विसं २०२२/२३/२४ तिर विविध पत्र पत्रिका र साथीसमुदायबाट आधुनिक कविता र आयामेली कविता लगायत गोविन्द भट्ट , आनन्द भट्ट अनि ताना शर्माका साहित्यिक सैद्धान्तिक, वैचारिक जुहारीहरू सम्बन्धी निकै निकै कुराहरू सुनिन्थे र केही पढिन्थे पनि । त्यसबेला म एम ए अध्ययनका व्यापकता अनि निबन्ध, समालोचना र गद्य—पद्य कवितामा केन्द्रित थिएँ । त्यसबेला वैरागी कार्ईंला लगायत आयामेली अनि धेरै आध्निक कविहरूका केही केही अध्ययनले मलाई राम्रैसित प्रभाव पारेका थिए तर भेटघाट त्यति भएको थिएन । युगकवि सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, सम, कृष्ण प्रसाद पराजुली, वासुदेव त्रिपाठी, वाशुशशी, घनश्याम उपाध्याय कँडेल, राजनारायण प्रधान, रत्न शमसेर थापा आदिसितका चाहिं सशरीर सामिप्यले र अर्कातिर निकै युरोपेली साहित्यकारहरूका अध्ययनबाट म विभिन्न किसिमले प्रभावित थिएँ र आफ्नै पाराले प्रशस्तै लेख्दै पनि थिएँ ।
त्यसपछि त्रिविमा प्राध्यापन जीवन पद्धतिमा देशका पश्चिम विविध ठाउँमा र केन्द्रमा पनि शैक्षिक र प्राज्ञिक—प्रशासनिक सेवा गर्दै २०४३ मा तेरथुम (तेह्रथुम) आठराई चुहान्डाँडाको त्रिवि अन्तर्गत तेरथुम क्याम्पस (पहिलेको वीरेन्द्र इन्टर कलेज) को क्याम्पस प्रमुख हुँदा त्यसलाई वि ए स्तरमा लैजान अभियान शुरु गरियो । त्यसै सिलसिलामा तेरथुम अनि यसका छिमेकी ताप्लेजुङ अनि पाँचथरका विभिन्न स्कुल र तिनका सञ्चालक समितिहरूकासाथै तत्कालीन जिल्ला पञ्चायतहरू र झापामा रहेका आठराईका मान्यजनहरूसित भेटघाट र सहयोगको अभियान गर्दै घुम्ने गरेको थिएँ ।
त्यसबेलासम्ममा मैले निबन्ध, पूर्व—पश्चिमका केही साहित्यकारहरूका अंग्रेजी र नेपाली भाषामा तुलनात्मक समालोचना अनि गद्य कविता र छान्दसिक कविता बराबर लेख्दै र फुटकर अनि पुस्तकाकारका रूपमा पनि छाप्दै गरेर नेपालमा केही परिचित पनि भैसकेको थिएँ ।
विसं २०४४ साल तिरको उपर्युक्त त्यस अभियानमा राम बाबु प्रसाई, देवी प्रसाद उप्रेती, तत्कालीन माननीय दीर्घराज प्रसाई ,वरिष्ठ विद्वान् साहित्यकार, शिक्षा तथा संस्कृतिविद् (पूर्व मन्त्रि) काजीमान कङ्दङ्वा लगायत अन्य मान्यजनहरूसित उपर्युक्त क्याम्पसको वी ए सम्बन्धी अभियानमाा भेटघाट र परामर्श लिंदै डुल्दै थिएँ । त्यसै क्रममा एक दिन काजीमान कङ्दङ्वाज्यूसित वीरता मोडमा भेट्ने सल्लाह अनुसार भेटेर हामी यसै टहल्दै थियौं । त्यसै बेलामा कहाँ कसरी हो ? वैरागी काईंला दाइसित अकस्मात् झ्याप्प भेट भयो । मैले निकै आवेगमा उहाँलाई सम्मान गर्दै निकैबेर वहाँका कविताका विषयमा यसै बोली रहेछु । काजीमान् दाइले पो , ए भाइ ! तपाइँको यो लगाव र अनुरागबाट म त धेरै प्रभावित भएँ । वैरागीजीसित एउटा समय मिलाएर लामै कुरा गर्नु पर्ने रहेछ , म पनि बसुँला । अहिले हामी कता कता जाने भनेको होइन , कलेजको अभियानमा ?
