जीवनका हरेक पक्षहरू कहीँ राम्रा भएर, कहीँ नराम्रा भएर, कहीँ सामान्य भएर र कहीँ जटिल भएर आफ्नो विशिष्टता कायम गर्ने हुन्छन् । गहिरिएर अध्ययन गर्नेहरूले कसैका पनि ती विशिष्टतालाई ठम्याउन सक्छ । भनेका र सुनेका भरमा कसैको वास्तविकता ठम्याउन सकिँदैन । कुर्सीत्यागका प्रसङ्गबाट ती विभिन्न महानुभावहरूको विशेषता सामान्य रूपमा जानकारी हुन्छ तापनि विशेष रूपमा गहिरिँदा त्यो कुरो तलमाथि पनि पर्नसक्छ । म यसै भनेर किटान गर्न सक्तिन ।
म अहिले पाँचखुट्टे पाङ्ग्रे–कुर्सीमा छु । यसको महत्त्व विशेष किसिमको छ । कार्यालयका हाकिमहरूले प्रयोग गर्ने, जताततै घुमेर बस्न मिल्ने कुर्सी भएकाले यसलाई घुम्ने कुर्सी पनि भनिन्छ; तर म अहिले जुन स्थितिमा यो कुर्सीमा बसेको छु, यो सामान्य रूपमा रहेको छ । एउटा सुसाङ्ख्यमा काम गर्दा बस्नका निमित्त तयार गरिएको यो कुर्सी घुम्ने किसिमको भएपनि यसलाई अहिले घुम्ने कुर्सी भन्न मिल्दैन । कुनै कर्मचारी, हाकिम आदि बस्ने परिवेशमा नरहेको हुनाले यसलाई सामान्य कुर्सी भन्नुपर्छ । स्थानविशेषले, कालविशेषले, व्यक्तिविशेषले वस्तुको मूल्य र मान्यता अलग–अलग हुन्छ । यही कुर्सी कुनै कार्यालयमा रहेको भए यो ओहदावालाको कुर्सी भनिन्थ्यो । यसतिर ताकेर हेर्ने आँट सितिमितिमा आउन सक्तैनथ्यो, तर यसलाई सुसाङ्ख्य कक्षमा राखिएको हुँदा यसमा जो पनि बस्नसक्छ र सीप र सामथ्र्य हुने जसले पनि ताक्न सक्छ । सुसाङ्ख्यलाई जीवनको अभिन्न अङ्ग मान्ने आजका सबै युवाहरूका निमित्त यो कुर्सी सुलभ छ । यसमा बस्न नसक्ने प्रश्न आउँदैन, बसिन्छ, त्यसैले यसको महत्त्व ठुलो छैन; तर यही कुर्सी कुनै कार्यालयमा हुन्थ्यो भने यसको ठुलो महत्त्व हुन्थ्यो । कुर्सी असामान्य हुन्थ्यो, विशिष्ट हुन्थ्यो । धेरैले त्यस कुर्सीबाट आशा राखेका हुन्थे । अपेक्षा राखेका हुन्थे । त्यस कुर्सीमा बसेका व्यक्तिका कारण कसैको जीवन चलेको हुन्थ्यो । कसैलाई सजिलो पारेको हुन्थ्यो । कसैलाई असजिलो । यही कुर्सी पाउन यहाँ मान्छे हारालुछ गर्छन् । आफ्नो पालोभन्दा पहिला पाउन हत्ते गर्छन् । कोही आफ्नो कुर्सीको बास टिकाउन अनेक जाल बुन्छन् । कुर्सीकै कारण यहाँ चाकडी, चाप्लुसीजस्ता भाटप्रवृत्ति मौलाएका छन् । बन्धुत्व, भ्रातृत्वको भाव धुमिल हुँदै गइरहेछ । आवधिक निर्वाचनका समयमा सुनिने नेताको महत्त्वाकाङ्क्षी भाषण, बाँडिने पार्टीको घोषणापत्र यही कुर्सीमा पुगेपछि कता हराउँछ कता । जनताको सेवा, राष्ट्रको सेवाका लागि भनेर कुर्सीमा पुगेको मानिस कुर्सी पाएपछि स्वयंको सेवामा निर्लिप्त भएर लाग्छ, स्वयंसेवा र पहिले जनाएका प्रतिबद्धता बिर्सन्छ । यसैले कुर्सीको महत्त्व सङ्कीर्णतामा व्यापकता र व्यापकतामा सङ्कीर्णताको प्रतीक बनेर देखापर्छ ।
