लाग्यो । पोखरा बाहिरका कविहरूका कविताका स्वर र शैलीसँग पोखरेली कविहरू पनि परिचित हुनु आवश्यक हुन्थ्यो । यसैले प्र.ले.स.कास्कीले आफ्ना नियमित कार्यक्रमको अतिरिक्त पोखरा बाहिरका प्रतिनिधि कविहरूलाई समय–समयमा आमन्त्रण गरी एकल कविता वाचनको आयोजना गर्ने योजनासमेत बनायो । उक्त योजना अनुसार पोखरामा पहिलो पटक हरिहर सविताको एकल कविता वाचन कार्यक्रम राखियो । कवि–साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको पोखराको ‘फेवा दोहोरी साँझ’को हलभित्र उहाँले आफ्ना एक दर्जनभन्दा बढि कविता सुनाउनु भयो । कार्यक्रमबाट उहाँ निकै सन्तुष्ट देखिनुहुन्थ्यो । यो नै पोखराले उहाँलाई गरेको एक खाले सम्मान थियो । सरकारी वा अन्य निकायबाट उहाँको साहित्यिक निष्ठा र योगदानको उचित मूल्याङ्कन हुन सकेन । हुन त शासन सत्ताप्रति आलोचनात्मक चेत राख्दै जनताको पक्षमा लेख्ने कवि–लेखकहरू राज्यबाट कहिले पो सम्मानित भएका छन् र ? तैपनि जनस्तरबाट गरिने स–सानो सम्मानबाट पनि उहाँ ओझेल पर्नुभयो । पोखराका प्रगतिशील संस्थाहरूले उहाँको योगदानलाई नियालिरहेको अवस्थामा यसरी अप्रत्यासित निधन हुनुले रिक्तताको अनुभव हुन पुगेको छ ।
पोखराका कार्यक्रममा मात्र होइन चितवनका कतिपय कार्यक्रममा पनि सँगै सहभागी हुने अवसर मिलेको थियो । २०७० फागुन १७ गते जनसांस्कृतिक महासङ्घ, चितवनको आयोजनामा हुने ‘शारदा घरदैलो प्रतिभा प्रवाह’ कार्यक्रमा मलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरियो । संयोगले त्यतिखेर महासङ्घको अध्यक्ष सविता नै हुनुहुँदोरहेछ । पूर्व अध्यक्ष पोषराज पौडेल, उहाँ र अन्य साथीहरूको सक्रियतामा कार्यक्रम अघि बढिरहेको रहेछ । यस्तो कार्यक्रममा प्रमुख अतिथि हुन पाउनु मेरा लागि गौरवको कुरा थियो । हरेक महिना चितवन र बाहिरी जिल्लाका विभिन्न स्थानमा गरिँदै आएको उक्त कार्यक्रम सो दिन जनक पौडेलको घरमा आयोजना गरिएको थियो । प्रगतिशील साहित्य– संस्कृतिका क्षेत्रमा क्रियाशील धेरै साहित्यकारहरूको सक्रियतामा गरिँदै आएको यो कार्यक्रम धेरै दृष्टिले नयाँ र महत्वपूर्ण थियो । पोखराबाट गएका साथीहरू भीम रानाभाट र नारायण मरासिनीसमेतलाई विशेष अतिथि बनाइएको उक्त कार्यक्रममा कविता वाचन, पुस्तक लोकार्पण, परिचर्चा र केही मन्तव्यसमेत समावेस गरिएको थियो । यस कार्यक्रमले मलाई चितवनका साहित्यकारहरूमाझ परिचित मात्र गराएन त्यहाँका धेरै कवि–लेखकहरूसँग परिचय र मित्रता कायम गराइदियो । ‘शारदा घरदैलो’ कार्यक्रम चितवन वरपरका जिल्लाहरूमा गरिसकिएकोले एउटा कार्यक्रम पोखरामा पनि गर्न पाए हुन्थ्यो भन्ने उहाँको चाहना थियो । पोखरामा ‘साहित्य शृङ्खला’ले हरेक महिनाको पहिलो शनिबार रचना वाचन सहितको कार्यक्रम गर्दै आएको थियो । मैले साहित्य शृङ्खलाका तत्कालीन अध्यक्ष यादवराज उपाध्यायलाई उक्त कुरा राखेपछि उहाँ पनि इच्छुक देखिनुभयो । शृङ्खलाकै कार्यक्रमका दिन अलि ठूलो हलमा नियमित कार्यक्रम सकेपछि ‘शारदा घरदैलो’ कार्यक्रम पनि राख्ने कुरा भयो । चितवन र तनहूँदेखिका साहित्यकारहरू कुनै अघिल्लो दिन र कुनै त्यसै दिन बिहान आइपुग्नु भएको थियो । खुशीराम पाख्रिनलाई प्रमुख अतिथि बनाइएको उक्त कार्यक्रम प्रभावकारी र महत्वपूर्ण रह्यो । पोखरामा कार्यक्रम गर्ने आफ्नो चाहना पूरा भएपछि उहाँ सन्तुष्ट देखिनुहुन्थ्यो । धेरै शृङ्खला पार गरेको ‘शारदा घरदैलो’को यति महत्वपूर्ण कार्यक्रम पार्टी विभाजन र अन्य परिस्थितिजन्य कारणले पनि होला पछि आएर त्यही अनुसार अघि बढ्न सकेको पाइँदैन ।
