वैद्यनाथ उपाध्याय : तँपाईँको लेखकीय यात्राको सुरुवातको कुरा गर्नु पर्दा के भन्नुहुन्छ?
राजेन्द्र भण्डारी : मेरो लेखकीय यात्रा स्कुल कलेज पढ़दादेखिकै हो। घरमा दाजुहरू साहित्यप्रेमी हुनुहुन्थ्यो। मलाई उहाँहरूकै प्रभावले लेखक बनायो।
वैद्यनाथ उपाध्याय : साहित्य क्षेत्रमा हजुरको झुकाव कसरि भयो?
राजेन्द्र भण्डारी : मेरा बा पनि कवि हुनुहुन्थ्यो। पढ़ने वातावरण थियो। यी सबैको प्रभाव ममा परेको थियो।
वैद्यनाथ उपाध्याय : तँपाईँ आफैँलाई कुन रूपमा चिनिन चाहनुहुन्छ र किन?
राजेन्द्र भण्डारी : म साहित्य उपासक हुँ। यसरी उसरी चिनिन पाऊँ भन्ने ध्येय मेरो छैन।
वैद्यनाथ उपाध्याय: आफ्नो कविता यात्राको क्रममा उपलब्धिहरूको विषयमा केही जानकारी दिनुहोस।
राजेन्द्र भण्डारी : मेरो पहिलो कविता सन् १९७५ मा मधुपर्कमा छापिएको थियो। पहिलो संग्रह १९७९ मा प्रकाशित भएको थियो। अहिलेसम्म जम्मा छ वटा संग्रह भए। अरू एकाध पाण्डुलिपि छन्। ती पनि निस्कलान्। आफ्नो लेखनमा म अनेकौं अभाव देख्छु। अझै पनि कविताको क्षुद्र विद्यार्थी नै हुँ।
वैद्यनाथ उपाध्याय : कविताकै क्रममा हजुर जर्मनको भ्रमणमा पनि जानुभएको थियो। यसका उपलब्धिहरू के कस्ता थिए?
राजेन्द्र भण्डारी: हजुर म २०१६ मा जर्मनी गएको थिएँ। सत्रऔँ अन्तर्राष्ट्रिय कविता महोत्सवमा भाग लिन मलाई उतैबाट निम्तो आएको थियो। बाटोखर्च, बस्ने खाने, आतिथ्य इत्यादिको अत्युत्तम प्रबन्ध थियो। मैले त्यहाँ तीनवटा कविता सुनाएँ। अरू आठवटा नेपाली, जर्मनी र अंग्रेजीमा रेकर्ड गराए। lyrikline.org त्यो छँदैछ। अन्तर्वार्ताहरू दिएँ। कवि, नाटककार, चित्रकार,गायक, सिनेकर्मीहरूको महाकुम्भ थियो त्यो। अस्सी भन्दा बढ़ी देशबाट कवि कलाकार आएका थिए। यसको रिपोर्ट मेरो पुस्तक सृजन सन्दर्भ मा प्रकाशित छ। गान्तोकको जनपक्ष प्रकाशनद्वारा प्रकाशित छ।
वैद्यनाथ उपाध्याय : आफ्नो दैनिकीको विषयमा जानकारी दिनुहोस।
राजेन्द्र भण्डारी : खै दैनिकीको त के जानकारी दिनु र। २०१६ मा अवकाश लिए पछि कालेबुङको आफ्नै घरमा बस्दै छु। गाउँघर, समाजका काममा संलग्न छु। अलिअलि लेख्ने-पढ़ने काम त छँदैछ। अध्यात्ममा रुचि छ। रुचिका किताब पढ़ने, ध्यान गर्ने, समाजसित जडित हुने काममै समय बितिरहेको छ।
वैद्यनाथ उपाध्याय: अहिलेसम्मको आफ्नो लेखकीय उपलब्धि भन्नुपर्दा के भन्नुहुन्छ?
राजेन्द्र भण्डारी: मेरो लेखनले कसैलाई हृदयमा स्पर्श गरेछ भने त्यही मेरो उपलब्धि हो। केही इमान्दार पाठक पाएको छु। मेरो प्राप्ति भनेकै मेरा पाठकहरू हुन्।
वैद्यनाथ उपाध्याय : नेपाली साहित्यको वर्तमान स्थिति कस्तो छ?
राजेन्द्र भण्डारी: भारतको नेपाली साहित्यको वर्तमान स्थिति राम्रो छैन। हल्का फुल्का कृतिहरू प्रकाशित हुँदैछन्। उपन्यास कम छन्। नाटक र निबन्ध छैनन्। लेखक भनिएकाहरू पनि अध्येता छैनन्। एकाध फाट्टफुट्ट राम्रै छन्।
वैद्यनाथ उपाध्याय: के तँपाईँ आफ्नो जीवनप्रति सन्तुष्ट हुनुहुन्छ?
राजेन्द्र भण्डारी: आफ्नो जीवनप्रति सन्तुष्ट त को हुन्छ र। जबसम्म मानिसले मोक्ष वा निर्वाण प्राप्त गर्दैन असन्तुष्टि त रहिरहन्छ नै। असन्तुष्ट छु भन्ने जानकारी भएकोमाचाहिँ म खुशी नै छु।
वैद्यनाथ उपाध्याय: नयाँ प्रजन्मका लेखकहरूलाई के सुझाव दिन चाहनुहुन्छ?
राजेन्द्र भण्डारी : युवापीढ़ीका लेखकलाई म धेरै अध्ययन गर्ने सुझाव दिन्छु। युवाहरूले धेरै अध्ययन गरेर मात्र लेख्न थालुन् भनी म सल्लाह दिन्छु। पठनपाठन, चिन्तन-मनन र विश्वसाहित्यको जानकारी त अनिवार्य नै हो।