मानिसले कुर्सी पाएपछि त्यससँगै प्राप्त गर्ने अधिकारले त्यसको महत्त्व बढाएको हामीले बुझेकै छौँ । कुर्सी एउटा प्रतीक हो, कुनै पनि व्यक्तिलाई प्राप्त अख्तियारको । हामीले यसो गमेर विचार गर्ने हो भने, हाम्रा देशमा औँलामा गन्न सकिने राजनीतिक दल सधैँ आलोपालो सत्ताको कुर्सीमा विराजमान हुन्छन् । मानौँ कि त्यो कुर्सीमा बस्न पाइएन भने ठुलै हलचल हुनेछ उनीहरूको जीवनमा । सर्वसाधारण जनताको जीवनमा हलचल आएर व्यापक जनमुखी परिवर्तन देख्ने हाम्रो धोको त पूरा हुन पाएको छैन । राजनीतिक दल र सत्तामा हुँदा तिनीहरूले गर्ने राजनीतिक नियुक्ति पनि बडो गजबको छ । घरिघरि त लाग्छ यो कस्तो माखेसाङ्लो हो जहिले पनि जसरी पनि दोहोर्याइ तेहराइ तिनै मान्छे महत्त्वपूर्ण मानिएका निकायहरूका कुर्सीमा पदस्थापन गरिन्छन् । यो कुर्सीको साइनो सत्ता र शक्तिका लागि अति महत्त्वको विषय रहेछ । माथि सिरानमा उल्लेख गरेका व्यक्ति पनि कुनै कार्यालयमा जागिरे थिए, तसर्थ उनीसँग पनि निश्चित अधिकार हुने नै भयो । कुर्सीमा बसेपछि त्यसको सान्निध्यले अधिकारको दुरुपयोग हुनसक्छ भन्ने डर उनमा रहेछ भन्ने उनका अन्तर्वार्तामा आउने सधैँका भनाइबाट बुझिन्थ्यो । कुर्सीमा बसे पनि नबसे पनि सम्बन्धित व्यक्तिले आफ्नो निश्चित कार्यसम्पादन त गर्छ नै । यदि आफ्नो अधिकारको दुरुपयोग गरिन्छ भने त्यो बेला कुर्सीमा बसेकै हुनुपर्छ भन्ने पनि छैन । कुर्सीमा बसेर गर्नुपर्ने काममात्र पनि सबैले गर्थे भने यी गुनासाका पोका खोलिरहन जरुरत पनि पर्दैनथ्यो । कार्यालयका कुर्सीमा मात्र नभएर होटलका कुर्सीमा, रेष्टुरेन्टका कुर्सीमा, चिया पसलका कुर्सीमा र यदाकदा बाटाघाटाका छेउछाउमै अतिरिक्त लाभका रकम बुझ्दै गरेका अवस्थामा कतिपय राष्ट्रसेवक कर्मचारी रङ्गेहात पक्डाउ खाएका घटना समाचारका रूपमा आइरहेकै हुन्छन् । कार्यालयमा तल्ला तहका कर्मचारीहरूले लिएको अतिरिक्त रकम वा लाभको अंश भ्रष्टाचारको विरोध गरेजस्तो गर्ने माथिल्ला तहका हाकिमलाई पनि पुग्छ भन्ने एउटा भनाइ छ । त्यसैले पनि देख्दा जुन कुरा गरिएको हुन्छ, वास्तविकतामा त्यसको उल्टो काम भएको पनि हुनसक्छ । चोरलाई चौतारो र साधुलाई शूली