सविताले आफ्ना बुबाको निधनपछि उहाँको सम्झनामा स्मृतिकाव्य ‘आदर्श अवसान’ लेख्नुभएको रहेछ । शास्त्रीय छन्दका ११ सर्गमा लेखिएको उक्त काव्य पोखराका साहित्यकारहरू घनश्याम ढकाल र रविलाल अधिकारीका साथै चितवनका पोषराज पौडेल र गोविन्दराज विनोदीलाईसमेत देखाई प्रकाशकको खोजीमा बस्नुभएको रहेछ । लामो समयसम्म प्रकाशन हुन नसकेर त्यसै रहेको उक्त काव्य पछि २०७३ मा आएर उहाँकै भाइ जीवनप्रकाश रेग्मीले प्रकाशन गरिदिनुभएछ । बुबाको स्मृति दिवस पारेर २०७३ पुसमा उक्त काव्य विमोचन र परिचर्चा गर्ने कार्यक्रम राख्नुभएको रहेछ । उहाँले फोन गरेर कार्यक्रममा जसरी पनि आउनुपर्ने कुरा गर्नुभयो । जाडोको मौसम भएको र अलिअलि रुघाखोकीसमेत लागेकाले मैले ‘सकभर त आउँछु तर आउन सकिन भने गाह्रो नमान्नुहोला’ भने । तर उहाँले जोड गर्दै भन्नुभयो— ‘मैले सुरुबाटै पुस्तकको विमोचन घनश्याम ढकालबाट गराउने विचार गरेको थिएँ, अव उहाँ नभएपछि घनश्यामको ठाउँमा तपाईँले नै पुस्तकको विमोचन गर्नुपर्छ । त्यसैले तपाईँ जसरी पनि आउनुपर्छ ।’ त्यति माया र सम्मान गरेर बोलाएपछि अस्वीकार गर्नसक्ने कुरा भएन । भीमजीलाई पनि आग्रह गर्नु भएको रहेछ, दुवै जना गयौं । खुसीराम पाख्रिनलाई प्रमुख अतिथिका रूपमा बोलाइएको भए पनि उहाँ कार्यक्रमको अन्ततिर मात्र आउनु भएको थियो । उहाँका दाजु साहित्यकार रविकिरण निर्जीव र मैले संयुक्त रूपमा कृतिको विमोचन ग¥यौं । सविताकै दाइको घरमा भएको कार्यक्रममा उहाँका आफन्तजनहरूका साथै विभिन्न साहित्यकारहरूको उपस्थिति थियो । कृतिमाथिको टिप्पणी, मन्तव्य, कविता वाचन र विमोचित काव्यका केही सर्गकोसमेत वाचन भएको उक्त कार्यक्रमबाट सविताले आफ्ना बाबुप्रति काव्यिक सम्मान मात्र गर्नुभएको थिएन साहित्यिक माहोल पनि बनाउनु भएको थियो । उक्त कार्यक्रम पनि मेरा लागि अविस्मरणीय रहन पुग्यो ।
चितवनकै अर्को एउटा कार्यक्रममा भने उहाँलाई नदेख्दा असहज लागेर आयो । कवि पोषराज पौडेलको संस्मरणात्मक कृति ‘अतीतका पानाहरू’ को परिचर्चा कार्यक्रम प्र.ले.स. चितवनले राखेको थियो । मैले उहाँलाई त्यसबारेमा जानकारी गराउँदै कार्यक्रममा भेट्ने कुरा गरेको थिएँ । साहित्यिक कार्यक्रम भनेपछि जहाँ पनि पुग्ने सविता चितवनमै राखिएको उक्त कार्यक्रम सुन्दाचाहिँ त्यति धेरै उत्साहित हुनुभएन । अझ उहाँकै आत्मीय मित्र र पारिवारिक सम्बन्धसमेत भएका कवि पोषराजको कार्यबmम भनेपछि त्यसै उफ्रिएर आउनुपर्ने हो । अघिल्लो दिन मैले फोन गर्दा ‘आउन त आउँलां...’ भन्दै त्यति धेरै चासो नदेखाएझैं गर्नुभयो । कवि पोषराज पौडेल र सविताको पारिवारिक सम्बन्धसमेत भएकाले त्यही सम्बन्धमा आएको चीसोपनले गर्दा कार्यक्रममा आउन उत्साह नदेखाएझैं लाग्यो । सविताले पोषराजलाई आफ्ना साहित्यिक गुरु मान्नुहुन्थ्यो र त्यत्तिकै सम्मान पनि । त्यसैले सामान्य पारिवारिक कारणले त्यति गाढा साहित्यिक सम्बन्धमा असर पार्दैन भन्ने मलाई लागेको थियो । त्यसैले पनि उहाँ आउने कुरामा ढुक्क थिएँ । तर कार्यक्रम सुरु हुन लाग्दा पनि सविता आइपुग्नु भएन । मैले पोषराजलाई सोधें । उहाँ आफैंले पनि बोलाउनुभएको रहेछ । कार्यक्रम निकै राम्रोसँग सम्पन्न भएपनि मलाई भने कता–कता खल्लो लागिरह्यो । मैले पछि सवितासँग कारण बुझ्न खोजें तर उहाँले ‘अँ, आउने विचार थियो, त्यस्तै प¥यो’ भन्दै टार्नुभयो, त्यति स्पष्ट कुरा भन्नुभएन । पछि सोच्दै जाँदा उहाँमा अलिकति कुण्ठा–भाव रहेछ कि भन्ने लाग्यो । कवि पोषराजसँग उहाँको नराम्रो सम्बन्ध थिएन र सन्दर्भ आउँदा जहिले पनि सम्मान नै व्यक्त गर्नुहुन्थ्यो तर पछिल्लो समयमा आउँदा पहिला–पहिला जस्तो सुमधुरचाहिँ देखिँदैनथ्यो । यो थाहा पाउँदा हामीलाई पनि दुःख लाग्नु स्वाभाविक थियो ।
सवितासँग हप्तैपिच्छे जसो फोन हुन्थ्यो । फोन साहित्यिक गतिविधिका प्रसङ्गमै केन्द्रित हुन्थे । हरेक पटकको फोनमा लेख्दै वा पढ्दै गरेको कुरा गर्नुहुन्थ्यो । भेट हुँदा उहाँ छताछुल्ल भएर पोखिने गर्नुहुन्थ्यो । पुरानो र बीचको पुस्ताका धेरै चर्चित लेखकहरूसँग सङ्गत गरेको अनि त्रि.वि.को कर्मचारीसमेत भएर होला धेरै कवि–लेखक र प्राध्यापकहरूका भित्री पाटाहरू नियाल्नुभएको रहेछ । जुन कवि–साहित्यकार वा प्राध्यापकलाई श्रद्धाका साथ हेरिन्थ्यो तिनका नैतिक–चारित्रिक कमजोरी र अश्लिल हर्कतका कुरा सुन्दा घृणा र वितृष्णा जागेर आउँथ्यो । उहाँले भनेका कुरामा विश्वास गर्दा धेरैजसो कवि–लेखक र प्राध्यापकहरू बाहिर आदर्शवादी देखिए पनि आर्थिक र यौनको मामलामा निकै कमजोर हुँदारहेछन् । आपसी सहमतिमा हुने स्वस्थ यौन संपर्कलाई अन्यथा लिन नहुने भन्दै अस्वस्थ, स्वेच्छाचारी, परपीडक र अश्लिल यौनवादी प्रवृत्तिको उहाँ सधैं विरोध गर्नुहुन्थ्यो ।
साहित्यका साथै राजनीतिक आन्दोलनमा पनि आफूले धेरै योगदान गरेको, धेरै जेल–नेल यातना भोगेको अनि धेरै नेता र साहित्यकारहरूसँग सङ्गत गरी तिनका धेरै कुरा थाहा पाएको भएर पनि होला उहाँभित्र एक खाले अहम् र कुण्ठा सुषुप्त रूपमा दबेर रहेको थियो । यसैले होला आफ्नो अहम्मा अलिकति ठेस लागेको महसूस भयो भने आक्रोशित हुने स्वभाव थियो । एकपटक ‘गण्डकी सङ्गम’ पत्रिकामा उहाँको संस्मरण अलि पछिल्तिरको पृष्ठमा परेछ । तुरुन्त फोन गरेर आक्रोश व्यक्त गर्नुभयो । मैले ‘पत्रिकामा अघि र पछि रहनुले कुनै अर्थ राख्दैन, मुख्य कुरा लेखको स्तर हो । विधाको क्रम मिलाउँदा कुनै विधा अघि र कुनै पछि पर्नु स्वाभाविक हो, यसलाई लेखकको मर्यादाक्रम सम्झिनु हुँदैन’ भन्दै स्पष्टीकरण दिनुपरेको थियो । अर्को पटक चितवनबाटै खुशीराम पाख्रिनका बारे एकजना लेखकले संस्मरणात्मक लेख माग्दा पनि मूल लेख वा जीवनी अर्कैको हुने भएपछि आक्रोश व्यक्त गर्नुभएको थियो । चितवनकै कतिपय नयाँ पुस्ताका साहित्यकारहरूले उहाँको योगदानलाई उचित सम्मान नगरेको वा वेवास्ता गरेकोमा पनि निकै कुण्ठित देखिनुहुन्थ्यो । उहाँको त्यो कुण्ठा र आक्रोश बेला बेलामा प्रकट हुने गर्दथ्यो । निरन्तर लेखिरहने तर लेखिसकेपछि परिष्कार–परिमार्जनतिर त्यति ध्यान नदिने स्वभावले होला कतिपय रचना विचार वा भावका दृष्टिले निकै सुन्दर हुँदाहुँदै पनि कला वा शिल्पका दृष्टिले अलि कमजोर जस्ता देखिन्थे । छन्दमा निकै मोह राख्ने गरेपनि छन्दमा त्यति पकड देखिँदैनथ्यो र ठाउँ–ठाउँमा छन्दभङ्ग भएको पाइन्थ्यो । यसैले होला कतिपय छन्दोबद्ध कविताको तुलनामा गद्य कविता बढी सशक्त लाग्दथे । कताकति पद्यको प्रयोग गरिए पनि गद्यमा लेखिएको उहाँको ‘पुष्ष्पत्र’ महाकाव्यको समीक्षामा मैले उहाँको वैचारिक र शिल्प पक्ष अत्यन्त सुन्दर हुँदाहुँदै पनि परिमार्जन–परिष्कारमा ध्यान नदिनाले काव्यिक सौन्दर्यमा निखार आउन नसकेको कुरा औंल्याएको थिएँ । उहाँले त्यो समीक्षा बारे त्यति टिप्पणी त गर्नुभएन तर सोध्दा ‘राम्रो छ’ भन्दै टारिदिएको हुँदा उहाँले अपेक्षा गरेअनुरूपको भएनछ कि भन्ने लागेको थियो ।