वैरागी दाई भावुक र गम्भीर भएर हो, त , मोहन भाइ ! म त भाइसित सारै प्रभावित भएँ ,यही भेटले । म त यतै उतै हुन्छुु , समय मिलाएर भेटौं न त । हवस् , भनी मैले दाइलाई अभिवादन गरी हामी गयौं र केही दिन पछि म काठमाडौं. गएँ । यथा समयमा तेरथुम जिल्लाका सभापति ज्ञाननाथ सुवेदी, अनि छिमेकी जिल्लाका तत्कालीन जिल्ला पञ्चायत, आठराई अनि झापालगायतका धेरै मान्यजनहरूको व्यापक साथ सहयोगमा त्रिविबाट प्रा.डा. बल्लभमणि दाहाल, प्रा.डा.भीष्मराज प्रसाईको विशेष सहयोगमा तिनताकका उपकुलपति महेश कुमार उपाध्यायले त्रिविको विशेष वैठकको आयोजना गरेर सो क्याम्पसलाई वी.ए.को स्वीकृति प्रदान गर्नु भएको थियो ।
त्यस पछिका मेरा काठमाडौंका जीवनमा नेपाल प्रज्ञाप्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान र अन्य केही कार्यक्रमहरूमा वैरागी काईंला दाइसित भेट भई रह्यो अनि उच्च सम्मान र न्याना श्नेहमा म उहाँसित नजिक भएको अनुभव गर्थें ।
केही पछि म पाठ्यक्रम विकास केन्द्रमा पुन कार्यरत हुँदा पाठ््यक्रम विकास पत्रिकाको नयाँ अङ्क छपाउने सिलसिलामा मैले हाम्रो कार्यालयको आंतरिक वैठकमा वरिष्ठ कवि एवम् संस्कृतिविद् वैरागी काईंंला दाइको पनि एक लेख छापौं भन्ने राय प्रकट गरें । सो कुरा स्वीकृत भए अनुसार उहाँको लेख मैले नै ल्याउनु पर्ने भयो र म उहाँको वासस्थान सुकेधाराको डाँडामा निकै चोटी गई लामालामै वार्ता गरी मुन्धुम सम्बन्धी एक गहन सांस्कृतिक लेख ल्याएँ । त्यसरी त्यो लेख तयार गर्दा वहाँको स्वाथ्य राम्रो थिएन । बोल्न सक्नु हुन्नथ्यो । कान पनि त्यति नसुन्ने । लेखेका प्रश्न मैले वहाँलाई दिने अनि वहाँले लेखेर तिनको उत्तर दिने गर्दै निकै दिनको बियाँलोसित त्यो लेख तयार गरिएको थियो ।
—(२)—
विसं १९९६ श्रावण २५ गते, बुधबार जन्मिएका वैरागी काईंलाको बाल्य कालको नाम ओझाहाङ नेम्बाङ अथवा ओझाहाङ काईंला रहेछ । पछिबाट प्रभावकारी प्रसिद्ध कवि भएका व्ौरागी काईंलाले घरायसी काम, गाईवस्तु अनि घर र गोठ जाने—आउने क्रममा विसं २००५ सालमा ९ वर्षको उमेरमा आफ्नो घर पूर्वी पाँचथरको पौवाबाट आन्तरिक विद्रोह गरी भागेर बाटामा दाज्यूहरूसित भेट गरी इलामको पद्यमोदय हाइस्कुलमा गई २ कक्षामा भर्ना हुँदा तिलकिक्रम नेम्बाङ् भन्ने नाम पाएका रहेछन् । आठौं कक्षादेखि आइ एस् सि हुँदै बी.ए. सम्म दार्जीलिङ्गमा पढ्दा बिरामीका कारणले अध्ययन पूरा गर्न नपाए पनि स्वकीय सक्रियता, आत्मबल, संगठन क्षमता अनि स्वाध्यायनले आफूलाई अगाडी बढाउँदै हिंडेका आफ्नो समयका एक स्वाभिमानी, चिन्तनशील एवम् होनहार युवा व्यक्तित्व हुन् वैरागी काईंला ।
