प्रत्येक कालमा नै
राच्छेस मारिएको कथा पढ्ने
रहर जाग्दै छ मभित्र ।
धर्मग्रन्थमा मात्र सीमित भएर कहाँ हुन्छ
राच्छेस मारिएको कथा !
धम्की दिँदा दिँदै गन निकाल्छ गणतन्त्रमा अझै पनि
बोल्दा बोल्दै घाँटी निमोठ्छ प्रजातन्त्रमा अझै पनि
आँखाभरि रुपौलो सपना बोक्ने
कोमल कुमारी शरीरहरू लुटिन्छन् अकालमा अझै पनि।
मानव मूल्यको रक्षकलाई सबै थोकको भक्षकले
जे गरे पनि हुने व्यवस्थामा
ईश्वरीय शक्तिको आश गर्नु भनेको
ईश्वरप्रतिको विश्वासमात्रै त रहेछ
हातमा खुँड़ा लिएर निस्कन सकेनन् फुत्त
धर्मग्रन्थमा जस्तो
छप्काउन नरभक्षी राक्षसी शिर !
भन्नु त भनिन्छ नि
भक्षकबाट बचाउने
साँचो शक्ति त भीड़मा निहित हुन्छ रे
मै हुँ भन्ने भक्षक पनि पलायित हुन्छ रे
खै त त्यो भीड़ ?
खै त त्यो शक्तिको रूप ?
प्रश्न उठ्छ--
अमर जुनी कसैको पनि छैन भने
असामयिक मृत्यु घटाउने अधिकार
कसले दियो हँ भक्षकलाई?
रात परेपछि
अँध्यारो सड़कभरि रक्ताम्मे भएर
बलात्कृत पीड़ाहरू सुँकसुँक गर्दै रोइरहन्छन् अझै पनि
खोल्सा र खेतबारीतिर
असामयिक मृत्युहरू लम्पसार पर्छन् अझै पनि।
कहिले निस्कन्छ हँ
धर्मग्रन्थबाट
शक्तिशाली बाहु
खुँड़ा लिएर
नमारी मार्न ?
डाउहिल, खरसाङ, भारत।