वैद्यनाथ उपाध्यायः साहित्य सिर्जनालाई कुन रूपमा लिनु भएको छ?
सिर्जना लम्हिन सुब्बाः मेरो लेखन त मेरो पैशन नै हो। मान्छेले जीवनमा आफ्ना भावनाहरू प्रकट गर्न कुनै न कुनै माध्यम त रोजेकै हुन्छ। मैले लेख्न रूचाएँ। लेखकका रूपमा आफु बसेको समाजप्रति, जग्गाप्रति, आफ्नो देश र संसारैप्रति आफ्नो दायित्व छ भन्ने लाग्दछ। यस्तो समाजलाई अघि बढ़ाउने काम चैं गर्नु पर्ने रैछ भन्ने लाग्न थाल्यो। आउँदो पींढ़ीको लागि पनि केही गर्नु पर्छ भन्ने मलाई लाग्छ। कहिलेदेखि लेखनलाई गंभीरताका साथ लिएँ यो त म भन्न सक्तिनँ।
वैद्यनाथ उपाध्यायः साहित्य लेखनमा कहिले र कसरी प्रवेश गर्नुभयो?
सिर्जना लम्हिन सुब्बाः साहित्य लेखनमा कहिलेदेखि भन्दाखेरि म चैं एक्सिडेंटेल लेखक भन्ने ठान्दछु। मेरा बाबु-आमा दुवै शिक्षक र शिक्षिका भएको नाताले होस अथवा अरू कुनै कारणले मेरो प्रत्येक जन्मदिनमा बाबाले मलाई पुस्तक अथवा डायरीहरू उपहार दिने गर्नु हुन्थ्यो। घरमा स्वामी विवेकानन्दको शिकागो भाषण, जवाहरलाल नेहरूले छोरीलाई लेखेको चिट्ठी थियो। किशोर अवस्थामा जब म प्रवेश गरें। म धेरै अन्योलमा थिएँ। आमा धेरै कठोर हुनुहुन्थ्यो। त्यसैले मैले मेरा भावनाहरू कवितामा प्रकाश गर्न थालें। यसो गर्दा मेरा भावनाहरू आमाले बुझ्नुहुन्न भन्ने लाग्दथ्यो। यसरि कविता लेख्न थालें।
वैद्यनाथ उपाध्यायः दैनिक जीवनमा समयको व्यवस्थापना कसरी गर्नुहुन्छ?
सिर्जना लम्हिन सुब्बाः यो समय मिलाउन चैं संघर्ष नै गर्नु पर्छ। यता ससुरा बाबा हुनुहुन्छ र माइतमा पनि बाबा मात्रै हुनुहुन्छ। बिहान माइतमा छु भने बेलुकी म आफ्नो घरमा हुन्छु। दिउँसो विद्यालय जाने गर्दछु। साथै सामाजिक दायित्वहरू पनि छ। मेरो घर दार्जिलिङ शहरबाट 36 की. मी. टाढा नागरी कमानमा पर्दछ। हाम्रो गाउँमा पुस्तकालय नभएकाले मेरो घरमा नै पुस्तकको ठेली थियो। गाडी बेचे पछि घरका गैरेजमै मैले पुस्तकालय खोलेकी छु। दार्जिलिङमा 105 दिने हडताल भएको समयमा घरैमा विद्यार्थीहरूको लागि निशुल्क कोचिंगको व्यवस्था गरेका थियौं। त्यो क्रम अहिलेसम्म पनि जारी नै छ।
वैद्यनाथ उपाध्यायः भारतीय परिप्रेक्षमा नेपाली लेखनको वर्तमान स्थिति कस्तो छ?
सिर्जना लम्हिन सुब्बाः अरू जग्गाको चैं म जान्दिन। हाम्रो दार्जिलिङमा राम्रो राम्रो कवि लेखकहरू छन्। सबै सिर्जना गरिनै रहेकाछन्। कहिलेकाहीँ उनिहरूको कथा-कविताहरू अनुवाद पनि गरिदिन्छु। घरि घरि चैं मलाई कता कता डाँवाडोल भएको जस्तो पनि लाग्छ। स्वीकृति पाउनु पर्नेहरूले स्वीकृति नपाईकनै बित्नुभए जस्तो लाग्छ। लेखनमा इमानदारिता हुनुपर्छ। दुई लाइन लेख्तै कवि त हुन सक्तैन नि। भोलिको प्रजन्मलाई पनि काम आउने कुराहरू लेखनबाट हुनुपऱ्यो। ठुला राम्रो लेख्ने कविहरू पनि ओझेलमै परिरहेका छन्।
वैद्यनाथ उपाध्यायः साहित्यमा आफ्नो उपलब्धिको आकलन कसरी गर्नुहुन्छ?
सिर्जना लम्हिन सुब्बाः म साहित्यमा एक दुई कलम चलाउने मान्छे। त्यसको आकलन पाठकहरूले नै गर्ने गर्छन्। मैले यो पुरस्कार पाउनु पर्ने थियो। मलाई यस्तो सम्मान गर्नु पर्ने थियो भन्ने कुरो चैं मलाई लाग्दैन। मेरो लेखाईको आकलन गर्ने कुरो मैले ममाथिका दिग्गजहरूलाईनै सौंपिएकी छु। मलाई माया गर्ने अनुजहरूले गर्न सक्छन् होला। आफूले लेखिसकेपछि त्यो त समाजको सम्पत्ति भयो नि। कापीराइट मेरै भए पनि विचार त साझा हुन्छ नि।
वैद्यनाथ उपाध्यायः वर्तमान समयमा पुस्तक पढ़नेहरूको संख्या एकदमै नगन्य हुँदैं आएको छ। यो स्थितिमा आफ्नो लेखाईको सार्थकता कतिसम्म छ जस्तो लाग्छ?
