१. आफ्नो जन्मस्थान, बाल्यकाल र शिक्षादीक्षाका बारेमा सङ्क्षेपमा जानकारी दिनुहुन अनुरोध गर्दछु ।
हालको मादी गाउँपालिकामा पर्ने गोर्जे गाउँ मेरो जन्मस्थल हो र कर्मस्थल पनि हो । त्यस गाउँमा २००२ साल असार १७ गते पिता काशीनाथ अधिकारी र माता राधिकादेवी अधिकारीको एक मात्र पुत्रका रूपमा मेरो जन्म भएको हो रे । म जन्मेको ६ वर्षपछि एउटी बहिनी जन्मी । त्यसपछि प्राकृतिक परिवार नियोजन भएछ, अरू कोही जन्मेन । बहिनी र म जीवितै छौं । मेरो गाउँ अहिले कास्की भयो, २०३२ सालअगि यो लमजुङ नै थियो । २०३२ सालको हेरफेरमा गाउँ कास्कीमा गाभिँदा म पनि कस्केली भएँ; तर २०३० सालमा गाउँमै मास्टरमा स्थायी हुन पर्दा मैले बेसीसहरबाट लमजुङे नागरिकताको पचियपत्र निकालें । अहिले कास्कीकै पोखरा मेरो बासस्थान बनेको छ ।
कतिपय यात्रामा बाल्यकालको कुरो गर्दा त्यस बेला गाउँमा हुर्कने सामान्य किसानका केटाकेटीको जस्तो अवस्था मेरो पनि थियो । मेरो मुख नदेख्तै हजुरबा–हजुरआमा परमधाम पुगिसकेका र बाबुआमा कृषि व्यवसायमै तल्लीन हुनुपर्ने भएकाले बाल्यकालमा सुखसन्तुष्टिको स्याहारसुसार नहुनु स्वाभाविक हो; तर पनि एउटा मात्र छोरो भएका र प्राकृतिक अनुकूलता रहेका परिवेशमा बालकालका दिनहरूलाई मैले पछारें । बाबुआमाका खेतीपाती, डिँगाडाँगर र घरधन्दामा यथाशक्य सहयोग पुर्याउँदै जीवनयात्रा चालेर सम्पत्तिको उत्तराधिकारीका रूपमा खड़ा भएँ । बाल्यकालका गाउँले जीवनका रमाइला प्रसङ्गहरू सबैका जस्तै मेरा पनि छन् । ‘परदेशीलाई पत्र’ शीर्षकका पत्रात्मक चिठी सँगालाका चिठीहरूमा कतिपय वर्णन गरेको छु । सामान्य गाउँले जीवनका केटाकेटीको परिवेश लगभग सबै भोक्तालाई अवगत भएको विषय हो ।
२००६ सालमा स्थापित ‘गोर्जे भाषा पाठशाला’ मा ६–७ वर्षको भएपछि मेरो शिक्षाको प्रारम्भ भयो । सामान्य लेखपढ गर्न जान्ने भएपछि छोरालाई के पढाउने भन्ने सोच राखेर बाबाले पुरोहित काम गर्ने पण्डितहरूसँग सोध्नुभएछ । श्राद्धरुद्रि गरेर चामल र पैसा बटुल्ने कर्मकाण्डै पढाउन राम्रो हुन्छ भन्ने सल्लाह पण्डितहरूले दिएपछि उहाँले मलाई ‘कर्मकाण्ड गर्ने पुस्तकहरू पढ्’ भन्न थाल्नुभयो । अनि ‘अग्नि स्थापना’, ‘एकोदिष्ट पार्वण श्राद्ध विधि’ आदि कर्मकाण्डका पुस्तक च्यापेर म घर र पाठशालामा ओहोरदोहोर गर्न थालें । ‘अर्थ नपाई गोविन्द गाई, टाउको दुखेको ओखती नाइटामा लाई’ भने जस्तै संस्कृत भाषा नपढी कर्मकाण्डको रहस्य के बझ्नु ? तर अज्ञानताका परिवेशमा अर्को उपाय भएन । २०१५–१६ सालमा अतिरिक्त क्रियाकलाप गर्दा कविता सुनाएका परिवेशमा भाषा पाठशालाका गुरु हेमराज अधिकारीले ‘तैंले लघुकौमुदी पढ्’ भन्नुभयो र कर्मकाण्डका पुस्तक छोडी ‘लघुसिद्धान्त कौमुदी’, ‘अमरकोश’, ‘हितोपदेश’ आदि पढ्न थालें । बाबा रोगी र म एउटा मात्र छोरो भएकाले उहाँको काजकिरिया नगरी म बाहिरी ठाउँमा पढ्न जान हुने अवस्था थिएन; त्यसैले साथीहरू कुनै काठमाडौं, कुनै बनारस गए पनि म २–३ वर्ष गाउँमै रोकिएर बसें ।
२०२१ साल माघमा बाबाको निधन भयो । काजकिरिया सकेपछि म पढ्न जान छटपटिएँ । काठमाडौँमा पढ्ने साथी बाबुराम अधिकारी घर आएकाले फागुनमा म काठमाडौँ गएँ । रानी पोखरी संस्कृत प्रधान पाठशालामा प्रथमामा भर्ना भएर स पढ्दै थिएँ । गाउँले विद्वान् राधाकृष्ण अधिकारी गुरु धर्मशास्त्रमा आचार्य गरेर त्यहीं पढाउन पुग्नुभयो । बुढो विद्यार्थी भएर प्रथमामा पढ्न लागेको म उहाँबाट बनारसमा सम्पूर्ण पूर्वमध्यमा सुरुमै दिन पाइने कुराको जानकार भएँ र भदौतिर काठमाडौं छोडेर बनारसतिर हानिएँ । साहित्य विषय लिएर नेपाली संस्कृत महाविद्यालय, मङ्गलागौरीबाट सम्पूर्ण पूर्वमध्यमा १ वर्ष, उत्तर मध्यमा २ वर्ष र शास्त्री २ वर्ष गरी ५ वर्षमा अध्ययन पूरा गरेर म नेपाल फर्कें । गाउँमा मास्टर भएर बस्ताबस्तै प्राइभेट रूपमा २०३३ सालमा नेपालीमा माष्टर डिग्री लिएँ । त्रि.वि.ले नियुक्त गरेर प्राध्यापन गर्न थालेपछि अध्ययन बिदा लिई विद्यावारिधि गरें ।
२. यहाँलाई साहित्य सिर्जनामा के ले आकर्षित गर्यो ?
