तिम्रो पर्खाइमा

कथा तारा श्रेष्ठ January 9, 2025, 6:08 pm

तारा श्रेष्ठ
तारा श्रेष्ठ
शशी अस्पताल काे बेडमा निदाए झैं लाग्थिन्। उनी लडेर टाउकामा गहिरो चाेट लागेकाे रहेछ।उनी बेहाेस थिइन् । डा. शेखर शशीलाई नियाल्दै अौषधी लेख्दै थिए । छेवैमा उनकी सासू आफूलाई धिक्कार्दै भगवानसँग गुनासाे गर्दै थिइन्- 'भगवान् तिमी कसरी यति निष्ठुर हुन सक्छौ ?' छाेरा दुई वर्ष नपुग्दै मेरा पति खाेस्यौ, नातिलाई गर्भे टुहुराे बनायौ, आज बुहारी पनि खाेस्न लाग्यौ । नातिले सधैं 'बाबा खै' भनेर पिराेल्ने, अब 'आमा पनि खै भनेर साेध्दा म के जवाफ दिऊँला ?' भगवान् ! 'जे जे सजाय दिनु छ मलाई देऊ।'

उहाँकाे कुरा सुनेर डाक्टरले आमालाई धैर्य राख्न अनुराेध गरे। उनी बेला बेला शशीलाई नियाल्थे। उनी सार्है राम्री,सेताे साडीमा चन्द्रमा झैं उज्याली। शायद बाईस, पच्चीसकी हुँदिहुन् । फुल्न लागेकाे गुलाब झैँ अनुपम थियो उनकाे रुप । डाक्टर उनीप्रति आकर्षित देखिन्थे । नाति डाक्टरकै अघिपछि कुदिरहन्थ्याे । ऊ चार वर्ष काे मात्र थियाे।

केही दिनकाे उपचार पछि शशी निकाे भएर घर गइन् ।

शेखरलाई शशीकाे संझना आइरह्यो । उनी केही दिनअगाडि मात्र शशीकाे छिमेकीका घरमा डेरा सरेका रहेछन् । उनी आश्रममा हुर्केका ,बढेका र पढेर डाक्टर भएर आएका रहेछन् । उनलाई त्याे परिवार काे अौधि माया लाग्न थालेछ।

एकदिन शशीकी सासूसँग उनले साेधेका रहेछन्-' आमा ,मलाई आफ्नो छाेरा स्वीकार गर्न सक्नु हुन्छ?'

सासूकाे मनमा एक किसिमको शीतलता छाउन थालेछ, उनलाई पनि शेखर आफ्नै छाेरा झैँ लाग्न थालेकाे रहेछ।

एकदिन शेखर आँटै गरेर शशीलाई भेट्न केही अौषधी,खानेकुरा र फूलकाे गुच्छा लिएर गए । त्याे दिन 'प्रणय दिवस' रहेछ । शशीसँग निकै बेर गफिए र फर्किए । शशीले शेखरले ल्याइदिएका झाेला खाेलिन् । त्यहाँ एक टुक्रा कागजमा लेखिएको रहेछ - 'शशी ! आइ लव यू, म तपाईंलाई हृदयदेखि नै चाहन्छु, माया गर्छु ! बाचुन्जेल साथ दिन चाहन्छु । मलाई बिस्वास गर्नुहाेस् । जब सम्म तपाईंकाे हृदयमा मेराे नामकाे प्रेम अंकुरित हुने छैन तब सम्म म तपाईंकाे पर्खाइमा रहनेछु। प्रणय दिवस काे शुभकामना शशी !

डा• शेखर शर्मा

पत्र पढेर उनलाई आफ्नो बिधवापनकाे मजाक उडाए झैँ लाग्याे। दुई-चार दिन अस्पतालमा सेवा गर्नेबित्तिकै साेधभर्ना मागिहाल्नु पर्ने ? याे त डाक्टरकाे धर्म हैन र ?