मलाई उनका विविध व्यक्तित्वको छोटो झलक यस्तो हो भन्ने लाग्छ : पहिले त उनको विद्रोही, शैक्षिक पाटो देखा पर्छ । बालक कालमा नै विद्रोह गरेर इलाममा पढ्रन गए । इलाममा नै रहेका बेलामा २००६ साल ताका राणा शासन विरोधी प्रजातान्त्रिक विद्रोही शक्तिका सामुन्ने त्यहाँका बडाहाकिमले आफ्ना फौजसहितै सत्ता समर्र्पण गरेको उनले प्रत्यक्ष देख्ने मौका पाए । त्यसपछि दार्जीलिङ्गमा उच्च शिक्षा हासिल गरिरहेका बेलामा तहाँको सरकारले कलेजको पाठ््यक्रमबाट नेपाली भाषा हटायो । सोको विरुद्धमा उनले विद्यार्थी आन्दोलनको नेतृत्व गरे । त्यसमा इन्द्रबहादुर राई लगायत अन्य धेरैको सहभागिता हुन थाल्यो र केही समय पछि सो आन्दोलनले व्यापकरूप एवम् जनसमर्थन प्राप्त गरे पछि त्यहाँका प्रतिष्ठित बुद्धिजीवीहरूले सो आन्दोलनलाई नेपाली भाषा मान्यता समिति (Nepali Language Impeachment Committee) भन्ने नाम दिएर उच्चस्तरीय सांगठनिक रूप प्रदान गरे । सो समितिका अध्यक्ष गणेशलाल सुब्बा र महासचिवमा दार्जीलिङ्गका अर्का एक विद्वान् साहित्यकार इन्द्र बहादुर राई थिए । यसरी वैरागी काईंलाले सो आन्दोलनको नेतृत्व गरेर नेपाली भाषा हटाएको विरुद्धमा कडा विद्यार्थी आन्दोलन गरे । त्यसपछि क्रान्तिकारी काईंला सिकिस्त विरामी भए र उनलाई अस्पताल भर्ना गरियो । त्यहाँ अस्पतालमा दार्जीलिङ्गे माइला, मदन कुमार थापा, युवा ब्यक्तित्व गणेशबहादुर प्रसाईं, इन्द्रबहादुर राई लगायतका विभिन्न त्यहाँका प्रतिष्ठित प्रौढ र युवा व्यक्तित्वहरू, साहित्यकारहरू उनलाई भेट्न आए । त्यही त्रिरामीका कारणले उनले अध्ययन पूरा गर्न सकेनन् ।
तथापि उनले आफ्ना बौद्धिक एवम् साहित्यिक गतिविधि छाडेनन् । फलस्वरूप ‘त्रैआयामिक’ कविता आन्दोलनका तीन कवि—इन्द्रबहादुर राई, ईश्वर बल्लभ र वैरागी काईंला हुन पुगे । कार्इंलाले सन् १९६३ मा आयामेली पत्रिकाको सम्पादन पनि गरे र सो आन्दोलनलाई एक ठोस र सशक्त रूप प्रदान गरे । यसरी उनी सिर्जनशील कर्मी र सक कुशल सम्पादक पनि भए । धेरै पछि झापामा घरायसी वा गृहस्थी जीवन बिताएका बेलामा लिम्बु सस्कृतिको अत्यन्त पवित्र, गहन, मार्मिक र महत्वपूर्ण मौखिक परम्परा मुन्धुमको स्वाध्यायन र नेपाल प्रज्ञाप्रतिष्ठान मार्फत खोज र अध्ययन गरेर सो प्रतिष्ठानको प्राज्ञ भए । त्यस पछि बहुदल आए पछिको प्रज्ञाप्रतिष्ठानमा वरिष्ठ विद्वान् साहित्यकार, दार्शनिक मदनमणि दीक्षितजी उपकुलपति हुँदा उनी त्यसको प्राज्ञ सदस्य भए । धेरै पछि २०६२/३ को जन आन्दोलनमा सम्पूर्ण आन्दोलनकारी नेपाली विद्वान् साहित्यकारहरूको नेतृत्व गरी लट्ठी प्रहारको पीडा र ज्यानको पर्बाह नगरी आम प्रदर्शन र जुलुसको नेतृत्व लिए ।
———(३)———
यी सबै पक्ष र पाटाका अतिरिक्त उनको व्यक्तित्वको खाश र अत्यन्त महत्वपूर्ण सिर्जनशील र चिन्तनशील पाटाको विषयमा केही छलफल तल प्रस्तुत गर्दछु ः
दार्जीलिङ्गमा अध्ययनका सिलसिलामा विद्यार्थी आन्दोलन र साहित्य सिर्जनामा पनि लागेका बेलामा उनले कोठेगोष्ठी, हाते पत्रिका र अन्य साहित्यिक सहभागिताहरूको आयोजना पनि गरिरहे । त्यसै सिलसिलामा संस्कृतका धेरै ज्ञाता समकालीन ईश्वर बल्लभ, तिनताकका पनि सशक्त युवा समालोचक गण्ोश बहादुर प्रसाईं अनि तिनताककै जोसिला अध्ययनशील एवम् सिर्जनशील जेष्ठ युवा इन्द्रबहादुर राईसित माथि भनिए र्झैं समागम भयो । त्यसताका कवि काईंलाद्वारा केही छान्दसिक अथवा पद्य कविता पनि रचिएका रहेछन् । यस्ता उनका कविताहरू नवोदत कविसँग (मालिनी छन्द—भारती— १९५६—२०१३) ,दशैं