गजल

गजल कोमल भट्ट September 6, 2023, 9:34 am

कोमल भट्ट
कोमल भट्ट
नछर्दै उज्यालो विहानी गयो

सयौं कष्ट झेल्दै जवानी गयो

भयो देख्न गाह्रो खुसीको पला

चल्यो घोर आँधी सिरानी गयो

सबै ध्वस्त भो चाहना जे थियो

खरानी हुँदै त्यो निसानी गयो

व्यथाले सताए सदासर्वदा

खुसी बाँडने घामपानी गयो

भए दूर आफन्त,साथी सँगी

सधैं लाग्छ आँखा र नानी गयो

बगे स्वप्न सारा लग्यो बाढले

अविश्वास बाँच्यो जमानी गयो

फुटेको छ छाती कडा चोटले

न वा देहको राजधानी गयो ?

मरेको छु रोजै यहाँ दर्दले

कसोरी भनौँ जिन्दगानी गयो

(बहरे मुतकारिब महजुफ)

चन्द्रागिरी न.पा -२१, काठमाडौँ, हाल: न्युयोर्क,अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।