गोकुल जोशी नेपालमा प्रजातन्त्र आए पछि अव यहीँ जनताको पक्षमा बोल्ने उत्सुकता बोकेर नेपाल फर्किए, तर नेपालमा जनताका लागि प्रजातन्त्र आएको नपाएपछि गोकुल जोशी, गोपालप्रसाद रिमाल जस्ता संघर्षशील कविहरु व्यथित बने । रिमाल र जोशी समकालीन र उस्तै स्वभावका निडर र खरा कवि थिए ।
जोशीबारे सर्वप्रथम कलम चलाउने ’भानु’ पत्रिकाका सम्पादक स्व. भवानी घिमिरे देखिन्छन् भने सबैभन्दा बढी मेहनतसाथ शोधखोज गरेर जनसमक्ष ल्याउने सत्कार्य जनकप्रसाद हुँमागाइबाट भएको पाइन्छ । जोशी सरल र तरल भाषामा प्रखर अभिव्यक्ति दिने कवि हुन् । उनका कवितामा गाउँले किसानले बोल्ने सामान्य शव्दका माध्यमबाट गम्भीर विषयको उठान पाइन्छ । सहज प्रतिभा जोशीका प्राप्त कृतिहरू: १) नेपालको भविष्य २) एसियाको फूलवारी नेपाल ३) डा.के.आई. सिंहलाई स्वदेश आउन देऊ ४) बाँच र बाँच्न देऊ ५) नव प्रभात ६) सीमानाको दीप आदि प्रकाशित भएको कुरा जनकप्रसाद हमागाईंले सूचित गरेका छन् । यी मध्ये डा. के. आई. सिंहलाई स्वदेश आउन देऊ, बाँच र बाँच्न देऊ, नव प्रभात भारतबाट प्रकाशित भएका हुन् भने बाँकी तीनवटा नेपालबाट प्रकाशित भएका हुन् ।
अर्थाभाव झेलिरहेका फिरन्ते जीन्दगी बिताउँदै जनताका पीडा घोलिएका गीतका गायक जोशीका अझै कति रचना कहाँ थन्किएका छन् त्यसको खोजी गरी प्रकाशनमा ल्याउनु आजका उनका अनुयायीको प्रमुख दायित्व हो भन्नु अत्युक्ति नहोला ।
कवि कलाकार कालजयी हुन्छन् । उनीहरू आफ्नो युगको अभिव्यक्ति दिइरहँदा देश र कालको सीमाभन्दा धेरै धेरै टाढासम्म पुगेका हुन्छन् । यस्तै कालजयी कवि हुन् जोशी । आजको राजनैतिक दिशाहीनताले ओरालो लागेको व्यथित जीवन बाँच्न बाध्य नेपालीहरू बीच जोशी जीउँदै गाउँ र शहर घुमिरहेका भए के कस्ता कविता लेख्थे होला ! त्यतिवेला ००७ सालदेखि ०१५ सालसम्मको लामो र अत्यास लाग्दो अन्तरिम कालमा प्रजातन्त्र आए पनि त्यो नेपाली जनताले भोग्न नपाएको पीडा उनी यसरी व्यक्त गर्दछन्:
“नेपालको टाकुरामा दिन उदाएन
अझै राम्रो पर्वतमा भाले कराएन”
कवि जोशीको व्यथित हृदयले देश र जनताको पीडा शव्दमा घोलेर पोखेको छ, नेपालीहरू माझ । यो कविता आज अझ बढी जीउँदो भएर आएको छ । पहाड पर्वत र फाँटहरुमा कैयौं नेपालीले ज्यान गुमाए, कैयौं आमाका काख रित्ता भए, कैयौं नारीका सिन्दुर पुछिए अनि कैयौ बालबालिका टुहुरा र बुद्धबृद्धाहरू बेसहारा वने अझ कति त अपाङ्ग बनेर भीरको चिण्डो जस्तै जीवन बाँच्न