भ्रमणमा अत्यन्त रुचि राख्ने हुँदा आफ्नो शारीरिक कमजोरीका बाबजूद पनि सविता दुई–तीन महिनामा एकपटक बाहिरका विभिन्न जिल्ला र गाउँहरूमा घुम्ने इच्छा गर्नुहुन्थ्यो । बाहिरतिर साहित्यिक कार्यक्रम प¥यो भने त त्यसै सजिलो भयो नत्र कुनै न कुनै साहित्यिक मित्रलाई अनुरोध गरेर वा एक्लै पनि निस्कन खोज्नुहुन्थ्यो । पछिल्लो दुई–तीन वर्ष यता भने शारीरिक कमजोरीका साथै केही अस्वस्थताले गर्दा एक्लै निस्कन अलि अप्ठेरो थियो । उहाँकै प्रस्तावमा एकपटक भीम रानाभाट र म चितवनको माडीस्थित अयोध्यापुरी होमस्टेसम्म पुगेका थियौं भने कहिले पोखराका छेउछाउका गाउँहरूमा सँगै बस्न पुगेका थियौं । पछिल्ला वर्षहरूमा त पोखराका जुनसुकै कार्यक्रममा आउँदा पनि उहाँको बस्ने ठाउँ मेरो वा भीमको घर हुन्थ्यो भने हामी चितवन जाँदा उहाँको घर । हामीप्रति कति धेरै आत्मीयता थियो भने कहिलेकाहीँ रात परेर र अन्य कारणले हामी होटलमा बस्न पुग्दा उहाँ पनि घर छोडेर हामीसँगै होटलमा बस्न आउनुहुन्थ्यो । भन्नुहुन्थ्यो—‘कि मेरै घरमा आउनुहोस्, कि म पनि तपाईँहरू बसेको होटलमा आउँछु ।’ भेट नभएको तीन–चार महिनै भएको थियो । उहाँले साहित्यकार निर्मोही व्यासलाई लिएर पोखरा आउने र हामीसँगै धम्पुस वा पोखरा वरपरको कुनै गाउँमा घुम्न जाने कार्यक्रम सुनाइरहनुभएको थियो । उहाँको कमजोर शारीरिक अवस्थाले गर्दा धेरै टाढा वा अलि बढि हिँड्नुपर्ने ठाउँमा लैजान वा जान भने हामीलाई अप्ठेरो लाग्दथ्यो । निधन हुनुभन्दा अघिल्लो दिन पनि फोनमा कुरा हुँदा भन्नुभएको थियो—‘ए सर ! हैन, कहिले हो भेट्ने ?’ उहाँको त्यो प्रश्नको जवाफ —‘अव कहिल्यै नभेट्ने’ बन्न पुग्यो ।
सङ्कटकालको बेला थुप्रै पुस्तकका पाण्डुलिपिहरू सेनाले जफल गरेर लगी नष्ट गरिदिए पनि उहाँले लेख्न छाड्नुभएन । बीचमा केही कृति प्रकाशन पनि गर्नुभयो । पछिल्लो समयमा लेखिएका रचनाहरूमध्ये कथा र उपन्यासका दुईवटा कृति प्रकाशनका लागि काठमाडौंमा साथीलाई दिएर छाड्नुभएको रहेछ । अहिलेसम्म प्रकाशित हुन नसकेको र साथीले ‘हुन्छ, हेर्दैछु’ भनेको कुरा गर्नुहुन्थ्यो । ती साथीमध्ये एकजनाको नाम त भन्नुभयो तर अर्को पाण्डुलिपि पनि उनैलाई दिनुभएको हो वा अर्कोलाई भन्नुभएन र मैले पनि सोधिन । एउटा कृति पोखराबाट छाप्ने उहाँको इच्छा रहेछ । गण्डकी सङ्गम, प्र.ले.स. वा शृङ्खलामध्ये कुनैले छापिदिए हुन्थ्यो भन्नुभयो । मैले ‘यी संस्थाहरूसँग पुस्तक छापिदिन सक्ने आर्थिक हैसियत छैन’ भन्न नपाउँदै उहाँले नै भन्नुभयो– ‘मैले खर्च व्यहोर्न भनेको हैन, खर्च मै व्यहोर्छु एउटा किताव ऋण–धन गरेर भएपनि छपाइहाल्ने विचार छ, पोखराका संस्थाले आवश्यक व्यवस्था मात्र गरिदिए हुन्छ, सकभर सङ्गमका नाउँमा छाप्न पाए हुन्थ्यो भन्ने हो ।’ उहाँले छिटै छपाउन खोजेको कृति संस्मरणको रहेछ ।