आयो, तिहार (भारती— १९५६—२०१३), प्रकृतिको (भारती— १९५७—२०१४), स्पष्टिकरण —जनदूत ( १९५८), फ्याँकिएको चिट्ठी— (जनदूत— १९५९, यौटा चित्र —पूर्णिमा—२०१५) जस्ता शार्दूलविक्रीडित छन्दमा अनि मन्दाक्रान्ता छन्दमा रचिएको कविता भेट (१९६१—२०१८— फूल पात पतकर) आदि विभिन्न पत्रिकामा छापिएका पाइन्छन् । यिनमा कहीं सगण, मगण, तगण, भगण जस्ता संस्कृत तद्भव किं बा नेपाली छन्दका गणका नाम र नेचर, डान्सर, इन्भिटेसन कार्ड, प्रेजेन्ट, डार्लिङ जस्ता तत्सम अंग्रेजी शब्दहरूको नेपाली प्रयोग पनि पाइन्छ । प्रयाशकालीन त्यो समयका अघिल्ला भन्दा पछिल्ला कविताहरू बढी सशक्त हुँदै आएका रहेछन् । माथि उल्लेखित यौटा चित्र यस्तै एउटा उदाहरण हो ।
त्यही समयका उनका गद्य कवितामा भने आफ्ना अनुभव र अनुभूतिका अभिव्यक्तिहरू केही पृथक किसिमले प्रस्तुत भएका रहेछन् ः
इस्वीसन् १९५७ मा भारती मासिकमा छापिएको कविता अमृत—लता प्रेम परक भएर रोम्यान्टिक थियो । तर रोम्यान्टिक कविताका प्रेम बाहेक अरू पनि धेरै विशेषताहरू हुन्छन् भनिएको छ । सो सम्बन्धी व्याख्या समय र स्थानाभावले अनि स्वयम् विज्ञ पाठवर्गमा यहाँ गर्नु आवश्यक ठान्दिन ।
तलको कविता अर्कै किसिमले आह्वानमूलक र क्रान्तिकारी छ ।
‘यो मेरो कलम !
सत्यम्—शिवम्— सुन्दरम् त्रिवेणी हो
युगका ए चिचिला जन.....?
यसको ललकारमा झटपट जाग्रित हो.....!’
यो मेरो विद्रोही हृदयोद्गार
रुढी समाजका....
कुरीतिका भ्रष्ट पृष्ठपोषकलाई.
गलहत्याई, थेचार्दै— मुन्ट्याउँदै ..
उघार्छ—— यसले विद्रोहको स्वर्गीय द्वार....’
—मेरो कलम —दीपक, भाद्र २०१३ —१९५७
यहाँ ‘कलम र जागृति ’ जस्ता अविधालाई सशक्त बिम्बको बहुविध व्याख्यामा प्रस्तुत गर्न सकिन्छ । स्वयम् यो कविताको विषद समालालोचकीय व्याख्या आआफ्नै किसिमले समालोचकहरूबाट यथा समयमा हुन सक्ला ।
विसं २०१३ र १४ सालमा छापिएका काल र मुख भन्ने वैरागी काईंलाका निबन्धहरू भने लेखकको हाँस्य—व्यंग्य अनि सामाजिक एवम् बौद्धिक किसिमले चिन्तनशील हुनुकासाथै यो एक स्तरीय गद्य लेखनको साहित्यिक यात्राको श्रीगणेश भएको पनि देखिन्छ ।
सोही बेला र केही पछिका सर्जक काईंला दाइका सामाजिक सुधार, विज्ञानपरक, अनि पत्राचारको शैलीमा पनि प्रायोगिक कथा विभिन्न पत्र पत्रिकामा छापिका उदाहरणहरू समाधि, श्रीमती आमा भए पछि, वैज्ञानिक प्रेम, स्टारसिग्रेट, दुई दिल मिलेदेखि जस्ता कथाहरूमा बहुविध सिर्जनशील प्रयोगको छनक पाइन्छ । यी स्रष्टाले धेरै गीतहरू पनि रचेका रहेछन् । ती मध्ये अम्बर गुरुङले एक वा दुई, र कपिल सुब्बा , मानवहादुर सिंह तथा कर्म योञ्जनहरूबाट रिकर्ड भएको एउटा बाहेक अरू रेकर्ड भएका रहेनछन् ।
त्यो समय भन्दा पछिका कवि काईंला दाइका गद्य कविता र केही मुक्तकहरू अलिक चनाखो भएर पढ्दा ती कवितामा सिर्जनशील काव्यशक्ति केही बेग्लै किसिमले अझ प्रखर रहेको पाइन्छ । जस्तोः
आफू भित्रको अस्पताल भित्र...
.... कुनै दुर्घटना जिन्दगीमा पर्खिबस्छ...
प्रत्येक भित्ताको विरुद्ध....
...समय भाँचिदिने टुक्राटुक्रा
आकाश पनि छरिदिने शून्यमा....