मलाई साहित्य सिर्जनातर्फ आकर्षित गर्ने एउटा मात्र प्रेरकतत्व छैन । एउटा मात्र प्रेरकतत्व सामान्य रूपमा कसैलाई पनि कारण हुन सक्तैन भन्ने मलाई लाग्छ । कालिदासलाई श्रीमतीले घरबाट निकाल्नु, तुलसीदासलाई श्रीमतीले रामप्रति आशक्त पार्ने वचन भन्नु, भानुभक्तलाई घाँसीले कीर्तिको चाहना जगाउनुजस्ता कुराहरू परम्परागत रूपमा चलाइएका रूढि हुन् । वास्तविकतामा बुझ्ने हो भने सबैलाई तत्कालीन समाज, साहित्यिक संस्कृति, प्रेरक वातावरण र शैक्षिक चेतनाजस्ता कुराहरू सिर्जनाको प्रेरणाका कारण हुन्छन् । २००७ सालपछिको प्रजातन्त्रिक नेपालको जाग्दो समाज, भानुभक्त, लेखनाथ र देवकोटाका कवितामा रमाउने संस्कृति, शिक्षातर्फ उन्मुख वातावरण र आफ्ना रुचिले पनि साथ दिँदा म साहित्य सिर्जनामा आकर्षित भएँ । पहिले गाउँमा कविता लेख्ता गोर्जे भाषा पाठशालाका गुरु हेमराज अधिकारीको पनि हौसला स्मरणीय रह्यो । बनार बस्ता दाङ भमकेका वामदेव आचार्यले “अबका जमानामा कविता मात्र लेखेर काम चल्दैन भाइ, गद्य पनि लेख” भनेर गद्यलेखनमा प्रेरणा दिनुभयो । यस परिवेशबाट म साहित्य सिर्जनातर्फ आकर्षित भएँ र दीक्षित पनि भएँ ।
३. यहाँले साहित्यका कुन कुन विधामा कलम चलाउनु भएको छ, यहाँलाई सबैभन्दा मन पर्ने विधा कुन हो र यहाँबाट के कति पुस्तकहरू सिर्जित-प्रकाशित छन् ? जानकारी दिनुहुन अनुरोध गर्छु ।
मैले साहित्यिक यात्रामा प्रवेश गरेको विधा कविता हो । देवकोटाको ‘मुनामदन’, धर्मराज थापाका ‘पहाडी संगीत’, ‘रत्न जुनेली’, ‘वनचरो’ जस्ता लोकलयका कृति तथा भानुभक्त, लेखनाथ र माधव घिमिरेका संस्कृत छन्दका कविताहरू पढ्नाका कारणले लोकछन्द र संस्कृत छन्दमा पहिला कविताहरू लेखें । फुटकर कविता र खण्डकाव्यसम्मको रचना गरें; तर महाकाव्य लेख्ने ऑट ममा आएन । आज भोलि महाकाव्यको सार्थकता पनि पाठक नहुनाले देखिएको छैन । गद्यतिर लागेपछि कवितातिर ध्यान जाँदैन । पहिले मन परेको विधा कविता थियो, अहिले मन परेको विधा निबन्ध भएको छ । प्राध्यापकीय जीवनमा समालोचना र अनुसन्धान पनि आवश्यक भएकाले त्यसतिर पनि मेरो रुचि छ; यसैले आज सबभन्दा मनपर्ने विधा अकाल्पनिक गद्यका निबन्ध र समालोचना भएका छन् । क्षमता र अवस्थाका आधारमा रुचिका विधा पनि अलग अलग हुँदा रहेछन् ।
मेरा सिर्जना भएका अप्रकाशित कृतिहरू अनेक हुन सक्छन् । त्यस्ताको नाम लिएर लिष्ट लामो बनाउँदिन । प्रकाशित कृतिहरूमा कविताकाव्यमा ‘बुकिफूल’ (कवितासँगालो– २०३१), ‘एकलव्य’ (पौराणिक लघुकाव्य– २०३५), ‘परदेशीलाई पत्र’ (कवितात्मक पत्रसँगालो– २०४१), ‘आँसुको अँजुली’ (शोककाव्य– २०४१), ‘हर्के’ (ऐतिहासिक लघुकाव्य– २०४६) छन् भने निबन्ध नियात्रामा ‘बिर्सिदिने परम्परा’ (निबन्धसङ्ग्रह– २०५७), ‘मनोरमा’ (निबन्धसङ्ग्रह– २०६०), ‘फेरि बनारस जाँदा र अन्य नियात्राहरू’ (नियात्रा