बाध्य छन् । के यी सबै वलिदानी र त्याग उज्यालो दिनको आशाले भएका होइनन् र ? दरबार फेर्न र दरबारमा बसेर राज गर्ने व्यक्ति फेर्न मात्रै त पक्कै भएका, होइनन् । तर त्यस्तो महान त्यागको प्रतिफल नेपाली जनताले निराशा, असुरक्षा, महँगी र वेरोजगारी बाहेक के पाए र ? न नेपालका डाँडाकाँडा पाखा पर्वतमा उज्यालो ल्यायो न हिजो भन्दा उन्मुक्तिका दिन नै आए । आधा शताब्दिपछि पनि जोशीको कविता आलाको आलै छ ।
स्वत्व र परत्वको सीमारेखा नलगाइकन आफूलाई मानव सेवामा समर्पित गर्ने व्यक्तित्वहरू थोरै हुन्छन् । तिनले मानवमात्रको सुख दुःखमा आफूलाई समाहित गरेका हुन्छन् । “बशुधैव कुटुम्बकम्” को व्यापकतामा यात्रा गरेर आफूलाई सफल बनाउँछन् । उनीहरूमा स्वार्थको लेसमात्र पनि हुँदैन । त्यस्तै गुणले सुसम्पन्न व्यक्तित्व हुन् गोकुल जोशी । उनले जीवनभर जे गरे नेपालीका निम्ति गरे अझ त्यसमा पनि मुक्तिकामी जनताका लागि गरे । राष्ट्र भनेको जनता हो र राष्ट्रियता भनेको जनताको स्वतन्त्रता हो भन्ने आदर्श बोकेका कवि जोशी खोक्रो र आडम्वरभित्र ढुलमुलाइ रहेको देखावटी राष्ट्रियता प्रति तिखो व्यङ्ग्य गर्दै भन्छन् –
“भोकभोकै घोरिएर भन के हो पाउने
विलासको राष्ट्रियता कसको लागि गाउने ?”
गरिब र भोका नाङ्गाको प्रगति चाहने जोशीको भनाइले छद्मभेषी शोषक सामन्त र दलालहरूको खोटो हृदयमा पक्कै पनि चोट पुग्याउनु पर्ने हो । हिजो जनताको मुक्तिका खातिर जीवन अर्पेका आज विलासी जीवनको चरमावस्थामा उभिएर राष्ट्रियताका नारा लाउँदैछन् । तर भोकै नाङ्गै भौतारिरहेका र उपचार नपाएर मृत्युशैयामा छटपटाइरहेका जनताहरूको पीडामा मलमपट्टी लगाउने काम तिनले गरेनन्, जसले गछौँ भनेर कसम खाएका थिए । कोही भारतलाई गाली गर्दा राष्ट्रियता बलियो भएको र कोही चाँहि भारतको पुच्छर मुनि टाउको लुकाउँदा राष्ट्रियता वलियो भएको पागल गीत गाइरहेछन् । जनता सुन्न बाध्य छन् तर बुझिरहेका छैनन् । शव्दजाल बुनेर क्षणिक स्वार्थको लागि देश र जनतालाई दाउमा राख्ने कुटिल साथै बोक्रे राष्ट्रियताको भावनालाई जोशी गतिलो झापड हानिरहेका छन् ।
’फुटाउ र शासन गर’ भन्ने बाटोलाई पछ्याउने प्रवृत्तिप्रति कवि आक्रोश पोख्छन् । जो आज नेपालको राजनैतिक परिवृत्तमा भैरहेछ त्यसले देशलाई अनेकता र विश्रृङ्खलताको भुँवरीमा होम्न लागिरहेको छ । त्यस्तो प्रवृतिलाई किनारा लगाउन जनता आफैँ सजग हुनुपर्छ । एकतावद्व हुनुपर्छ । सानोतिनो प्रलोभनमा परेर जनएकता खल्बलियो भने त्यसले अन्ततोगत्वा ठूलो नोक्सान पु¥याउँछ । कवि सम्पूर्ण नेपालीलाई एक भएर आफ्नो हक खोज्न जुर्मुराएर उठ्न आह्वान गर्दै “के खोज्छौ ?” शीर्षक कवितामा लेख्छन् ः