... अहिले दिनभरिका ती उज्यालाहरू
पिल्सिएको रगतको थोपामा
क्ष्तििजको खुकुरीका धार माथि खसिहाल्यो.....
—अस्पतालको झ्यालमा खसेको सूर्यास्त – जनदूत— २०२०
यो
‘पिल्सिएको रगतको थोपामा
क्षितिजको खुकुरीका धार माथि खसिहाल्यो’..... भन्ने अभिब्यक्तिले सशक्त बिम्ब वा व्यापक अर्थपूर्ण व्यञ्जनाका हैसियतमा धेरै कुरा सङ्केत गरेको छ । समालोचक वा सचेत पाठकले यसलाई आआफ्ना किसिमले यथा समयमा व्याख्या गर्न सक्लान् ।
सन् १९६२ मा जनदूत मा छापिएको सुत्केरी ढुङ्गा ः इतिहासको नयाँ सन्दर्भमा भन्ने कवितामा भने सशक्त बिम्बको साङ्केतिक शक्तिमा विचार, आवेग र तार्किकताका क्रम एकैे ठाउँ जोल्ठिएर पाठक वा श्रोतालाई सम्वेदना र बौद्धिकताका बेग्ला बेग्लै झस्का दिएको अनुभव हुन्छ । जस्तो ः
आफूले बाँचेका क्षणहरू
अथवा जीवनको सानो अभिलेख
कप्न थालेको छु ढुङ्गामा...
म आफै कुँदिन लागेको छु ढुङ्गामा....
... अजन्ताको भित्ताभित्ता
मान्छे भित्रको गुफामा
बिजुलीको बल्बहरू बालेर !
...सुत्केरी भएको दिन ढुङ्काले
भानुभक्त जन्माउँछ—
चट्टानमाथि !
सभ्यताको नानीलाई बँचाउँछ....
झुक्न दिंदैन मान्छेलाई.....
ढुङ्गाले !
कुँदिन थालेको छु ढुङ्गामा
म आफैं
पुनर्जागरणमा मान्छेहरूसित ।
सन् १९६३ मा सिक्किममा प्रगति भन्ने पत्रिकामा छापिएको यौटा नवयुवकको भाषण चोक बजारमा भन्ने कवितामा राष्ट्रवाद, विश्व मानवीयता र भ्रातृत्वका सशक्त भावनाहरू जुर्मुराएका छन् । तल प्रस्तुत क्रान्ति आह्वानको जोसिलो कविताको बिम्बविधान पनि निकै फरक, सशक्त र ज्वलन्त छ जसले भावी कविताको उज्यालो सम्भावनाको सङ्केत गरे झैं प्रतीत हुन्छ । जस्तोः
स्कुलकालेजका विद्यार्थीवर्गको यो जुलुस—
मृत्युले मुख बाहेको धाँजामाथि
धस्किरहेका हिंउँको ढिस्का माथि
जहाँ दुश्मनले सङ्गीन ठड्याइरहेको छः दर्जन थापेको छ
एकै पटक कति दृढतासित
हजारौं पाइतालाले टेक्दै अघि बढ्ने छ ।
त्यस पछिका समयमा खास गरी १९६३ मा सर्जक वैरागी काईंलाको सम्पादन र इन्द्रबहादुर राईको छोटो सम्पादकीय सहितको तेस्रो आयाम पत्रिका छापिए पछाडि दार्जिलिङ्गबाट नयाँ रूपका कविताहरू देखा पर्न थाले । तिनमा वहुमुखी साहित्यकार इन्द्रबहादुर राई, ईश्वर बल्लभ र कवि वैरागी काईलाको संयुक्त महत्वप्ूर्ण भूमिका रह्यो ।.त्यसबेलाका कविताहरूमा अनौठो प्रस्तुति, नमिलेका तेर्सा र ठाडा हरफहरूको प्रयोग, एकै अक्षर र शब्दका पनि हरफहरू, अप्रत्यासित क्रम, अमिल्दा देखिने प्रसङ्ग अनि चकित पार्ने बिम्ब विधानले भरिभराउ भएर आयामेली भनिने कविता देखापर्न थाले । तिनमा केही पहिलेको र समसामयिक भारतीय लगायत विश्व, खास गरी युरोपेली—अमेरिकी काव्यचेत, मानवीय विश्वव्यथा र स्थानीय अप्ठ्याराहरूका विभिन्न गौंडा, गल्छिंडा र परिवेस अनि तीबाट कतै प्राप्त भएका सकारात्मक मानसिक उर्जा, आधुनिक अध्ययन, ज्ञान एवम् अनुभव अनि कतै स्थानीय तथा शाश्वत द्वन्द र विद्रोह सम्बन्धी प्रकाशन, अनि स्वकीय चेतनाका चमकमा शैली र कलामा प्रयोग धर्मिताका साहसिला क्रम, नयाँ प्रतिभामा अध्ययनशीलताका टड्कारा आभाषहरू पाईंन थाले । प्रजातन्त्र आयो नेपालमा अनि प्रजातन्त्र गयो नेपालबाट ! यसको आक्रोस र नयाँ समाजको बौद्धिक संस्कृतिका लागि पनि रोम्यान्टिक चाहनामा यस्ता विद्रोही अनौठा सिर्जनाहरू भएका हुन् ।