सिर्जना लम्हिन सुब्बाः अहिले पढ़नेहरूको संख्या एकदमै छैन। पहिले पनि थिएन। पहिले मनोरंजनका साधनहरू थिएनन र मान्छेहरू कथा कविताहरू पढेर मनोरंजन गर्ने प्रयास गर्दथे। अहिलेको समयमा डिजिटलको चकाचौंधमा सबैथोक हराए जस्तो छ। पहिले गाउंका मान्छेहरू शहर छिर्ने गर्दथे। तर अहिले फेरि होम स्टे भनौं यस्तै कति प्रकारले शहरका मान्छेहरू फेरि गाउंमा रमाउन थालेका छन् भने यो पढने संस्कृतिमा पनि भविष्यमा सुधार आउन सक्छ।
वैद्यनाथ उपाध्यायः तपाईँ किन लेख्नुहुन्छ?
सिर्जना लम्हिन सुब्बाः लेख्नु चैं आफ्नैलागि राम्रो लाग्छ र लेख्छु। लेखकमा मानवताको भावना हुनु परो। लेख्नु चैं सानैदेखि मेन्टेन गर्दथें। अहिले चैं म किन लेख्छु भन्दा खेरि यो जिन्दगी त उडि जाने रैछ नि। केही चिनो, केही सम्झना पनि त छाडि जानु पर्ने रैछ नि। रोमान्टिक कविता नै लेख्नुहोस, केही नै लेख्नुहोस। यस्ले चैं सौन्दर्यको संवेदन मात्रै नभएर हामी कस्ता थियौं, कस्ता भयौं यो जान्नका लागि पनि हामीले लेख्नु पर्छ। लेखक त विश्वको नै नागरिक बन्नु पर्छ। उसका विचारहरू उदार हुनुपर्छ।
वैद्यनाथ उपाध्यायः भारतमा नेपाली साहित्यको विकास कसरी सम्भव होला?
सिर्जना लम्हिन सुब्बाः भारतमा नेपाली भाषाले मान्यता पाउनु नै सबभन्दा ठुलो कुरा हो। हामीहरू दिल कुमारी भण्डारी र अरू भाषाका लागि सेवा दिने हरुप्रति कृतज्ञ रहनु पर्दछ। नेपाली भाषा भारतको संवैधानिक भाषा भएपछि हामीले यसबाट धेरै लाभ पाउनु पर्ने थियो। त्यो भएको छैन। भारतीय मूलस्रोतको पाठ्यक्रमहरूमा हाम्रा कुराहरू, हाम्रो साहित्य, हाम्रो संस्कृति, हाम्रा स्वतंत्रताका संग्रामीहरूको कुराहरू समावेश हुनु पर्ने थियो। यतिबेला सम्म हामीले यो गरिसक्नु पर्ने थियो। लबी र नाताबाद हुनुभएन। जो योग्य छ त्यस्लाई सही ठाउँमा प्रतिनिधित्व गर्न दिनु पर्छ। मूल स्रोतमा पस्न हामीले प्रयास गर्नुपर्छ। एउटा कविता पाठ गरेरै रमाएर मात्रै हुँदैन।
वैद्यनाथ उपाध्यायः नेपाली नारीहरूको साहित्यिक गतिबिधिबारे तपाईँको के मत छ?
सिर्जना लम्हिन सुब्बाः मैले जहिलेपनि मेरो साथीहरूलाई हेर्दाखेरि लिंग भेद कहिल्यै गरिन। मैले एउटा मानवलाई मानवनै देखें। लेखकमा पहिले त मानवता हुनुपरो। त्यसपछि नारी लेखक, पुरूष लेखक, राम्रो लेखक यसरी जोडिदैं जादोँहोला। नारीहरूले आफ्नो पीर मर्काका विषयमा लेखे भने नारीहरूको दुखलाई अझ पुरूषहरूले लेखे भने झनै राम्रो हुन्छ। लेखकमा मानवता नै भएन भने कसरी लेखक बन्ने त। बस्तुत म लिबरेल परिवेशमा हुर्किएकाले होला मलाई यस्तो लाग्छ। हाम्रो समाजमा नारी सबलताको धारणा पनि छ। यो कुरो अरू समाजले पनि जान्नु परो। यसरी कुनै संकीर्ण धारामा जोडियौं भने सिर्जना नै समाप्त हुन्छ जस्तो लाग्छ मलाई।
वैद्यनाथ उपाध्यायः नया लेखकहरूलाई तपाईँको के सुझाउ छ?
सिर्जना लम्हिन सुब्बाः लेखक हुन्छु भनेर मात्रै हुँदैन। अध्ययन र खोज हुनुपऱ्यो। वजनदार लेख्नका लागि तपस्या चाहिन्छ। म सुझाउ दिने स्थितिमा पुगेकी छु जस्तो लाग्दैन। म लेखक बन्ने क्रममा नै छु जस्तो लाग्छ। हामीले अरू जातिको भाषा साहित्यमा के हुँदैछ त्यो पनि जान्नु पर्दछ। सारा विश्वकै साहित्यमा के हुँदैछ त्यसको पनि थाहा राख्नु परो।