सँगालो– २०६६), ‘कुरौटेको कुटुरो’ (निबन्धसँगालो– २०७०), ‘घुमन्तेको सेरोफेरो’ (नियात्रासँगालो– २०७१ ) र ‘अष्ट्रेलियाः छोटो बसाइ, थोरै हेराइ’ (नियात्रा र निबन्धको सँगालो– २०७२ ) छन् । समालोचनामा पुस्तकका रूपमा– ‘प्रगतिवादी नेपाली कविता’ (२०४४), ‘अनुभव र आँखाहरू’ (२०४६), ‘प्रगतिवादी दृष्टिमा यौनसम्बन्ध र सांस्कृतिक चिन्तन’ (२०४७), ‘नेपाली समालोचनाको रूपरेखा’ (२०५१), ‘छेलिएका छविहरू’ ( २०५२), ‘प्रगतिवादी नेपाली समालोचना’ (२०५६), ‘साहित्यिक सन्दर्भः चर्चा र टिप्पणीहरू’ (२०५८) ‘साहित्य सारथि’ (२०५९), ‘अलिमियाँ; व्यक्ति र कृति’ (२०६०), ‘कमल दीक्षितका नियात्राः एक अध्ययन’ (२०६५), ‘नेपाली लोकसाहित्यको झलक’ (२०६५) र ‘गद्यकारका रूपमा देवकोटा’ (२०६६) छन । ‘मार्क्सवादी समालोचना र भानुभक्त’ शीर्षकको एउटा कृति प्रकाशोन्मुख छ । २०२० सालमा गाउँमा विद्यार्थी छँदै टीकाराम अधिकारी, बाबराम अधिकारी र म भएर ३ मित्रका गीतहरूको सँगालो ‘दुःखको आवाज’ प्रकाशित गरेको कुरो पनि यति बेला सम्झेको छु । प्रकाशित र असङ्कलित कविता, निबन्ध र समालोचना विभिन्न पत्रपत्रिकामा छन् ।
४. यहाँ क्रियाशील रहनुभएका साहित्यिक सङ्घ-संस्था र यहाँले सम्पादन गर्नुभएका पत्रपत्रिका र पुस्तकहरूका बारेमा जानकारी दिनुहोस् न ।
नारायणजी, म बनारसमा रहँदाका स्थितिकालमा पश्चिम ३ नम्बर अध्ययन मण्डलमा सक्रिय रहें । लमजुङ, तनहुँ र कास्की (पश्चिम ३ नम्बरका बनारसमा पढ्ने विद्यार्थीहरूको आपसी भेटघाट र साहित्यिक, सांस्कृतिक, बौद्धिक किसिमका कार्यक्रम र प्रतियोगिता तथा पत्रिका (भानु–उदय) प्रकाशन गर्ने, त्यस अध्ययन मण्डलमा २०२३ सालदेखि २०२७ सम्म सलग्न रहें । पोखरा आएपछि प्रगतिशील लेखक कलाकार सङ्घ (हालको प्रलेसको पूर्व रूप)को तदर्थ समिति गठन हुँदा संस्थापक संयोजक बनें । अञ्चलस्तरीय रूपबाट जिल्लास्तरीय रूपमा फैलँदा पनि जिल्ला अध्यक्ष भई हाल सल्लाहकारका रूपमा संलग्न छु । राष्ट्रिय जनसांस्कृतिक मञ्चको तदर्थ समितिमा रही पहिलो केन्द्रीय सम्मेलनपछि कार्यसमिति सदस्य भएर हालको राष्ट्रिय जनसांस्कृतिक महासंघको संस्थापक सदस्यमा संलग्न छु । २०४९ सालमा कुलप्रसाद खनाल, घनश्याम ढकाल र मेरा पहलमा पोखरामा ‘गण्डकी साहित्य सङ्गम’को गठन गरियो र राष्ट्रिय तथा क्षेत्रीय स्तरको साहित्यिक पुरस्कारको स्थापना गरियो । विभिन्न साहित्यिक सांस्कृतिक गतिविधि गरी ती पुरस्कार प्रदान गर्ने र ‘गण्डकी सङ्गम’ पत्रिका प्रकाशन गर्ने काम यस संस्थाले गर्छ । संस्थापक उपाध्यक्ष भई पछि अध्यक्ष भएर सल्लाहकारका रूपमा हालसम्म संलग्न छु । त्यस्तै २०५५ सालमा कविशिरोमणि लेखनाथका जन्मस्थलमा उहाँका नामको साहित्यिक संस्था बनाउन आवश्यक देखेर ‘लेखनाथ साहित्य प्रतिष्ठान’, नेपालको गठन गरियो । म संस्थापक अध्यक्षका रूपमा उभिएँ । विभिन्न साहित्यिक गतिविधि र ‘नवलालित्य’ नामको पत्रिका प्रकाशन गर्ने त्यस संस्थाले लेखनाथकी कान्छी छोरी कुन्तीदेवीका सन्ततिहरूका विशेष लगानीमा लेखनाथ साहित्य पुरस्कार र कुन्तीदेवी शिक्षा पुरस्कार प्रदान गर्ने अक्षयकोष खडा गरेको छ । त्यस अक्षयकोष सञ्चालक समितिमा र प्रतिष्ठानका धेरै गतिविधिहरूमा म संलग्न छु ।