शशीले सासूसँग गुनासाे गरिन् । सासू मौन रहिन् । उनी त बुहारीकाे जाेडा बाँध्न पाए हुन्थ्यो भन्ने आशमा मात्र हुन्थिन् । डाक्टरले धेरै पटक शशीसँग प्रेम प्रस्ताव राखे । उनकाे मनमा डाक्टरप्रति कति माया थियो थिएन,देखाइनन् । छाेराे भने डक्टरकाे हात समाउँदै अघिपछि हुन्थ्यो । उनीसँग निकै रत्तिएकाे थियो । याे दृष्यले शशीकी सासूलाई भित्रभित्रै पीडा हुन्थ्यो । झल्झल्ती आफ्नो छाेराकाे संझनाले डस्थ्याे।

अर्काे दिन फेरि डाक्टर शशीलाई भेट्न गए। केही छिनकाे भलाकुसारी पछि सासूआमा फूलमा पानी हाल्ने बहानाले बाहिर निस्किन्। फुच्चे पनि हजुरआमासँगै पछिपछि लाग्याे।

वातावरण सुनसान थियो। लाग्थ्यो, सियाे खस्दा नि आवाज आउँछ झैँ। शेखर फेरि शशीसँग प्रेमकाे याचना गरिरहेका थिए। शशी टाउकाे निहुराएर सुनि मात्र रहेकी थिइन्। शेखरकाे कुरा सकिएपछि उनी भन्दै थिइन्- 'डाक्ट साब ! भाग्यले ठगिएकी मजस्ती नारीले एकपटक रङ्गिएर पखालिकाे सिउँदाेमा सिन्दुर लगाउनु त के, साेच्नु पनि पाप हाे । याे जुनी त यस्तै भैहाल्याे ,अर्काे जुनी रहेछ भने म हजुरकी अर्धाङ्गिनी हुनेगरी जन्मिन पाऊँ ।'

शेखर;- 'शशीजी, मलाई अर्काे जुनीकाे विश्वास छैन। म एक डाक्टर हुँ, विज्ञानले प्रमाणित नगरेकाे कुरामा म कसरी भर परुँ ? सवाल अर्काे जुनीकाे हैन , यही जुनीकाे हाे । पहाड जस्तो जिन्दगीलाई तपाईं एक्लैले काट्न मुस्किल पर्छ। तपाईंको बाँकी जिन्दगीमाआइपर्ने कठिनाइलाई सहजै पार लगाउन म तपाईंकाे हात थाम्न चाहन्छु । मान्छेले बनाएकाे पाप र धर्मको नियम उलंघन गर्दा एक बेसाहारा नारीकाे जीवनमा बसन्त बहार आउँछ भने म त्याे पाप गर्न तयार छु शशी । याे बच्चाकाे सुन्दर भविष्यकाे खातिर म अभिभावकत्व स्वीकार्न तयार छु । ममाथि भराेसा राख्नुहोस् । तपाईंको याे खाली सिउँदोमा मेराे नामकाे सिन्दुरले रङ्गाएर याे जुनीभर तपाईंकाे सहयात्री बन्न दिनुहाेस् शशी !'

डाक्टर शेखर शशीलाई भेटेर निस्किए । केही छिनमै आँधी- तुफान मच्चियाे । बिजुली चम्कियाे , चट्याङकाे आवाज कानै खानेगरी आयाे । हावाकाे झाेंक्काले झ्यालकाे पल्ला खाेलियाे । झ्याल लगाउन उनी गइन् । बिजुलीकाे उज्यालाेमा बाहिर शेखर भिजिरहेकाे देखिन् । एक्कासि उनकाे मनमा शेखर प्रतिकाे माया भेल बनेर उर्लियाे । झ्यालैबाट उनी चिच्याउँदै 'आइ लव यू शेखर ' भनिन् । उनले डाक्टरलाई भित्र ल्याइन्, अनि गुनासाे गर्दै भनिन्-'याे पनि कुनै माया गर्ने तरिका हाे ?? हजुरलाई केही भइहाल्याे भने,,,,,,,? ' केहीबेर पछि आमाले शेखरकाे हातमा सिन्दुरकाे बट्टा दिँदै भनिन्-'डाक्टर बाबु , याे सिन्दुरले शशीकाे सिउँदाे भरिदिनुस् ।

शेखरले शशीकाे सिउँदाे रङ्गाइदिए । उनकाे उजाडिएकाे जीवनमा पुनः बहार आयाे । उनकाे आँखा भिजे । हजुरआमा र नातिका आँखामा हर्षका आँसु तप्किरहेका थिए। त्याे देखेर डाक्टरका नयनबाट पनि आँसुका दाना तप्प तप्प खस्न थाले ।

बिराटनगर -६

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।