भएको मानव–समाज चिन्न नसकिने क्षेत्र भएको छ । जोगी, ब्रह्मचारीहरू बढी भ्रष्ट र बढी चरित्रहीन देखिन्छन्, त्यसैले देखेको भेष, बोलेको वाणीमात्रै मानिसका आचारविचारलाई छुट्याउने आधार हुन सक्तैनन् । कुर्सीमा बस्नेहरूको कुरो पनि त्यस्तै हो । कुर्सीमा बस्ने इमान्दार, नैतिक र देशभक्त हुनसक्छ अनि कुर्सीमा नबस्ने बेइमान, अनैतिक र भ्रष्ट पनि हुनसक्छ । यो अभिधेय अर्थको कुरो होस तर व्यङ्ग्यार्थमा यस्तो किसिमको मानिस पाउन सकिँदैन । कुर्सीमोहले मानिसहरूलाई सताएको छ । त्यहाँ पुगेपछि कतिपय लाभ लिन सकिन्छ भन्ने चाहनाले मानिसहरू कुर्सीमा जान लालायित हुन्छन् । कुर्सीमा बसेको बदनामी पछि भोग्नु परेपनि पहिला कुर्सीमा बस्न खोज्ने मानवीय प्रवृत्ति हो । यसैले कुर्सीको कुरा गर्दा कुर्सीमोहको कुरा सबभन्दा पहिले आउँछ ।
सामान्य रूपबाट कुर्सीको लेखाजोखा गर्दा मानिस इमान्दार, बफादार, कर्तव्यनिष्ठ छ भने उसमा आचरणले खराब अधिकार जमाउनै सक्तैन; तर वर्तमान परिवेशमा यस किसिमका आचरणमा रमाउने व्यक्तिलाई मूर्खको संज्ञा दिइन्छ । संसार नबुझेको अनि समयानुकूल चल्न नजानेको भनिन्छ । पाएर नखाने, पाएर नलिने मानिसको नियत असल छैन भनेर अरूहरूले शङ्का गर्छन् । अठार घण्टा उभिएर काम गर्ने व्यक्तिका रूपमा परिचित माथि उल्लेख गरिएका ती महानुभावले त्यस्तो विशेष लाभ लिन खोजेको बुझिँदैन, त्यसैले उनले सधैँ उभिएर काम गर्नु उपयुक्त थिएन । क्षणिक चर्चाका लागि शारीरिक कष्ट उठाउँदा त्यो कष्ट पछि रोगको कारण हुनसक्छ । चिकित्सकहरूका अनुसार धेरै समय उभिने वा उभिएर काम गर्ने व्यक्तिलाई ‘भेरिकोज भेन’ भन्ने रोग लाग्दो रहेछ । यसले नसाहरू सुन्निने समस्या हुँदो रहेछ । भौतिक रूपमा कुर्सीका सन्दर्भलाई यसरी एउटा बस्ने साधन मानिएपनि यो मानव अस्तित्वका रूपमा ऐश्वर्य र सम्पत्तिको प्रतीक बनेको छ । यस किसिमको कुर्सी छोड्न मान्छेलाई सजिलो छैन । संस्कृतमा एउटा प्रभावशाली उक्ति छः
अधिकारञ्च गर्भञ्च ऋणञ्च स्वानमैथुनम्
आगमे सुखमाप्नोति निर्गमे प्राणसङ्कटम् ।
अधिकार, गर्भ, ऋण र स्वानमैथुन प्राप्त गर्दाखेरि सारै आनन्द हुन्छ तर त्यो फिर्ता गर्दाखेरि प्राणसङ्कट पर्छ भन्ने यस भनाइले कुर्सी छोड्ने कुरा सजिलो छैन भन्ने जनाउँछ । यही असजिलाले गर्दा हाम्रा समाजमा देखापरेका नेता, बुद्धिजीवी, विद्वान्, कर्मचारी आदि किसिमका व्यक्तिहरू कुर्सी छोड्न नसकेर आफ्नो बदनामी भएको कुरा पत्ता पाउँदैनन् ।
रामघाट, पोखरा ।