पत्रपत्रिका र पुस्तकहरू सम्पादन गर्ने सन्दर्भमा म बनारसमा रहँदा ‘भानु–उदय’का ७, ८ र ९ अङ्क सम्पादन गरें । २०२७ सालको ‘छात्रप्रभा’ मा पनि म बनारसमा रहेकाले सम्पादनमा संलग्न थिए । गण्डकी सङ्गमका पहिलेका अङ्कहरूमा प्रमुख संस्थापकहरूकै सम्पादकत्व रह्यो । प्रलेस कास्कीको प्रकाशन ‘साहित्य–प्रभा’ मैले नै प्रारम्भ गरेको पत्रिका हो । ‘नवलालित्य’का आजसम्मका सबै अङ्कमा मेरो सम्पादकत्व रहेको छ । कालिका बहुमुखी क्याम्पसको प्रकाशन ‘पानस’का पनि सबै अंकमा र ‘जमर्को’ त्रैमासिकका कतिपय अङ्कमा मेरो सम्पादकत्व छ । पुस्तकमा ‘गोविन्द भट्टका समालोचना’ (२०५५) मैले सम्पादन गरेको उल्लेख्य कृति हो । पोखराका कविहरूका लयका कविता ङ्ंकलन गरेको ‘पोखरेली पराग’ २०४६ सालमा म र कृष्णप्रसाद बाँस्तोलाले सम्पादन गरेर निकाल्यौं । त्यस्तै ठाकुरप्रसाद सिग्देललाई साथ लिएर कवि अलिमियाँको कविता सँगालो ‘अलिमियाँको आवाज’ (२०५८) सम्पादन गरें । संयोजक सम्पादक भई ‘अलिमियाँ अभिनन्दन ग्रन्थ’ (२०६१) र मण्डलमा रही ‘टीकाराम बाँस्तोला स्मृति ग्रन्थ’, ‘भोलानाथ पराजुली स्मृतिग्रन्थ’ पनि सम्पादन गरेको छु ।
५. बनारसमा बसेर पनि अध्ययन गर्नुभयो । त्यहाँ बसेर अध्ययन गर्ने क्रममा के कस्ता साहित्यिक गतिविधिहरूमा क्रियाशील हुनुभएको थियो ?
२०२२ सालको असोजदेखि २०२७ सालको जेठसम्म म बनारसमा पढ्न बसें । गाउँमा आएपछि मास्टर छँदा २०३० सालको बर्खे बिदामा र २०३१ सालको बर्खे बिदामा पनि म बनारस बस्न गएँ । मेरो ‘बुकीफूल’ २०३१ सालको बर्खे बिदामा त्यहीँ लगेर छपाएँ । क्याम्पसमा आएपछि २०६४ सालका दसैं बिदामा श्रीमतीलाई लगेर घुमाएँ भने २०६६ सालका जेठमा म मात्र किताब किन्ने बहाना बनाएर घुम्न गएँ । यसरी मैले बनारससँग निकटता कायम गरेको छु र धेरै थोरै सधैँ साहित्यिक गतिविधिसँग चासो राखेको छु । नेपाली संस्कृत महाविद्यालय र साहित्यिक गतिविधिहरूले मलाई चासो राख्न लगाउँछन् । साहित्य लेख्ने मात्र नभई साथी र गुरुहरूसँग मिलेर साहित्यिक कार्यक्रम गराउने, विद्याधर्म प्रचारिणी नेपाली समितिमा सम्मिलित हुने जस्ता काममा लगाउने बनारस मेरो पहिलो कार्यथलो पनि हो ।