नेपालका प्रसिद्ध महान् विभुतिहरू र भारतका पन्त, प्रसाद, निराला , बर्मा, प्रेमचन्द आदिदेखि पछाडि आएका भारतीय अंग्रेजी र हिन्दी भाषाका सिर्जनशील साहित्य, आधुनिक पश्चिमी साहित्य र भाषा विज्ञानका नया आविष्कार र अध्ययनहरू, विनिर्माणका सिद्धान्त, विम्ब विधानका आन्दोलनहरूका आधुनिक शिक्षाका माध्यमले ल्याएका अभन्त गार्डे प्रभावहरूलाई आफ्ना स्थानीय वा राष्ट्रिय विविध व्यवधानका अप्ठ््याराहरूमा बुन्दै वैरागी कार्इंला र यिनका केही अघि र पछिका नेपालका अनि दाजीीलिङ्गका समकालीन स्रष्टाहरूले स्वतन्त्र वैश्विक मानव, स्वतन्त्र व्यक्ति र खुला राष्ट्रिय राजनीतिको चाहनामा नवीन गद्य काव्यको सिर्जना गर्दै नयाँ चेत, गहन वैचारिक विषयलाई व्यंग्य र विम्बका आवरणमा नया शैली प्रयोग गर्दै जोसिला र चमत्कारी विचाराभिव्यक्ति प्रदान गरे ।
स्रष्टा वैरागी काईंलाको प्रसङ्गमा चाहिं उनका ब्रेलमा हत्केला छामेर, गङ्गा नीलो बग्छु, यात्री, म मृत्यु, २७ मई १९६४ (जवाहरलाल नेहरुको देववसानका दिन रचिएको कविता), मातेको मान्छेको भाषणः मध्यरात पछिको सडकसित, मः लगातार निर्वासन, एकान्तको अजिङ्गर आदि कविताहरू यस ढपका कविताका उदाहरण हुन् । भारती, रूपरेखा र अरू पत्रिकामा छापिएका यिनका अनि अन्य दार्जीलिङ्ग र नेपालका कविका कविताले नेपाल र भारतका नेपाली शैक्षिक, सिर्जनशील , चिन्तनशील र बौद्धिक समाजमा प्रशस्त हलचल ल्याए भने यिनीहरू भन्दा अघिका र यी आधुनिक कविका कविताहरूले एका—अर्कामा पनि प्रशस्त प्रभाव पारेका र सहभागिताका सामिप्य पनि जनाएका हुन् ।
यी कवि र कविताहरूका माथि भनिएका विशेषतामा पुिष्ट दिने खालको पूर्व समयमा नै भावी सम्भावनाका सांकेतिक आशयका अभिव्यक्ति इन्द्र बहादुर राईको १९६३ को तेस्रो आयाम पत्रिका को पहिलो अङ्कको संक्षिप्त तर छिप्पड सम्पादकीय यस्तो छः
— ‘त्यो एउटा मान्छेको दुःख पाएको कथा वा कविता मात्र सीमित नहोस् । यसले उठ्न सकेर त्यो टुक्रा कुराका पछि एउटा विशाल विचार बसेको होस्, उँभोतिर एउटा दर्शनको आकाश टाँगियोस्, त्यो एउटा टुक्रा कुराले राजनीति बोकोस्, सामाजिक भाष्य बनोस् त्यो । त्यो मात्र भन्दा धेरै धेरै अरू कुरा होस् । यी धेरैहरू हो तेस्रो आयाम ।’—
दाजीलिङ्गका यी आयामेली भनी परिभाषित भएका कविता त्यसरी नै आधुनिक कविता हुन् जसरी त्यसै बेला नेपालको एक ठूलै समूहका कविहरूका उस्तै खालका कविता पनि देखा परे । तर तिनीहरूले आयामेली भनेनन् । आयामेली भन्नुमा एक विशेष नव्य काव्य भाष्य पनि बनाउनु थियो क्यार जसले यी प्राय सबै आधुनिक कविहरूलाई ओगट्छ कि !