उहाँले मलाई ‘लास’ शीर्षक भएको एउटा उपन्यासको पाण्डुलिपि दिएर आवश्यक सुझावसहित भूमिका लेखिदिन भन्नुभएको थियो । जनयुद्ध, शान्तिवार्ता हुँदै पछिल्लो राजनीतिक अवस्थालाई समेत समेटेर लेखिएको उपन्यास ‘लास’मा मास्टर बाबु र धनसरा नामका प्रमुख पात्रलाई उभ्याइएको छ । जनयुद्धमा इमानदारीपूर्वक लागेका व्यक्तिहरूले भोग्नुपरेको दर्दनाक अवस्था र कतिपयले उपायहीन भएर आत्महत्यासमेत गर्नुपरेको घटनालाई उपन्यासमा निकै मार्मिक रूपमा प्रस्तुत गरिएको छ । उपन्यासको प्रमुख पात्र मास्टर बाबु कता कता उहाँकै प्रतिनिधि पात्र हो कि जस्तो लाग्दछ । मैले उपन्यासको शीर्षक त्यति उपयुक्त भएन कि ? भन्दै शीर्षक फेर्न र घटना–बुनाइमा भएका कमजोरीलाई सच्याउन मौखिक रूपमा सल्लाह दिई भूमिकासमेत लेखिदिएको थिएँ । उहाँ पोखरा आउँदा भूमिकासहित पाण्डुलिपिको डायरी उहाँकै हातमा थिएँ । त्यो उपन्यास पनि काठमाडौंका एकजना साथीलाई छापिदिन पठाउने कुरा गर्नुहुन्थ्यो, के कसो भयो थाहा हुन सकेन । त्यस लगत्तै उहाँले पृथ्वीनारायण क्याम्पस, पोखराका लेखा शाखाका एकजना कर्मचारीसँग आफ्नो कथासङ्ग्रहको पाण्डुलिपि पठाउनु भएको रहेछ । तिनमा छोटा–छोटा ४० वटा कथाहरू छन् । तिनमा प्रायः आफैंले भोगेका यथार्थ घटनाहरूलाई विषयवस्तु बनाइएको छ । घटना र पात्रलाई जस्ताको तस्तै प्रस्तुत गर्दा कतिपय ठाउँमा कला–शिल्प अलि नपुगेको कुरा औंल्याउँदा उहाँ ‘कला नपुगेको भएपनि यो एउटा नयाँ प्रयोग हो । यथार्थलाई कत्ति तोडमोड नगरी लेखेको हुँदा यसको छुट्टै महत्व हुने’ भन्नुभएको थियो । उक्त कथाहरूमध्ये केही ‘गण्डकी सङ्गम’ मा र केही ‘ज्याग्दी खोलाको तरङ्ग’ मा छापिएका छन् । कथाहरूको पाण्डुलिपि मसँग अझै छँदैछ ।
ती कथाहरू पढी केही कथा आफैंंले टाइप गर्दै थिएँ । त्यसैबेला उहाँले नारायण मरासिनीका नाउँमा संस्मरणको पाण्डुलिपि पठाउनु भयो । पाण्डुलिपिका दुईवटा डायरीमध्ये एउटा सानो डायरी यस अघि नै मलाई पठाइसक्नुभएको थियो र त्यसका कतिपय अंश ‘गण्डकी सङ्गम’ मा प्रकाशित गरिएको पनि थियो । संस्मरणको एउटा डायरीका साथै उपन्यास र कथाका पाण्डुलिपिसमेत मलाई नै पठाएको भएर होला पछिको ठूलो डायरीचाहिँ नारायणजीका नाउँमा पठाउनु भएको थियो । नारायणजीले भ्याएसम्म आफैंले टाइप गर्छु भन्दै डायरी आफैंसँग राख्नुभयो । मैले टाइप गरेको सानो डायरीका कतिपय अंश ‘गण्डकी सङ्गम’ का पछिका अङ्कमा पनि प्रकाशित गर्ने गरियो । तिनमा आफू विद्यालयको शिक्षक भएर जुम्ला गएदेखि राजनीतिक अभियोगमा पञ्चायती शासकहरूले दिएको दुःख–यातना, वामपन्थी आन्दोलनमा पु¥याएको सहयोग र भोगेको जेल–नेल यातनाका कुराहरूलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । नारायणजीलाई डायरी पठाएको केही महिनापछि फोन गरेर के हुँदैछ भनी सोध्नुभयो । नारायणजीले आफू व्यस्त भएकाले टाइप गर्न नसकेको बताउनु भएपछि मैले बरु प्रेसमै लगेर टाइप गर्नदिँदा छिटो होला भन्दै प्रेसमा दिन लगाएँ र मैले टाइप गरेको जति प्रेसकै कम्युटरमा खन्याएँ । प्रेसले पनि कर्मचारीका कारण टाइप गर्न केही ढिला गरिदियो । उहाँले पुनः ताकेता गरेपछि मैले पनि प्रेसमा गएर ताकेता गर्न थालें । प्रेसले टाइप सकेर पु्रफ हेर्न दियो । आधाजति मैले लगें र केही दिनपछि बुझाएँ । आधाजति नारायणजीले लग्नुभयो । त्यतिखेर साह्रै व्यस्त भएर हो कि के भएर हो उहाँले प्रुफ हेरेर ल्याउन निकै ढिला गर्नुभयो । प्रेसले, सविताले र मैले पनि ताकेता गरेपछि उहाँले प्रेसमा लगेर दिनुभएको थियो र प्रेसले सच्याउन बाँकी नै थियो । उहाँलाई त्यो संस्मरणात्मक पुस्तक छापिएको हेर्ने ठूलो इच्छा रहेछ र नै यसरी प्रकाशनका लागि ताकेता गरिरहनु भएको रहेछ । । तर यति गर्दा निकै ढिला भइसकेको रहेछ । उहाँको त्यो इच्छा अधुरै रह्यो । न त्यति बिरामी, न बृद्धावस्था, यति छिटै त्यो अवस्था आउला भन्ने कसरी सोच्नु ! उक्त पुस्तक समयमा छापिन नसक्दा अहिले पनि पीडाले थिचिरहेछ ।
छिटै निधन हुने आभास पाएर हो कि पछिल्लो समय उहाँको लेखन अत्यन्त दु्रत गतिमा अघि बढिरहेको थियो । चितवनको माडीमा धुर्बे नामको हात्तीले धेरै मानिसको ज्यान लिएको थियो । त्यसबाट पीडित जनताको अनुरोधमा धेरै समयको प्रयासपछि उक्त हात्ती सेनाद्वारा मारिएको प्रचार गरिएको थियो । तर त्यो हात्ती केही महिनापछि फेरि देखिएको थियो भनिन्छ । यसैलाई आधार मान्दै राजनीतिक सन्दर्भसमेत जोडेर ‘धुर्बे’ उपन्यास लेख्दै गरेको कुरा मलाई बताउनु भएको थियो । त्यो पूरा भयो वा अपूरै रह्यो त्योचाहिँ परिवारजनलाई थाहा होला ।
यसरी एक दर्जनजति पाण्डुलिपि सेनाले नष्ट गरिदिनु र पछिल्लो समयमा लेखिएका आधा दर्जनजति कृति प्रकाशन हुन नसकी विभिन्न व्यक्तिहरूसँग छरिएर रहनु अनि महाकाव्यसहित सातवटा कृति प्रकाशन हुनुले उहाँको सिर्जनशीलता तीव्र रहेको देखिन्छ । प्रगतिशील साहित्यिक तथा राजनीतिक आन्दोलनमा लागेर बारम्बार जेल र यातना भोगेर पनि र आफ्नोसमेत योगदानबाट स्थापित गणतान्त्रिक व्यवस्था र वामपन्थी पार्टी सरकारमा रहेर पनि राज्यले उहाँलाई कहिल्यै सम्झने चेष्टा गरेन । पोखराका प्रगतिशील संस्थाहरूमध्ये प्र.ले.स.ले उहाँको एकल कविता वाचन गराएर, साहित्य शृङ्खलाले उहाँकै अध्यक्षतामा रहेको ‘शारदा घरदैलो कार्यक्रम’लाई पोखरामा गरिदिएर अनि गण्डकी साहित्य सङ्गमले आफ्नो मुखपत्रमा उहाँका रचनाहरू निरन्तर प्रकाशन गरिदिएर केही सम्मान गर्ने प्रयास गरेको थियो । उहाँको योगदानको महसूस यी संस्थाहरूले गरिरहेका थिए, तर अप्रत्यासित निधनले त्यो अघि बढ्न पाएन । उहाँ कतिसम्म स्वाभिमानी हुनुहुन्थ्यो भने एकपटक एकीकृत जनसांस्कृतिक महासङ्घको केन्द्रीय सम्मेलनमा काठमाडौं जाँदा कार्यक्रमस्थलमा भेट भएका तत्कालीन ए.ने.क.पा.(माओवादी) अध्यक्षले ‘तपाईँ कता हुनुहुन्छ, कहिलेकाहीँ आउने, सल्लाह दिने गर्नुपर्छ’ भन्दै आफ्नो पी.ए.लाई भनेर फोन नं. टिप्न लगाउनुभएको थियो । तर नेताप्रति विश्वास नभएर हो वा बढी स्वाभिमानी भएर हो, उहाँ कहिल्यै नेता र मन्त्रीहरुलाई भेट्न जानुभएन, सुस्त मनस्थितिका छोराछोरी र यातनाले कमजोर आफ्नो शरीर देखाएर कुनै लाभ लिने प्रयास गर्नुभएन ।