म बनारसमा पढ्न बस्ताताक नेपालमा पञ्चायती व्यवस्था थियो र कतिपय नेपाली काङ्ग्रेसका नेताहरू बनारसमै हुनुहुन्थ्यो । प्रदीप गिरी, शैलजा आचार्य, चक्र बाँस्तोला, भागवत ज्ञवाली आदि बनारसमै बस्नुहुन्थ्यो । २०२५ सालमा जेलबाट छुटेपछि वी.पी. कोइराला पनि बनारसमै गएर बस्नुभएको थियो । पोखरा, पुम्दीका खेमराज पौडेलका सम्पर्कले गर्दा मैले पनि २ पटक वी.पी.लाई भेटें । प्रदीप गिरी, विश्वप्रेम अधिकारी आदि साथीहरूले ‘रहर’ त्रैमासिक पत्रिका निकाल्नुभएको थियो । प्रदीप गिरी र विश्वप्रेमजीसँग मैले साहित्यिक अध्ययनको आधार खोज्न सङ्गत गरें । स्याङ्जाली कविहरूको प्रतिनिधि कविता सँगालो ‘पोखिएका कनिका’ विश्वप्रेमजीले बनारसमै लगेर छपाउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पलाल श्रेष्ठ र बलराम उपाध्याय पनि बनारसमै बस्नुहुन्थ्यो । बलराम दाइका पोलिसीमा लमजुङ, तनहुँ र कास्कीका धेरै विद्यार्थीहरू वामपन्थी भए र म पनि वामपन्थी बन्न पुगेँ ।
नारायणजी, त्यति बेला बनारसमा पढ्ने विद्यार्थी कि प्रजातन्त्रवादी कि प्रगतिशील खेमामा आबद्ध देखिन्थे । यति भएर पनि साहित्यिक विकासमा सबै विद्यार्थी जागरुक थिए । पञ्चायत विरुद्ध बोल्न र राजनीति गर्न पाइने हुँदा राजनैतिक नेतृत्व बनारसको थियो । साहित्यिक र राजनीतिक गतिविधिलाई साहित्यका माध्यमले व्यक्त गर्न इलाका–इलाकाका साथीहरूले आफ्ना सङ्गठन बनाई पत्रिका प्रकाशित गर्नुहुन्थ्यो । पश्चिम १ नम्बर धादिङबाट ‘नयाँ पाइलो’, २ नम्बर गोर्खाबाट ‘रवि’, ३ नम्बर लमजुङ, तनहुँ र कास्कीबाट ‘भानु–उदय’, ४ नम्बर स्याङ्जाबाट ‘कल्याणी’, बाग्लुङबाट ‘सिर्जना’, पाल्पाबाट ‘उजेली’, गुल्मी–अर्घाखाँचीबाट ‘बिहानीपख’, दाङबाट ‘सन्देश’, प्युठानबाट ‘सुमन’ आदि पश्चिमबाट र सगरमाथा अञ्चलबाट ‘विश्वशिखा’, कोशी अञ्चलबाट ‘कोशीको सुषमा’, ‘कोशीको लहर’ आदि पूर्वबाट प्रकाशित हुन्थे । सबै बनारसमा पढ्ने साथीहरूको मूल सङ्गठन ‘नेपाली छात्र परिषद्’ थियो । यसले पनि यी पत्रिकाजस्तै वार्षिक रूपमा ‘छात्रप्रभा’ प्रकाशित गथ्र्यो । त्यतिबेला जनकपुरका साथी बोधराज काफ्ले र म संस्कृत छन्दमा राम्रा कविता लेख्ने भनेर मानिएका थियौं । यी पत्रिकाहरूमा हाम्रा धेरै कविता छापिएका छन् । पछि प्रगतिवादी कविका रूपमा परिचित कवि युद्धप्रसाद मिश्र पनि त्यतिबेला प्रजातान्त्रिक कविका रूपमा बनारसमै हुनुहुन्थ्यो र हामी उहाँका निकटतामा थियौं ।
६. यहाँले पीएच.डी.का क्रममा ‘प्रगतिवादी नेपाली समालोचनको विश्लेषणात्मक अध्ययन’ शीर्षकलाई नै चयन गर्नुको कुनै कारण थियो कि ?
वर्तमान परिवेशमा उपयुक्त दर्शन मार्क्सवादी दर्शन नै हो भनेर ठहर्याई प्रगतिवादी साहित्य लेखनमा संलग्न रहँदै आएकाले पीएच.डी. को विषय पनि प्रगतिवादी समालोचना लिएको हुँ । यसमा अन्य कुनै कारण छैन, म अझै पनि प्रगतिवादी समालोचना लेखनमै संलग्न छु ।
७. लामो समयसम्म यहाँले विश्वविद्यालयमा नेपाली भाषा र साहित्यको प्राध्यापन गर्नुभयो । साहित्यले आम नागरिकलाई के दिन्छ ? साहित्य सिर्जना किन र कुन प्रयोजनका लागि गरिन्छ ?