यी सबैका केही केही कविताहरू हेर्दा मात्र पनि प्राय उस्तै यस्तै लाग्दछन् शैली, सम्वेदना र बौद्धिकतामा । तथापि वैरागी काईंलाका ब्रेलमा हत्केला छामेर, गङ्गा नीलो बग्छु, यात्री, म मृत्यु जस्ता कविताका ढाँचा र ढपहरू भिन्न भएका स्पष्ट देखिन्छन्् ।
तर यी आधुनिक कविताका चेतनाको यात्रा यत्तिमै टुङ्गिदैन । स्वतन्त्रताका मुखर दूरगामी चिन्तनशील सर्जक वैरागी काइंला रुसोसित विरोधाभाष जस्तो देखिने गरी लेख्छन् ः
रुसोको एक प्रसिद्ध अभिव्यक्ति यस्तो छः
'We are born free, but everywhere we are in fetters...'
हामी स्वतन्त्र रूपमा जन्मिन्छौं, तर पछि (जीवनक्रममा) हामी सबैतिरको बन्धनमा हुन्छौं ।’
‘मेरो जन्म मेरो स्वतन्त्र वरण थिएन ।
हो, शून्यबाट असिना बर्संदै माटोमाथि पग्लेर शून्यमा तत्क्षण
विलाइरहेर — छु
शून्यमा,
शून्यमा शून्य थपिंदै शून्य हुँदै....
समयमा समय बगेको अविराम ।’
— म र मेरो कथा बेगल हुन्
यसरी उनको काव्यचेत असीमित हुँदै अगाडी बढ्छ जहाँ वैदिक दर्शनको अहं ब्रह्मास्मि बुद्धको शून्यवाद र अनित्यता अनि पूर्वीय काव्य सिद्धान्तका ‘अर्थ गौरव‘ र ब्यञ्जना जस्ता कुराहरूलाई छुन र झल्काउन पुग्छ । त्यति मात्र होइनः
‘कथाको रेसाहरूमा रेसमको रेसाले निरन्तर
रेसामा जालोभित्र जेलिँदै अल्झँदै जन्म जन्मान्तर
भित्र, भित्रदेखि भित्र, अझ भित्र
हराउँदै हराउँछु । ’
— ऐजन
‘र’, ‘ज’ एवम् ‘भ’ ‘ह’ वर्णका वृत्यानुप्रास शब्दालङ्कार भरिएका यी हरफहरूलाई बोधगम्यताका स्तरमा निकाल्न पाठक वा समालोचकले विनिर्माणवाद, भित्री संरचना (deep structure) अनि नकारात्मक क्षमता ( negative capability) साथै क्वान्टम सूक्ष्मता जस्ता चेतनाका प्रखर सुइराहरूले उधिन्नु पर्छ । हो, यसरी यिनका कवितामा यस्तो शैली र यस्ता खालका अप्रत्यासित (surprising) लाग्ने र अन्यान्य खालका पनि काव्याभिव्यक्तिहरूमा अत्याधुनिक बहुआयामिक चेतना पाइन्छ ।
तेसा्रे आयाम अथवा ‘त्रैआयामिक’ कविताले लक्ष राखेको के पनि हुन सक्ला भने केवल स्थूल वा बाहिरी सत्यको जानकारी र वर्णनको सँँट्टा सम्बन्धित बिषय र वस्तुको आन्तरिक र अन्य सम्भावित वहुपक्षीय विशेषता र तिनका बोधगम्यताका सम्भावनालाई नथुनिकन अथवा सीमित नराखीकन वा बन्धन भित्र नपारिकन व्यापक व्याख्या र अर्थविस्तारमा स्थान दिनु हो । प्रस्तुत समय र स्थानमा भएका कार्यहरूको स्थूल वास्तविकता मात्र भन्दा यसका सम्बन्धित र सम्भावित अन्य भित्री पक्षहरूलाई पनि सङ्केत गर्नु हो विशिष्ट आधुनिक र आयामेली कविता । अर्को शब्दमा, मान्छे भित्रको मान्छे अथवा प्रस्तुत समय र स्थानको गतिमति भित्रका वहुविध सूक्ष्मतालाई क्वान्टम चेतनाले पर्गेल्न सक्ने र यो विश्लेषणको चेतना र बोध पूर्वीय दर्शनको ओम पद्धति वा तत्वसम्म पनि पुग्न सक्ने क्षमता रहेको हुन सक्छ ।