“एक्लै एक्लै खोजी मरे पाइँदैन हक
मिलिजुली वसाउ अव एकताको जग
पहाड देखि मधेशसम्म हाम्रो एकै स्वर
अन्याय र अत्याचारको अव विरोध गर ।”
करीव ६० वर्ष अघि मात्र होइन, आजको देशको यथार्थ परिवेशलाई बुझेर कविले आजै लेखेको जस्तो छ यो कविता । आज मधिसे, पहाडे, यो जाति, उ जाति भनेर हामी नेपालीलाई फुटाउने खेलको दुष्चक्रलाई ब्रहमास्त्र झैं बनाएर फालिएको छ । त्यसले नेपाली समाज मर्माहत भएको छ । सामाजिक एकता खल्बलिएको छ । जसका कारण दुराचार बढेर सामाजिक अशान्ति र असुरक्षा वढेको छ । साथी साथी बीच विश्वासको सङ्कट सिर्जना हुन लागेको छ । यस्तो किन ? हिमाल, पहाड र मधेश सबैतिरका मुक्तिकामी जनताका पीडा उस्तै छन् । समस्या उस्तै छन् । मिश्रित जातीय समाज र भौगोलिक विविधता नेपालका मौलिक विशेषता हुन् । यस्तो अवस्थामा हामी फुटेर होइन, हिमाल, पहाड, मधेश सबै भूभागका सवै जातजातिका नेपालीहरू मिलेर स्वरमा स्वर मिलाएर उठ्यौं भने मात्र हाम्रा हक अधिकारहरू सुनिश्चित गर्न सक्छौं अन्यथा हाम्रा टाउकामा गिर खेल्नेहरू यो वा त्यो रुप लिएर आइ नै रहन्छन् र हामीलाई मुक्तिको उचाइमा होइन शोषण र दोहनको दलदलमा भसाइ नै रहन्छन् । अत सबै एक भएर एउटै स्वर बनाउन जोशीले गरेको आह्वान आज अझ बढी सान्दर्भिक भएको छ ।
कवि गोकुल जोशी कनिकुथी कविता कोर्ने होइनन् । उनको प्रतिभा निर्मल झरना झै छङ्छङाएको छ । साच्चै मुहानबाट भुलभुलाएको छ । देवकोटाले उनको प्रतिभाको मूल्याङ्कन गर्दै एकपटक भनेका थिए– “बाबु लेख्दै गयौ भने मुनामदन लेख्ने कविलाई एकदिन तिमीले मात गर्नेछौ ।”
जोशी स्वछन्दतावादी प्रगतिवादी धाराका सशक्त कवि हुन् । विषम परिस्थिति, पैसाको सधैं अभाव, घरवारविहीन अवस्था, फिरन्ते जिन्दगीको भुँवरीभित्र रहेर पनि युवा उमेरमै जनप्रिय कवि गोकुल जोशी नेपाली प्रगतिवादी साहित्यका प्रेरणापुञ्ज नै हुन् । पारिजात, युद्धप्रसाद मिश्र, सिद्धिचरण श्रेष्ठ जस्ता प्रतिभाका समकक्षी कविता सिर्जना गर्ने जोशी सिद्वान्तनिष्ठ, विचारले स्पष्ट र कलाका धनी सर्जक हुन् । उनले देखाएको बाटोमा एक पाइलासम्म चाल्न प्रयास गर्नु आजको प्रगतिशील साहित्यकारका तर्फबाट जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।
दमक