मैले ३३ वर्ष पृथ्वीनारायण क्याम्पस, पोखरामा र १ वर्ष महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा प्राध्यापन गरें । त्यस बाहेक गाउँका नै विद्यालयमा पनि ७ वर्ष पढाएँ । पढाउन छोडी पल्टनमा पुजारी हुन जाने र पैसा सोहोर्ने अफर पनि मलाई आएको थियो; तर मैले पैसातिर आँखा तानिन र नेपाली भाषा र साहित्य पढाएर नै बसें । विश्वविद्यालयको तलव वा पेन्सन थोरै थोरै भए पनि निर्वाह चलेको छ । नेपालको भविष्यका निर्माता भाइबहिनीहरूको गुरु हुन पाएकामा गौरवान्वित छु ।
नारायणजी, जहाँसम्म तपाईंले साहित्यले आम नागरिकलाई के दिन्छ ? भन्ने प्रश्न सोध्नुभएको छ, यसका उत्तरमा म के भन्छु भने मजदुरलाई, कर्मचारीलाई तलब, पुरोहितलाई भेटी दिए जस्तो प्रत्यक्ष रूपमा साहित्यले केही दिन सक्तैन तर अप्रत्यक्ष रूपमा आम नागरिकलाई राम्रो संस्कार, सबैका सन्ततिलाई अगि बढ्ने उपाय र सबै गतिविधिमा आम नागरिकलाई जानकार साहित्यले बनाउँछ । छोटो रूपमा यत्ति मात्र भनौ । तपाईंको दोस्रो ‘साहित्य सिर्जना कुन प्रयोजनका लागि गरिन्छ ?’ भन्ने प्रश्न पनि लगभग माथिकै उत्तरसंग सम्बन्धित हुन्छ; तर वर्तमान परिवेशमा ‘साहित्य वर्गीय हुन्छ’ भन्ने कुरालाई ख्याल गर्दा– साहित्य सिर्जना आफ्ना वर्गलाई सचेत र सक्रिय बनाउन र मनोरञ्जन गराउन समेत प्रयोजनीय हुन्छ भन्ने कुरो मननीय छ ।
८. यहाँका विचारमा साहित्य वर्गीय हुन्छ भन्ने आधारहरू के के हुन् ?
मार्क्सवादी दृष्टिमा, साहित्य, कला, राजनीति आदि उपरि संरचना हुन् र अर्थनीति आधारभूत संरचना हो भन्ने मानिएको छ । आर्थिक संरचना प्रमुख हुन्छ र यी पक्षहरू गौण हुन्छन् । त्यसो भन्दैमा गौण पक्षले प्रमुख पक्षलाई कतिपय मात्रामा प्रभाव पार्न सक्छन् भन्ने कुरो मननीय नभएको होइन तैपनि आर्थिक आधार प्रमुख हो र त्यसका इसारामा कला, साहित्य, राजनीति आदि चल्छन् । कुन वर्गले आर्थिक आधारलाई परिचालन गर्छ, त्यसैका आधारमा साहित्य लेखिन्छ । व्यवहारलाई आधार बनाएर हेर्यौं भने थैलीशाहीहरूका आर्थिक आधारमा जनवादी साहित्य र समाजवादीहरूका आर्थिक आधारमा छाडावादी साहित्य लेखेको हामी देख्तैनौं । जुन वर्गको आर्थिक आधार हुन्छ, त्यही वर्गको साहित्य लेखिन्छ । त्यसरी नै जुन वर्गको साहित्यकार छ; त्यसले त्यही वर्गको साहित्य लेख्छ । विषयवस्तुका आधारमा जनवादी साहित्यले जागरण, अग्रगमन, परिवर्तन आदिको वकालत गर्छ भने गैरप्रगतिवादी साहित्यले अलौकिक कल्पना, भ्रामक चित्रण, छाडावादी स्वतन्त्रता आदिको वकालत गर्छ । आर्थिक आधार, लेखकको स्वरूप, साहित्यको विषयवस्तुजस्ता माथि सङ्केत गरिएका र विचार गरी हेरेमा अन्य कतिपय कराहरूले पनि साहित्य वर्गीय हुन्छ भन्ने प्रमाण दिन्छन् ।
९. यहाँ प्रगतिशील लेखकका रूपमा परिचित हुनुहुन्छ । प्रगतिवादी साहित्य र गैह्र प्रगतिवादी साहित्यमा के फरक छ ?
नारायणजी, यसको उत्तर लगभग ८ नम्बरको उत्तरमा आएको छ । प्रगतिवादी साहित्यले लिने विषयवस्तु, गैरप्रगतिवादी साहित्यले लिने विषयवस्तु, प्रगतिवादी साहित्यले देखाउने सरलता र स्पष्टता तथा गैरप्रगतिवादी साहित्यले देखाउने जटिलता र अस्पष्टता जस्ता कुराहरूले यो भिन्नता स्पष्ट पार्छन् ।
१०. यहाँले विगत लामो समयदेखि नेपाली समालोचनाको क्षेत्रमा पनि कलम चलाउँदै आउनुभएको छ । नेपालीमा प्रगतिवादी समालोचनाले अन्य प्रवृत्तिका समालोचनामाथि हस्तक्षेप गर्न सकिरहेको छैन किन ?