२०७५ मङ्सिर २६ गते बिहान झिस्मिसेमै साहित्यकार रह शर्माको फोन आयो । सुरुमै उहाँले सविताको हिजो बेलुकी नै निधन भएको र आफूहरू शवयात्रामा हिँडिसकेको कुरा गर्नुभयो । सुन्नासाथ स्तब्ध भएँ । हिजो मात्र ‘ए सर ! कहिले हो भेट्ने ?’ भन्दै सुरिलो स्वरमा भनेको कुरा र अनुहार झल्झली अगाडि आइरह्यो । पत्याउन जति नै गाह्रो लागे पनि उहाँकै साथी र दाजुसमेत पर्ने रह शर्माले स्पष्ट रूपमा भनेपछि पीडाले एकछिन रन्थनिएर भए पनि स्वीकार्न करै लाग्यो । मैले भीमजी र नारायणजी र पोषराज पौडेललाई उत्तिखेरै फोन गरेर जानकारी गराउँदै देवघाट तर्फ जाने मनस्थिति बनाएँ । चारैजनाा साथीहरू एकैछिनमा निस्कने सल्लाह हुँदैथियो । फेरि रह शर्मालाई फोन गरेर अन्त्येष्टिको ठाउँ र समयबारे सोध्दा उहाँले देवघाट लैजान लागिएको र एकघण्टाभित्रै पुगिने कुरा गर्नुका साथै पोखराबाट अव हिँड्दा अन्तिम श्रद्धाञ्जली दिन नभ्याइने कुरा गर्नुभयो । हामी यताका साथीहरूले सल्लाह ग¥यौं—यहाँ हामी कसैको निजी गाडी नभएको र सार्वजनिक सवारीबाट देवघाट पुग्दा कम्तिमा तीन घण्टा लाग्ने र त्यतिञ्जेल अन्त्येष्ठि सकिने छ । यसैले श्रद्धाञ्जली दिन नभेटाइने भएपछि परिवारलाई समवेदना दिन अर्को दिन जाउँला भन्दै त्यसै खुम्चिएर सवितालाई सम्झिँदै मनमनै श्रद्धाञ्जली दिएर बस्यौं ।
सविताको निधन भएको सातौं दिन पारेर प्र.ले.स.चितवनले श्रद्धाञ्जली कविता वाचनको कार्यक्रम राखेको रहेछ । प्र.ले.स.का तत्कालीन केन्द्रीय अध्यक्ष मातृका पोखरेलसहित केही साहित्यकार काठमाडौंबाट र केही चितवन, हेटौंडा, नवलपरासी, तनहूँतिरबाट आउने कुरा थियो । उक्त दिन जान सकेको खण्डमा धेरै साहित्यकारहरूसँग भेट हुने र सविताका बारेमा संस्थागत रूपमा गर्न सकिने कार्य बारेमा छलफल हुन सक्दथ्यो तर उक्त दिन पोखरामा भीमजीको र मेरो जरुरी काम परेकाले हामी अघिल्लै दिन जानुपर्ने स्थिति आयो । नारायणजीलाई फूर्सद नमिलेपछि पोखराबाट पोषराज पौडेल, भीम रानाभाट र म चितवन पुग्यौं । उहाँको घर नजिकै पुग्दा मन भरिएर आयो । बाटैदेखि लिन आउने सविता कतै उभिएर यतै हेरिरहनुभएको छ कि जस्तो लागेर मन एकतमासको भएर आयो । त्यहाँ उहाँका छोराहरू र म्याडम सेतो कोरामा बेरिएर क्रिया बसिरहेको देख्दा आँसु सम्हाल्नै गाह्रो भइरह्यो । एकैछिन सोचें—अलि सुस्त मनस्थितिका भाइबहिनी र शोकविह्वल अवस्थाकी आमालाई सम्हाल्दै र सम्झाउँदै घर–गृहस्थी चलाउन कति जटिल बन्नेछ, जेठो छोरा माधवलाई ! बाबुप्रति जति नै सम्मानभाव रहेपनि पारिवारिक जीवन कसरी अघि बढाउने भन्ने चिन्तामा रहेका बेला बाबुका पाण्डुलिपिको प्रकाशन र स्मृति प्रतिष्ठान बनाउने कुरा कसरी अघि सार्ने ? तुरुन्तै केही बोलिहाल्दा कतै आँसुनै छचल्किने हो कि जस्तो पनि लाग्यो । त्यसैले सविताका नजिकका दाजु र साथी रविकिरणसँग त्यसबारे सामान्य कुरा मात्र भयो, धेरै कुरा गर्ने अवस्था थिएन । यसैले त्यहाँ राखिएको शोक पुस्तिकामा श्रद्धाञ्जलीका शब्द राख्दै म्याडम र बाबुहरूतिर हेर्दै उहाँको अप्रत्यासित निधन बारे जिज्ञासा राख्यौं र समवेदनाका औपचारिक शब्दहरू पोखेर केही बेरपछि बाटो लाग्यौं ।
बाटोमा साथीहरूसँग छलफल गर्दै आयौं— जीवनभर सामाजिक रूपान्तरणका लागि साहित्य र राजीतिमा क्रियाशील रहेका र जनसांस्कृतिक महासङ्घको केन्द्र र जिल्लामा रही काम गर्नुभएका सविताको काजक्रिया उही पुरानै ढाँचाबाट गरिएको थियो । अप्रत्यासित निधन भएको हुँदा संभवतः सविताले आफ्नो क्रियाकर्म बारे परिवारलाई भन्न पाउनु भएन वा भनेको भएपनि परिवारको मानसिक तयारी नहुँदा वा शोकपूर्ण अवस्थामा आउने समाज र आफन्तको दवाव थेग्न नसक्दा पुरानै परिपाटीमा क्रिया गर्न विवश बने होलान् । जाडोको बेला एकसरो कोरा कपडामा बेरिएर थुरथुर काँप्दै बसिरहेका थिए छोराहरू अनि म्याडम । बाहिरको चिसो पानीको धारोमा थापिएर दिनहुँ नुहाउनु पर्ने, प्रेत भएर डुलेको मृतक आत्माको शरीर बनाउन भन्दै दैनिक पिण्ड बनाएर चढाउने अनि गरुड पुराण वाचन गर्दै नरकको त्रासले आतङ्कित पारी विभिन्न खाले दान र दक्षिणा बटुल्न संस्कारका नाउँमा पुरोहितहरूले बनाएको जीवनविरोधी र अन्धविश्वासग्रस्त क्रियाकर्ममा अझै सुधार हुन नसकेको देख्दा उदेक लागेर आयो । कतिपय सांस्कृतिक रूपान्तरणको अभियानमा लागी प्रगतिशील कुरा गर्नेहरू समेत यस्ता क्रियाकर्ममा निहुरमुन्टी लगाएका हुन्छन् भने कतिपयले परम्परागत क्रियाकर्ममा विश्वास नगरी आफ्नो क्रिया नगर्न भने पनि परिवारमा त्यस खाले चेतना विकास नहुँदा वा समाजका अघि अप्रिय हुन नखोज्दा तिनको मृत्युपछि परिवारले पुरानै किसिमले क्रिया गरेका हुन्छन् । सामाजिक रूपान्तरणको नारा दिएर सत्तामा पुगेको पार्टी र तिनका नेताहरूसमेत पुरानै संस्कार र संस्कृतिमा फर्किँदै त्यसमै रमाउन थालेको अवस्थामा रुपान्तरणका कुरा गर्नेहरू असान्दर्भिक बन्न थालेका छन् ।
कृष्णपुरबाट हिँड्दा चार बज्नै लागेको थियो । सरासर बस चढ्यौं । करिव चार घण्टाको बाटो सविता र निष्ठावान कवि–लेखकहरूको नियति बारे घोत्लिँदै र छलफल गर्दैमा बित्यो । उन्नत र समतामूलक समाज निर्माणका लागि जीवनभरि आफू र आफ्नो परिवारभन्दा देश र समाजको बारेमा सोच्दै अनेक दुःख–यातना सहने सविता जस्ता इमानदार साहित्यकार–संस्कृतिकर्मीहरू समेतको योगदानबाट आएको गणतान्त्रिक व्यवस्था र वामपन्थी सरकार पनि जनताको त्याग र सहिदको बलिदानलाई बिर्सेर पुरानै शासकहरूको बाटोमा हिंड्न थालेको देख्दा उदेक लागेर आयो । सविताले पछिल्लो समयमा लेखेर प्रकाशन हुन नसकेका कृतिहरू के त्यसै हराएर जाने हुन् ? परिवारमा मृतक आफन्तप्रति र साहित्यप्रति पनि त्यत्तिकै माया र श्रद्धाभाव भएमा र आर्थिक अवस्थासमेत सुदृढ भएमा परिवारकै सक्रियतामा प्रतिष्ठान गठन वा कृतिहरूको प्रकाशन जस्ता काम हुने गर्दछन् तर कठिन आर्थिक अवस्थामा गुज्रिरहेको परिवारमा त्यो इच्छामा मात्र सीमित हुन जान्छ । पाण्डुलिपिहरू लेखकको मृत्युसँगै हराएर जाने वा वेवारिसे बन्ने अवस्था सविता जस्ता धेरै कवि–लेखकहरूको अवस्था हो । हाम्रो जस्तो साहित्यको मूल्यबोध गर्न नसक्ने समाज, संस्कार र राज्य–व्यवस्था भएको देशमा यो अवस्थाले धेरै कवि–लेखकहरूको मनमा एक खाले वितृष्णासमेत जन्माइदिएको छ । मलाई सविताले भनेका र कतिपय आफैंले हेरेका कृतिहरूलाई आधार मान्दा उहाँका कम्तीमा पाँचवटा तयारी पाण्डुलिपिहरू हुनुपर्छ र पत्रिकामा छरिएर रहेका लेख–रचनाहरू सबैलाई सङ्गृहीत गर्ने हो भने कम्तीमा अरू दुईवटा कृति बन्नसक्ने रचना हुनुपर्छ भन्ने लाग्छ । यी सबै कृतिहरू तत्काल छाप्न सक्ने अवस्था नरहे पनि कहाँ कोसित के कति छन् सबै खोजेर संरक्षण गरी राख्ने काम परिवारका सदस्यको हो । संरक्षण गरी राख्न सकियो भने प्रकाशन–योग्य रचनाहरू अनकूल भएमा आफैंले वा कुनै व्यक्ति वा संस्था भेटिएमा तिनलाई प्रकाशनार्थ उपलब्ध गराउन सकिन्छ । सविताले आफैंले ऋण–धन गरेर छपाउन खोजेकोचाहिँ संस्मरणात्मक कृति हो । पोखराको एउटा प्रेसमा टाइप भइसकेर प्रुफ हेर्ने क्रममा रहेको यो कृतिलाई के कसरी रकम जुटाएर हुन्छ छिटै प्रकाशन गर्न सकियो भने सविताको एउटा चाहना पूरा गरिदिएको ठहरिने छ ।