नेपाली आधुनिक कविता र आयामिक कविता सम्बन्धी केही नेपाली समालोचकहरूले, त्रिविका नेपाली तथा अंग्रेजी विभागहरू एवम् नेपाल प्रज्ञाप्रतिष्ठान अनि अन्यान्य मेडियामार्फत तथा दाजीलिङ्ग तिरबाट पनि व्याख्या गर्दै आएका छन्, र अझ समालोचकीय पुनर्सिर्जनाद्वारा तिनको प्रखररूपमा व्याख्या गर्नु पर्ने आवश्यक छ । यस विषयमा विद्वान् स्रष्टा र समालोचक इन्द्रबहादुर राईले वैरागी काईंलाका कविताका सन्दर्भमा पनि विशेष सूक्ष्म र लामै व्याख्या गरेको पनि पाइन्छ । उनको एक उद्धहरण ः
‘काइँलाका कविता लेखनमा.....गहन चिन्तनका.....लेखन प्रविधि र सिर्जनात्मक भाषिक प्रयोग’ (छन्) । ‘घनवादीय (क्युबिष्टिक) प्रणालीको रचिएकाले प्रखण्ड (मोन्टास्ज)—हरूबीच फ्वाँकहरू (ग्याप्स्) छन् जुन पाठकहरूले आफ्ना भावात्मक तथा संयोजक व्याख्याले भर्नपर्नेछ, भर्छन् ।
— ‘वैरागी काईंलाका सङ्कलित कविता’ को भूमिका खण्डमा ‘‘वैरागी काईंलामा ‘निर्वासन’ को पृष्ट ३० बाट ।
सर्वप्रथम जर्मन वैज्ञानिक माक्सर््ा प्लाङ्कले क्वान्टम सिद्धान्तलाई सन् १९०० मा प्रतिपादन गरे पछि यसलाई अनेक विद्वान्हरूले अनेक प्रकारले व्याख्या र विकास गर्दै यसलाई ब्रह्माण्डको मनोविज्ञान पनि मान्दै आएका छन् जसमा आध्यामिक मन अथवा चेतनाको सम्भावित प्रवाह भइरहने हुँदा यसमा स्थायी जस्तो देखिने अनित्य अस्तित्वहरूको सहवास वा परस्पर विस्थापन र उपस्थितिका प्रकृयाहरू भैरहन्छन् भनिन्छ ।
आयाािमक, अन्य केही तत्कालीन र आजका धेरै आधुनिक कविता अत्याधुनिक काव्यचेत भित्र पर्छन् । ती र अबका नयाँ चेतनाका प्रयोगशील कविताहरूलाई क्वान्टम चेतनाको सूक्ष्मताका अन्तर्दृष्टिले न्यायिक स्तरमा बोध र साहित्यिक समालोचकीय व्याख्या गर्नु पर्छ । यही काव्य चेतनालाई नै अगाडि बडाउँदै इन्द्र बहादुर राई सिर्जनामा लीला लेखनसम्म पुगेको प्रतीत हुन्छ ।
——(४)——
त्यसो हुँदा अबका सचेत र प्रबुद्ध नेपाली पाठक र समालोचकले क्वान्टम भौतिक शास्त्र र क्वान्टम मेकानिक्स् (प्रमात्रा यान्त्रिकी— इन्द्र बहादुर राई) बाट निस्रित क्वान्टम चेतनाका सूक्ष्मतम झिल्का र झलकहरूको सूक्ष्म चेतना पद्धतिलाई प्रयोग गर्दै अथवा ती टेक्निकहरूलाई प्रयोग गर्दै विशिष्ट उपस्थिति ( super position), अभिन्न सहवासता (entaglement) लगायत यसका अन्य सूत्र र प्रविधिहरूको आवश्यक उपयोग पनि गर्दै यी र अन्य नेपाली आधुनिक कवितामा भएका अन्तर्तम तत्वहरूलाई सोही अनुरूपको वैश्विक र साहित्यिक समालोचकीय चेत — जबकि प्रखर समालोचना पनि एक सिर्जना नै हो — का माध्यमले यो परिवर्तित एवम् धेरै अर्थमा असहज आधुनिक समय र विश्व व्यवस्थालाई समायोजन गर्दै मानव समाजलाई पूर्ण दायीत्वबोध भएको वैयक्तिक स्वतन्त्रता, प्रेम, शान्ति र शिष्टता तिर लैजान सम्बन्धित सबैका समक्ष न्यायिक बोध र व्याख्या गर्न विलम्ब गर्नु हुँदैन । अस्तु ।
केही सन्दर्भहरूः
१. बैरागी काईंलाका प्रारम्भिक रचनाहरू— सम्पादक— डा. देवी क्षेत्री दुलाल, प्रकाशक— ब्रदर्स बुक्स पब्लिकेशन प्रा लि— २०८० साल
२. बैरागी काईंलाका सङ्कलित कविता—सम्पादक, राजन मुकारुङ, प्रकाशक— फिनिक्स बुक्स , काठमाडौ.—दोस्रो संस्करण—२०८१
३. प्रतिनिधि आधुनिक नेपाली कविता—सम्पादक— डा. तारानाथ शर्मा लगायत सम्पादक मण्डल, प्रकाशक—नेपाल प्रज्ञा—प्रतिष्ठान, विस, २०६७