संस्कृतमा साहित्य विषय लिएर स्नातक गरेकाले साहित्यशास्त्रको केही जानकारी हुनु तथा त्रि.वि.मा नेपाली विषय प्राध्यापन गर्ने सन्दर्भमा नेपाली भाषा र साहित्यका विषयमा कलम चलाउन आवश्यकता रहनुजस्ता कारणले मैले नेपाली समालोचनाका क्षेत्रमा कलम चलाएको छु । मेरा पत्रपत्रिकामा प्रकाशित फुटकर समालोचना र ‘नेपाली समालोचनाको रूपरेखा’ नामक पुस्तिकाले सो कुरो प्रमाणित गर्छन् । त्यस्तै पत्रपत्रिकामा प्रकाशित कतिपय फुटकर समालोचना र ‘प्रगतिवादी नेपाली कविता’, ‘प्रगतिवादी नेपाली समालोचना’ जस्ता पुस्तकहरूले मेरो प्रगतिवादी पक्षधरतालाई पनि देखाउँछन् । जहाँसम्म प्रगतिवादी नेपाली समालोचनाले अन्य समालोचनालाई हस्तक्षेप गर्ने भन्ने कुरो छ, त्यो अमूर्त कुरो हो । कसैले कसैलाई हस्तक्षेप गर्ने भन्ने नीति समालोचनाको हुँदैन । सबै समालोचनाले स्वतन्त्र रूपमा आफ्नो क्षमता देखाउन सक्छन् तर समयको भागलाई बुझेर पाठकलाई सन्तुष्ट पार्न सक्ने समालोचना अगाडि बढ्छ । यस परिवेशबाट हेर्दा प्रगतिवादी नेपाली समालोचना सबै सचेत पाठकले नपढी नहुने समालोचना भएको छ । हाल हिन्दीमा समालोचना भने पछि लगभग प्रगतिवादी हिन्दी समालोचना हो र अन्य नगण्य छन् । त्यस्तै नेपालीमा पनि प्रगतिवादी नेपाली समालोचना नै नेपाली समालोचनाको प्रतिनिधि हुन खोजिरहेको छ । हस्तक्षेपको क्षुद्र नीति नलिए पनि सचेत पाठकले देख्ने यथार्थ यही हो ।
११. यहाँ लोकसाहित्य समेतको अध्येता हुनुहुन्छ । लोकसाहित्यसँग सम्बन्धित कृति पनि सङ्कलन र प्रकाशन गर्नुभएको छ । प्रगतिशील साहित्यले जस्तै लोकसाहित्यले समाजको परिवर्तनमा भूमिका खेल्न सक्छ कि सक्दैन अर्थात् समाजको रुपान्तरणमा लोकसाहित्यको भूमिका के ?
नारायणजी, तपाईंलाई पनि थाहै छ, विश्वविद्यालयमा नेपाली प्राध्यापन गर्दा लोकसाहित्यको पनि जानकार हुनुपर्छ । अर्को कुरो तपाईं मजस्ता गाउँमा हुर्केका मान्छेलाई उखान–टुक्का, गाउँखाने कथा, लोककथा जस्ता लोकसाहित्यका विधाहरू रुचिका विधा बन्छन् । आफूले जानेको कुरो अन्य समक्षप्रस्तुत गरौं भन्ने चाहना मानवीय प्रवृत्ति हो । त्यसले गर्दा मैले पनि लोकसाहित्यको अध्ययन गरेको छु र पत्रपत्रिकामा प्रकाशित कतिपय लोकसाहित्य सम्बन्धी लेख समालोचना लेखेको छु तथा ‘नेपाली लोकसाहित्यको झलक’ नामक पुस्तिका प्रकाशित गरेको छु । कतिपय सङ्कलनहरू मसँग अप्रकाशित अवस्थामै पनि छन् । जहाँसम्म तपाईंले प्रगतिशील साहित्य र लोकसाहित्यका भूमिकाले समाजमा पार्ने प्रभावका बारेमा जिज्ञासा राख्नु भएको छ, यस सम्बन्धमा के भन्न सकिन्छ भने समाजका रूपान्तरणमा दुवैको भूमिका हुन्छ तापनि प्रगतिशील साहित्यले विचार पक्षलाई र लोकसाहित्यले हृदयपक्षलाई प्राथमिकता दिने हुँदा प्रगतिशील साहित्यका सापेक्षतामा लोकसाहित्यले ठोस भूमिका खेल्दैन, तर पनि समाजका रूपान्तरणमा लोक साहित्यले केही भूमिका खेल्दैन भन्न हुँदैन ।
१२. नेपाली साहित्यको वर्तमानलाई कसरी हेर्नुभएको छ ?
हिजोका सापेक्षतामा आजको नेपाली समाज शिक्षामा धेरै अगाडि बढेको छ । साहित्य सिर्जनामा पनि शिक्षितकै भूमिका रहने हुँदा धेरै शिक्षित साहित्यकार बनेका छन् । सजिलादेखि असजिला विधासम्म आज प्रचलनमा आएका छन् । अभिनयात्मक नाटक विधा कम र कविता तथा आख्यान (कथा–उपन्यास) बढी लेखिने स्थिति आज पनि छ । यति हुँदाहुँदै पनि नेपाली साहित्यको वर्तमान सन्तोषजनक छ भन्ने मलाई लागेको छ ।
१३. हाम्रो साहित्य के बजारमा बिक्री हुने मालसामान सरह नै हो त ?
नारायणजी, तपाईंले वर्तमान विश्वमा देखिएको पुँजीवादी चिन्तनले दिएको साहित्यिक मान्यतालाई हेरेर यो प्रश्न गर्नुभएको होला । साहित्यको मूल मर्म सामाजिक यथास्थितिलाई बदलेर मान्छे बाँच्न योग्य र आदर्श समाज बनाउने हो । पैसा आर्जन गर्ने उद्देश्यमा साहित्यलाई बुर्जुवाहरूले गलत दिशामा लैजान खोजे भनेर साहित्यको मूल्य समाप्त भएको ठान्नु हुँदैन । परिमाण ठुलो भएपनि परिणाम कल्याणकारी छैन भने बुर्जुवा साहित्यले हाम्रा समाजमा हार खानुपर्छ । ‘स्याल हुइयाँ’ मिलाएर गरिएका रचना र समालोचनाले हाम्रा समाजमा प्रभाव पार्दैनन् । साहित्यको खम्बा राष्ट्रियता, देशभक्ति, न्याय, नैतिकता, इमानदारी, निजीपन जस्ता तत्वहरूले धानेर ठडिएको हुन्छ ।
१४. अहिले नेपालमा विभिन्न साहित्यिक सङ्घ-संस्था र व्यक्तिगत तवरबाट पनि अनेक किसिमका साहित्यिक पुरस्कारहरू स्थापित छन् । के ती पुरस्काहरू प्रतिभाको योग्यता र साधनाको मापन गर्न सक्षम छन् ?
सामान्यतया विभिन्न साहित्यिक सङघसंस्थाहरूले साहित्यकारलाई पुरस्कार दिँदा आफ्नो सङ्घ वा संस्था साहित्यकारको उचित सम्मान गर्न सक्षम ठहरिनेछ भन्ने सोचेर पुरस्कारहरूको स्थापना गरेका छन् भने आफ्ना बाबुआमालाई अथवा आफैलाई पनि प्रख्यातिमा पु¥याउन सकिन्छ भन्ने सोचेर कतिपय व्यक्तिले पनि व्यक्तिका नामका पुरस्कार स्थापना गरेका छन् । त्यसैले आज यहाँ पुरस्कारको बाढी छ । यस्तो बाढी विकसित देशहरूमा देख्न पाइँदैन र भारतमा पनि छैन; तर यो बाढी हाम्रा देशमा उर्लेको छ । यी पुरस्कारहरूले प्रतिभाको योग्यता र साधनाको मापन गर्ने जहाँसम्मको कुरो छ, त्यस सम्बन्धमा के भन्न सकिन्छ भने बरु हारीजिती सरकारी तवरबाट चलाइएका सङ्घसंस्थाका पुरस्कारहरूले योग्यता र साधनालाई मापन गरेको देखिन्छ, तर अन्य सङ्घसंस्था वा व्यक्तिगत तवरबाट स्थापना गरेका पुरस्कारहरूले त्यस्ता मापनको कल्पनासम्म गरेको पनि देखिँदैन । विगतमा राम्रो इतिहास बनाएका पुरस्कारहरू पनि आज सङ्कीर्ण बन्न थालेका छन्
।
१५. हाम्रो नेपाली समाजमा सांस्कृतिक रूपान्तरणको समस्यालाई कुन रूपमा लिनुभएको छ ?
राजनैतिक परिवर्तन, नेताको क्षमता, दिशानिर्देश, उसको नैतिकता, इमानदारीजस्ता कुराहरू सामाजिक रूपान्तरणमा कारक हुन्छन् । नेता नपत्याइने भए समाजलाई कसरी रूपान्तरण गर्न सक्छ ? सांस्कृतिक रूपान्तरणका जटिल प्रक्रियालाई आन्दोलनले निमिट्यान्न पार्न सकिँदैन र यसले आफ्नो प्रकृति हत्तपत्त छोड्दैन । भनिन्छ, चीनमा सांस्कृतिक आन्दोलन हुँदा बाहिर सडकमा सामान्य भेषभूषामा हिँड्ने नागरिकहरू घरमा बस्ता विशेष सिँगारपटार गरेर बस्थे रे । भोलि नमिल्काई नहुने संस्कार छ भने पनि मान्छेले अहिल्यै मिल्काउँदैन; तर यसो भनेर समाजलाई रूपान्तरण गर्न नखोजी कानमा तेल हालेर बस्नु पनि उचित कुरो होइन ।
१६. मोफसल र राजधानीबाट प्रकाशित साहित्यिक पत्रिकामा फरकपना के छ ?
साहित्य लेखनको स्तर उस्तै भए पनि मोफसलबाट प्रकाशित पत्रिकाले विज्ञापन पाउँदैनन् भने राजधानीका पत्रिकाले पाउँछन् । त्यस्तै नयाँ प्रतिभा जन्माउने मौका मोफसलका पत्रिकाले पाए राजधानीकाले पाउँदैनन् । त्यस्तै मोफसलका पत्रिकाले नपाउने पाठक हारीजिती राजधानीका पत्रिकाले पाउँछन् । यस्तै कतिपय कुराहरूमा फरकपना देखिन्छ ।
१७. अन्त्यमा केही कुरो भन्नु छ कि ?
मोफसलबाट साहित्यिक पत्रिका निकाल्ने काम निकै कठिन काम हो; तर स्याङ्जाका साथीहरूले यसलाई निर्वाह गर्नुभएको छ । विश्वप्रेम अधिकारी, देवीप्रसाद बनवासी आदि साथीहरूले ‘रजस्थल’ त्रैमासिक निकालेर र तपाईं, देवेन्द्र लम्साल आदि साथीहरूले ‘ज्याग्दीखोलाको तरङ्ग’ त्रैमासिक निकालेर हाम्रो ४ नं. प्रदेशलाई शिक्षित र साहित्यिक बनाउन प्रयास गरेकामा म हार्दिक नमन गर्छु ।